उच्च शिक्षा र रोजगारी लगायतका अवसरको खोजीमा विदेशिएका प्रवासी नेपालीको साझा संस्था हो, गैर आवासीय नेपाली संघ (एनआरएनए) । यो संस्थाको जापानलगायत विश्वका ८० भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद्, राज्य समन्वय परिषद् र क्षेत्रीय समन्वय लगायत संरचनामा खडा गरिएका छन् । प्रवासमा रहेका नेपालीहरुले विभिन्न जातीय, क्षेत्रीय संगठन खोलिए पनि एनआरएनए भने छाता संगठन जस्तै बनेको छ । जहाँ नेपाली, त्यहाँ एनआरएनए स्थापना भएको परिस्थितिमा नेतृत्वहरु संस्था विस्तारमा लागेको देखिन्छन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले पनि आईसीसीको निर्देशनअनुसार २०२३ -२०२५ कार्यकालको लागि पंजीकृत सदस्यता MIS SYSTEM बाट खुला गरेको छ । यो एकदम स्वागत योग्य कुरा छ । तर विगत र तत्काल स्थितिलाई हेर्दा एनआरएनएको सदस्य बन्न नेपालीहरुमा त्यत्ति उत्साह देखिँदैन । यसको कारण नेतृत्व र स्वयं व्यक्ति हुनसक्छ । म यो लेखमार्फत जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सदस्यता लिन हार्दिक अपिल गर्दछु ।
अब, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सदस्यता किन बन्ने ?
१ जापानमा बसोबास गर्ने नेपाली अर्थात् एनआरएनए हुँ भनेर परिचय पेस गर्न ।
२ जापान धेरै प्राकृतिक प्रकोप हुने देशअन्तर्गत पर्दछ । एनआरएनएको संजाल जापानभरि भएको हुँदा प्राकृतिक प्रकोपको बेलामा एनआरएनएको सदस्यता भएमा पहिचान गर्न सहज हुने हुँदा ।
३ एनआरएनएले गैर आवासीय नेपालीहरुमा भएको ज्ञान सिप, क्षमता प्रदर्शन गर्ने ठाउँ निर्माण गर्ने हुँदा आपनो क्षमता प्रतुत गर्न ।
४ जापानवासी नेपालीहरुको साझा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याई समाधानको पहल गर्न ।
५ एनआरएनएमार्फत नेपालको आफ्नो मौलिक कला, संस्कृति एवं संस्कार जोगाउन सहयोग गर्न ।
६ जापानमा बसोबासको क्रममा दु:ख, आपत पर्दा सहयोग लिन र सहयोग गर्न ।
७ जापानमा बसोबास गर्ने विज्ञहरुसँग सहजै परामर्श लिन ।
८ एनआरएनए जापानमा सफल नेतृत्व चयन गर्न ।
९ एनआरएनए सामूहिक लगानीमा सहभागी भई नेपालको समृद्धिमा टेवा पुर्याउन ।
१० नेपालका दिनदुखी असहायहरुलाई सहयोग गर्न।
११ नेपाल र जापानको सुमधुर मैत्री सम्बन्धलाई प्रगाढ बनाउन
यसका यति धेरै सुविधा हुँदाहुँदै पनि सदस्यता बन्नको लागि आम जापानवासी नेपालीहरु किन प्रेरित छैनन् ? यसबारे चर्चा गरौं । गैर आवासीय नेपाली संघ स्थापनाकाल सुरुवाती चरणमा एकाताबद्ध भई सामाजिक कार्य गरेको देखिन्छ भने क्रमश: विवाद बढी, पदमा बस्न जस्तो पनि गर्न तत्पर रहने र संस्थालाई माया गर्नुभन्दा पनि आफू हुँदा ठीक नत्र बेठीक भन्ने कुरा राम्रोसँग बुझ्न सकिन्छ । जसले गर्दा संस्था नै विवादमा तानिएको कयौं उदाहरणहरु छन् ।
