सामाजिक अभियानको दौरानमा मैले नदेखेको युरोपको धेरैपटक उदाहरण दिएँ । चुनावको बेलामा नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गरेको पनि धेरैचोटी सुनेको थिएँ । यसले ममा सामाजिक चेतनाको बीजारोपण भएसँगै त्यो युरोप कस्तो होला र सँगसँगै स्विट्जरल्यान्ड एकपटक पुग्न पाएँ हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । तर यसपटक त्यो सपना पूरा गर्ने अवसर मिल्यो ।
२०७९ भदौ २५ गते सुरु भएर मेरो यात्रा असोज ६ गते १२ दिनपछि टुंगियो । यसक्रममा युरोपको इटाली, स्विट्जरल्यान्ड, जर्मन, नेदरल्यान्ड, बेल्जियम र फ्रान्सका केही मुख्य मुख्य सहरको भ्रमण गरेँ । भ्रमण तालिकाअनुसार इटालीको रोम हुँदै फ्लोरेन्स, भेनिस, मिलानो, स्विट्जरल्यान्डको जुरिच, लुजर्न, जर्मनको टिटिसी लेक, ट्रिबर्ग, फ्राङ्कफर्ट, नेदरल्यान्डको आमस्टर्डम, बेल्जियमको मेनकन पिस, अटोपियम र फ्रान्सको पेरिस सहरको भ्रमणपछि म नेपाल फर्किएँ । १२ दिनको यात्रामा २ दिन प्लेनमा बित्यो भने १० दिन एउटै गाडीबाट ६ वटै देशको यात्रा गरेँ । हाम्रो भ्रमण दलमा कवि श्रवण मुकारुङलगायत जम्मा १८ जना थियौं । स्विट्जरल्यान्डदेखि एकजना भारतीय गाइड पंकज कपुरले हामीलाई बाँकी यात्राभरि साथ दिए भने अन्य सहरमा हामी पुग्नेबित्तिकै लोकल गाइडले सहरको मुख्यमुख्य स्थानमा पुर्याउने र बताउने गर्थ्यो । निश्चित समयभित्र घुमिसक्नुपर्ने बाध्यताका कारण त्यहाँको सभ्यता, संस्कृति, इतिहास, विविधता बारेमा धेरै कुरा जान्ने अवसर त मिलेन तर त्यहाँको दृश्यावलोकनबाट हामी विकासमा किन पछि पर्यौं भन्ने पाटोमा प्रशस्त जानकारी मिल्यो । मैले विगतमा पढेको युरोप र अहिले प्रत्यक्ष आँखाले देखेको युरोपको बारेमा तुलना गर्दा कतिपय कुरा मिल्न जान्थ्यो जसले मलाई धेरै कुराको सम्झना गरायो ।
यात्रामा जर्मनीबाहेक ५ वटा देशको सीमाना कतिखेर प्रवेश भयो र कतिखेर सकियो भन्ने कुरा नै थाहा पाउन हामीलाई कठिन हुन्थ्यो । गाइडले भनेपछि मात्र देशको सीमाना कटेको कुरा हामीले थाहा पाउँथ्यौं । स्विट्जरल्यान्ड र जर्मनीको बोर्डरमा ड्राइभर ओर्लेर गाडीको कागजपत्र देखाएको बाहेक देशको सीमानामा न एकजना प्रहरी उभिएको देखियो न कुनै जाँच नै गरे । कुनै बोर्डरमा एक मिनेट गाडी रोक्न परेन । यो देख्दा लाग्थ्यो, हामी फरक-फरक देशमा नभई एउटै देशमा यात्रा गरिरहेका छौं जस्तो अनुभूति भयो । जब कि हाम्रो नेपाल र भारतको बोर्डरमा छुट्टाछुट्टै देशको दर्जनौं प्रहरी लाठी र बन्दुकसहित तैनाथ गरिएका हुन्छन् र यात्रुलाई हैरानी गराउँछन् । सामान फ्याँकेर यात्रुमाथि दुर्व्यवहार गरिन्छ तर युरोपमा त्यस्तो कतै देखिएन । एकपटक भारतको जयनगरबाट फर्किंदा सामान्य गल्तीले झण्डै भारतीय प्रहरीको लाठी खानुपरेको र सँगै आइरहेका दुईजना नेपाली भाइहरूलाई सीमाका प्रहरीले लखेटीलखेटी चुटेको झलझली सम्झेँ । थिति बसिसकेको र थिति नबसेको मुलुकको अवस्थामा भिन्नता यसरी छुट्टिदोरहेछ ।
