अष्ट्रेलिया । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन्
जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।
एबीएसले फेबु्रअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।
जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताउनुभयो ।
सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ ।
लन्डन । बेलायतमा नेपालीको सबैभन्दा ठूलो इभेन्ट 'गोर्खा कप २०२३' आउँदो मे २८ तारिखमा हुने भएको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा मे २८ आइतबारका दिन गोर्खा कप फुटबल प्रतियोगिता हुने आयोजक तमुधिं यूकेले जनाएको छ ।
रसमूर बरो काउन्सिलका मेयरको प्रमुख आतिथ्यतामा हुने गोर्खा कपको मेनतर्फ ३२ टिम (१६-३० वर्ष उमेर समूह) बीच प्रतिस्पर्धा हुने खेलकुद सचिव क्याप्टेन दिपक घलेले जानकारी दिए । भेटेरनतर्फ ८ टिम (४० वर्षमाथि)ले खेल खेल्नेछ । महिलातर्फ समान उमेरका मुख्य दुई टिमबीच प्रतिस्पर्धा गराइने भएको छ । कपअन्तर्गत ठेलो प्रतियोगिता पनि समेटिनेछ । जसका विजेताले २०० र रनरअपले १०० पाउन्ड पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, फुटबल टिम तथा स्टल दर्ताका लागि १६ अप्रिलदेखि मे १३ तारिखसम्म समय दिइएको छ । टिम दर्ताका लागि २५० पाउन्ड शुल्क रहेको छ । मुख्य टिम विजेताले २५ सय पाउन्ड, रनरअपले १५ सय पाउन्ड पुरस्कार पाउनेछन् । त्यस्तै भेटेरनतर्फ विजेताले १२ सय पाउन्ड र रनरअपले ८ सय पाउन्ड, महिला टिमका विजेताले ५ सय पाउन्ड र रनरअपले २५० पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र समेत दिइनेछ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । संयोजक घलेका अनुसार प्यारासुट डिस्प्ले, नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टलहरु राखिने छन् ।
तमुधिं यूकेमा हरि गुरुङ अध्यक्ष बनेपछि १२ औं कार्यसमितिले पहिलो पटक गोर्खा कप आयोजना गर्न लागेको हो । गोर्खा कपको यस वर्ष २१ औं संस्करण हुँदैछ । हरि गुरुङ नेतृत्वको कार्यसमिति २०२२ डिसेम्बर २६ तारिखमा घोषणा गरिएको थियो । नयाँ कार्यसमिति र निवर्तमान कार्यसमितिबीच ३१ डिसेम्बरको तमु ल्होछार कार्यक्रममा कार्यभार हस्तान्तरण भएको थियो ।