काठमाडौं । बेलायतवासी साहित्यकार विजय हितानद्वारा लिखित 'मगर रिन्हाक' पुस्तक आउँदो शुक्रबार काठमाडौंमा विमोचन हुने भएको छ ।
यही फागुन २० गते शुक्रबार दिउँसो २:४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा पुस्तक विमोचन कार्यक्रम राखिएको लेखक एवं साहित्यकार हितानले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा मगर र गैरमगरहरूलाई पनि निमन्त्रणा गरिएको छ ।
एक प्रमुख अतिथि, दुई विशेष अतिथि र दुईजना समीक्षकको तालिका बनाइएको विमोचन कार्यक्रम छोटोमिठो बन्ने उहाँको विश्वास छ ।
नेपाल मगर लेखक संघ प्रकाशक रहेको यस पुस्तकको विमोचन कार्यक्रममा उपस्थितिका लागि हितानले सामाजिक सञ्जाल फेसबुकबाट निमन्त्रणा कार्ड सार्वजनिक गरिसकेका छन् । विगत दुई दशकदेखि वातावरण साहित्यमा कलम चलाउँदै आएका गुल्मी स्थायी ठेगाना भई बेलायतमा कार्यरत हितानको 'मगर रिन्हाक' दसौं कृति हो । कविता, कथा, निबन्ध, नियात्रालगायत विभिन्न विषयका लेखहरूमा कलम चलाउँदै आएका हितानको अर्को पाटो समाजसेवा पनि हो ।
समाजसेवाको पाटोलाई पनि लेखनसँग जोड्दै आउनुभएका हितानले मगर संघ हङकङ, मगर संघ यूके, मगर संघ यूके, केन्ट शाखा आदिमा रहँदा गरेका सामाजिक कार्यहरूका बारेमा नियमित रुपले समाचार अनि लेखहरू पनि लेख्नुभएको छ । तिनै समाचार र लेखहरूलाई पुस्तकमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
हितानले आफ्ना हजुरबा पदमसिंह हितान र बाबा जयबहादुर हितानले मगर समाज र देशका लागि गरेका कार्यहरूलाई पनि पुस्तकमा समावेश गर्नुभएको छ । मगर समुदायका अन्य अग्रज व्यक्तित्वहरू प्रथम शहीद लखन थापा, मास्टर मित्रसेन थापा, गोरेबहादुर खपाङ्गीलगायतका व्यक्तिका बारेमा लेखेका विभिन्न लेखहरूलाई समेत कृतिमा समेट्नुभएको छ । उहाँले आदिवासी जनजाति, बौद्ध धर्म र मगर स्रष्टा प्रवर्द्धनमा पनि कलम चलाउनुभएको छ । उहाँका यसअघि 'ब्लु ब्लानेट', 'स्वच्छन्द सुसेली', 'जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व' लगायत कृति प्रकाशित छन् ।