इटालीको पुरानो मिलानो सहर
स्विट्जरल्यान्ड बाहेक इटाली, जर्मनी, नेदरल्यान्ड, बेल्जियम र फ्रान्सको भूभागहरू समथर रहेछ । स्विट्जरल्यान्डको पनि जुरिच क्षेत्र समथर नै पाइयो । अपवादबाहेक सबै ठाउँमा आउने र जाने छुट्टाछुट्टै दुईवटा सडकको व्यवस्था गरिएको छ । आकार, प्रकारको हिसाबले सबै ठाउँका सडकहरू उस्तै मूल सडक नै हो जस्तो लाग्ने । गाडीहरू १०० देखि १५० सम्मको स्पीड (गति)मा आआफ्नै लेनमा दौडिरहेका हुन्छन् । सडकको कुन लेनमा कति स्पीड चलाउने भन्नेबारे चालकलाई जानकारी दिन ठुल्ठूला डिजिटल बोर्डहरू राखिएका छन् । हामी १० दिनसम्म एउटै गाडीबाट यात्रा गर्दा जम्मा ३ पटक ड्राइभरले हर्न बजाएको मैले सुनेँ । हर्न बजाउनुपर्ने परिस्थितिलाई त्यहाँ नराम्रो गल्तीको रूपमा लिइँदोरहेछ । सडकमा धुवाँ, धूलो र खाल्टाखुल्टीको कुनै सम्भावना छैन । मानौं, त्यहाँ धुँवा र धूलोलाई दुश्मनसरह व्यवहार गरिन्छ । सहरमा बाहेक हरेक चौबाटोमाथि पुल छ जसले गर्दा जामको समस्या छैन ।
हामी एउटा सुरुङमार्ग बनाउन पर्यो भने अन्तर्राष्ट्रिय हल्ला गर्छौं र कुनै पार्टीको अमुक नेतालाई सामाजिक सञ्जालमा देवत्वकरण गर्न थाल्छौं । तर, त्यहाँका अधिकांश सडकले पहाड छिचोल्नु पर्नेबित्तिकै ठाउँठाउँमा सुरुङमार्गहरू बनाइएका छन् । गहिरो जमिन छ भने धेरै माथिसम्म अग्लाअग्ला पुल बनाएर सडकलाई सिधा पारिएको छ । बाटोको लागि पहाडभरि नागबेली डोजर चलाएर त्यहाँ प्रकृतिमाथि विध्वंश गरिँदैन, सुरुङ मार्गको निर्माणबाट पहाडको संरचनालाई जस्ताको तस्तै राखिन्छ । यसबाट पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोपबाट त बच्ने नै भयो, अर्कोतर्फ भविष्यसम्म सवारी चापलाई ध्यान दिएर तेलको पनि बचत, समयको पनि बचत गर्ने दुरदृष्टि राखेर बाटो बनाइएको पाइयो । इटालीदेखि स्विट्जरल्यान्डको उकालो चढेपछि नेपालमा पहाड, चट्टान र नदीलाई विकासको अवरोध ठानिरहेको समाजमा हुर्किएका हामीजस्ता मान्छेलाई केही अचम्म लाग्छ । त्यहाँ नेपालमा भन्दा भयंकर चट्टानको पहाडहरू छन् । तर त्यस्तो पहाडलाई खोपेर ६ किलो मिटरसम्म लामा-लामा सुरुङमार्गहरू बनाइएका छन् । गाडीको मात्र होइन, रेलमार्गको लागि छुट्टै सुरुङ छ ।
स्विट्जरल्यान्डमा पहाडको उच्च भागबाट बग्ने विशाल नदीहरू छन् । त्यो नदीलाई ठाउँ ठाउँमा कुलेखानीभन्दा ठुल्ठूला बाँध बाँधेर बिजुली निकालिएको छ । स्वीस सरकार पानीबाट बिजुली निकालेर अन्य देशलाई बेचिरहेको छ तर हाम्रोमा नदी नै बेच्ने नेताहरू छन् । स्विट्जरल्यान्डमा पानीको प्रचुरताको कारण पानीबाटै बिजुली उत्पादन गरिन्छ भने अन्य देशहरू जर्मनी, बेल्जियम, नेदरल्यान्ड र फ्रान्सका सयौं ठाउँमा हावाबाट बिजुली निकाल्न ठुल्ठूला फिरफिरे पंखाहरू जडान गरिएका छन् भने कतै विद्युत् उत्पादन गर्न सौर्य उर्जाको लागि सयौं प्यान सेटहरू जडान गरिएको पाइयो । नेदरल्यान्डमा