नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पछिल्लो पटक संशोधित कार्यतालिका कार्यान्वयन भएमा मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ । केन्द्रीय अधिवेशन भने मंसिर २४, २५ र २६ गतेको लागि तय भएको छ । पार्टीभित्रको गुटबन्दी र अन्य कारणले कांग्रेस महाधिवेशन समय तालिका पटक-पटक फेरिँदै आएको छ । यद्यपि ढिलोचाँडो हुने अधिवेशनहरुका लागि केन्द्रदेखि स्थानीय तहका नेताहरु निर्वाचन आफ्नो पक्षमा पार्न छलफल, बैठक, दौडधुप र आरोप-प्रत्यारोपमा रहेका छन् । नुवाकोटको हकमा भने वडा र पालिका अधिवेशनबाट करिब सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेताहरुले बताएका छन् । अब जिल्ला नेतृत्व कस्तो पाउला भन्ने कांग्रेसभित्र र अन्य पार्टीसमेत चासो देखिन्छ । जिल्ला नेतृत्वको आकांक्षीका रुपमा देखिनुभएका कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नुवाकोट जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङसँग ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गरेको कुराकानी :
अधिकांश वडा अधिवेशन सकिएको छ । केन्द्रमा गुटबन्दी तर स्थानीय तहमा सहमतिबाट नेतृत्व चयन भइरहेको छ भनिन्छ, नुवाकोटको हकमा कस्तो रह्यो ?
नेपालको संविधानले परिकल्पना गरेअनुसार राष्ट्रियस्तरका राजनीतिक दलहरुले आफ्नो पार्टी महाधिवेशन प्रत्येक ५ वर्षमा गर्नु पर्ने हुन्छ । त्यो सीमाभित्र आफ्नो पार्टीलाई नवीकरण गरेर लैजानुपर्ने बाध्यताअनुसार नेपाली कांग्रेसले कोभिड १९ को जोखिमपूर्ण अवस्थामा पनि आफ्नो महाधिवेशन सम्पन्न गरी यसलाई नवीकरण गर्नुको विकल्प नभएकोले अधिकांश जिल्लाका वडा अधिवेशन समयमै सम्पन्न गर्यो । तर क्रियाशील सदस्यताको केही समस्याका कारण केही जिल्लामा हुन बाँकी छ । वडा र पालिका अधिवेशनको अधिकांश ठाउँमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । सहमति नभएका वडा र पालिका अधिवेशनमा संविधान र पार्टी विधानले निर्देशन गरेअनुसार लोकतान्त्रिक प्रणालीअनुसार नेतृत्व चयन भएको अवस्था हो ।
नुवाकोटको हकमा पनि वडा अधिवेशन सर्वसम्मत भयो त ?
१२ वटा पालिका र ८८ वटा वडाहरु नुवाकोटमा छन् । जसमध्ये ७५ भन्दा बढी वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
कांग्रेसभित्र केन्द्रीय नेतृत्व तहमा चरम गुटबन्दी देखिएको छ । पदलोलुपताले कि सिद्धान्त, विचारका कारण यस्तो भएको ?
विशेष गरेर गुटबन्दी भनेको विचार सिद्धान्त नै हो । विचार, सिद्धान्तलाई अक्षरस पालना गरेर पार्टी कार्यकर्ताहरु, पार्टीपंक्ति रह्यो कि रहेन भन्ने कुरामा नै गुटबन्दी सिर्जना हुने हो । त्यसै गरेर व्यक्तिको आचरण, व्यक्तिको मूल्यांकन, कुनै पनि व्यक्तिको योगदान, हिजो लोकतान्त्रिक आन्दोलन, प्रजातन्त्र प्राप्तिदेखि संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने बेलाको संयुक्त आन्दोलनहरुमा उसको भूमिकाको आधारमा समानुपातिक हिसाबले, पारदर्शी रुपमा आफ्ना कार्यकर्ताहरु चयन गरेर जिम्मेवारी प्रदान गर्यो भने गुटरहित पार्टी बन्न सक्छ । तर बिडम्बना हाम्रो नेपाली कांग्रेसमात्रै होइन नेपालका अधिकांश पार्टीहरुमा राम्रोलाई भन्दा हाम्रोलाई छनोट गर्न खोज्ने प्रवृत्ति व्याप्त छ । यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी न्यूनिकरण गर्दै लैजाने, कसरी हाम्रो कांग्रेस बनाउने, कसरी राम्रो कांग्रेस बनाउने भन्नका लागि सैद्धान्तिक गुटबन्दी हुनुपर्छ । अहिले आर्थिक रुपमा सम्पन्न भएका, आर्थिक रुपमा माथिल्लोस्तरमा रहेकाहरुको पार्टीमा प्रवेशलगायतका विचलन, विकृतिहरु नेपालका पार्टीहरुमा व्याप्त छ । यसलाई न्यूनिकरण गरेर लानुपर्छ भन्ने सबै नेतृत्वको जिम्मेवारी हो । हामी त्यसमै लागिरहेका छौं ।
तपाईं चाहिँ देउवा कि पौडेल गुटमा हुनुहुन्छ त ?
