जन्मेदेखि जीवनभर प्राप्त गरिने ज्ञान, सीप र प्रयोगबाट आर्जित नयाँ अनुभवहरुको संगालो नै शिक्षा हो । यो औपचारिक र अनौपचारिक दुबै ढंगबाट प्राप्त गर्न सकिन्छ । मानिसको पहिलो पाठशाला त घर नै हो । विद्यालयमा नियमित रुपले प्रमाणपत्र प्राप्त गर्ने उद्देश्यले लिइने शिक्षा औपचारिक हो । समय सीमा र नियममा नबाँधिइकन जहिलेसुकै र जुनसुकै ठाउँमा प्राप्त गरिने ज्ञान, सीप र प्रयोगबाट आर्जित अनुभव अनौपचारिक शिक्षा हो । जुनसुकै माध्यम र तरिकाबाट शिक्षा आर्जन गर्न सकिन्छ जसको मूल ध्येय मानिसमा सक्षमता हासिल गराउनु हो ।
आजभोलि सचेत तथा आर्थिक क्रियाकलापमा सम्लग्न व्यक्तिहरु आफ्ना नानीबाबुहरुको राम्रो शिक्षादीक्षामा निकै ध्यान दिने र लागानी गर्ने गरेका छन् । त्यसैको देखासेखीमा निम्न आय भएका ज्याला, मजदुरी गर्ने कतिपय अभिभावकहरुले निजी विद्यालयमा आफ्ना नानीबाबु भर्ना गराएको पाइन्छ । अर्कोतर्फ सरकारी विद्यालयमा अति न्यून आय भएका र अल्पचेत अभिभावकहरुले मात्र बाध्यकारी अवस्थामा सरकारी विद्यालयमा नानीबाबु भर्ना गर्ने परिपाटी रहँदै आएको छ । राज्यले सरकारी विद्यालयलाई व्यवस्थित गर्न नसक्दा एउटै देशका नागरिक एउटै खाले पाठ्यक्रम र परीक्षा प्रणाली भए तापनि फरक गुणस्तर र नतिजा प्राप्त गर्न विवश छन् ।
यसरी राज्यले असमान शिक्षा नीतिलाई अंगीकार त गरेको छ नै त्यसमा पनि व्यवहारिक, प्रयोगात्मक र रोजगारमूलक शिक्षा नहुनाले शैक्षिक संस्थाहरु अदक्ष र बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाजस्तो हुन पुगेको छ । जसले गर्दा राज्य र अभिभावकको तर्फबाट शिक्षामा गरेको लगानी बालुवामा पानी हालेसरह भएको छ ।
पाठ्यक्रममा सुरुकै कक्षादेखि स्वास्थ्य, सरसफाई, नैतिक र व्यावहारिक शिक्षा समावेश नगरिंदा हालको सैद्धान्तिक र ज्ञानमूलक शिक्षाले कुनै ठोस उपलब्धि दिन सकेको छैन । जसले गर्दा अस्वस्थ जीवनशैली, अनैतिक चरित्र, असामाजिक र अव्यवहारिक गुणको परिणामस्वरुप समाजमा हत्या, हिंसा, आतंक, उदण्डता, अकर्मण्यता र अराजकताले सुख, शान्ति, समृद्धि र अमनचयनको अपेक्षा ओझेलमा पारेको छ ।
सार्थक जीवनका लागि नैतिक मूल्य र मान्यता अपरिहार्य सर्त हो । जब मानिस नैतिक मूल्य, मान्यता र आदर्शबाट विमुख हुन्छ, त्यो समाजको कलंक हुन्छ । अन्याय, अत्याचार, भ्रष्टाचार, चोरी लुट्पाट, आतंक र अराजकताको जन्म त्यहीबाट हुन्छ । त्यसकारण गल्ती गरेपछि कारबाही गर्ने कानुनमात्र बनाउने हैन गल्ती नै नगर्ने र कारबाही गर्नु नपर्ने शिक्षा दिन आवश्यक छ । हिजो हाम्रा अग्रज र हामीले पढेका नैतिक शिक्षा हटाइँदा