छुट्टै पहिचान र विकासको सम्भावना रहेको सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तह निर्वाचन-२०७४ पछि विकासका ढोकाहरु खुलेका छन् । पालिकाको पहिलो अध्यक्ष नेकपा माओवादी केन्द्रका पानीराज बोम्जन बन्नुभएको थियो । उहाँले अघि सार्नुभएका योजना र कामलाई निरन्तरता दिन र नयाँ काम थालनी गर्न स्थानीय निर्वाचन २०७९ बाट माओवादीकै नेता विमर्श मुक्तान ‘प्रख्यात’ निर्वाचित हुनुभएको छ ।
अघिल्लो नेतृत्वले केही हदसम्म मरिणवासीलाई विकास र सुशासनको अनुभूति त दिलायो नै, अध्यक्ष मुक्तान पनि जनताका समस्या समाधानमा तल्लिनु हुनुहुन्छ । वडाध्यक्ष हुँदै पालिका अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएका मुक्तान आफ्नो कार्यकालमा पालिकाको रुप फेर्ने, नागरिकका जीवनस्तर उकास्न प्रतिबद्ध हुनुहुन्छ । अध्यक्ष मुक्तानसँग मरिण गाउँपालिकाको कामकारबाही, प्राथमिक विषय र आगामी लक्ष्यबारे ग्लोबल मिडियाका लागि अन्जु तामाङले गर्नुभएको कुराकानी ।
गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएपछिको अवधिलाई कसरी नियाल्नुभएको छ ?
अहिले पाँच वर्षे कार्ययोजना बनाउने अवधिका रुपमा लिइरहेका छौं । गाउँपालिकाको आवश्यक कार्यविधि, नियमवलीहरु तयारी गरिरहेका छौं । करिब–करिब अन्तिम चरणमा आइपुगेका छौं ।
तपाईंले निर्वाचित वडाध्यक्षको जिम्मेवारी पूरा गरेर मरिण गाउँपालिकाको अध्यक्षमा बन्नुभयो, आफ्नो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
संमृद्ध मरिण बनाउनका लागि पहिलो कुरा सुशासन आवश्यक छ । त्यसो हुँदा कर्मचारीदेखि सबैमा एक खालको सक्रियता, लगतशीलता र निष्ठा हुनुपर्छ । यस्तो भएमा मरिणले सुशासन दिन सक्छ, होइन भने सम्भव हुन्न । किनभने विगतमा पनि सरकार संचालन गर्दै गर्दा सोचेअनुसार सुशासन दिन सकेको थिएन र केही समस्याहरु पैदा भए । त्यस कारणले अहिले हामी सुशासनसहितको सरकार संचालन गर्ने गरी अगाडि बढिराखेका छौं ।
नागरिकमाझ भोट माग्न जाँदा गर्नुभएका बाचा पूरा गर्नका लागि के के योजना अघि सार्नुभएको छ ?
कार्यकालको सुरुवाती समयेदेखि नै चुनावी प्रतिबद्धतालाई आत्मसाथ गरेर कामहरुलाई अगाडि बढाइराखेका छौं । चुनावी अभियानको क्रममा एम्बुलेन्स सेवा नि:शुल्क प्रदान गरिने कुरा शपथ खादा घोषणा गरेको थिएँ, अहिले कार्यान्वयनमा आएको छ । पालिकाभरिका आर्थिक अवस्था कमजोर भएका गर्भवती महिलाले सुत्केरी सेवाका लागि नेपालको कुनै पनि अस्पतालमा लैजाँदा नि:शुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ । सँगै उहाँहरुको नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई पनि अघि सारिएको छ । त्यो हुँदा गर्भवती महिलाले सेवा लिने समयमा नि:शुल्क स्वास्थ्य सेवा पनि पाउनुहुने छ ।
