स्थानीय तहको पाँच वर्षे कार्यकाल सकिन अब डेढ वर्षभन्दा केही बढी छ । २०७९ वैशाख-जेठ मा भएका निर्वाचनमा पालिकाहरुका प्रमुख/अध्यक्षहरुले आकर्षक नारासहितका घोषणापत्र जनतामाझ लगे । कति उम्मेदवारले त भोट आफ्नो पक्षमा पार्न तत्काल पूरा गर्न नसक्ने योजनाहरूलाई पनि घोषणापत्रमा समावेश गरेको पाइन्थ्यो । तर त्यही लस्करमा घोषणापत्रलाई करिब अक्षरश पालना गर्ने निर्वाचित जनप्रतिनिधिहरु पनि मिसिएका थिए । ग्लोबल मिडियाले सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानलाई निर्वाचनको घोषणापत्रअनुसार कति काम भए भन्ने विषयमा पाँच प्रश्न गरेको छ ।
१. मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट पालिका बन्न पुग्यो । मरिण गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको ६ महिनापछि हामीले ग्लोबल संवादमा नै यहाँलाई पहिलो पटक निम्त्याएका थियौँ । पाँच वर्षमा मरिणको रूप फेर्ने संकल्प गरेका छौँ भन्नुभएको थियो, के-के काम सम्पन्न गर्नुभयो, बुँदागत भन्दिनु न ?
मरिण गाउँपालिकाको रूप फेरिने भनेको ठुला भवनहरू निर्माणले होइन । हामीले गर्नुपर्ने आधारभूत आवश्यकताहरू र सुशासनमैत्री गाउँपालिका हो । जसले गर्दा धेरै विधा र विषयमा उत्कृष्ट गाउँपालिकाको नाममा सम्मान पाउँदै आइरहेको छ । मरिण गाउँपालिकाको रूप फेरिने गरी काम नगरिएको थियो भने सम्मानहरू प्राप्त हुन सक्दैन थियो होला ।
महान् दस वर्षे जनयुद्धको समयदेखि नै नागरिकको आधारभूत आवश्यकता पूरा गर्न सरकारले ध्यान दिनुपर्छ भन्दै आइरहेका थियौँ । सङ्घीयता प्राप्तपछि तीन तहको सरकार निर्माण गरियो । अहिले स्थानीय तहको सरकार आइसकेपछि मरिणमा जनताका आधारभूत आवश्यकता करिब पूरा हुने चरणमा छ ।
कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रत्येक वडामा माध्यमिक तहको विद्यालय स्थापनाको कुरा पनि हाम्रो प्रतिबद्धता थियो । पहिला २ वटा कक्षा १२ अध्ययनको विद्यालय थियो भने अहिले हामीले थप ३ वटा सञ्चालनका लागि अनुमति दिएका छौँ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने पाँच बेडको अस्पताल छ । सबै वडामा स्वास्थ्य इकाई स्थापना गरिएको छ । दुर्गम वडामा २ वटा स्वास्थ्य इकाई स्थापना गरेका छौँ । नागरिक कम्तीमा आधा घण्टामा स्वास्थ्य संस्था पुग्न सक्ने वातावरण बनाएका छौँ । ३ वटा वर्थिङ सेन्टरहरू स्थापना सँगै सुत्केरी गराउन तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरेका छौँ । सुत्केरी हुने समयमा आवश्यक परेकोमा देशको कुनै पनि सुविधा सम्पन्न अस्पतालमा लानको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ । साथै छोरी जन्माउने आमालाई पाँच हजार रुपैयाँ सुत्केरी खर्च प्रोत्साहन स्वरूप प्रदान गर्दै आएका छौँ ।
पालिकामा १५ बेडको अस्पताल सञ्चालनका लागि हाल काम भइरहेको छ । ८ करोड ८६ लाख बजेट विनियोजन भइसकेको छ । थप एम्बुलेन्सको पनि व्यवस्थापन गरेका छौँ । जसले गर्दा सिन्धुलीगढी, हेटौँडा र बर्दिबास गएर लिनुपर्ने स्वास्थ्य सेवा अब पालिकाबाटै प्रदान गरिने छ । आँखा अस्पताल संचालनका लागि पनि अन्तिम तयारी भइरहेको छ ।
स्वच्छ खानेपानी एक घर एक धाराको अवधारणा निःशुल्क खानेपानी अनुसार ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी ३० प्रतिशत कहाँ –कहाँ खानेपानीको जरुरी रहेको छ । फोकस गरेर काम अगाडि बढाउने छौँ ।
अर्को नागरिकको आधारभूत आवश्यकता भनेको विद्युत् हो । अहिलेसम्म हामीले २ वटा वडा उज्यालो वडा घोषणा गरिसकेका छौँ । सिङ्गो गाउँपालिकालाई नै उज्यालो पालिका घोषणाका लागि कामलाई तीव्रता दिँदै आइरहेका छौँ ।
सञ्चारको विषयमा म गाउँपालिका अध्यक्ष भएपछि पनि दुई वटा टावर निर्माण गरिसकेका छौँ । पालिकाको सबै विद्यालयमा इन्टरनेटको सेवा पनि प्रदान गरेका छौँ ।
२. ठुला भवन, रंगशाला, बसपार्कलगायत राष्ट्रियस्तरका योजनाहरु मरिणमा भित्र्याउने कुरा पनि थियो,सोचेअनुसार काम भए जस्तो लाग्छ ?
