कास्की । पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथाकृति हो । यी वाहेक उहाँका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशि भैसकेका छन् । १५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उहाँले भन्नुभयो । लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उहाँले बताउनुभयो ।
लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उहाँको भनाइ थियो । लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताउनुभयो । उहाँले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताउनुभयो । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गर्नुभयो भएको थियो । यसको संचालन जरोटुप्पोका महासचिव मदन भन्डारीले गर्नुभएको थियो भने सभापतित्व यसै संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले गर्नुभएको थियो । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धक उपस्थिति थियो ।
स्मरण रहोस् एक हप्ताअघि बुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो । जसको आयोजना माधव गौतम र गिरी श्रीषको संयोजकत्वमा पाठक मंचद्वारा गरिएको थियो । हितानले बुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढ्दै गरेका विद्यार्थीबीच पर्यालेखनबारे अन्तरक्रिया गर्नुभएको थियो ।
इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुनुहुन्छ । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्ययन गर्नुभएका हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत हुनुहुन्छ ।