सामाजिक सुरक्षा भत्ता पनि एउटै बैंकबाट गाउँपालिकाभरिका ज्येष्ठ नागरिकलाई प्रदान गर्दा धेरै समयसम्म लाइन बस्नु पर्ने, घर जाँदा यातायात खर्चदेखि बाटो खर्च दिनु पर्ने समस्यालाई मध्यनजर गर्दै निर्वाचनमा समयमा घरघरमा सामाजिक सुरक्षा भत्ता भनेका थियौं । घरघरमै लान सकेनौं तर उपयुक्त ठाउँ वडाका दुई/तीन ठाउँमा सामाजिक सुरक्षा भत्ता पुर्याउने काम पनि कार्यान्वयन गरिसकेका छौं ।
यस वर्षबाट १२ कक्षासम्म हाम्रो मरिण गाउँपालिकामा नि:शुल्क शिक्षा प्रदान गरेका छौं । एकल पुरुषलाई पनि भत्ता वितरण गर्ने कुरालाई अघि सारेमा थियौं, प्रक्रिया पूरा गरेर अर्को चौमासिकबाट ४५ वर्ष पुगेका एकल पुरुषलाई भत्ता व्यवस्था गर्नेछौं । एकल पुरुष दाजुभाइको पनि विभिन्न समस्या हामीले देखेकोले उहाँहरुलाई मरिण पालिकाले मासिकरुपमा २ हजार भत्ताको दिने योजना कार्यान्वयनको चरणमा छ।
कृषिमा मिटरमार्फत सिँचाई गर्दा लाग्ने विद्युत् महसुल पालिकाले तिर्ने विषयमा पनि छलफल भएको छ । मरिण पालिकामा ७ वटा बृहत् खानेपानी रहेको छ । ३ सय घरधुरी समेट्ने एउटै खानेपानी आयोजनाहरु रहेका छन् । त्यो आयोजना करिब–करिब संचालन भइसकेको छ । ४ वटा उद्घाटन नै गरिसकेका छौं । केही उद्घाटनको तयारीमा छ । नि:शुल्क खानेपानीको व्यवस्था गर्ने प्रक्रियामा गाउँपालिका लागिरहेको छ । लिफ्टिङमार्फत जनतालाई धेरै कष्ट पर्ने भएकोले हामीले यो योजनालाई अघि सारेका हौं । अन्य कुराहरु पनि पालिकाले अघि बढाइरहेको छ ।
मरिणमा खेतीयोग्य जमिन पनि छन् । कतिपय पालिकाहरु कृषिमा आत्मनिर्भर हुनुपर्छ भनेर लागिरहेको पाइन्छ । यहाँहरुले कृषि क्षेत्रमा के के गरिरहनुभएको छ ?
मरिणले यस वर्षबाट मकै ब्लक सुरु गरेको छ । दुई ठाउँमा रहेको मकै ब्लक क्षेत्र, त्यहाँ बिउविजन, औजार वितरण गर्ने काम भइरहेको छ । सुन्तला, जुनार ब्लक भनेर कृषकहरुलाई अनुदान दिने काम पनि भइरहेको छ । कागतीको ब्लक बनाएका छौं, उत्पादन पनि हुन थालिसकेको छ । बाख्रा, भैसी, बंगुर पालनका लागि २ करोड १९ लाख रुपैयाँको टेण्डर भएर पनि कार्यान्वनको क्रममा छ । सँगै उत्पादनलाई जोड दिनका लागि पानीको आवश्यकता पर्ने भएकोले बृहत् सिंचाई मरिणबाट नै गर्नुपर्छ भनेर हामी लागेको छौं । सुनकोसी-मरिण ड्राईभर्सनसँग पनि छलफल गरेर केही ठाउँमा बृहत् खानेपानी र सिँचाईको लागि कुलो निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा ड्राईभर्सनको पनि त्यो कार्यक्रम रहेको हुँदा सबै खेतीयोग्य जमिनमा मरिणमा सुनकोसीको पानी आइसकेपछि प्रयोग गर्न सक्छौं । जसले गर्दा मरिणमा कृषिमा वृद्धि हुने र वृद्धि गराउन सकिने देखिन्छ ।
यी बाहेक नागरिकको इच्छा, चाहना र मागहरु के पाउनुभएको छ ?
