नुवाकोट । सरकारले गरिदेला भनेर वर्षौं कुर्दा पनि सडकको अवस्था सुधार नभएपछि नुवाकोट दुप्चेश्वर गाउँपालिका ५ का स्थानीय सडक निर्माणमा जुटेका छन् ।
भ्याङ्ले कमेरेगाउँ सडकखण्डअन्तर्गत भ्याङ्ले-बालकुमारी मन्दिरसम्मको ४ किलोमिटर बाटो ग्राभेलका लागि गाउँलेहरु जुर्मुराएका हुन् । बाटो मर्मत तथा ग्राभेलका लागि स्थानीय जीतबहादुर तामाङको अध्यक्षतामा साउन २ गते ९ सदस्यीय बालकुमारी टोलसुधार समिति बनाइएको छ ।
समितिमार्फत त्यस भेगका काठमाडौंमा रहेका व्यक्तिहरुबाट १ लाख रकम उठाइएको थियो । जुन रकमबाट पहिलो चरणमा साउन २ गतेदेखि नै काम सुरु गरिसकेको छ । तर, बर्खायामका कारण काम सरासर नहुने भएपछि केही समय स्थगित गरिएको समिति सदस्य राकेश दोङ तामाङले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, 'तादी गाउँपालिका ४ र दुप्चेश्वर गाउँपालिका ५ जोड्ने तादीखोलामा 'भ्याङ्ले पुल' बन्यो । त्यसपछि सडकका लागि प्रदेश सरकारमा रकम छुट्याउन माग गर्न गयौं । तर माग सुनुवाइ भएन । सरकारको मुख ताक्नुभन्दा 'आफ्नो गाउँ आफैं बनाऔं' भन्ने सोचले काठमाडौंमा असार २२ गते गाउँले भेला गरेर अगाडि बढेका हौं ।' दुप्चेश्वर ५ मा पर्ने साविकको बालकुमारी गाविस १, २, ३ का झन्डै ६ सय जनसंख्याका लागि सडक मार्गको पहुँचका लागि आफूहरु लागि परेको उहाँले बताउनुभयो । उहाँका अनुसार ४ किलोमिटर बाटो ग्राभेलका लागि झन्डै ३५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान छ । जसमध्ये दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले १० लाख दिने आश्वासन दिएको सदस्य तामाङले बताउनुभयो ।
'एक लाखले नपुगेर देश, विदेशमा भएका हाम्रा भेगका युवा दाजुभाइ, दिदीबहिनीहरुलाई आग्रह गर्यौं । सहयोग उत्साहजनक रुपमा संकलन भइरहेको छ । पहिले र अहिले गरी २ लाख पुगिसकेको छ,' सदस्य दोङले भन्नुभयो- 'भ्याङ्लेदेखि बालकुमारी मन्दिर माझगाउँसम्म ग्राभेल गर्ने काम असोज-कात्तिकसम्ममा सकाउने लक्ष्य राखेका छौं ।'
उहाँका अनुसार बालकुमारी-कमेरेगाउँ ट्र्याक खुलेको झन्डै १२ वर्ष पुगिसकेको छ । पछिल्लो आर्थिक वर्षमा ११ लाख रुपैयाँ पालिकाबाट छुट्याइएको बजेटले कल्भर्ट निर्माण लगायत काम गरिएको थियो । गाउँपालिका वा अन्य सरकारबाट विनियोजित बजेट ठेकेदारलाई दिँदा राम्रो काम नहुने र वर्षौंसम्म पनि सडक जस्ताको तस्तै रहिरहेपछि आफूहरु लागिपरेको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले उक्त सडक खण्डका लागि नयाँ आर्थिक वर्षमा गाउँपालिकाले १० लाख रुपैयाँ बजेट बिनियोजिन गरेको बताउँदै स्थानीय युवाहरुको भावना र चाहना पूर्तिका लागि स्थानीय सरकार सधैं तयार रहेको बताउनुभयो ।
उक्त सडक खण्डमा काठमाडौं-त्रिशूली-बट्टार-छहरे-खरानीटार लगायत क्षेत्रमा आउजाउका लागि हिउँदमा जिप, मिनीट्रक लगायत सवारी साधन चल्ने गरेको छ । हिउँद, बर्खै यातायातका साधन चल्न सक्यो भने स्थानीय बिरामी पर्दा अस्पताल लैजान एम्बुलेन्स सहज रुपमा सञ्चालन होस भन्ने स्थानीयको चाहना छ ।
तादी र दुप्चेश्वर बालकुमारी जोड्ने पुल गत वर्ष करिब ९ करोड बजेटमा सम्पन्न भएको थियो ।