यस वर्ष सदस्यता बन्न चासो नहुनुको मुख्य कारण गैर आवासीय नेपाली संघ जापान तथा आईसीसीको गत अधिवेशनमा भएको विवादले नै हो । यसले जापानमा नेपाली समाजमा भएको एकतामा समेत नै ठूलो असर गर्यो । विगतमा भएको गल्तीहरु सुधार गर्ने प्रतिबद्धता गरेकाहरुले सुधार नै गर्न सकेका छैनन् । यो दुखद् कुरा हो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले ०२३-०१-१६ तारिखबाट सदस्यता आह्वान गर्यो तर गत अधिवेशनको कमीकमजोरी सुधारबारे के प्रगति भयो भन्ने बारे कुनै जानकारी छैन । गत अधिवेशनको समस्या पहिलो सदस्यता वितरण, दोस्रो निर्वाचन प्रक्रिया र तेस्रो आईसीसीको विधानसँग जापानको विधान बाझिएको विद्यार्थीको सदस्यता रहेको थियो ।
पहिलो सदस्यता वितरण सम्बन्धमा यस वर्ष बन्ने सदस्यता सम्बन्धमा के के परिवर्तन भए र लुप होल कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि प्रस्ट जानकारी छैन । यसबारे प्रस्ट हुन जरूरी छ । एनआरएनको परिभाषामा सार्क मुलुकबाहेक अन्य देशमा १८२ दिन बसोबास गरेको कुनै पनि नेपाली (सरकारी कर्मचारीबाहेक) लाई गैरआवासीय नेपाली नागरिक मान्न सकिने भनिए पनि नेपाल सरकारले ल्याएको ऐनले दुई वर्ष विदेशमा बसेको व्यक्तिलाई मात्रै एनआरएनको सदस्यका योग्य मानेको छ ।
त्यस्तै, एनआरएनए आईसीसीको २००३ र (२०२१ संशोधनसहित) को विधानअनुसार 'गैर आवासीय नेपाली' भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेसा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ । यसै अनुच्छेदमा उल्लेखित "नेपाली मूलका विदेशी नागरिक" भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहिपछि दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ ।
यसरी हेर्दा एनआरएन जापानले आह्वान गरेको सदस्यतामा विद्यार्थीलाई प्रारम्भिक सदस्य दिने भनिएको छ त्यो सरासर गैर कानुनी छ । तत्काल सुधार गरियोस् । अनि अर्को कुरा एनआरएनए जापानले आह्वान गरेको सदस्यतामा जापानमा १८२ दिन बसोबास गरेको कुनै पनि नेपाली नागरिक सदस्य बानोस् भन्ने आशय बुझ्न सकिन्छ किनकि यसबारे प्रस्ट छैन । जसले गर्दा भोलि समस्या आउन सक्दछ ।
दोस्रो निर्वाचन प्रक्रियाबारे चर्चा गरौं । अहिले बन्ने सदस्य नै निर्वाचनको मतदाता हुन भन्नेबारे दुई मत छैन । तर कुन सिस्टम र कसरी निर्वाचन हुने हो कसैलाई थाहा नै छैन । यसको निर्णय कसले गर्ने ? एनआरएनए जापानले हो कि ? आईसीसीले हो कि ? निर्वाचन समितिले ? गत निर्वाचनको क्रममा चरम धाँधली भएको भनेर तीव्र आलोचना भयो । त्यसको समाधान आजसम्म पनि भएको महासुस छैन । अझ गम्भीर विषय त सम्बन्धित व्यक्तिले भोट गर्न पाएनन् । यस्तै हो भने सदस्य किन भन्ने गम्भीर प्रश्न छ । अत: यस विषयमा गंभीर भएर समस्या नहुने गरी अविलम्ब ठोस निर्णय गर्न सम्बन्धित सबैमा अपिल गर्दछु । अन्यथा सदस्यता बन्न प्रेरित नहुन सक्छ ।
तेस्रो कुरा गरौं विद्यार्थी सदस्यता सम्बन्धमा
