म उ बेला राजन बम भनेर चिनिने मान्छे हुँ । 'हजार माइलको लामो बाटो एक पाइलाबाट सुरू हुन्छ' बोलको गीत गाउने मान्छे । अरू धेरै नै छन् पार्टीको नाममा गरेका योगदान ।
कलेज जीवन ५५/५६ साल माओवादी समर्थक । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा माओवादी विद्यार्थी संगठनको कार्यक्रममा गीत गाउँदा यातनासहित प्रहरी हिरासतमा तीन रात । २०५७ को अन्तिमदेखि माओवादी पूर्णकालीन सदस्य हुँदै सामना सांस्कृतिक परिवार सदस्य । केही समय जनमुक्ति सेनाको टिममा नेतृत्वको भूमिकासम्म निर्वाह गरी पुन सांस्कृतिक आन्दोलनमै रहेर देश तथा विदेश खासगरी भारतका गल्ली गल्लीमा जागरण गीत गराउँदै आफ्नो भूमिकालाई पूरा गरेको हुँ सबैलाई थाहा छ । अरू त धेरै नै छ मेरा भूमिका सायद एउटा किताब भरिएला । पार्टीले पार्टीको जिम्मेवारी मेरो क्षमता त दिएकै हो । यसमा मेरो केही गुनासो छैन । माओवादी आन्दोलनमा श्रीमतीलाई गुमाएँ । मेरो बालिका बहिनीले वर्षौं जेलको यातना भोगिन् । मेरो घर चलेको थियो । हाम्रो परिवारको रोजीरोटी चलेको थियो । सानो व्यवसाय थियो । त्यो द्वन्द्वकै कारण ०५८ सालमा हो झन्डै त्यति बेलाको १२ लाख रुपैयाँ बराबरको क्षति भाको थियो । मेरा बाआमा वर्षौं समाजबाट अपहेलित भएर बस्नु भो । किनकि म एक्लै माओवादी थिएँ त्यहाँको । केही छैन देशमा परिवर्तन आयो चित्त बुझाइयो ।
हुँदाहुँदा विभिन्न नाममा पार्टी टुक्राटुक्रा भयो । म पनि टुक्रे बाबुराम भट्टराईको पछि लागेँ वैकल्पिक शक्ति बनाउने हुटहुटीमा । त्यो आवश्यक नै थियो किनकl व्यवस्था परिवर्तन त भयो नेपाली जनताको अवस्था फेर्न पर्ने थियो । बाबुराम विचार सही थियो उनी एक्लो बृहस्पतिझैं भए । चुनाव लडियो संगठन विस्तार गर्ने नाममा अलिअलि भाको पैसा, जोस, जाँगर पसिना सकाईयो । तर चाकडी गर्न फिटिक्कै मन लागेन । र कुनै लाभको पदमा नियुक्त हुने अवसर जुरेन । अहिले पापी पेटको सबाल छ । यो राजनीतिको २३ वर्षको उपलब्धि पूर्णकालीन भएको हिसाब गरेर भन्दा यो ४३ वर्षको उमेरमा मनमा पीडा थाम्दै दुधे २ वर्षको छोरासहित छोराछोरीलाई छोडेर श्रीमान्/श्रीमती नै खाडी मुलुक जाँदैछौं ।
अहिले तपाईंहरूलाई लाग्दो हो यो कता हरायो, किन निष्क्रिय भयो । हैन म त्यही खाडी मुलुक जान साथीको बाइक लिएर पठाओ सेवा गरिरहेछु । नेताहरू ईश्वर रिजाल र रमेश खड्कालाई सबै मेरो कुरा थाहा छ । खाडी मुलुक जान लाग्या पैसा सापटी देउभन्दा मानिसहरू हाँस्छन् । बाबुराम भट्टराई र गंगानारायण तेरो नेता होइन । तँलाई त सबै कुरा पुगिहाल्छ नि ! के को खाडीतिर जाने । दुई पैसा पत्याउँदैनन् ।
हुन त, यो मेरो भावना हो । फेरि यथार्थ पनि यही हो । आजभोलि मनमा असाध्य पीडाबोध हुन्छ । राजनीती त पैसा हुनेले गर्ने हो । हामीले होइन । अहिले नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य हुँ । मेरी श्रीमती नुवाकोट जिल्ला कोषाध्यक्ष छिन् । के गर्ने हामी त भर्याङमात्र रहेछौ । मलाई लाग्छ, म जतिको केही जानेको मान्छेलाई त यतिको पीडा छ । झन् अरूको कति होला ? देशको स्थिति भयावह छ । नेताज्यूहरू बेलैमा त्यतातिर ध्यानाकर्षण होस् । मेरो सानो सुझाव ।
