न्यूयोर्क । नायिका एवं निर्माता एन्सर्ज गुरुङ भन्ने गर्नुहुन्छ, 'मिहिनेत र परिश्रमको कमाइबाट अरुले घरघडेरी जोड्छन्, म भने फिल्म बनाउँछु ।,' बोली र व्यवहारमा तादम्यता पाइने एन्सर्जले मौलिक चलचित्र ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी) र ‘आमाको मन’ फिल्म बनाउँदै आफैंले अभिनय गर्नुभयो । गुरुङ चलचित्र फाँटमा बढी चिनिएकी एन्सर्ज स्वदेशमा होस वा विदेशमा रहँदा, कलाकर्मलाई निरन्तरता दिइरहनु हुन्छ । अचेल अमेरिका रहनुभएकी स्याङ्जाकी एन्सर्जले हालै रिलिज भएको विजय शिवाकोटीको शब्द रचनामा रहेको ‘उनी आउने…’म्युजिक भिडिओमा अभिनय गर्नुभएको छ ।
नवराज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोको गीतमा गायक ओमबिक्रम विष्टको स्वर तथा संगीत र चर्चित अभिनेता राजबल्लभ कोइराला र सञ्जिता कोइरालाले अभिनय गर्नुभएको छ । म्याक्स टीभी नेपालले निर्माण गरेको म्युजिक भिडियो अमेरिकामा नै पूर्ण छायांकन गरिएको हो । कोइराला र गुरुङको साथमा म्युजिक भिडियोमा जङ्ग्बु शेर्पा र नवीन ढकालले अभिनय गर्नुभएको छ ।
एन्सर्ज आफ्नो समुदायको कला संस्कृतिलाई बाहिर ल्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । कतिपय मौलिक संस्कृति लुकेका र कतिपय लोपोन्मुख छन् । यीनलाई जोगाउनकै लागि चलचित्र निर्माण, अभिनय र नृत्यमार्फत उहाँका लागीपर्नुभएको छ । एन्सर्जले पछिल्लो समय अमेरिकामै ४ म्युजिक भिडियोमा खेलिसक्नुभएको छ भने नेपालमा गरी दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला देखाइसक्नुभएको छ । मौलिक भाका सालैजो, कौडा, ‘छोरीको बेदना’ तीज गीत र आधुनिक गीत ‘वियोग’मा म्यूजिक भिडियोमा अभिनय छ उहाँको । उहाँको कलाकारिताको विशेषता भनेकै समाजमा लुकेर रहेका जाति, भाषा, कला, संस्कृतिलाई उजागर तथा जगेर्ना गर्ने हो ।
नायिका एन्सर्ज भन्नुहुन्छ, ‘एक्स्पोज हुन नसकेका जाति, भाषा, कला, संस्कृतिमा मौलिकता हुन्छ, इतिहास हुन्छ नि त !’स्नातक तहसम्मको अध्ययन गरेकी उहाँ कला क्षेत्रको अलावा समाजसेवामा पनि अब्बल हुनुहुन्छ ।