२०७८ को दशैँ पनि गयो, कसैलाई ऋण बोकाएर कसैलाई धन कमाउने मौका दिएर । यो पाली पनि थरी थरीका दशैँका शुभकामना देखियो विजया दशमीको शुभकामना ! बडा दशैँको शुभकामना ! हिन्दुहरुको महान पर्व दशैँको शुभकामना ! नेपालीहरुको महान पर्व दसैंको शुभकामना ! दुर्गा भवानीले असुरमाथि विजय गरेको बिजया दशमीको शुभकामना ! राज्य प्रमुखले भने बडा दशैँको शुभकामना ! सरकार प्रमुखले भने दशैँको शुभकामना ! पार्टी अध्यक्ष तथा प्रमुखहरूले पनि शुभकामना दिए ।
ठुला बढाका शुभकामना त टिभी, रेडियो र खबर कागजले पनि दियो । स-सानाका शुभकामना सामाजिक संजालमा छ्याप्छ्याप्ती आए । हुँदाहुँदै पुर्व राजाले पनि शुभकामना भन्न भ्याए । उनको अलि कडै आयो, आफू बिनाको लोकतन्त्र असान्दर्भिक लाग्यो उनलाई । 'हिन्दु धर्म मान्ने अनि हिन्दु राजा किन नमान्ने' भन्ने उनलाई लाग्यो होला । त्यस्तै, पुर्व राजाको भनाइलाई समर्थन गर्दै राजावादी पार्टीको बडा दशैँको शुभकामना आयो । चिहानमा पुरिसकिएको राजतन्त्र जगाउने शुभकामना आयो ! राजावादीहरुले पुर्वराजाको आकङ्क्षालाई स्वागत गर्नु अस्वाभाविक हैन । उनिहरुले धर्मको नाममा जनतालाई अन्धभक्त बनाएर लामो कालखण्ड शासन गरे । त्यसकारण हिन्दु भावनालाई उचालेर यसो गर्नु उनीहरुको परम्परा नै हो । हिन्दु धर्म सामन्ती जातीय समाजमै बाँच्ने हो ! त्यो अचम्मको कुरा छैन र हैन । त्यसको उद्गम नै त्यसरी भएको थियो ।
हिन्दु धर्म हैन, संस्कृति हो भन्नेहरू पनि छन् । त्यसो हो भने हिन्दु कति संस्कृति र कति चाहिँ धर्म होला ? मनुस्मृती संस्कृतिको अभिलेख कि धर्मको सुत्र ? रामायण, महाभारत, पुराण जस्ता हिन्दु ग्रन्थहरु के हुन् ? संस्कृति सजीव र परिबर्तनशील हुन्छ । समय र समाजको आवस्यकता अनुसार संस्कृति संसोधन हुँदै जान्छ । हिन्दु धर्मलाई आधुनिक जमाना अनुसार बैज्ञानिक, सबै समुदायका लागि ग्राह्य बनाउन, मानवाधिकार मानक अनुसार विभेदरहित बनाउन, पुनरावलोकन नगर्ने ? अब यसो गर्नु हिन्दु पिठाधिसहरुको कर्तव्य भएन र ?
हिन्दुराज्य र हिन्दु धर्मबाट प्रताडित केही दलित र जनजातिले पनि बडा दशैँको शुभकामना बाँडे। केही तामाङले सोझो नाक नसमातेर म्हेनिङको नाममा पछाडिबाट घुमाएर समाते ! दर्बारिया संस्कृति थाम्नेहरुले हनुमान ढोकामा चाहिँ दशैँको अस्टमी, नवमीमा सैयौं भक्कु लडाए । दलित अधिकारकर्मी, जनजाति अधिकारकर्मी, लोकतन्त्रवादीको लागि प्रश्न : दशैँ मानेर हिन्दु जातीय सामन्तवादको बिरोध गर्यो कि समर्थन ?
दशैँ शब्द विजया दशमीको दशौं दिन र दशहराबाट आएको मानिन्छ । दशहरा शब्द भने दशानन अर्थात् दश र आनन (दश मुख भएको रावण) को पराजयबाट बनेको हो । अत : नेपालका जनजातिले अयोध्याका रामले रावणको बध गर्दा किन खुसी मनाउनु पर्ने ? त्यस्तै दुर्गा भवानीले महिषासुर नामक असुरको बध गरेको खुशियालीमा दशैँ मान्ने परम्परा बस्यो पनि भनिन्छ । जुन धर्मले दलितको मानवता माथी नै आक्रमण गर्यो त्यसलाई किन धर्म भन्नू पर्ने र? यो चाहिँ बिचित्रको कुरा भएको छ ।
नेपाली काङ्ग्रेस पार्टीको पनि शुभकामना आयो । यो उदारबादी लोकतन्त्रको पक्षधर पार्टी मानिन्छ । उदारवादी लोकतन्त्रको आधारभूत मान्यता हो- 'लोकतन्त्रमा प्रत्येक ब्यक्ति समान र स्वतन्त्र हुन्छन्' । के हिन्दु दशैँले समान र स्वतन्त्रताको सन्देश दिन्छ ? अहँ, दिंदैन । तब किन काङ्ग्रेस हिन्दु दशैँको शुभकामना बाँड्दैछ ?
