नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका नेकपा एमाले उम्मेदवार बद्री मैनालीलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा मैनालीलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
आयोग स्रोतका अनुसार मैनालीले औषधिको नाममा मतदाता प्रभावित पार्न पैसा बाँडेको उजुरी परेको थियो । मैनालीले उम्मेदवारी मनोनयनको दिन पनि प्रतिस्पर्धी दलका उम्मेदवारहरुलाई होच्याउने र अपमान गर्ने ढंगले अभिव्यक्ति दिनुभएको थियो । यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको छ ।
गत २०७४ निर्वाचनमा वाग्मती प्रदेशसभामा निर्वाचित मैनाली यसपटक वाम-लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)का बलिया उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । गठबन्धनका उम्मेदवार पूर्वमन्त्री एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ त्यस क्षेत्रमा पुन: उम्मेदवार बन्नुभएको छ । उहाँ गत निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई भारी मतले पराजित गरेर निर्वाचित हुनुभएको थियो । पछिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम हिसाब गर्दा गठबन्धनको मत र एमालेबीच मतान्तर झन्डै ३६ हजारभन्दा बढी रहेको छ । नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् ।
शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा कांग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित एमाले तेस्रो स्थानमा छ ।
राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा रहेका दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेको थियो । यसरी सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले स्थानीय चुनावमा प्राप्त गरेको मत जोड्दा ५४ हजार ३७१ हुन आउँछ । स्थानीय तहमा एमालेले पाएको मत १८ हजार २ सय ६७ हो ।