संस्थापन पक्ष । उहाँ सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न जातजाति, भाषाभाषी, धर्म क्षेत्रको आधारमा प्रवेशमा गराउनुपर्छ । पार्टीमा सहभागिता जनाउनुपर्छ । सबैलाई समानुपातिक हिसाबले जिम्मेवारी प्रदान गर्नुपर्छ । कुनै एउटा जाति, समुदाय र वर्गको मात्रै पार्टीमा प्रभुत्व जमाउनु हुँदैन । सबै नेपालीको पार्टी बनाउनु पर्छ भनेर 'कदमजम' सुत्रधार गरेको हुनाले वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई हामीले सहयोग गरेका हौं ।
१२ औं महाधिवेशनमा पार्टीका आदरणीय नेता सुशील कोइराला हुनुहुन्थ्यो, उहाँलाई नेतृत्व चयन गरेका थियौं । १३ औं महाधिवेशनमा हामीले आदरणीय सभापति शेरबहादुर देउवालाई नेतृत्व चयन गर्यौं । उहाँको विचार, सिद्धान्तको आधारमा, उहाँले प्रतिपादन गरेको सुत्रको आधारमा । जस्तै सबैलाई समान किसिमले, तलदेखि माथिसम्म समावेशीता पार्टीभित्र पनि अक्षरस पालना हुनुपर्छ भनेर सैद्धान्तिक विचार उहाँले प्रतिपादन गर्नुभएको थियो । त्यो विचार हामीलाई मन पर्यो हामीले सहयोग गर्यौं । १४ औं महाधिवेशनमा नेतृत्वका दाबेदारहरुले कस्तो खालको सिद्धान्त प्रतिपादन हुन्छ । त्यसको आधारमा हामीले सहयोग गर्ने कुरा हुन्छ । वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने अवस्था हुनसक्छ । अथवा योभन्दा पछि बेटर कांग्रेस निर्माणका लागि युवा साथीहरु पनि लागिरहनुभएको छ । दोस्रो तहका नेताहरु पनि लागिरहनुभएको छ । उहाँहरुको विचार, सिद्धान्त, नीति, कार्यक्रम, कस्तो किसिमको पार्टी उहाँहरुले बनाउन खोज्नु भएको हो । उहाँहरुको पर्सनल मेनुफेस्टो हेरेर सहयोग गर्ने कुरा आउँछ ।
पार्टीभित्र गुटबन्दी र झगडा गरिरहने र सरकारमा रहेर पनि जनताका अपेक्षा पूरा नगर्दा कांग्रेसलाई अबको चुनावमा फेरि धक्का लाग्दैन र ?