हावाबाट पंखा चलाएर काठ चिरान गर्ने मिलहरू सञ्चालित छन् जसलाई हेर्न पर्यटकहरू टिकट काटेर लाइन लाग्छन् । यसरी एकातिर काठ चिरानीबाट राज्यलाई फाइदा भइरहेको छ भने अर्कोतर्फ टिकट बिक्रीबाट पनि दोहोरो फाइदा लिएका छन् । स्विट्जरल्यान्डको हिमाली क्षेत्रमा ७५ जनासम्मलाई एकैपटकमा बोकेर ३२०० मिटरको उचाइमा पुर्याउने केवलकार चलाएको छ । हिमालको डरलाग्दो भीरमा झोलुङ्गे पुल, बरफको कृत्रिम सुरुङमार्ग, कृतिम हिउँको फोहोरा निर्माण गरेर पर्यटकहरूलाई आनन्दित तुल्याएका छन् । त्यत्ति उचाइको हिमाली भीरमा पनि ५ तलासम्मको बिल्डिङ बनाएर रेष्टुरेन्ट, कपडादेखि महँगा घडीसम्मको व्यापार चलाएका छन् । त्यहाँको सुन्दर दृश्य देख्दा हिन्दुशास्त्रले कल्पना गरेको स्वर्ग यहीँ हो कि जस्तो लाग्छ । त्यस्तो लाग्ने बनाएको त्यहाँको राज्य सरकारको कुशल व्यवस्थापनको कारण सम्भव भएको हो ।
सानो देशमा संघीयता सम्भव हुँदैन भनेर नेपालमा कुतर्क गरिन्छ तर स्विट्जरल्यान्ड नेपालभन्दा तीनगुणा सानो छ, जहाँ २६ वटा क्यान्टोनहरू छन् । त्यही सानो देशले समृद्धिको क्षेत्रमा विश्वमा नाम चलाइरहेको छ । त्यस्तै अर्को सानो देश बेल्जियम पनि संघीयतामा गएको मुलुक हो भने जर्मनी पनि संघीय संरचनामा गएको देश हो । तर, संघीयताले समृद्धिमा कुनै बाधा, व्यवधान खडा गरेको छैन ।
सहरमा बाहेक गाउँमा मानव बस्तीहरू सडकदेखि निकै परपर बसाइएका छन् । प्राय: चुच्चो परेको घरको छानो खवटा, टायल र ढुंगाको देख्दा परम्परागत शैलीलाई जीवित राखेको देख्न सकिन्छ । नेपालमा जस्तो सडक नजिकको जग्गालाई प्लटिङ गरेर घर बनाउने र सडक मिचेर नाङ्ले पसल थापेको कहीं देखिएन । नेदरल्यान्डको आमस्टर्डम सहरमा त अझ पुलमाथि विशाल व्यापारिक भवनहरू बनेको देखियो जब कि हामीकहाँ सडक विस्तार गर्न काठमाडौंमा आदिवासी नेवारहरूको घर भत्काइन्छ । यस्तो देशमा जन्मिएको मलाई त्यो दृश्यले अचम्मित तुल्यायो ।
स्वीटजरल्यान्डको पहाडी गाउँको दृष्य
युरोपका यी ६ वटै देशको सडक दायाँबायाँ विशाल खेतियोग्य जमिनका फाँटहरू छन् । खेतीको सबै काम मेसिनको प्रयोगबाट हुन्छ । काम गर्ने श्रमिकहरू विभिन्न देशबाट रोजगारीका लागि त्यहाँ पुगेका छन् । त्यति लामो यात्रामा मान्छेहरू बारीमा एकजना पनि काम गरेको देखिएन । जहाँ कतै मकै, गहुँ, फलफूल, सूर्यमुखी फूललगायत विभिन्न प्रजातिको खेती लगाइएको छ त कतै सडक नजिकको जग्गामा ठुल्ठूला घाँसे मैदानहरू छन् । मान्छे बस्नेभन्दा राम्रो जर्सी गाईका गोठहरू छन् । गाईलाई घाँसे मैदानको निश्चित भागमा चरनको लागि छाड्ने र त्यहाँको घाँस सकेपछि अर्को ठाउँमा छाड्ने गरिन्छ । यसो गर्दा केही दिनमा फेरि त्यहाँ घाँस पलाउने व्यवस्थित नियम रहेछ । त्यति लामो यात्रा गर्दा पनि बाटोमा गाई चराउने एउटै गोठालो देखिएन । गाईहरू पनि क्या इमान्दार जहाँ उसलाई त्यस दिनको लागि चरन क्षेत्र तोकिएको हो, त्यसबाहेक अन्यन्त्र चर्दैनन् ।
