काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ मार्फत लाखौं दर्शक स्रोताको मनमुटुमा बस्न सफल गायिका तारा श्रीस मगरको जन्म वि.सं. २०४८ असार २३ गते हालको बागलुङ जिल्लाको जैमनी गाउँपालिका ९ केवैखानीमा भएको हो । बुवा बुद्धिमान र आमा माया श्रीस मगरको दोस्रो सन्तानको रुपमा जन्मिएकी ताराभित्र गाउँबेंसी, गोठालो, मेलापात र पधेंरो गर्दागर्दै गीत संगीतको भोक कतिखेर पलायो उनी आफैंलाई पत्तो भएन ।
गीत गाउन असाध्यै मन पर्ने भए पनि केटी मान्छेले गीत गाएको खासै मन नपाउने त्यत्तिबेलाको समाजमा खुलेर गाउन गाह्रै भयो उनलाई । कहिलेकाहीं भाइ र दिदीलाई साथमा लिएर गीत गाउँदै गर्दा आफ्नै बुबाको हातबाट एक/दुई लट्ठी पनि भेट्टाएकी ताराले कक्षा ९ मा पढ्दै गर्दा भने हिम्मत जुटाएरै स्कुलमै आयोजना भएको कार्यक्रममा गीत सुनाएर आफ्नो बुबालाई मात्रै होइन पूरै गाउँलाई नै लठ्ठ पारेकी थिइन् । तर बिडम्बना ! थपियो पीर । विचरी ताराको तक्दिर । जसले यो ६ जनाको परिवारको गुजारा चलाइरहेको थियो । उसैलाई भगवानले चल्न नसक्ने बनाइदियो ।
ताराको बुबालाई प्यारालाइसिस भयो । अनि सुरु भयो ताराका संघर्षका दिनहरु । जेनतेन एसएलसी सकियो तर पढ्ने चाहनाभन्दा पैसा कमाउनै पर्ने बाध्यता ठूलो भइदिए । त्यसपछि चाहर्दै चहार्दै पुगिन् उनी पोखराको ओपन हाउस रेस्टुराँमा । मासिक ३५ सय तलब पाउने गरी काम सुरु गरिन् तर गाउँदै गर्दा बुबाको सम्झनाले घरीघरी गला अवरुद्ध बनिरहेपछि एक महिनामै छाडिन् उनले जीवनको पहिलो जागिर । बागलुङ फर्किइन् । केही समय परिवारसँग बसिन् । र, त्यहीबीच बुबाले पनि थप हौसला दिएपछि चर्चित गायिका बन्छु भनेर कम्मर कसिन् । र, पुन: पोखरा फर्किन् ।
पोखरा लेकसाइटमा रहँदा पप पर्निकल वेस्टर्न व्यान्डसँग समेत जोडिएको उनको आवास त्यहाँका प्राय: सबैजसो दोहोरी साँझ र रेस्टुराँहरुमा गुन्जिने गर्दथ्यो । केही समयको पोखरा बसाइपछि गीत संगीतमा अझै केही गर्ने उत्कट अभिलाषासहित रात्री बस चढेर लागिन् सपनाको सहर काठमाडौंतिर । काठमाडौंमा झरेपछि सपनालाई बचाइराख्न भन्दा पनि आफैं बाँच्न गाह्रो भयो उनलाई । आमाले दिएको २ सय रुपैयाँले दुई/चार रात चिउरा र चाउचाउ खाना त सहयोग गर्यो तर घरकाले के खायो होला भन्ने चिन्ताले खासै निद्रा परेन उनलाई । समयले विस्तारै उनलाई सम्हालिन सिकायो । अनि फेरि सुरु गरिन् पहिले पनि गरेको र आफ्नो रोजाइमा परेको दोहोरी साँझमा गीत गाउने काम ।
बेलुकी काम गर्ने केटी भनेर कोठा पाउन धेरै मुस्किल भएको, बिरामी भएकै बेला पनि गाडी भाडा तिर्ने पैसा नभएर हिँड्दै हिँड्दै काममा जानु परेको तीतो अनुभव पनि छ उनीसँग । गाउँबेंसी दोहोरी साँझमा काम सुरु गरेपछि विस्तारै विस्तारै ताराको संगत हुन थाल्यो नेपाली संगीत क्षेत्रका अग्रज कलाकारहरुसँग । ताराको सुरिलो स्वर पहिलोपटक क्यासेटमा रेकर्ड भएर बजारमा आयो २०६२ सालमा । उनले पारिश्रमिकबापत प्राप्त गरिन् १ हजार रुपैयाँ ।
'फूल सम्झे फूल तिमी' बोलको गीत गाएर व्यावसायिक गायन सुरु गरेकी उनले हालसम्म ५ सयभन्दा बढी गीतहरु रेकर्ड गराइसकेकी छन् । पछिल्लो समय मालिङ्गो गजल हुँदै नागपोखरीमा रहेको आलिसान गजलमा दर्शक स्रोतालाई मन्त्रमुग्ध पार्ने गरेकी तारा अहिले भने द भ्वाइस अफ नेपाल सिजन ३ मार्फत नेपालमा मात्र नभएर पूरै विश्वभरि नै चम्किरहेकी छिन् । यो स्टेजसम्म आइपुग्दा विभिन्न आरोह-अवरोह पार गरेकी तारा श्रीस मगरले द भ्वाइसको यात्रा तय गर्नुको एउटै मात्र कारण हो, उनको बुबाको प्रेरणा र सपना ।
बाल्यकालमा गीत गाउँदा गाली पाउने गरेकी भए पनि समयँसगै बाबालाई नै आफ्नो सबैभन्दा ठूलो प्रशंसक बनाउन सफल भइन् तारा श्रीस मगर । आफै छोरीले राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष गीत गाएको हेर्ने बाबाको सपना साकार पार्न लागिपरेकी हुन् । उनी अहिले टप ८ मा पुग्न सफल छिन् ।