सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गर्नुभएको हो ।
कुल बिजियोजित मध्ये संघले खर्च गर्ने चालु तर्फ ४१ दशमलव ५२ प्रतिशत, पुँजीतर्फ २३ दशमलव १६ प्रतिशत, बित्तिय व्यवस्था तर्फ ११ दशमलव ६० प्रतिशत र संघ तथा स्थानीय तहमा बित्तिय हस्तान्तरण तर्फ २३ दशमलव ७२ प्रतिशत रहने अर्थमन्त्री शर्माले बताउनुभयो । अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट रु ५९ अर्ब ९२ करोड रहेको छ ।
अर्थमन्त्री शर्माले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताउनुभयो । त्यस्तै मुद्रास्फिती दर ६ दशमलव ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ । त्यस्तै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताउनुभयो ।
कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने र राजनीतिक आन्दोलनमा बलिदान गर्नेलाई मासिक तीन हजारका दरले भत्ता दिने अर्थमन्त्री शर्माले बताउनुभयो । उहाँले बिकास र तीव्रतर आर्थिक बिकासलाई प्राथमिकतामा राखेको र कर सुधारका लागि आयोग गठन गर्ने, व्यापार घाटा न्युनिकरण गर्न तीन महिनाभित्र योजना तय गर्ने जानकारी दिनुभयो ।
अर्थमन्त्री शर्माले विनाधितोको व्याज अनुदानको समहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्दै युवाहरूलाई सीप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखा मार्फत ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने जानकारी दिनुभयो । मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको जानकारी दिनुभयो ।