इटालीको रोम, भ्याटिकन सिटी, फ्लोरेन्स, मिलानो र फ्रान्सको पेरिस निकै पुरानो र भव्य सहर रहेछ । नेपालमा जंगबहादुर राणाले युरोप यात्रापछि त्यहीँकै सम्पदा देखेर दरबार र टुँडिखेल वरपरको घोडसवार मूर्ति बनाएका हुन् भन्ने ठम्याउन मलाई गाह्रो भएन । विश्वयुद्धको क्रममा ध्वस्त भएको, गोलीले प्वाल नै प्वाल भएको इटालीको भ्याटिकन सिटीस्थित दरबारको भग्नावशेष, फ्लोरेन्सको सातवटा पुलमध्ये ध्वस्त पार्न नसकेको एउटा पुल र पेरिसको फलामे आइफेल टावर लगायतका ऐतिहासिक महत्व बोकेको सम्पदालाई आजसम्म पनि जस्ताको तस्तै राखिएको छ । मानव सभ्यताको इतिहास बोकेको विश्व प्रसिद्ध राइन नदीको झरना (राइन फल्स)मा पर्यटकहरूलाई भित्र्याउन बोटिङको व्यवस्था गरिएको छ । जहाँ झरनाको नजिक बोट ठोक्काउँदा हामीले निकै आनन्दित महसुस गर्यौं । भेनिस सहरको समुद्री क्षेत्रका घरहरूमा जहाँ हिउँद-वर्षा गाडी कहिल्यै चल्दैनन् । त्यहाँको गल्लीगल्लीमा बोटिङबाटै मानिसहरू आफ्नो दैनिकी चलाउँछन् भन्दा हामी दिनरात माटोमा उभिएर खेल्नेहरुलाई अचम्म लाग्छ ।
प्रत्येक सहरमा धार्मिक आस्थाको केन्द्र भव्य चर्च र गिर्जाघरहरू छन् । संसारको ईसाई धर्मको केन्द्र रोम इटालीमा नै पर्दछ । कुनै बेला धर्मले युरोपका मुलुकहरूमा शासन चलाउँदथ्यो । धर्म गुरुहरू जनतालाई स्वर्ग जाने प्रमाणपत्र बेचेर धन कमाउँथे । उनीहरू सूर्यले पृथ्वी वरिपरि घुम्छ भन्ने विज्ञानविरोधी अन्धविश्वासको प्रचार गर्थे । बाइबलविरुद्ध बोल्नेलाई मृत्युदण्ड दिइन्थ्यो । जुनबेला युरोप जर्जर थियो । धर्मले युरोप खाइरहेकै युगमा विश्वविख्यात व्यक्तित्वहरू बिस्मार्क, कार्ल मार्क्स, मार्टिन लुथर, ग्यालिलियो, मार्कोनी, दान्ते, जीन ज्याक रुसो, अल्बर्ट आइन्स्टाइन, फ्लोरेन्स नाइटिङ्गेल, जाँ पोल सात्र्र, माइकल एन्जेलो, आर्किमिडिज, लिओनार्दो दा भिन्सीजस्ता दर्जनौं ठुल्ठूला विद्वान्, वैज्ञानिक, दार्शनिक, लेखक, कविको त्यही भूमिमा जन्म भयो । तब विस्तारै त्यहाँ धार्मिक सत्ताविरुद्ध संघर्ष चल्यो । अन्तत, दर्शन र विज्ञानको नै जित भयो ।
यतिमात्र होइन, नेपोलियन बोनापार्ट, हिटलर र मुसोलिनीजस्ता शासकहरू पनि त्यही जन्मिए । उनीहरूले कुनै कालखण्डमा सप्रेको युरोपलाई बिगारे भने बिग्रेको युरोपलाई सपारेको पनि इतिहास छ । तर यति धेरै उथलपुथलका बाबजुत पनि युरोप आज दुनियाँको अगाडि समृद्धिको युरोप बन्न सफल भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता कुराहरू राज्यको जिम्मा हुन्छ । हामीकहाँ एउटा जटिल रोग लाग्यो भने उसको घरबार उजाडिन्छ तर त्यहाँ राज्यले नै नि:शुल्क उपचार गरिदिन्छ ।