हाम्रो देशमा नेपाली जनताले चाहेको एउटा राजनीतिक स्थिरता र यो देशका राजनीतिक पार्टीले सुशासन कायम गरोस् । भ्रष्टाचार नियन्त्रण गरोस् । जवाफदेही सरकार बनोस् भनेर इच्छा र आकांक्षाका साथ नेपाली जनताले भरोषा दिलाएर झन्डै दुई तिहाइको बहुमतको वामपन्थीहरुको सरकार नेपालमा बनेको थियो । त्यो सरकार पनि आन्तरिक झगडाका कारण, व्यक्तिगत टकरावका कारण सैद्धान्तिक नभई पदलोलुपताका कारण छिन्नभिन्न हुन पुग्यो । पार्टीहरु धूलो हुन पुग्यो । त्यसैले अबको आशा भनेको नेपाली कांग्रेस हो । यो पार्टीले भनेको २ सय ४ वर्षीय जहाँनिया राणाशासनबाट यो देशलाई मुक्त गरेर प्रजातन्त्र स्थापना गर्नका लागि नेतृत्व गरेको छ ।
२०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनाउने अवसर यही पार्टीले प्राप्त गरेको थियो । २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । त्यसैगरी २०६२/०६३ को आन्दोलनमा एकातिर नेकपा (माओवादी) र अर्कोतिर सात दल र राजसंस्थाबीचमा पनि कम्बिनेसन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना गर्न यसले नेतृत्व गरेको छ । संविधान निर्माणका लागि पनि यसैको नेतृत्व आवश्यक पर्यो । २०६४ सालमा संविधानसभा निर्वाचन भयो । त्यो निर्वाचनबाट नेकपा (माओवादी) ठूलो दल बन्यो । तर त्यो दलले अभिभावकत्वको भूमिका खेलेर संविधान निर्माण गर्न असफल भयो । त्यसपछि २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन भइसकेपछि नेपाली कांग्रेस ठूलो दल बन्यो । यसको नेतृत्वमा अन्य दलहरुलाई मिलाएर नेपाली जनताको चाहनाअनुसार २०७२ को संविधान बन्यो । संविधान बनेपछि संघ, प्रदेश, स्थानीय तहको निर्वाचन भयो । वामपन्थी सरकार छिन्नभिन्न भएको अवस्थामा अबको आशा भनेको नेपाली कांग्रेस हो ।
नेपाली कांग्रेसले विगतदेखि खेलेको भूमिका र देशलाई संकट परेको बेला नेतृत्व दिँदै आएकोले देशलाई स्थिरता कसरी दिने र अन्य पार्टीहरुलाई कसरी मिलाउने भन्ने जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ । यही अवस्थालाई चिन्तन गरेर सबै नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले गुटको भन्दा पनि भविष्यको आशा र भरोषाको पार्टी बनाउने भन्नेतिर नै हामी लागिरहेका छौं ।
चौधौं महाधिवेशनमा नुवाकोटको सभापतिमा तपाईं पनि दाबेदार हुनुहुन्छ भन्ने सुन्नमा आएको छ, चुनावमा लड्दै हुनुहुन्छ ?
१२ औं र १३ औं महाधिवेशनसम्म आइपुग्दा नुवाकोटमा कांग्रेसका विभिन्न नेताहरुले नेतृत्व गर्दै आउनुभएको छ । हामीले अहिले व्यक्तिको भन्दा पनि विचारको स्थापना कसरी गर्ने, कसरी नुवाकोटलाई कांग्रेसमय बनाउने र कांग्रेसलाई नुवाकोटे जनताको आशा र भरोसाको केन्द्र बनाउने, कसरी यो पार्टीलाई नुवाकोटे जनताको पार्टी बनाउने भन्नेतिर लागिरहेका छौ । यसमा सबै तह, क्षेत्रबाट नेतृत्वका लागि अनुमान गरिएको फिगरहरुमा मेरो पनि नाम लिने गरिएको छ । व्यक्तिगत रुपमा भन्नु पर्दा हामी पार्टीको अधिवेशन सम्पन्न गर्न विगतमा जस्तो गुट-उपगुट गरेर, एउटा पक्षलाई निर्वाचनमार्फत हराएर, म पार्टीमा हारें भन्ने खालको चित्त दुखाएर होइन, समन्वय गरेर सहमतिको आधारमा महाधिवेशन सम्पन्न गर्नु पर्छ भनेर लागिरहेको छु ।
