एउटा इतिहास रच्ने चरणमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद् यसबेला पाँचौं सम्मेलनको तयारीमा जुटिरहेको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को गतिविधि, आगामी जेठ २०/२१ अर्थात् जुन ३ र ४ तारिखमा थाइल्यान्डमा निर्धारण गरिएको सम्मेलनबारे परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङसँग ग्लोबल मिडियाले गरेको कुराकानी ।
१ अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन नेपालमा नगरी थाइल्यान्डको बैंककमा गर्ने निर्णय किन गर्नुभयो ?
अन्तर्राष्ट्रिय तामाङ परिषद् विश्वभरिका तामाङहरुको साझा मञ्च हो । यस परिषद्मा करिब दुई दर्जन मुलुकहरुमा क्रियाशील राष्ट्रियस्तरको तामाङ संस्थाहरु सदस्य छन् । अहिले यस परिषद् पाँचौ सम्मेलनको संघारमा छ । अन्तर्राष्ट्रिय संस्था भएको नाताले परिषद्को सम्मेलनहरु विभिन्न मुलुकहरुमा आयोजना गर्दै जाने भन्ने नीति रहँदै आएको छ । तर, स्थापनाको २१ वर्ष पार गरी चार वटा सम्मेलनहरु सम्पन्न गर्दासम्म पनि सम्मेलनहरु नेपाल र भारतमा मात्रै घुमिरह्यो । विभिन्न मुलुकहरुमा सम्मेलन आयोजना गर्दै जाने परिषद्को नीति कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय संस्थाको भावना र मर्मलाई ब्यवहारत सम्बोधन गर्न पाँचौ सम्मेलन नेपाल र भारतबाहेक तामाङहरुको बसोबास रहेको अर्को मुलुकमा आयोजना गर्नुपर्ने जिम्मेवारी हामीमा आयो ।
नेपाल र भारतपछि तामाङ बसोबासको लामो ऐतिहासिक पृष्ठभूमि भएको देश बर्मा (म्यानमार) हो । औपचारिक तथ्यांकअनुसार बर्मामा अहिले तामाङहरुको जनसंख्या ३३ हजार छन् र ८/१० पुस्ताको ऐतिहासिक पृष्ठभूमि छ । तर त्यहाँको आन्तरिक राजनीतिक कारणले अहिले सभा–सम्मेलन गर्न बञ्चित छ । रोजगारको अवसर र थाइल्यान्डसँगको खुल्ला सिमानाको कारणले ठूलो संख्यामा बर्मेली तामाङहरु थाइल्यान्डमा छन् । थाइल्यान्डमै पनि त्यस देशको नागरिकको हैसियतमा ३/४ पुस्तादेखि बसोबास गर्दै आएको तामाङहरु छन् र अहिले त्यहाँ तामाङको जनसंख्या एक हजारभन्दा बढी छन् । तामाङ समाज थाइल्यान्ड विगत एक दशकदेखि क्रियाशील छन् ।
यी सबै विषयहरुलाई मध्यनजर गरी हामीले तामाङ समाज बर्मा र तामाङ समाज थाइल्यान्डसँग छलफल गर्यौ । उहाँहरुकै रायअनुसार यो सम्मेलन दुवै संस्थाको संयुक्त व्यवस्थापनमा थाइल्यान्डको बैंककमा आयोजना गर्ने निर्णय लिएका हौं ।
२ तपाईं अध्यक्षको दौडमा हुनुहुन्छ ?
जुन देशमा सम्मेलन आयोजना भयो त्यही देशले परिषद्को नेतृत्व लिने परम्पराअनुसार अबको नेतृत्व (अध्यक्ष) पनि थाइल्यान्डकै हुन्छ । मुलुक ठूलो/ सानो अथवा जनसंख्या धेरै/थोरै जे भए पनि अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिले सबैको समान मर्यादा हुन्छ र त्यहीअनुसार व्यवहार पनि गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय संस्थाको हैसियतले त्यही कूटनीतिक मर्यादाअनुसार सम्मेलनहरु आयोजना गर्ने र नेतृत्व निर्माण गर्ने नीति अन्तर्राष्ट्रिय तामाङ परिषद्को रहेको छ ।
३ ताम्सालिङ निर्माणमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को भूमिका कस्तो रहन्छ ?
तामाङ जातिको विशिष्ट सभ्यताको विकास भएको ऐतिहासिक भूमि- ताम्सालिङ नेपालमा पर्छ । सबैभन्दा धेरै तामाङ जनसंख्या भएको देश पनि नेपाल हो र तामाङहरुको पहिचान राज्यस्तरमा स्थापित हुन सक्ने देश पनि नेपाल नै हो । नेपालका तामाङहरुले ताम्सालिङ निर्माणलगायतका राजनीतिक-सांस्कृतिक अधिकारहरु संस्थागत गर्नका निम्ति संघर्ष गर्दै आइरहेको छ ।
नेपालमा तामाङहरुको राजनीतिक अधिकार स्थापित गर्नको निम्ति मुख्य रुपले नेपालकै तामाङहरुले लड्नु पर्ने हुन्छ । यस्तो मुक्ति आन्दोलनहरु सफल बनाउन विभिन्न मुलुकहरुमा बसोबास गर्ने तामाङहरुको साथ-सहयोग पनि आवश्यक पर्दछ । नेपालमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को संस्थापक/स्थायी सदस्य नेपाल तामाङ घेदुङमार्फत यस्तो आन्दोलनको नेतृत्व लिनेछ र अरु सामाजिक संघ-संस्थाहरु र राजनीतिक मोर्चाहरुलाई पनि आन्दोलनको पहल लिन आग्रह/अनुरोध गर्दछ । अन्तर्राष्ट्रिय तामाङ परिषदले यस्ता सबै आन्दोलनहरु सफल बनाउन संसारभरिका तामाङहरुको साथ, सहयोग र ऐक्यबद्धता जुटाउन सक्रिय भूमिका निर्वाह गर्नेछ ।