यति धेरै भव्य वैभव र सम्पन्नता हुँदाहुँदै पनि मेरो १० दिनको यात्राले धनमा युरोप अगाडि भए पनि संस्कृतिमा हामी अगाडि रहेछौं भन्ने निष्कर्ष निकाल्यो । यात्राको क्रममा मैले गाउँतिर धेरैपटक बसको झ्यालबाट नियालेँ । बुढापाकाहरू दुईजना चौतारोमा बसेर गफिएको कतै देखिएन । घरहरू त छन् तर सबै रित्ताजस्ता लाग्छन् । त्यहाँ एउटा घरबाट बाहिर मान्छे निस्केर हावा खाँदै टहलिएको पाइएन । सहरमा भएकाहरू आआफ्नो काममा छन् । उनीहरूसँग एकछिन आफ्नो दु:ख साट्न गफिने समय छैन । यसरी त्यहाँ पुँजीले मान्छेलाई औजारमा परिणत गरिदिएका छन् । कोहीसँग फुर्सद छैन । डिउटी टु डिउटी । जोश–जाँगर, बल–बैंस हुन्जेल त युरोप ठीकै छ तर बुढेसकालमा बुढो बाघजस्तै हाड र छाला हुँदा पनि हेर्ने, रेखदेख गर्ने आफन्त हुँदैन । हुनेले बुढेसकालमा केयर गिभरहरू राख्छन् तर नहुनेको हालत डरलाग्दो पाइयो ।
छोराछोरी कुन सहरमा काम गर्न गएका छन् र कहिले आउँछन् ? अत्तोपत्तो हुँदैन । क्रिसमसबाहेक थुप्रै पर्वहरू युरोपमा छन् तर ती आएको र गएको थाहा हुन्न । किनकि कसैलाई कामबाट फुर्सद छैन । हामी त दसैंमा १५ दिन आफन्त, नलनाता भेटघाट गर्छौं । ल्होछारमा एक महिना नाच्छौ । तिहारमा एक हप्ता देउसीरे खेल्छौं । उँधौली–उभौली, छठ, माघे संक्रान्तिमा पनि हाम्रो समाजमा त्यत्तिकै खुशीयाली छाउँछ । यस्ता पर्वहरूमा देशभित्रको मात्र होइन, विदेशबाट समेत आउने, जाने हुन्छ । यो पो हो त सांस्कृतिक सामिप्यता ।
तर युरोपको कल्चर देख्दा पुँजीवादले मानिसलाई स्वतन्त्रता खोसेर जीविकावादमा फसाउँछ र दास बनाउँछन् भन्थे हो कि जस्तो लाग्यो । मलाई लाग्छ, यति धेरै व्यस्त होस् भनेर प्रकृतिले मानव जीवनको पक्कै आविष्कार गरेको होइन होला । मानव जीवन भनेको खानेकुरा खोज्ने, मलमुत्र त्याग गर्ने र सन्तान उत्पादनमा रमाउनेमात्रै त होइन होला । हामीकहाँ इष्टमित्र, साथीभाइ, नलनाताप्रति अपार श्रद्धा राख्ने संस्कृति छ । हामी बेलाबेलामा यसखालको भेटघाटबाट एकआपसमा दु:ख साट्छौं । हामी छरछिमेकमा गाह्रो, साह्रो पर्यो भने सबै काम छाडेर पनि त्यहाँ पुग्छौं । हामीसँग धन छैन होला तर संसारलाई अटाउने अपार मानवीयता छ । त्यसैले हाम्रो प्राथमिकता युरोपियन कल्चर जस्तो काम होइन । मतलब पुँजी होइन । सबैलाई समआदरपूर्वक जोड्ने संस्कृति हो । यत्ति हो कि हाम्रोमा राज्यले सबैलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारीको ग्यारेन्टी गर्न सकेन । जसले गर्दा मान्छे काम नगरी रल्लिएर खाने भए । फुर्सद भएपछि जुवा, तास, मदिरामा भुल्लिएर देश बनाउने युवाले आफ्नो उर्वर समय बिताए । किनकि राज्यसँग यसलाई सुधार गर्ने, युवालाई काम दिने नीति भएन ।
राज्य देश र जनतालाई समृद्धितर्फ अघि बढाउने कुशल प्रबन्धक बन्न सकेन र दु:ख पायौं । नत्र हामी संस्कृति सहितको सम्पन्नतातर्फ अघि बढ्थ्यौं र नेपाल विश्वकै एकमात्र नमुना राष्ट्र बन्ने थियो । जाँदाजाँदै मलाई थोरै भन्न मन लाग्यो, नेपालका धेरै राजनीतिक नेता, मन्त्री, सांसद युरोप पुगेका छन् । सामाजिक अभियन्ताको नाताले मैले त यति लेखेँ । उनीहरूलाई किन थोरै पनि काउकुती लाग्दैन होला ? मनमा गज्जबको प्रश्न उठेको छ ।