न्यूयोर्क । लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित मोडल एवं नायिका रन्जिता गुरुङलाई अमेरिकामा भव्य स्वागत गरिएको छ ।
स्थायी रुपमा अमेरिका बसोबासका लागि आउनुभएकी रञ्जितालाई न्युयोर्कमा रहेका गुरुङ कलाकारहरुले शुक्रबार एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा गुरुङ फिल्मका नायक तथा निर्माता प्रेम गुरुङ, निर्माता तथा नायिका एन्सर्ज गुरुङ, नायिका नविना गुरुङ, प्रेम गुरुङ, रुथमान गुरुङलगायत सहभागी हुनुहुन्थ्यो । स्वागत ग्रहणपछि अनौपचारिक रुपमा मोडल रन्जिताले कलाकारितालाई निरन्तरता दिने बताउनुभयो । उहाँले सम्मानका लागि गुरुङ कलाकारहरुलाई धन्यवाद पनि दिनुभएको निर्माता तथा नायिका एन्सर्ज गुरुङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
रन्जिता श्रीमान्, छोरी र छोरासहित मंगलबार अमेरिका आउनुभएको हो । रन्जिताले ‘क्षितिजपारि उनको बस्तीमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘घामले नि पोल्दियो’, ‘सानु कहाँ छौं’, ‘त्यो मन रुन्न होला र ?’, ‘प्रीतिको फूल’ जस्ता दुई हजारभन्दा बढी गीतमा मोडलिङ गरिसक्नुभएको छ । सुन्दर रुप र जोडदार अभिनय गर्ने क्षमताकी रन्जिताले नेपाली फिल्म ‘गोर्खा पल्टन’मा पनि खेल्नुभएको छ ।
डेढ दशकभन्दा लामो समय नेपाली फिल्म, म्युजिक भिडियो साथै मोडलिङमा सक्रिय रञ्जिताले पछिल्लो समय ‘बन्दीपुरैमा’ गीतमा अभिनय गर्नुभएको छ । दुई महिनाअघि सार्वजनिक भएको लोकगायक प्रेमराजा महतको गीतमा उहाँसँगै रञ्जिताले अभियन गर्नुभएको छ । रञ्जिताले अभिनय गरेको मुग्लिन पुल तरि बोलको म्युजिक भिडियो केही दिनअघिमात्रै सार्वजनिक भएको छ ।