आजको पिंढीमा परेको दुस्प्रभाव र नैतिक विचलनले यही कुरालाई पुष्टि गर्दछ । हाम्रो धर्म, परम्परा, नैतिक मूल्य र मान्यताको जग भत्काइंदा आफ्ना आमाबुबा, गुरु मान्यजन र अग्रजहरुप्रति गर्नुपर्ने मान सम्मान, मर्यादा र सामाजिक व्यवहारको पक्ष कमजोर हुँदा छोराछोरीले आफ्ना आमाबुबा र अभिभावकसँग गर्ने व्यवहार र कर्तव्य भुलेका छ्न् । त्यसैगरी आज विद्यार्थीले शिक्षकलाई नटेर्ने, कर्मचारीले हाकिमलाई नटेर्ने, कार्यकर्ताले नेतृत्वलाई नटेर्ने, मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने आदि ।
जुनसुकै क्षेत्रमा अराजकता बढेर जानुमा हाम्रो सही नैतिक शिक्षा नहुनु नै प्रमुख कारण हो । नैतिक उपचार स्थायी प्रकृतिको हुन्छ भने भौतिक उपचार अस्थायी हो । यसरी नै स्वास्थ्य तथा सरसफाई शिक्षा सुरु कक्षाकै पाठ्यक्रममा समावेश नगरिंदा वा भएरै पनि प्रयोगात्मक र व्यवहारिक शिक्षण नहुँदा विद्यार्थीहरु अस्वस्थकर खानपिनमा लालयित हुने, घरको स्वस्थकर खानेकुरा भन्दा बजारमा पाइने केमिकलयुक्त जंकफुट किनेर खाने गर्दछन् । यसले अभिभावकलाई सुरुमै आर्थिक व्ययभार त बढाउँछ नै पछि आफ्ना नानीबाबु शारीरिक अस्वस्थताको सिकार भई औषधोपचारमा समेत व्ययभार थपिने गर्दछ ।
भनिन्छ नि स्वस्थ तन, स्वच्छ मन, शारीरिक अस्वस्थताले मानसिक र बौद्धिक पक्षमा पनि आघात पुर्याउँदछ । आजको शिक्षाले विद्यार्थीमा सरसफाइको क्षेत्रमा पनि ध्यान पुर्याएको पाइँदैन । एक त विद्यार्थीहरु व्यक्तिगत सरसफाइमा कमजोर देखिछन् भने अर्कोतर्फ वातावरणीय सरसफाईमा त शून्यप्राय नै देखिन्छ । विद्यार्थीहरुमा शारीरिक सक्षमताको विकाससँगै व्यक्तिगत तथा वातावरणीय सरसफाईमा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई समेटेर शिक्षण गर्नु राम्रो हुन्छ । अस्वस्थकर खानपान र सरसफाईको कमीले हुने असरको सैद्धान्तिक ज्ञान र व्यवहारिक प्रयोगबाट विद्यार्थीहरुलाई अभ्यस्त बनाउन सके भावी दिन उज्ज्वल हुनेछ ।
कक्षाकोठा तथा खेल मैदानको सरसफाई, घर आँगन, चोक, चौतारो, बाटोघाटो, मठमन्दिर, गुम्बा, चैत्य सार्वजनिक सम्पत्तिको संरक्षण, आफ्नो सुत्ने, पढ्ने कोठा, लुगाफाटो तथा समग्र वातावरणीय सरसफाईमा सम्लग्न गराउँदै व्यवहारिक शिक्षा दिन सकेमा आजका ती बालबालिका भोलिका कर्णाधार भएकाले सम्पूर्ण क्षेत्रमा यसको सकारात्मक प्रभाव रहने छ ।
अत: "शिक्षा नै विकासको पूर्वाधार, बालबालिका नै भविष्यका कर्णाधार" भएकाले आजको टड्कारो आवश्यकता, नैतिक तथा व्यवहारिक शिक्षाको आवश्यकता"लाई मूल नारा बनाउन सके यसले सर्बाङ्गिण विकासमा टेवा पुर्याउने देखिन्छ ।