मुख्यत: नागरिकको चाहना भनेको रोजगारी हो । रोजगारीका लागि सहकारी निर्माण गर्ने र त्यो सहकारीले तथ्यांक संकलन गरेर धेरैभन्दा धेरैलाई रोजगार दिने वातावरण बनाउने योजनामा छौं । सहकारीमार्फत गाउँपालिकाको प्रोजेक्ट, संघ र प्रदेशका विभिन्न प्रोजेक्टहरुबाट उहाँहरुको रोजगारी ग्यारेन्टी गर्ने । त्यस्ता खालका कार्यक्रममा औजारभन्दा पनि मानिसको प्रयोगबाट योजनाहरुलाई सम्पन्न गराउनेतिर हामी लागेका छौं । आवश्यक बाहेक मेसिन, औजारहरु प्रयोग नगरी त्यहाँका बेरोजगार युवाहरुलाई लगाउन सकियो भने धेरैले रोजगार पाउने विश्वास छ ।
अर्को माग भनेको पक्की सडक रहेको छ । दुई नम्बर वडाको खलंगा कात्तिके जानका लागि निकै कष्टकर बाटो छ । त्यहाँका जनताको पक्की बाटोको माग रहेको छ । त्यही ठाउँमा खानेपानीको पनि निकै जर्जर समस्या छ । खानेपानी समस्या समाधानका लागि पालिकाबाट २५ लाखको बजेट विनियोजन गरेको छ तर त्यत्तिले पुग्दैन । बृहत् खानेपानी योजनाको लागि डीपीआर गरेर दुई/चार करोडको व्यवस्था गर्ने गरी संघ र प्रदेश सरकारसँग माग गर्ने योजना पनि रहेको छ ।
सबै वडामा पक्की सडक पुर्याउनुपर्छ भन्नेमा हामी लागिरहेका छौं । १, ३, ४, ५ वडामा पनि पक्की सडक निर्माण हुन सकेको छैन, त्यसका लागि पनि हामी पहल गर्नेछौं । पाँच वर्षमा सबै वडामा पक्की बाटो बनाउने हाम्रो तागत छ । जनताको अपेक्षा हामी विस्तारै पूरा गर्दै जानेछौं ।
नागरिकको वृत्ति विकासका लागि चाहिँ कस्तो योजना छ ?
मुख्यत: चेतना हो, बिनाचेतना समृद्धि संभव छैन, यो कुरामा हामी क्लियर छौं । प्रत्येक बस्तीमा कार्यक्रम संचालन गरेर नागरिकको चेतना अद्धिवृद्धि गर्ने भनेर लागिरहेका छौं । अहिले वडा कार्यालयमार्फत पनि टोलटोलमा समाजलाई डोर्याउने खालका कार्यक्रमहरुलाई अगाडि बढाउने विभिन्न योजनाका साथ हामी लागिरहेका छौं । मलाई लाग्छ, पाँच वर्षसम्ममा जनताको चेतनामा परिवर्तन ल्याउन सक्छौं ।
मरिण आदिवासी जनजातिहरुको बसोबास रहेको पालिका हो । ती समुदायको भाषा, धर्म, संस्कार संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पालिकाको तर्फबाट के काम भइरहेको छ ?
मरिण गाउँपालिकामा पहिलोमा तामाङ, दोस्रोमा मगर र तेस्रोमा माझी समुदायको बसोबास रहेको छ । अन्य जातिहरुको बसोबास पनि छ । नेपालकै सबैभन्दा बढी माझी समुदाय बसोबास रहेको गाउँपालिकामा पनि पर्छ, मरिण । तामाङ समुदायका लागि अहिलेसम्म ३ वटा गुम्बा निर्माण भइसकेको छ । अन्य वडामा पनि प्रक्रिया अघि बढ्ने छ ।
त्यसैगरी मगर समुदायका लागि उहाँहरुको चाड पर्वका लागि पालिकाको तर्फबाट सहयोगबाट काम भइरहेको छ । संस्कार, संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पनि पालिकाको तर्फबाट बजेट दिँदै आइरहेको छ । माझी समुदाय, मगर समुदायको मुख्य पर्वमा एक दिन सार्वजनिक बिदा गाउँपालिकाले दिँदै आएको छ । आगमी दिनमा पनि हामी यो कुरालाई निरन्तरता दिनेछौं ।
मातृभाषा शिक्षालाई मरिणले कार्यान्वयन गरेको छ कि छैन ?
अहिले अगाडि बढाइसकेका छैनौं । तर बजेट विनियोजन भइसकेको छ । अब कार्यान्वयनमा जाने तयारीमा छौं ।
मरिणको पूर्वाधार विकासलाई कसरी गति दिने तयारीमा हुनुहन्छ ?
