संघीयता कार्यान्वयनपछि देशका ग्रामीण क्षेत्रका नागरिकले थोरै भए पनि घरआँगनबाट सेवा लिन पाएका छन् । सामान्य सिफारिस र सेवा लिन जिल्ला सदरमुकाम धाउनु पर्ने झन्झट र बाध्यता केही हदसम्म भए पनि कम भयो । स्थानीय सरकारले प्रदान गर्दै आएको सेवा सुविधालगायत विषयमा नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङसँग ग्लोबल मिडियाका लागि अन्जु तामाङले गर्नुभएको कुराकानीको सम्पादित अंश :
स्थानीय सरकार बनेपछि ककनी गाउँपालिकाले के के विकास निर्माण गरेको छ, बताइदिनुहोस् ?
ककनी गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित भएको पनि ५ वर्ष पुग्न लागेको छ । हामी निर्वाचित भएर आइसकेपछि धेरै विकास भएका छन् । ककनीमा जति नै विकास भएको छ त्यो स्थानीय सरकार आएपछि नै भएको हो । निर्वाचित भएर आएपछि क्यान्सर, मिर्गौला, पाठेघरका समस्या भएका महिलालाई एक व्यक्तिबराबर २५ हजार रुपैयाँ सहयोग गर्दै आइरहेका छौं । यो ककनी गाउँपालिकाको नयाँ कार्यक्रम हो ।
कोभिड–१९ का बिरामीलाई नि:शुल्क औषधि उपचारको व्यवस्था गाउँपालिकाले गर्दै आइरहेको छ । कोभिड भएका बिरामीको घरघरमै पुगेर पनि उपचारको व्यवस्था गरेका छौं । गाउँपालिकाले कोभिड संक्रमणबाट मृत्यु हुने व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँको दरले सहयोग गर्दै आइरहेको छ । कोभिड पोजिटिभ भएका बिरामीलाई प्रतिव्यक्ति ५ हजार आर्थिक सहयोग गर्दै आइरहेका छौं । कोभिडको लागि नै गाउँपालिकाले ४० देखि ५० लाख रुपैयाँ खर्च गरिसकेको छ ।
१८ वर्ष माथिका ककनी गाउँपालिकाका ९० प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप पाउनु भएको छ । स्थानीय सरकार नागरिककै समस्या समाधान गर्न आएको हुँदा पहिरो पीडितलाई ५ देखि २५ हजार अवस्था हेरेर प्रतिपरिवार वितरण गर्दै आइरहेका छौं । यो कार्यक्रम स्थानीय सरकार आएको सुरुवातको वर्षदेखि नै निरन्तर भइरहेको छ । यस्तै पशु सेवाको कुरा गर्नुपर्दा गाई, भैँसी सुत्केरी भत्ता ३ हजार प्रदान गर्दै आइरहेका छौं । पशु चौपाय मर्दा २० देखि २५ हजार किसानलाई सहयोग स्वरुप उपलब्ध गराउँदै आइरहेका छौं । किसानलाई लक्षित गर्दै ककनी गाउँपालिकाले नि:शुल्क पशुशिविर पनि संचालन गर्दै आइरहेको छ ।
ककनी गाउँपालिकाको प्रमुखको रुपमा निर्वाचित हुनुभएपछि यहाँले प्राथमिकता कुन विषयलाई दिनुभयो ?
मुख्य कुरा त सडककै समस्या थियो । सडक निर्माणलाई ककनी गाउँपालिकाले प्राथमिकतामा राखियो भने दोस्रो वर्ष त्यो सडक मर्मतसम्भारमा लागियो । हरेक ठाउँमा जनताका समस्या र योजना माग गरेअनुसार हामीले काम गर्नै पर्यो र अहिलेसम्म गर्दै आइरहेका छौं । अहिले ककनी गाउँपालिकामा काठमाडौं–त्रिशूली राजमार्गले धेरै समस्या बनाएको छ । २०७० मा सुरु गरेको सडक निर्माणको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन् । जस्तै बालाजु-रानीपौवा सडक खण्डको निर्माण ५० प्रतिशतमात्रै सम्पन्न भएको छ । यस्तै रानी–पौवा त्रिशूलीमा ३५ प्रतिशत जति काम भएको छ ।
नेपाल सरकारले टेण्डर निकाल्यो, टेण्डर ठेकेदारलाई पर्यो तर गाउँपालिकाले गरेन भनेर हामीलाई मात्रै गाली गरिरहेका छन् जनताले । सकेको छिटो काठमाडौं–त्रिशूली राजमार्ग निर्माणकार्य सम्पन्न गर्न मेरो यो मिडियामार्फत सम्बन्धित निकायलाई अनुरोध पनि गर्न चाहन्छु ।
गाउँपालिकाबाट बुझ्ने, किन ढिलासुस्ती भएको भन्ने बारेमा कुराकानी भइरहेको होला नि ?
प्रमुख जिल्ला अधिकारी, सडक विभागसँग छलफल भएको छ । आउँदो माघसम्म निर्माण सम्पन्न गर्ने कुरा पनि भएको छ । काम समयमा सम्पन्न हुन्छ भन्ने आश गरौं । बालाजु-तीनपिप्ले-रानीपौवा सडकखण्ड निर्माणका लागि भने सहकार्य भइरहेको छ । यो सडकखण्डमा झण्डै ४५ प्रतिशत काम बाँकी छ ।
ककनी गाउँपालिकाले गरेका अन्य कामहरु के के हुन् ?