मुख्य कुरा नुवाकोटे जनताको सुख दुखमा साथ दिने पार्टी कसरी निर्माण गर्ने, संकटको बेलामा जनताको साथ दिने पार्टीको प्रतिष्ठालाई कसरी कायम राख्ने भन्ने कुरा हो । नयाँ पुस्तालाई कांग्रेसप्रति कसरी आकर्षण गर्ने भन्ने सवालमा पनि समन्वय गरेर व्यक्तिगत रुपमा म पनि लागि परेको हुनाले विभिन्न क्षेत्रका साथीहरु र नेपाली कांग्रेसका शुभचिन्तकहरुले आगामी नेतृत्व को हुन सक्छ ? भनेर अनुमान गर्नु भएको होला । त्यसकारण मेरो पनि नाम जोडिन आएको छ । तर अहिले म आफैंले नेतृत्व गर्नु पर्छ भन्ने अवस्था छैन । तर भोलिका दिनमा त्यही किसिमको वातावरण बनेर आयो र मैले नेतृत्व नगरी नहुने अवस्थामा नेपाली कांग्रेस नुवाकोटको नेतृत्व गर्न पछि हट्ने अवस्थामा छैन । तर हाम्रो पार्टी गत २०७४ साल संघीय र प्रादेशिक निर्वाचनहरुमा नुवाकोटमा पराजित भएको छ । आगामी निर्वाचनमा कसरी विजय गराउने भन्ने सवालमा पार्टीलाई एक बनाएर लाने कुरामा आवश्यक परेको खण्डमा हरेक क्षेत्रका साथीहरुको मनोभवनाको कदर गर्दै नेतृत्व नै गर्नु पर्ने अवस्थामा चाहि म असक्षम छु जस्तो लाग्दैन । अवसर पाएको अवस्थामा म नुवाकोट नेपाली कांग्रेस पार्टीलाई र अन्य राजनीतिक दललाई पनि समन्वय गरेर एकसाथ नुवाकोटे जनताको समृद्धि गराउन नेतृत्व गर्न सक्छु ।
तपाईं जिल्ला सभापतिको उम्मेदवारीको तयारीमा हुनुहुन्छ, एजेन्डाहरु के के छन् त ?
जो जो नेतृत्वमा आउन चाहने साथीहरु हुनुहुन्छ, उहाँहरुको आ–आफ्नै एजेन्डाहरु छन् । हाम्रो पनि एजेन्डा छ । अबको कांग्रेस नुवाकोटको सबैभन्दा ठूलो पार्टी बनाउने, नयाँ पुस्तालाई कांग्रेसमा कसरी समावेश गराउने भन्ने हाम्रो मुख्य एजेन्डा हो । विगतका हाम्रा नेतृत्वहरुलाई सम्मान गर्दै नयाँ पुस्तालाई कांग्रेसप्रति कसरी आकर्षित गराउने भन्ने हो । यत्तिमात्र नभएर जनतालाई समृद्धि र सुशासन कसरी कायम गरिन्छ ? भ्रष्टाचार नियन्त्रण कसरी गर्ने ? लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानलाई कसरी मजबुद बनाएर जनताको समृद्धि र नेपाली कांग्रेसलाई भरोसाको पार्टी बनाउन निमित्त गर्नुपर्ने विभिन्न किसिमका कार्यहरु हामीसँग छन् । त्यसको लागि सौद्धिन्तिक रुपमा विचार विमर्शहरु, अन्तरक्रियाहरु गर्दै आफूले प्रस्तुत गर्ने सौद्धान्तिक कुराहरु पस्किने ठाउँमा पस्किसकेपछि कुनचाहिँ बेटर मान्छन् त्यो जनताको हातमा छोड्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
तपाईं जिल्ला समन्वय समिति प्रमुख हुनुहुन्छ, कार्यकालको अनुभव सुनाइदिनु न ?
