अन्तर्राष्ट्रिय तामाङ परिषद्को पॉचौ सम्मेलन गत जुन ३–४,२०२३ थाइल्याण्डको बैङ्ककमा सम्पन्न भयो । सम्मेलनले संस्थालाई नयॉ संरचनामा लाने निर्णय सहित महासचिव कार्यकारी रहने संगठनात्मक संरचना पनि पारित गर्यो ।
लक्यान लामालाई उक्त सम्मेलनले उपमहासचिवमा सर्वसम्मत निर्वाचित गरियो । नव निर्वाचित लामासँग सम्मेलनबाट पारित निती तथा कार्यक्रम र परिषद्को भावी योजनाहरूको बारेमा उहाँसँग कुराकानी गरेका छौं । लामाको बारेमा परिचय गराउनुपर्दा, उहाँ नेपालको पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं ३ ब्रम्हनगरमा जन्मेका लामाले नेपाल ल क्याम्पस काठमाडौंबाट ब्याचलर डिग्री गरि त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर डिग्री गर्नुभएको छ ।
उपमहासचिव लामाले समाज कल्याण परिषद्को सहायक निर्देशकको पनि जिम्मेवारी सम्हाल्नु भएको अनुभव पनि छ । सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बस्दै आउँनु भएका लामाले तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्कको सचिव हुँर्दै महासचिवको भूमिका निर्वाह गर्नुभयो ।
सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बस्दै आउँनु भएका लामाले तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्कको सचिव हुँर्दै महासचिवको भूमिका निर्वाह गर्नुभयो । सन् २०१८ मा नर्थ अमेरिका भरीका साझा संगठन तामाङ सोसाईटी अफ नर्थ अमेरिका निर्माण गर्नुका साथै २०१८ देखि २०२२ सम्म नेतृत्व सम्हाल्नु भयो । उहाँकै कै नेतृत्वमा “आपत- बिपद कोष-२०१८” र “ग्लोबल तामाङ शिक्षा कोष-२०२०” जस्ता कोषहरु खडा भएका छन् ।
यहाँ अन्तर्राष्ट्रिय तामाङ परिषद्को नवनिर्वाचित उपमहासचिव हुनुहुन्छ, नयॉ जिम्मेवारीलाई कसरी लिनु भएको छ ?
हामीले नगरे कसले गर्ने र ! भन्ने सोच सहित यो जिम्मेवारीलाई मेरो जीवनकै एउटा अवसर र चुनौतीको रुपमा ग्रहण गरेको छु ।
अमेरिकाको न्युयोर्क जस्तो व्यस्त शहरमा बसेर समुदायका लागि यसरी लागि पर्दा कतिको चुनौति झेल्नु भएको छ ?
जन्मे देखि नै समस्या पीडा दुख कष्ट र अपमान सहेर जीवन व्यतीत गर्नु परेका मेरा पुर्खाहरू र पछिल्लो समय पनि यिनै समस्यासँग लडी रहेका हाम्रा समुदायका अग्रज र नयॉ पिडीहरुको सामु मैले मेरो चुनौति लाई ठुलो मानेको छैन किनकी जव देखि मैले मेरो पुर्खाहरूको इतिहास पढे त्यति बेला देखि नै मैले मेरो मन वचन सबै यहि क्षेत्रमा केन्द्रित गर्छु भनेर लागे त्यसैले खासै चुनौति मान्दिन तर हाम्रो समुदायले छिट्टै बुझ्न नसक्नुले केही बढि मेहनत, खटाई गर्नु परेको छ ।
अभियानलाई साथ पाउँदाको क्षणको खुसीले धेरै पीडा र चुनौतीहरू बिर्सन्छु । मलाई खुसी नै लाग्छ हाम्रो समुदायको हितमा काम गर्नु पाउदा ।
अमेरिका जानु त आफू सम्पन्न बन्नु भन्ने अर्थ छ तर तपाई त समुदाय भनेर दौडिरहनु भएको छ ?