भौतिक र सामाजिक गरी मरिणमा दुई किसिमले विकास गर्दै आइरहेका छौँ । सडक, पुल, भवनजस्ता भौतिक संरचना र अर्को सामाजिक जनचेतना जगाउने तरिकाले अगाडि बढिरहेको छ । रङ्गशाला यही आर्थिक वर्षमा सम्पन्न गराउने तयारीमा छ । यो वर्ष मात्रै करिब ४० करोड बराबरको सडकहरू कोही कालोपत्र हुँदै छन् कतै निर्माण कार्य भइरहेका छन् ।
प्रत्येक वडामा साढे ३ तल्लाको व्यवस्थित कार्यालय भवन निर्माण गर्ने योजना थियो । अब मात्रै ६ नम्बरको बाँकी रहेको छ । नागरिकलाई व्यवस्थित सेवा दिन सहज हुने भवनहरू निर्माण भइसकेका छन् । गाउँपालिकालाई शिक्षित–संस्कारयुक्त र शान्त मरिण बनाउन लागिरहेका छौँ ।
३. राँगा–भैँसीको मासु चाइना निर्यात गर्ने अन्तर्राष्ट्रियस्तरको परियोजना मरिणमा कसरी प्राप्त भयो, अहिले काम कसरी भइरहेको छ ?
अघिल्लो वर्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चाइना भ्रमणमा जाँदा प्रस्तुत गर्नुभएको योजना हो भने गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली जाँदा स्वीकृतपछि कार्यान्वयनको चरणमा आइपुगेको छ । मरिण गाउँपालिकामै अन्तर्राष्ट्रियस्तरको गौरवको योजना संचालनको लागि उपयुक्त लागेर नै दिनुभएको हो । साथमा त्यहाँका माननीयहरुको पनि भूमिका छ । मासु फ्याक्ट्री सञ्चालनका लागि ५० बिघा जमिन, त्यहाँको जग्गादाताहरुसँग खुल्ला छलफल गरेर बिचमा दलालीहरुसँग नभेटाई कहींकुनै स्वार्थ नराखी हामी लाग्यौं । दैनिक पाँच हजार राँगा भैँसीको मासु चाइना पठाउनको लागि हाल कम्पनी निर्माणको काम भइरहेको छ । कम्पनी सञ्चालनमा आउँदा हजारौं युवायुवतीले काम पाउनेछन् ।
एक परिवार १० देखि १२ वटा पाडा पाल्ने कुरालाई पनि अघि सारिएको छ । संघीय सरकारसँग डीपीआर गरेर पाँच करोड बजेट माग भएको थियो । त्यसमध्ये एक करोडको पाडा मात्रै खरिद गरेर किसानहरुलाई अनुदान दिएका छौँ ।
मासु निर्यातमा हाम्रो पालिका,जिल्ला र प्रदेशले मात्रै भार पूरा गर्न सकिन्छ जस्तो मलाई लाग्दैन । आवश्यकताअनुसार बाहिरको जिल्लाबाट पनि ल्याउनुपर्ने देखिन्छ ।
४. घोषणापत्रमा लेख्नु र कार्यान्वयनमा जानु कतिको जटिल र असहज रहेछ ?
पहिला पनि वडाध्यक्ष र पालिकाको प्रवक्ता भएर काम गरेको हुँदा खासै असहज भएन । निर्वाचित भएपछि म निरन्तर रुपमा काममै लागेँ । मरिणको विकास र समृद्धिको लागि काम गर्दा हामीलाई कहीं पनि असहज भएको छैन । निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु करिब-करिब पूरा भएका छन् ।
५. गाउँपालिका अध्यक्ष भएपछि जनताको मन जित्न के–के गर्नुपर्ने रहेछ ?
सुशासन र सेवा प्रवाहलाई सरल बनाउनुपर्छ । जो पालिकामा समस्या र गुनासो बोकेर आउनुहुन्छ त्यस्तो नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्छ । हामी निर्वाचित भएर आएको पनि त्यस्तै नागरिकको लागि हो । नागरिकलाई खुशी हुन र खुशी पार्नको लागि सानो भन्दा सानो कामलाई ध्यान दिनुपर्छ ।
व्यवस्थासँगै अवस्था फेर्नको लागि ठुला–ठुला भवन निर्माण मात्रै होइन नागरिकमैत्री, किसानमैत्री खालको कार्यक्रम बनाउनुपर्छ । उहाँहरुको आयआर्जनमा कहाँनेर र के गर्दा सहयोग पुग्छ भन्ने कुरालाई ध्यान दिएर काम गर्नुपर्छ जसले गर्दा व्यवस्थासँगै अवस्था पनि परिवर्तन गर्न सकिन्छ ।