काठमाडौं । अहिले 'हेर्ने कथा' टिमको पछिल्लो एपिसोडले सञ्जाल रोइरहेको छ। भावुकता र आँसुले छपक्कै भिजेको छ। म पनि रोएँ। यधपी रुवाइले म भित्रको प्रश्नहरु बगाएन । बरु मेरो आँसुमा अनेकन प्रश्नहरु तैरिरहे। ति प्रश्नहरूको उत्तर खोज्न यो ब्लग लेख्दैछु।
म आफैं पनि 'हेर्ने कथा' टिमको नियमीत दर्शक हुँ। शिक्षण पेसामा छु र हेर्ने कथाका धेरै एपिसोडहरु मैले आफ्ना बिद्यार्थीहरुलाई समय समयमा देखाउँदै आइरहेको छु। छानेर एपिसोडहरु म उनीहरुलाई पनि देखाउँछु ता कि उनीहरुले सोच्ने, हेर्ने र अनेकन मुद्दालाई बुझ्ने दृष्टिकोण समानुभुतीपुर्ण रहोस्। उनीहरुले त्यसमा छलफल गरुन् र थाहा पाउन् मानिसहरु त्यो अवस्थामा किन छन्। भुइँमान्छेहरु दुर्दशाको दुस्चक्रमा किन? कसरी ? के के कारणले पिल्सिरहेका छन्।
यधपी 'हेर्ने कथा'को पछिल्लो अंकसम्म आइपुग्दा, मलाई भने सधैं नै एउटा कुराले लखेटिरहेको छ। 'हेर्ने कथा' टिमले दुर दराजका गाउँहरुको कथा ल्यायो, किनाराकृत मान्छेहरुको ब्यथा हामीलाई देखायो तर प्रश्न गर्न सक्ने, सरोकारवालाहरुलाई जवाफदेहीता माग्न सक्ने दृस्ठिकोण कहिल्यै ल्याएन! ल्यायो त फगत आँसु र भावुकता! निरन्तर ल्याइरह्यो सहानुभूतिको बाढी तर किन ल्याएन दृढ़ संकल्पको भंगालो ? म अनुत्तरित छु।
अब गरौं 'पोभर्टी पोर्न' को कुरा।
पोभर्टी पोर्न (Poverty Porn) भनेको गरिबीमा रहेका मानिसहरूको अवस्था वा पीडालाई अतिरञ्जित वा अस्थिर रूपमा प्रस्तुत गरेर दर्शकको सहानुभूति वा प्रतिक्रिया उत्पन्न गर्ने उद्देश्यले सामग्री निर्माण,उत्पादन र प्रसारण गर्ने गतिविधि हो। यस्ता सामग्री निर्माण/प्रसारणको उदेश्य प्रायः चन्दा सङ्कलन गर्नु, सामाजिक मिडिया वा अन्य माध्यममा प्रयोग गरेर गरिबीलाई देखाउनु, कमजोर सामाजिक-आर्थिक स्थितिलाई ग्ल्यामराइज्ड गर्नु हो।
पोभर्टी पोर्नको उद्देश्य गरिबीको समस्यालाई समाधान गर्नेभन्दा पनि दर्शकलाई भावनात्मक रूपमा प्रभावित पार्ने हुन्छ, जसले गर्दा मानिसहरूले चन्दा दिने वा अन्य आर्थिक सहयोग गर्ने सम्भावना हुन्छ। यसले गरिबीको वास्तविकता र कमजोर सामाजिक-आर्थिक अवस्थाका मानिसहरूको मर्यादालाई हानि पुर्याउन सक्छ, किनकी यसमा उनीहरूलाई केवल सहानुभूतिका पात्रको रूपमा देखाइन्छ, समस्या समाधान गर्न सक्ने व्यक्तिको रूपमा होइन।
पोभर्टी पोर्नको मुख्य लक्षण भनेको गरिबी वा पिडाको समस्या मात्र देखाएर दर्शकको सहानुभूति वा ध्यान खिच्ने, तर कुनै दीर्घकालीन समाधान वा स्थायी परिवर्तनमा योगदान नदिने हो।
यद्यपि कसैले पोभर्टी पोर्नको ब्यापार गरिरहेको छ कि छैन भन्नेकुराको निर्धारण निर्माण गरिएका सामग्रीको उद्देश्य र प्रस्तुत गर्ने तरिकाले निर्धारण गर्छ भनिन्छ। यदि सामग्रीले गरिबीमा रहेका मानिसहरूको मर्यादा र आत्मसम्मानलाई ख्याल राखेर प्रस्तुत गर्छ भने, त्यो पोभर्टी पोर्न हुँदैन भनिन्छ। तर 'हेर्ने कथा' टिमले प्रस्तुत गरेका 'प्रकाश' जस्ता पात्रहरु किन कठै बरा! मा सिमित छन्?