म अनि मेरो लागि त थोरैले पनि पुगिन्छ नी हैन र ? एउटा छोरा र श्रीमती त हो नी ! तर यो हाम्रो अभियानका लागि त थोरैले पुग्दैन । समुदाय र पहिचानका लागि म सँग जे छ त्यो दिन सक्नु पर्छ अनि मात्र हामी सफल हुन्छौ भन्ने नै हो ।
म सँग पैसा छ भने पैसा दिने हो, बुद्धि छ भने बुद्धि दिने हो, संगठन बनाउने खुबी छ भने अभियान सफल पार्ने संगठन बनाउने हो यसर्थ समुदायका लागि मेरो कुन पक्ष आवश्यक छ त्यो हामीले दिने हो भन्ने लाग्छ । त्यसैले म अहिले अमेरिकामा छु अरु साथीभाइ यहाँ पैसा कमाउनु हुन्छ म पैसा माग्छु, संगठनको खुबी भएका साथीभाइसँग म त्यस्तै सहयोग माग्छु । यसको मतलब हाम्रो अभियान सफल पार्न हामीलाई धेरै पक्ष सबल हुन जरुरी छ हामी त्यही पक्षहरू चिनारी गरी लागेका छौ त्यसैले अहिले समुदायका लागि मेरो दौडधुप आवश्यक देखेको छु म त्यही मागअनुसार दौडी रहेको छु । भोलि अर्को माग होला म त्यही गर्छु । पैसा धनसम्पत्तिले कहिल्यै पुग्दैन मसँग जति छ म त्यसमा खुसी छु ।
नर्थ अमेरिकाको नेतृत्वमा रहँदा इतिहास रच्नु भयो भन्ने सबैको तारिफ सुनिन्छ नी ?
त्यस्तो हैन, जो सँग जे छ त्यही दिने गर्ने हो । नेतृत्वमा बसे पछि संस्थाको क्षेत्रमा के आवश्यक छ ? सदस्यहरूको आवश्यकता के हो त्यो बुझ्न सक्नु पर्छ र त्यो आवश्यकता पुरा गर्न सके हामी अर्को फड्को मार्न सक्छौ त्यो मैले बुझेको पक्ष हो । मैले त्यही गरेको हो । नर्थ अमेरिकामा पनि विभिन्न विपद्हरू आईपर्थे र आपत विपत परे लगतै हामी अरु समुदाय सामु हात फैलाउनु पर्ने थियो मैले त्यो बन्द गरे त्यति मात्र हो ।
आपत बिपद् कोष– २०१८ बनाएर कोष सञ्चालन कार्यविधि –२०१९ मा रहेर कोष सञ्चालन गर्ने व्यवस्था मिलाए । अहिले कोषमा ५० हजार अमेरिकी डलर जम्मा छ, आवश्यक परे सहयोग दिन्छन् र कोष पूर्तिको नियम अनुसार कोषमा रकम संकलन पनि हुन्छ । अर्को अलि वृहत छ किनकी सदस्यहरूको मन जितेर आम हाम्रो समुदायका लागि बनाएको एक करोड राशीको कोष हो शिक्षा कोष । “ग्लोबल शिक्षा कोष– २०२०” नामाकरण गरिएको यो कोष, विश्वभरबाट सहयोग संकलन हुदैछ । शिक्षा क्षेत्रमा लगानी हुन्छ यो कोष तर सञ्चालनमा आएको छैन संस्थाको आन्तरिक कारणले गर्दा सञ्चालनमा आई सकेको छैन तर छिट्टै कार्यन्वयनमा आउने छ । म सँग र मेरो टिमसँग भएका अनुभवका प्रतिफल हुन यी दुबै कोषहरू तर भविष्यमा यी कोषहरू समुदायका लागि आयाम हुने छन् भन्ने लागेको छ । त्यस्तो कुनै चमत्कार नै हैन र हामीले त्यसरी लिनु पनि हुदैन ।
अहिले नयाँ संगठन र विशेष जिम्मेवारीमा आउनु भएको छ, कसरी लिनु भएको छ ?
