रासस । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोटको कार्यतालिका बनाएर छनोट प्रक्रिया सुरु गरेको हो । समितिको कार्यतालिकाअनुसार आज ब्याडमिन्टनका लागि सात पुरुष र चार महिला गरी ११ खेलाडी प्रादेशिक छनोटमा परेका छन् ।
प्रादेशिक छनोटपछि राष्ट्रिय खेलकुदका लागि प्रदेशको अन्तिम टोली घोषणा हुनेछ । जिल्ला खेलकुद विकास समितिका सदस्य मनिषा गुभाजु, जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष विशाल खड्का, खेल अफिसियल ज्ञानेन्द्र भण्डारी, वीरबहादुर आले, इच्छा गुरुङ र रविचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ राष्ट्रिय खेलाडीद्वय भूगोल गुरुङ र विधान अधिकारीसहित विशाल खड्का, सशाङ्क अधिकारी, इशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट हुनुभएको छ । यसैगरी महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शीतल केसी छनोट हुनुभयो । यमकुकारी राष्ट्रिय खेलाडी हुनुहुन्छ र उहाँ राष्ट्रिय वरियतामा आठौँ स्थानमा हुनुहुन्छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रत्येक टोलीबाट ब्याडमिन्टनमा पुरुषतर्फ सात र महिलातर्फ पाँच जनाले प्रतिनिधित्व गर्नेछन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्लाबाट छनोट भएका खेलाडीले यही भदौ १५ देखि १८ गतेसम्म हुने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्राविधिक होनाले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय जिल्लास्तरीय छनोट प्रक्रियाका लागि कार्यतालिका प्रकाशित गरिसकेको कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाँले बताउनुुभयो । समितिले ब्याडमिन्टनसहित फुुटबल, बास्केटबल, एथलेटिक्स, भलिबल, कबड्डी, चेस, तेक्वान्दो, कराँते, रग्वी, क्रिकेट, टेबलटेनिस, उसुु, जुुडोलगायत २२ खेलको जिल्लास्तरीय छनोट सञ्चालन सुरु गरेको हो ।
राखेपले यही भदौ २५ गतेभित्र खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समय तालिका, खेल स्थलको जानकारी गराउने कार्यक्रम तालिका छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनएको एक गरी ११ टिमले ३६ खेलमा चार सय सात पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदको मुख्य आयोजनस्थल पोखरामा प्रतियोगिताको तयारी सुरु भएको छ ।
खेल पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षण अहिले सञ्चालन भइरहेको हो । विभिन्न खेलको खेलाडी छनोट प्रक्रियासमेत अहिले चलिरहेको छ ।