ठूला खालका योजना, भवन, पुल, बसपार्क निर्माणमा संघीय सरकारमार्फत अघि बढ्ने तयारीमा छौं । मरिणमा अहिले ४ वटा ठूलो पुलको आवश्यकता रहेको छ । किनभने सुनकोसी मरिण ड्राईभर्सन गइसकेपछि आवतजावतमा समस्या हुने देखिन्छ । कोसी आइसकेपछि हिउँदोको समयमा पनि आवतजावतमा समस्या हुन्छ । त्यस कारणले पुलको आवश्यकता छ ।
ठूला योजनाहरु पनि मरिणमा पार्नुपर्छ भनेर सम्बन्धित व्यक्तिहरुलाई भेट्ने काम गरिरहेका छौं । भुइँ वर्गको अवस्था बदल्नु पर्छ भन्ने पक्षमा हामी लागिरहेका छौं । जसका लागि कक्षा ११ पढ्ने विद्यार्थीलाई साइकल वितरण पनि गरिरहेका छौं । साइकल वितरण कार्यक्रम हेर्दा सानो भए पनि प्रत्यक्ष मतदाताको हातमा पुग्ने र बहुप्रयोगी साधन हो । स्नातक उत्तीर्ण गर्दासम्म विवाह नभएका महिला छन् भने प्रोत्साहन स्वरुप पालिकाको तर्फबाट एक लाख रुपैयाँ सहयोगको व्यवस्था पनि गरेका छौं । सहिद परिवारलाई भत्ताको व्यवस्था, द्वन्द्वमा परेका बालबालिकालाई अध्ययनका लागि पालिकाको तर्फबाट छात्रावृत्तिको व्यवस्था गर्ने कार्यक्रम पनि छ । यस्ता कार्यक्रमले नागरिकको अवस्था बदल्ने काम गर्नेछ ।
वृद्ध बाआमाका लागि पनि कम्तीमा ३ महिनामा एक पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने योजनाअनुसार अहिले अहेवहरुले घरमै पुगेर सेवा प्रदान गरिराख्नुभएको छ । परीक्षणको क्रममा मरिण गाउँपालिकामा पनि स्वास्थ्यमा थप समस्या देखिएको खण्डमा नागरिकलाई ८३ प्रकारका औषधि नि:शुल्क वितरण गर्दै आएका छौं । पालिकामै उहाँहरुको उपचार हुन नसकेमा स्वास्थ्यकर्मीहरुको सल्लाह, सुझावअनुसार थप उपचारका लागि पठाउनुहुनेछ । कतिपय आमा, बाहरु यस्तो हुनुहुन्छ कि परिवारले कहिल्यै पनि स्वास्थ्य चौकी नपुर्याएको । त्यस्ता आमा, बाहरुका लागि पालिकाले सुरु गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रम निकै प्रभावकारी हुने देखिन्छ ।
अर्को कुरा, कृषिवस्तु उत्पादन भए पनि मरिणमा बजारीकरणको समस्या रहेको छ । जसको लागि पालिकाले कलेक्सन सेन्टर स्थापना गरेको छ ।
कलेक्सन सेन्टरमार्फत बजारसम्म पुर्याउनका लागि कृषि एम्बुलेन्स खरिद गरिएको छ । त्यो कृषि एम्बुलेन्समार्फत किसाहरुले उत्पादन गर्नुभएको सबै वस्तु बजारसम्म पुर्याउने काम सुरुवात गरिसकेका छौं ।
वर्खायाममा मरिणले जमिन कटानदेखि डुबानजस्ता धेरै समस्या निम्त्याइरहेको हुन्छ, उक्त समस्या न्युनिकरण गर्न कसरी अघि बढ्नुहुन्छ ?
