सन्दर्भ : पृथ्वी जयन्ती
कवि : खोजराज गोले (गोले केआर चालिसेली)
कि तँ छैनस् ! कि हामी छैनौं !!
हाम्रो पनि आफ्नै देश थियो
जहाँ कोही राजा थिएनन्
कोही रैती थिएनन्
सबै दाजुभाइ/दिदीबहिनी मात्रै थियौं ।।
कोही ठूला र साना थिएनौं
कोही ऊँच र नीच थिएनौं
सबै बराबरीका थियौं
म्हेमे म्हिए रेञ्जेनका सन्तान थियौं ।।
हाम्रो देशमा मानिस मात्रै थिएनौं
घाम वा जून मात्रै थिएन
नक्षत्र, तारा वा आकाशगङ्गा मात्रै थिएन
हावापानी वा वनजङ्गल मात्रै थिएन
वनस्पति वा सेमचेनथम्चे (प्राणी) मात्रै पनि थिएन ।।
दृश्यादृश्य शक्ति मात्रै थिएनन्
लोक वा परलोक मात्रै पनि थिएन
थिए त यी सबै सबै थिए
एकापसमा जोडिएका थियौं ।।
देखिँदा ज्यान अलग अलग देखिए तापनि
हेरिँदा स्वरूप फरक फरक देखिए तापनि
आखिरकार मुटु एउटै थियो
हामी एकै प्राणका थियौं ।।
यही हाम्रो साझा दर्शन थियो
जीवित निर्जीव जे जस्तो भए तापनि
हामी एकले अर्कोलाई आफै ठान्थ्यौं
एकको दुःखले अर्कोलाई दुखाउँथ्यो ।
एकको खुशीले अर्कोको ओठमा हाँसो सजाउँथ्यो ।।
तँ तँ तँ पाजी हत्यारा
मानिसका रगतको प्यासले जल्दै आयौ
आफ्नै दाजुभाइलाई मारेपछि
विजयोत्सव मनाउँदै आयौ ।।
नभएको नभएको भ्रम छर्दै आयौ
कतै वैवाहिक नाताको बहाना गर्दै
कोशेली लिएर आयौ
कतै मितेरी साइनोको जाल फिजाउँदै आयौ
हाम्रा ज्यान, प्राण र शान खायौ
सृष्टिको नियमलाई विकृत बनायौ ।।
अहिले तेरा काँचोवायुहरू
राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गर्दै
तँलाई बडामहाराजधिराज भन्दै
बाउन्न टुक्रामा टुक्रिएका भुरेटाकुरेलाई
एकीरकण गरेको झूठ ओकल्दै
तेरो निर्जीव मूर्तिमा माल्यार्पण गर्दैछन् ।।
साँच्चै एकीकरण नै गर्ने
तेरो धोको भएको भए
सबै समुदायप्रति सम्मान भएको भए
त्यतिखेर तैँले,
किन मितेरी साइनो जोड्दै
बालुवामा तरबार लुकाउँदै घात गर्यौ
हाम्रा पुर्खा अझै भनुँ हाम्रा पूर्वजन्ममा
तैँले हाम्रै हत्या किन गर्यौ ?
एकीकरणको महान् उद्देश्य भएको भए
किन सुनाएनाै ?
के तँलाई एकीकरणकर्ता मान्न नचाहेर
आइतबार बार्छौं भन्ने थियौं र ??
हिजो जे जे गरिस् गरिस्
हामी विश्वास घातमा पर्यौं पर्यौं
होस् भनेर चित्त बुझाउँदै त थियौं ।।
आज पनि फेरि किन तेरा काँचोवायुहरूले
राज्यसत्ताको दुरुपयोग गर्दै
राष्ट्र र राष्ट्रियताको गलत व्याख्या रटाउँदै
मानवकेन्द्रवादको पाठ घोकाउन खोज्दैछन्
तेरो स्तुति पाठ गर्न दबाब दिँदैछन् ??
हाम्रो सहनशीलतालाई कमजोरी ठान्दै
यो जन्ममा पनि मेरो गर्दनको नाप लिन खोज्दैछन्
लोकतन्त्रीय रगतको प्यासी बालुवामा
भूमिपुत्रनाशक तरबार लुकाउँदै
फेरि पनि मितेरी साइनोको
नाटक मञ्चन गरिरहेका छन् ।।
समय छँदै तथ्य बुझ/बुझाउ
ढिलो नगरी आफ्ना काँचोवायुहरूलाई
आफूले गरेका गल्तीलाई ढाकछोप हैन
स्वीकार गर्दै माफी माग्न लगाउ ।।
आफूद्वारा गरिएका गल्तीका लागि
माफीसमेत माग्न नसक्ने कायर हौ भने
मानवहत्यालाई वैधानिक ठान्ने अपराधी हौ भने
तँलाई किन एकीकरणकर्ता मान्नु नि ??
त्यसैले माफी मागेर नरकबाट छुटकारा लेऊ
हैन भने; आऊ खेलौं फेरि अर्को सिङ्गौरी
कि तँ छैनस् !! कि हामी छैनौं !!