एमाले कम्युनिस्टबाट प्रशिक्षित राष्ट्रपति त प्रत्येक शक्तिपीठ (देवी) चाहरेर बिछट्ट गर्दैछिन् । राजा र राष्ट्रपतिको भेद छुट्ट्याउनु कठिन भएको छ । यहाँ कम्युनिस्ट पार्टीहरु पनि शुभकामना दिन पछि परेनन् । मार्क्सवादी चिन्तन अनुसार धर्म र संस्कृति पनि बर्गिय हुन्छ । मार्क्सवाद भौतिकवादी दर्शन हो । हिन्दु दशैँको शुभकामनामा कहाँ बर्गिय पक्षधरता र भौतिकवादी दृष्टि प्रकट हुन्छ ? हुँदैन । मार्क्सवादले 'धर्मलाई ईश्वरको नाममा अन्यायलाई दैवी अनुमोदन दिने र समाज परिवर्तनलाई अबरोध गर्ने' हतियार मान्दछ ।
यो दशैँ पर्वलाई बडा भन्ने किन ? के अरु धर्म र संस्कृति छोटा हुन् ? कुनै पनि धर्म न ठुला छन्, न साना हुन्छन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिमा सबै धर्म सबै संस्कृति समान हुन्छन् । अनि आधुनिक युगमा मानवाधिकारको मापकसङ्ग मेल खाने धर्म र संस्कृति मात्र मान्नयोग्य धर्म र संस्कृति मानिन्छ । तर नेपालको सन्दर्भमा हिन्दु धर्म त राज्य धर्मका नाममा 'पिडक धर्म' पनि हो । यस्ले दलितलगायत गैर हिन्दुमाथी अत्याचार गर्दै आएको छ । नेपालमा बौद्ध, इस्लाम, किरात धर्ममाथी ठुल्दाईको व्यबहार गर्दै आएको छ । पिडक भएकोले बडा भनेको हो ?
सबै जातिका नेपाली जनताले हिन्दु धर्मप्रति किन गौरब गर्नुपर्यो ? कारण के होला ? दशैको कथा एउटा कल्पना हो कि वास्तविकता ? सरकारले दशैँमा हामी करदाताले तिरेको करको पैसा आफ्ना कर्मचारीलाई दशैँ खर्च भनेर बाँड्ने गरेको छ । यो दशैँ र राज्ययंत्र बिच के सम्बन्ध छ ? किन समाज बिभाजक धर्मले राज्यबाट प्रोत्साहन पाइरहेछ ?
धर्मनिरपेक्ष राज्यको धार्मिक तथा साँस्कृतिक नीति कस्तो हुनु पर्छ ? धर्मनिरपेक्षताले धर्म र राज्यलाई अलगअलग ठान्दछ । धर्मनिरपेक्षताको अर्थ धर्मले राज्य सन्चालनमा हस्तक्षेप नगर्ने र राज्यले धर्ममा अवरोध न गर्ने हो । ब्यक्तिको धर्म हुन्छ तर राज्यको धर्म हुँदैन । तसर्थ समाजवाद उन्मुख धर्मनिरपेक्ष संविधान अन्तर्गत बनेको सरकारले किन दशैँमा लामो बिदा र दशैँ खर्च दिनु परेको हो ? किन अन्य चाडपर्वमा त्यो सुबिधा नदिने ? स्पष्ट पार्नु पर्छ !
पुँजीवादमा हरेक वस्तु माल (Commodity) मानिन्छ । हरेक वस्तु बिक्रिमा राखिन्छन् । धर्म र संस्कृति पनि अपवाद हुन्नन् । तसर्थ पुँजीपतिहरुले धर्मको प्रवर्द्धन त नाफा र पुँजी सन्चयको लागि गर्ने हो ! उसलाई स्वर्ग र नर्कसङ्ग सरोकार हुन्न । बिज्ञापन धर्मका लागि हुँदैन । बिज्ञापन बजार बिस्तारको लागि गरिन्छ ।
काङ्ग्रेसको कुरा छोडौं, हामी कम्युनिस्टहरु समाजवादी संस्कृति निर्माणको गफ छाँटेर अघाउन्नौं । बिज्ञानसम्मत संस्कृतिको प्रवर्द्धन गर्ने जस्ले समाजलाई आधुनिकीकरण, सामुहिकिकरण र मानवीयतालाई अन्तर्राष्ट्रियकरण गर्नु सघाउँछ । तर, यस्तो व्यबहार र अभ्यासबाट के हामी समाजवादी संस्कृति निर्माण गर्न सक्छौं ? यी प्रश्नहरुप्रती सबैको गम्भीर रुपमा ध्यानाकर्षण होस् । सबैमा मङ्गलमय शुभ कामना !