सिंगो मरिणको हकमा मरिण सुनकोसी डाईभर्सनबाट मुख्य ठाउँमा ड्याम बनाउने भन्ने छ । मरिणको सवालमा सुनकोसी मरिण डाईर्भसनसँग आश गरेका छौं । डाईभर्सनको निर्देशकसँगैको टिमसँग प्रेजेन्टेसन पनि भएको थियो । मरिणमा ड्याम अथवा तटबन्ध बनाएर संरक्षण गर्ने कुरा छ । रह्यो अब चुरे क्षेत्रको कुरा, त्यो क्षेत्रमा अहिले पनि राष्ट्रपति संरक्षणसँग समन्वय गरेर केही बजेट प्राप्त भएको छ । वार्षिकरुपमा बजेटहरु आइरहेको छ । अझ थप बजेटका लागि प्रदेश सरकारसँग माग गरेका छौं । सायद मलाई लाग्छ एउटा प्रोजेक्ट मरिणको लागि तयार हुँदैछ । त्यो प्रोजेक्ट आएको खण्डमा मरिणको हरेक क्षेत्र सुरक्षित हुन्छ भन्ने लागेको छ ।
विपद्को समयमा आउने समस्याका लागि हामीले पालिकाको तर्फबाट ३० लाख रुपैयाँ बजेट तारजाली खरिदका लागि विनियोजन गरेका छौं । वर्षायामको समयमा जुनसुकै बेला जुनसुकै बस्तीमा कटान हुनसक्ने खोला, खहरे प्रवेश हुन सक्ने खतरा भएकोले पालिकाको पनि आफ्नै तयारी पनि रहेको छ ।
अबको पाँच वर्षमा मरिणको रुप पक्कै फेरिन्छ त ?
पाँच वर्ष पछाडि कायापलट हुन्छ त हामी भन्न सक्दैनौं, तर विदेशमा रहेका साथीहरु पाँच वर्षपछि मरिणमा आउँदा पक्कै पनि रुप फेरिएको पाउनुहुनेछ, त्यो खालको एउटा विकासमा हामी लम्किने छौं । किनभने त्यो पालिकाबाट वडाध्यक्ष, पालिका, प्रदेश हुँदै संघको पनि माननीयज्यूहरु मिलेको हुँदा मरिणले फड्को मार्नेमा हामी आशावादी छौं । प्रत्येक वडामा पक्की सडक, आवश्यक परेको स्थानमा पुल, प्रत्येक घरमा खानेपानीको धारा, प्रत्येक घरमा कच्ची भए पनि सडकको व्यवस्था हुन्छ । यस्तै शिक्षामा हामीले कक्षा १२ सम्म नि:शुल्क गरिसकेका छौं । स्वास्थ्यमा बिमामार्फत विस्तारै फड्को मार्ने क्रममा छौं, १५ शय्याको अस्पताल स्थापनाका लागि हामी लागिरहेका छौं, जसको बजेट २४ करोड विनियोजन भएको छ ।
त्यसो हुँदा मरिण एक ढंगले अगाडि बढ्छ र त्यहाँसम्म पुर्याउन सकिन्छ भनेर हामीले सोचिरहेका छौं । साथै पर्यटकीय हिसाबले ऐतिहासिक पन्चकन्या पोखरी रहेको छ, डीपीआर गरेर अझ राम्रो बनाउने योजनामा छौं । अघिल्लो आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको थियो भने यो वर्ष ८५ लाख बजेट छ ।
ऐतिहासिक पञ्चकन्या पोखरीको विकास पक्कै हुने छ । जसले गर्दा पर्यटकको संख्यामा वृद्धि गर्न सकिने अपेक्षा लिएका छौं । थप निर्माणका लागि बजेट व्यवस्थापनको कुरा भइरहेको छ । त्यसैले हामीले सोचेको जस्तो मरिण बन्ने छ । ०७९ सालभित्रै सबैको घरमा विद्युत् पुर्याउनका लागि ठेक्का गरेर काम सुरु भइसकेको छ । सँगै सबै विद्यालयमा आईटीबाट सिकाई होस भनेर इन्टरनेट पुर्याउने काम पनि भइरहेको छ । करिब ९० प्रतिशत विद्यालयमा इन्टरनेट जडान पनि भइसकेको छ । अन्यमा पनि काम भइरहेका छन् । सूचना, सञ्चारको लागि नेटवर्क राम्रो नभएको स्थानमा टेलिकमको टावर राख्ने काम पनि सम्पन्न भएको छ । समस्या भएका अन्य ठाउँमा सर्भे-डिजाइन गरेर स्वीकृत पनि भइसकेको छ ।
संचारका लागि रेडियो मरिण पनि संचालनमा आइरहेको छ । यी कारणले गर्दा हिजोको मरिणभन्दा पक्कै फरक हुने नै छ ।