अन्तर्राष्ट्रिय तामाङ परिषद् हाम्रो समुदायको अभियानको आवज हो । यो आवज हाम्रो समुदायको जुन क्षेत्रमा उठ्नु पर्ने हो त्यो क्षेत्रमा आवज उठाउनु पर्छ भन्ने मान्यतामा छु । सबल सक्षम र योग्य तामाङ जनशक्ति उत्पादनका लागि अघि बढेका अभियानका आवज नै अन्तराष्ट्रिय तामाङ परिषद् हो । हामीले यसलाई यसरी नै विकास गर्नु पर्दछ भन्ने लाग्छ । २००२ सालमा शुरु भएको यो संगठन आज पाँचौं सम्मेलनमा आई पुगेको छ । यो संगठनको दोश्रो सम्मेलन सन् २००५ मा भारतको दार्जिलिङमा हुँदा म नेपालबाट सहभागी थिए त्यस पछि चौथो सम्मेलन सन् २०१८ मा भारतको मिरिकमा हुँदा म अमेरिकाबाट विशेष सहयोग सहित भाग लिएको थिए ।
यो संगठन हाम्रो आवज हो त्यसैले म यसको नकरात्मक पक्षमा छैन तर विगतका कमी कमजोरीलाई औँल्याउँदै नयाँ र परिष्कृत ढंगबाट सङ्गठनलाई लानु पर्छ भन्ने पक्षमा म सदैव थिए ।
आज पाँचौं सम्मेलन देखि यही भएको छ, सङ्गठनलाई सबैको साझा मञ्चको रुपमा विकास गरेको छ । विगतमा सङ्गठनले समुदायका लागि काम गर्न नसकिएका कारणहरू चिनारी गरी सङ्गठनलाई महासचिव कार्यकारी रहने नयाँ संरचनामा लगिएको छ । चुस्त र ईफेक्टिभ सचिवालय बनाएर विज्ञहरूको टिमले आम समुदायको मुद्दाहरूलाई सम्बोधन गर्ने गरि यो सङ्गठनलाई अघि बढाएको हुँदा पाँचौं सम्मेलनले आशाका किरण दिएको छ । यसर्थ नयाँ संरचना सहितको यो सङ्गठनमा विशेष जिम्मेवारीको पद सम्हालेको छु । विश्वास छ म मेरो पदको पदीय मर्यादा राख्न सक्छु ।
सम्मेलनले के के पारित गर्यो र भावी रणनिति र योजनाहरू केके छन् ?
सम्मेलनले सर्वसम्मत रुपमा विधानलाई संसोधन गर्यो र संशोधित विधानमा परिषद्को लक्ष्य र उद्देश्यलाई पूरा गर्न विषय विज्ञहरू सम्मिलित विभिन्न नौ वटा विषयगत समितिहरू रहने संगठनात्मक व्यवस्था थियो त्यो समेत सर्वसम्मत पारित गर्यो । जसमा १. तामाङ सांस्कृतिक पुनः उत्थान समिति, २. भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, ३. प्रवासी तामाङ समन्वय, सुरक्षा तथा संरक्षण समिति, ४ वातावरण तथा तामाङ स्वः विकास परिचालन समिति, ५. तामाङ कला, संस्कृति, साहित्य, इतिहास लेखन समिति, ६. अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति, ७ अन्तराष्ट्रिय तामाङ उच्चस्तरीय पञ्चाङ्ग समिति, ८. तामाङ विकास कोष निर्माण समिति र ९. तामाङ मानव अधिकार प्रवर्द्धन समिति छन् ।
त्यस्तै सम्मेलनले आगामी कार्यकाल तीन वर्षको बनाएको छ भने सम्मेलनले संस्थापक अध्यक्ष परशुराम तामाङबाट प्रस्तुत विश्व कार्ययोजना र डा. मुक्त सिंह लामा तामाङ द्वारा प्रस्तुत परिषद्को प्राथमिकताहरू र समसामयिक प्रस्तावहरू पारित गर्यो । अव हामी छिट्टै परिषदका सदस्यहरूमा विधान संसोधन समितिका प्रमुख डा. कुन्साङ योन्जनबाट विधानको छलफल चलाउँछौ त्यस पछि तुरुन्त परिषद् निर्माण प्रक्रियामा जान्छौ । परिषद् निर्माण पछि आगामी ६ महिनाभित्रमा विज्ञहरूको भेला गरी विज्ञहरूको विषयगत समितिहरू निर्माण गर्नेछौ । यसको अलावा संगठनको दैनिकी र अति आवश्यक विषयहरुमा काम अघि बढाउँने छौं ।