घलेभन्ज्याङ । १४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने घ्याङस्वाँरा सहिद स्मृति पार्कमा रहेको खेल मैदानमा हुने भएको छ ।
आउने वर्ष २०८१ सालमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई झन्डा र ब्यानर हस्तान्तरण गरिएको नुवाकोट जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।
१३ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० प्रतियोगितामा १९ स्वर्ण पदक, १६ रजत, १२ कांस्य पदकसहित लिखु गाउँपालिका प्रथम भई राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । यस्तै १७ स्वर्ण पदक १४ रजत पदक, ८ पदकसहित विदुर नगरपालिका दोस्रो, ६ स्वर्ण पदक, ६ रजत पदक, ७ कांस्य पदकसहित म्यागङ गाउँपालिका तृतीय हुन सफल भएको छ । ५ स्वर्ण १ रजत ४ कांस्य पदकसहित ककनी गाउँपालिका चौथो भएको छ ।
फागुन ८ देखि १० गतेसम्म संचालित १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निवर्तमान उपसभामुख, पूर्वकृषि राज्यमन्त्री एवं वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा, नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीको विशेष आतिथ्यतामा, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला भित्रका राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यतामा, खेलकुदप्रेमीहरुको उपस्थितिमा सम्पन भएको छ ।
तीन दिन भएको खेलमा एथलेटिक्स, कबड्डी, भलिबल, तेक्वान्दो, कराते, उसु खेल भएका थिए ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा, विदुर नगरपालिकाको मुख्य सहआयोजनामा, नुवाकोट जिल्ला समन्वय समिति, अरु ११ वटा स्थानीय तहहरुको सहआयोजनामा प्रतियोगिता सन्चालन भएको थियो ।
कार्यक्रमको अध्यक्षता नुवाकोट जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राईले गर्नुभएको थियो र कार्यक्रम सन्चालन जिल्ला खेलकुद विकास समिति सदस्य निराजन बोगटीले गर्नुभएको थियो ।