ककनी गाउँपालिकाको अन्य विकासको कुरा गर्ने हो भने ककनीमा ६८ प्रतिशत तामाङ समुदायको भएको हुँदा पनि १० देखि १२ वटा गुम्बा निर्माण गरिसकेका छौं । एक गुम्बा बराबर २५ देखि ३० लाखसम्म बजेट विनियोजन गरेका छौं । पहिला हिन्दुको मठमन्दिर धेरै भएको हुँदा पनि बुद्धिष्टले बाध्य भएर हिन्दु धर्म मान्नुपर्ने अवस्था थियो । अहिले तामाङ समुदायको वृत्तिविकासका लागि पनि गाउँपालिकाले काम गर्दै आइरहेको छ । ल्होछारको दिन संघीय सरकारले एक दिन बिदा दिँदै आइरहेको छ भने ककनीले ३ दिन बिदाको व्यवस्था गरेको छ । यसो भन्दा अन्य समूदायलाई उपेक्षा भने गरेको होइन । हामीले सबै समुदाय, धर्म, संस्कृतिलाई समान व्यवहार गर्दै आइरहेका छौं । यो वर्ष ४ सयदेखि ५ सय बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्धारको लागि १० देखि २५ हजार रुपैयाँ व्यवस्था गाउँपालिकाले गर्दै आइरहेको छ ।
साथै कृषिको लागि ट्याक्टर, टनेलमा ५० प्रतिशत अनुदान दिइरहेका छौं । यस्तै अन्य बीउविजनका किसानलाई नि:शुल्क वितरण गर्दै आइरहेका छौं ।
पशु सुत्केरी भत्ता ३ हजारको दरले रकम सहयोग गर्दै आइरहेको छ । निर्वाचित भएपछि सबै ठाउँमा फलामको पुलको व्यवस्था गरेका छौं । हामी प्रथम निर्वाचित जनप्रतिनिधि भएकोले 'एक घर एक धारा'को लक्ष्य लिएका छौं । अहिलेसम्म ७५ प्रतिशत एक घर एक धारा बनाउने काम सम्पन्न भएको छ । बाँकी २५ प्रतिशत हाम्रै कार्यकालमा पूरा गर्नेछौं । ४ किलो मिटर तलबाट पानी तानेर जनतालाई सेवा प्रदान गरेको छ । मलाई लाग्छ नागरिक खुसी हुनुहुन्छ नभएका कामहरु पूरा गर्दै जाने छौं । यही टिम निर्वाचित भएको खण्डमा अबको काम भनेको सडक कालोपत्रे र ढलानतिर मात्रै लाग्छौं । ककनीका मुला धेरै ठाउँमा पुगेको छ भने मुलाको व्यापारलाई अझ राम्रो बनाउँनेछौं ।
ककनीको सडकको समस्या त धेरै लामो समयदेखि होइन र ?
ठेकेदारले अलिअलि आएको पैसा जग्गामा हाल्ने अनि सडक निर्माणमा काम नगर्नेजस्ता समस्याले गर्दा सडक निर्माण समयमा नसकेको जस्तो मलाई लाग्छ । जतिखेर काम सुरु गर्यो तर पैसाको मात्रै समस्या देखाउने कुरा छ । तैपनि मुड्खुभन्ज्याङदेखि रानीपौवासम्म बन्ला कि भन्ने आश छ ।
तपाईंहरुको कार्यकाल केही महिनामात्रै बाँकी छ, छोटो अवधिमा के के परिणाम दिँदै हुनुहुन्छ ?
एक घर एक धाराको कार्यक्रमलाई पूर्णता दिनु पर्नेछ । कृषिलाई बजेट विनियोजन भइसकेको छ । ककनी गाँउपालिकामा ६८ प्रतिशत तामाङ भएको हुँदा तामाङ भाषाबाट अध्ययनका लागि २२ देखि २५ वटा विद्यालयमा पाठ्यक्रम तयार गरेका छौं । कक्षा ५ सम्म इङ्लिस मिडियमबाट अध्ययन/अध्यापन भइरहेको छ ।
संघीयताले परिकल्पना गरेअनुसारको नागरिकले सेवा पाएका छन् त ?
संघीयता नागरिककै लागि ल्याएको हुँदा लगभग नागरिकको चाहनाअनुसार काम गर्न सकिएको जस्तो लाग्छ । शतप्रतिशत नै त नहोला तर धेरथोर काम पक्कै भएको छ । यो नागरिकले पनि महसुस गर्न सक्ने कुरा हो । १४ करोडको १० शय्याको स्वास्थ्य भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने कुरा छ । यस्तै ९ करोडको गाउँपालिकामा प्रशासन भवन यो पनि १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । सकेसम्म एक वर्षमा नै सम्पन्न गर्नेतिर हामी लाग्नछौं । विकास जादुको छडी होइन, विस्तारै हुँदै जानेछ । ककनी गाउँपालिकामा सबैभन्दा ठूलो समस्या गरिबी हो, यो समस्यालाई पनि विस्तारै हटाउँदै जाने छौं । हामी नेतृत्वकै सरकार फेरि आएको खण्डमा १० वर्षभित्र ककनी गाउँपालिकाबाट गरिबी हटाउने योजना छ ।
किसानको हितमा काम गर्ने, अबको १० वर्षपछि गरिबिको कारणले विदेशिन बाध्य नागरिकलाई केही न केही कामबाट यही ठाउँमा राख्ने व्यवस्था बनाउनेछौं ।
ककनीले ठूलो संख्यामा काठमाडौंको नागरिकलाई तरकारी पुर्याउँदै आइरहेको छ भने आम्दानीको मुख्यश्रोत तरकारी खेतीलगायत धेरै कुरालाई प्राथमिकतामा राख्ने छौं । ककनी गाउँपालिकाको विकासका लागि कुनै पनि कन्जुस्याँइ गरेका छैनौं ।