काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत सहज छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घरघरमै बकर इद मनाउने छन् ।
मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने तयारी गरिएको छ । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।
सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ ।
बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उहाँले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने जनाउनुभयो ।
उहाँले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।
आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै ‘इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद)को अवसरमा शुभकामना दिनुभएको छ ।
नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताउनुभएको छ ।
उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, 'भाइचारा र पारिवारिक मिलनका रुपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद–उल–अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने मैले विश्वास लिएको छु ।'
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन उपराष्ट्रपतिले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको हो । कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षाेल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गर्नुभएको छ ।