काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन पर्सि आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको महाधिवेशन त्रिदिवसीयरुपमा सम्पन्न हुन लागेको घेदुङको केन्द्रीय कार्यालय चुच्चेपार्टीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । महाधिवेशन धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुनेछ ।
मध्याह्न साढे १२ बजे उद्घाटन सत्र सुरु हुने छ । उद्घाटनमा राज्यका उच्च ओहोदाका व्यक्तिलाई नबोलाइएको भन्नुहुँदै अध्यक्ष तामाङले तामाङ समुदायकै अगुवाहरुको उपस्थितिमा महाधिवेशन हुने बताउनुभयो । उहाँले प्रमुख अतिथि घेदुङका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का नेता परशुराम तामाङ रहनुहुने बताउनुभयो । साथमा ताम्बा, लामा, बोन्बोहरुको प्रस्तुति, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्यसहित विभिन्न व्यक्तिहरुबाट शुभकामना मन्तव्य रहने जनाउनुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गोलेले जानकारी दिनुभयो । लगत्तै बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने पनि जानकारी दिनुभयो । सके ३० फागुनमा र नसके चैत १ गते घेदुङले नयाँ नेतृत्व पाउने पनि उहाँले बताउनुभयो । महाधिवेशनको तयारी लगभग सकिएको उहाँले जानकारी दिनुभयो ।
२०७२ को महाभूकम्पजस्तो ठूलै विपत्ति आएमा मात्र महाधिवेशन रोकिने भन्दै अध्यक्ष गोलेले अब महाधिवेशन हुनेमा ढुक्क रहन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, 'अब महाधिवेशन एक भयो, दुई भयो, तीन भयो, यो खबर तपाईंहरुले सुनाइदिनुस् ।' महाधिवेशनमा सहभागी हुन देश, विदेशबाट ८ सयको संख्यामा प्रतिनिधि, पर्यवेक्षकको नाम दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि आकांक्षी नै आकांक्षी
घेदुङको नवौं संघीय महाधिवेशनका लागि अध्यक्षमै आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा वर्तमान अध्यक्ष मोहन गोले तामाङले दोहोर्याउने चाहना देखाउनुभएको छ भने वरिष्ठ उपाध्यक्ष बेली तामाङ, उपाध्यक्ष कुमार घिसिङ, पूर्वमहासचिव कुमार ब्लोनदेखि पूर्वसचिव काजीमान थिङसम्मका रहनुभएको छ ।
घेदुङ स्रोतका अनुसार औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा नगरे पनि यसपटक नेतृत्वमा रहर गर्नेहरु लाम लागेका छन् । चुनाव हुने स्थितिमा अझै दाबेदार बढ्ने स्रोतको दाबी छ । अध्यक्षका लागि दाबी गर्ने देखिनुभएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष कुमार घिसिङ, पूर्वसचिव एवं भाषा, साहित्य विभागीय प्रमुख काजीमान थिङ माओवादी निकट हुनुहुन्छ भने पूर्वमहासचिव कुमार ब्लोन नेकपा एमाले निकट मानिनुहुन्छ । वर्तमान अध्यक्ष गोले तत्कालीन संघीय समाजवादीको शक्तिमा चुनाव जित्नुभएको हो ।
घेदुङको विधानअनुसार ४ वर्षमा नयाँ नेतृत्व फेरिनु पर्ने भए पनि कोरोना भाइरसको महामारीलगायत कारणले समयमै महाधिवेशन हुन सकेन । पदाधिकारीमा दाबी गर्ने मुडमा केन्द्रीय सदस्य सरोजमोहन तामाङ, विद्यार्थी घेदुङका पूर्वपदाधिकारी हर्कबहादुर तामाङलगायत हुनुहुन्छ । त्यस्तै घेदुङ केन्द्रीय सदस्य एवं नेकपा एकीकृत समाजवादी निकटका पासाङ डोल्मा लामा, विद्यार्थी घेदुङको अध्यक्ष दिनेश गोले, उपाध्यक्ष अमिर मोक्तान, घेदुङ सचिव कांग्रेसनिकट रामकृष्ण ब्लोनले पनि सहमतिमा नभए चुनाव लड्ने बताउने गर्नुभएको छ ।
महासचिवमा पत्रकारसमेत रहनुभएका प्रसारप्रचार विभाग प्रमुख जगत दोङले दाबी गर्नुहुने देखिएको छ । उहाँ आन्तरिकरुपमा सहमति भए उपमहासचिवसम्म मान्ने नभए महासचिवमा चुनाव लड्ने योजनामा रहनुभएको बुझिएको छ । वर्तमान महासचिव महितकुमार तामाङ (बाबु घिसिङ) भने पदाधिकारीमै लड्ने कि बाहिरने भन्ने दोधारमा रहेको बताइन्छ ।
चुनावी मैदानमा जान एउटै विचारधाराकाले खुट्टा उचाल्न खोजिरहे पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा तामाङ अगुवाहरु लागिरहेका छन् । प्रतिनिधिसभाका सांसद एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङलगायतले सहमतिमै जोड दिइरहनुभएको छ ।
२१ सदस्यीय पदाधिकारी प्रस्ताव
विधान संशोधन गरी घेदुङले २१ सदस्यीय पदाधिकारी छान्ने तयारी छ । अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, समावेशी महिलासहित ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ४ सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष महाधिवेशन प्रतिनिधिले पारित गरे अनुसार हुने छ ।