काठमाडौं । नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे ।
उन्नाइस ओभरसम्म एक सय ७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको छ छक्काको सहयोगमा दुई रन १० रनको विशाल योगफल बनाउन सफल भएको थियो । युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्डविरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा छ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । साथै ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए ।
साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए । कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए । जितसँगै समूह ‘ए’मा रहेको नेपाल अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ ।
नेपालले दुई खेलमा दुई जितसँगै चार अङ्क बटुलेको छ । एक खेलमा एक जितका साथ हङकङ दोस्रो, दुई खेलमा एक जित र एक हारका साथ मलेसिया तेस्रो, एक खेलमा एक हारका साथ साउदी अरेबिया चौथो र दुई खेलमा दुई हारका साथ कतार पाँचौ स्थानमा छ ।
साथै समूह ‘बी’ दुई खेलमा दुई जितका साथ यूनाइटेड अरब एमिरेट्स पहिलो स्थानमा छ भने दुई खेलमा एक जित र एक हारका साथ कुवेत दोस्रो स्थानमा छ ।
एक खेलमा एक जितका साथ ओमान तेस्रो, दुई खेलमा दुई हारका साथ बहराइन चौथो र एक खेलमा एक हारका साथ कम्बोडिया पाँचौ स्थानमा छ ।