एकदमै महत्वपूर्ण प्रश्न राख्नुभयो तपाईंले । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली जुन लागू भयो, नेपालको संविधानले परिकल्पना गरेको ३ तहको सरकार र त्यसको बीचमा समन्वय गर्न जिल्ला समन्वय समिति परिकल्पना गरेर संरचना खडा भएको छ । नेपालको ७७ जिल्लामा जसरी एक्जिस्टिङ जिल्ला विकास समितिको रुपमा थियो, अहिले जिल्ला समन्वय समितिको रुपमा रहेको छ । तर विगतको भूमिका र अहिले संविधानले दिएको भूमिकामा आकाश जमिनको फरक छ । किनभने विगतको जिल्ला विकास समितिको रुपमा जिल्ला विकास समन्वय समिति होला भनेर अहिले पनि हाम्रो पब्लिकले सोच्न छाडेको अवस्था छैन । विगतमा विभिन्न किसिमको विकास निर्माणका कार्यहरुको नेतृत्व गर्ने, जिल्लाको पार्श्वचित्र निर्माण गर्ने, जिल्लाको विकास निर्माण कुराहरुको अनुसन्धान गर्ने, जिल्लाको विभिन्न किसिमको प्रोजेक्टहरुको विनियोजन गराउने, विकासको मेरुदण्डको रुपमा काम गर्ने जुन अवस्था थियो, हाल सबै ती भूमिकाहरु स्थानीय तहमा पुगेको छ ।
गाउँपालिका, नगरपालिकाहरुमा हिजो जिल्ला विकास समितिले गर्ने सम्पूर्ण कामहरुसहित त्यहाँ आफैंले पनि कानुन बनाएर लागू गर्न सक्ने स्थानीय सरकारको रुपमा स्थापित भयो । त्यसपछि जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिको रुपमा रहेर यसको चारवटा कार्यविभाजन गरिएको छ । यसका कार्यहरु अनुगमन गर्ने, विकास निर्माणलाई सन्तुलित गर्ने, गाउँपालिका र नगरपालिकाहरुबीच हुन सक्ने विवादको समन्वय गर्ने र प्रदेश सरकारले तोकिएको अन्य कार्यहरु गर्ने भनिएको छ । यो अनुसार अनुगमनको पाटो सबैभन्दा ठूलो छ । तर अहिले यो स्थानीय सरकारहरुले, प्रदेश र संघ सरकारका इकाईहरुले गरेका विकास निर्माणको कार्यलगायतका विभिन्न क्षेत्रहरुको प्रक्रियागत अनुगमन, प्राविधिक, सैद्धान्तिक अनुगमन र यसको पारदर्शिताको अनुगमन र सुशासनको अनुगमन यसले गर्नुपर्ने थियो । तर अहिले संघ र प्रदेश सरकारले जिल्ला समन्वय समितिले अनुगमनसम्बन्धी कार्यविधि ऐन बनाउनु पर्ने थियो, त्यो ऐन र निर्देशिकाहरु कुनै पनि बनाएको छैन । किनभने यो अनुगमनको ऐन बनाएपछि नियमनको पनि अधिकार त्यो भित्र रहन्छ । कसैले बदमासी गरेको, भ्रष्टाचार गरेको, सुशासन कायम गरेको छैन, जवाफदेही भूमिका निर्वाह गरेको छैन भने उसलाई प्रक्रियाको आधारमा गुणदोषको आधारमा पुरस्कृत र दण्डित गर्न सिफारिस गर्ने जुन नियमनको अधिकार समन्वय समितिलाई हुनु पर्थ्यो, त्यो नदिएकोले जिल्ला समन्वय समितिले त्यति प्रभावकारी अनुगमन गर्न सकिरहेको अवस्था छैन ।
कुनै पनि ठाउँमा बदमासी भएको छ भने कडाईका साथ कारबाही गर्ने अथवा कारबाहीका लागि सिफारिस गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिनुपर्छ भन्ने मान्यता संविधानले बोलेको छ । तर, संघीय माननीयज्युहरु अथवा संघ सरकार र प्रदेश सरकारले यसरी समन्वय समितिलाई दियो भने कतिपय तथ्य कुराहरु बाहिर निस्केला भन्ने हुन सक्ला । संविधानले उल्लेख गरेको नियम कानुनहरु नबनाइदिएको कारण एक्टिभचाहिँ जिल्ला समन्वय समिति छैन ।
प्रदेश सरकारले अह्राएका विभिन्न कामहरु, समन्वय र सहजिकरण गर्ने, आफूले सकेको प्रारम्भिक अनुगमन गर्ने, विकास कार्यको समीक्षाहरु गर्ने र जिल्लास्थित रहेका कार्यालयहरुलाई एकै ठाउँमा समन्वय गर्ने कामहरु जिल्ला समन्वय समितिले गर्दै आएको छ । तर जिल्ला समन्वय समितिलाई संविधानअनुसार पूर्ण अधिकारका साथ काम गर्न दियो भने जिल्लामा अनियमियता कम हुन्छ । यसले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार बीचमा पुलको काम गर्छ ।