नेपाल सरकारले ल्याएको ऐनले दुई वर्ष विदेशमा बसेको व्यक्तिलाई मात्रै एनआरएनको सदस्यका योग्य मानेको छ भने एनआरएनएको विधानले आफ्नो परिभाषामा नै विद्यार्थी एनआरएनए होइन भनेर प्रस्ट पारेको छ । यसरी हेर्दा सन् २०१३ देखि नै प्रस्टरुपमा परराष्ट्र मन्त्रालयले विद्यार्थीलाई एनआरएनएमा मान्यता दिएको छैन र एनआरएनएका अभियन्ताहरुले पनि विद्यार्थी सदस्य बनाउनेबारे चासो दिएको पाइएको छैन ।
यसो त, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले विगत धेरै कार्याकाल अघिदेखि नै निरन्तर जापानको विधानमा विद्यार्थी समेट्दै सदस्यता वितरण, मताधिकार र निर्वाचनमा उम्मेदवारसमेत बनी निवाचित भई कार्यकलासमेत पूरा गरेको धेरै उदाहरणहरु छन् । यो त गैरकानुनी नै हो नि ! यसलाई कानुनीरुपमा वैधानिक बनाउने बाटोमा लैजानुभन्दा पनि सार्वजनिक स्थानमा अभिव्यक्ति दिँदा विद्यार्थी सदस्य हुनु पर्छ भन्ने बाहेक अरु केही छैन ।
विद्यार्थीलाई वैधानिक बाटोबाट आईसीसीको विधान संशोधन गरी सदस्यता वितरण गर्न आवश्यक छ । तर पछिलो घटनाक्रम हेर्दा एनआरएनएको नेतृत्व वर्गले यसमा पहल गरेको पाइएको छैन ।
अब विद्यार्थी एनआरएनएमा किन आवश्यक छ ?
२१ औं शताब्दीमा एनआरएनएजस्तो जिम्मेवार साझा संस्थामा कुनै वर्ग, क्षेत्रअनुसार विभेद गर्नु यो कदापी मान्य हुने छैन । विद्यार्थीहरु भनेका भोलिका उर्जाशील एनआरएन हुन् । आज प्रवासमा नेपाली समुदायको सबैभन्दा ठूलो जनघनत्व विद्यार्थीको छ । उनीहरुलाई एनआरएनए मूलधारमा ल्याई सही मार्गनिर्देशन गर्न जरुरी छ । आफ्नो सुन्दर भविष्यको परिकल्पनासहित ज्ञान हासिल गर्न आएका हाम्रा भविष्यका कर्णाधरलाई किन एनआरएनएले व्यवस्था गर्दै छोडेको छ । मलाई एकदम दु:ख लागेको छ । आज जापानलगायत धेरै देशहरुमा विद्यार्थीहरुलाई सही मार्गनिर्देशन दिन सक्दा सुन्दर भविष्य नै बिग्रेको धेरै उदाहरणहरु छन् । यस जातिलाई परिस्थितिमा एनआरएनले विद्यार्थी आफ्नो पहुँचबाट टाढा राख्दै गर्दा झन् समस्या बढ्न सक्दछ । एनआरएनएको सदस्य नहुने वर्गले अधिकार माग्न पक्कै सहज हुँदैन ।
एनआरएनको उद्देश्य नेपाली र नेपालको लागि हो भने २ वर्षभन्दा बढी प्रवासमा बसोबास गर्ने विद्यार्थीलाई एनआरएनए सदस्यता दिँदै सही मार्ग निर्देशन गर्न जरुरी छ । एनआरएन नागरिकताजस्ता विषयमा सरकारसँग माग गरी कार्यान्वयनको नजिक पुगिसकेको छ भने विद्यार्थी सदस्यता भने विषय त्यति धेरै जटिल देख्दिनँ तर अब यसबारे बुलन्द आवाज उठाउन र एनआरएनएका नेतृत्ववर्गलाई झक्झकाउँदै नेपाल सरकार समक्ष पुर्याउन जरुरी छ ।
अन्त्यमा, सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एनआरएनए सदस्यता लिन विनम्र अनुरोध गर्दछु । एनआरएनए सदस्यता लिनेबारे जिज्ञासा भए एनआरएन क्युस्यु तथा एनआएनए जापानमा सम्पर्क गर्नुहोला । एनआरएनए जापान तथा आइसीलाई नेतृत्व वर्गलाई एनआरएन सदस्यता र निर्वाचन पारदर्शी बनाउन जिम्मेवार हुन अपिल गर्दछु ।
साथै, विद्यार्थीलाई एनआरएनएमा जोड्न सबैले पहल गर्न आवश्य रहेको हुँदा साथ सहयोगको अपिल गर्दछु ।
(बगाले, एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको संयोजक हुन्)