आजकल खाडीतिर जान खर्च जोहो गर्न पठाओ चलाउँछु । बेला बेलामा विभिन्न पार्टीका नेताहरू चढछन् मेरो सवारीमा । बहालवाला वडाध्यक्षदेखि सासंदसम्म । कोहीलाई ठमेल मसाज केन्द्र पुर्याएँ । कोहीलाई दोहोरी । कोहीलाई पार्टी कार्यालय । कोहीलाई हस्पिटल पुर्याएँ । एक दिन त आफ्नै कार्यकर्ता आफ्नै पार्टी कार्यालयमा । किसान संघको केन्द्रीय सदस्य । वाग्मती प्रदेश सदस्य हुनुहुँदोरहेछ ललितपुर घर । भाइ १२० उठ्छ म तिमीलाई १५० दिन्छु मलाई हतार छ बैठक सुरू भो । अनि गेटसम्म लगिदे । सधैं आफैले चिया खाने ठाउँमा छोडीदिएँ । ३० रूपैयाँ बढी आउँदा नि खुशीलाग्दो रहेछ । किनकि मलाई खाडी जाने पैसा जुटाउनु छ । गेटमा बसेर एकछिन हेरेँ बाबुराम दाइ र हिसिला दिदी आउनु भा रहेछ । ईश्वर रिजाल दाइलाई देखेँ । फुर्सद भए त पस्दा हुन्थियो । तर मलाई जति सकेको त्यति चाँडो ५ हजार पुर्याउनुथियो किनकि मेरो मेडिकल थियो ।
अनि एक दिन जमलबाट बानेश्वरसम्म मेरो पठाओ सेवामा नेता, सांसद चिनकाजी गुरूङ दाइ चढ्नु भो । उहाँले त मलाई चिन्नु भएन । मैले पैले नै चिनेँ । अनि सिंहदरबार पुग्ने बेला जनवादी गीत । म आफैंले गाएको गीत हजार माइलको गीत गाए । गुरूङ दाइले भाइलाई नि गीत गाउन आउँदोरहेछ । अँ दाइ आउँछ । यो त माओवादी गीत हो । यो गायकलाई चिन्छौ भाइ ? यो गीत मलाई मन पर्छ ।
अँ चिन्छु दाइ । यावत कुराहरू हुँदै गए । ओर्लने बेला भाइको नाम के हो ? म त्यही गीत गाउने मान्छे हुँ दाइ । दाइ एक छिन अकमक्क हुनुभो । अघि नै भन्नु पर्दैन । म हाँसे । २२० भाडा थियो ५०० दिनु भो । मेरो खुशीको कुनै सीमा रहेन । किनभने मलाई खाडी जाने पैसा जुटाउनु थियो । उहाँहरूको पम्फा दिदीसँग मिटिङरहेछ । फेरि भेटौंला भाइ । फोन नम्बर दिएर छुट्नु भो । अब एक दिन खाडी जाने ॠण माग्नु छ ।
अनि एक दिन एमाले नेता डोटी । बहालवाला वडाध्यक्ष हुनुहुँदोरहेछ । सुन्धाराको दोहोरीबाट झुल भएर राति ११ बजे एक जना आईमाई साथी पनि हुनुहुँदोरहेछ निस्कनु भो । भाइ मलाई किर्तिपुर लगिदेउ । मभन्दा ५ वर्ष भाइ रहेछन् । 'मैले हस् दाइ' भनेँ । बाटोभरि माओवादी, कांग्रेसलाई गाली गरे । सुनेर गएँ । मलाई नि गाली गर्थे । मैले कुनै वास्ता गरिनँ । उनी सँग मेरो सम्बन्ध पैसाको थियो । उनले नि चाहिनेभन्दा बढी नै दिए १००० । उनीसँग त भ्रष्टाचार गर्या पैसा थियो । मलाई थाहा छ, कमाईको पैसाले त्यसरी मस्ती गरेर हिँड्न पुग्दैन । मलाई नि मतलब थिएन किनकि खाडी जान रकम जुटाउनु थियो ।
अब मैले मेरो घर खुसी राख्नु छ । मैले लिएको विभिन्न साथीभाइ बैंकसँग लिएको ऋण तिरेर समाजमा असल नागरिक हो भन्नेर चिन्निनु छ । म कसैको बैमानी बन्न चाहन्न । यो मेरो नियत हैन । समयलाई चिन्न नसक्दा भएको दुर्घटना हो । त्यसैले खाडी जान लाग्या छु ।
दोष कसैलाई छैन । न त बाबुराम न त प्रचण्ड । न त अरू कोही । तर देश त सम्हालिनसक्नु भाको छ जताततै समस्या ! नेताहरूले बेलैमा सोचुन् । परीक्षणको घडी हो । अब समयले पर्खनेवाला छैन ।