एक डेढ बर्ष अघि हुनुपर्छ, 'हेर्ने कथा' टिमले आफ्नो डकुमेन्ट्री 'बघको बङ्गारा' किम्फ फिल्म फेस्टिभलमा देखाएको थियो। त्यो डकुमेन्ट्री Honey Hunters हरुले न्युनतम उपलब्धिका लागि तय गर्ने जोखिमपूर्ण यात्राको बारेमा थियो। त्यो डकुमेन्ट्री हेरिसक्दा म आफैंलाई सम्हाल्न नसकेर भक्कानिएको थिएँ। बर्ष भरिमा हुने जम्मा ४०-४५ हजार आम्दानीको लागि अक्करे भिरमा बिना कुनै सुरक्षाका साधन, सुख्खा रोटीको भरमा गाउँका लोग्ने मानिसहरु आफ्नो ज्यानको पर्वाह नगरी भिर मौरीको मह काढ्न भिर चढेको देख्दा म भित्रैबाट भत्किएको थिएँ। डकुमेन्ट्री सकिएपछि दर्शकको प्रतिक्रिया लिने समयमा अधिकांस प्रतिक्रिया आयो, "कस्तो एडभेन्चरस!" "कस्तो रुवाउने!" "खत्रा लाग्यो!" "नेपाली बियर ग्रीलहरु!"
म सुनेर अवाक भएँ। न्युनतम कुराका लागी मान्छेले आफ्नो ज्यानको बाजि थापेको कुरा उपस्थित जमातलाई रमाइलो र खत्रा एडभेन्चर लागिरहेको थियो। वा भनौं थृलिङ्ग इन्टरटेन्मेट!
उपस्थित कसैलाई पनि लागेन कि त्यो वृतचित्र देशको दुर्दशा थियो। त्यसको लागि जिम्मेवार राज्य संयन्त्र कब्जा गरेर बसेकाहरु, हामी जस्तै नागरिकहरुको खुन र पसिनामा रगजग गर्नेहरू हुन् र उनीहरुलाई प्रश्न गर्नुपर्छ। न यो कुरा वृतचित्रले कतै भन्यो न त उपस्थित टिमले नै !
यो वृतचित्र प्रदर्शनीको समय काठमाडौंका मेयर बालेन शाहले निम्नबर्गियहरु माथी चरम उत्पीडन गरिरहेको समय थियो। सडक ब्यापारीहरु माथिको दमन र धरपकड उत्कर्षमा थियो। वृतचित्र प्रदर्शनीमा उपस्थितहरुको प्रतीकृया र हेर्ने कथा टिमको मौन तटस्थाले मलाई यति बिझायो कि मैले आफ्नो बोल्ने पालो मागे। मैले त्याहीँनेर टिप्पणी गरेँ कि, यो वृतचित्र मनोरञ्जन कम र राज्यलाई ऐना देखाउने प्रयत्न ज्यादा हो! मैले मेयर बालेनले गरिरहेको क्रुर ब्यबहारलाई पनि जोडेर निम्न बर्गिय मानिसहरु कसरी पेलिइरहेका छन् भन्ने बारे टिप्पणी गरेको थिएँ। यधपी हेर्ने कथा टिमले त्यति दर्दनाक वृतचित्रमाथी आएको सतही टिप्पणी बारे केही बोलेन। म रनभुल्लमा परेँ, उनीहरुले आम दर्शकलाई दुर्दशाको ऐना देखाउने प्रयत्न गरेका हुन् वा हलमा उपस्तिथित प्रायः सबैको टिप्पणी जस्तो 'एड्भेन्चर फिल्म' मात्रै बनाएका हुन्।
त्यसपछि मैले 'हेर्ने कथा'का एपिसोडहरु कम पछ्याउँदै आए।
मलाई 'कोइला खानी'को कथाले मेरो बुबाको बिगत देखाएको थियो। न्युनतम प्राप्तिका लागि बुवाले गरेको सङ्हर्ष र खपेको कठिन समय देखाएको थियो। ज्यान जोखिममा राखेर न्युनतम ज्यालाको लागि भोगेको चर्को श्रम शोषण देखाएको थियो। म सधैं सोच्दथिएँ कि 'हेर्ने कथा' टिमको प्रयत्न समाज र राज्यलाई ऐना देखाउनु नै हो। यधपी पछिल्लो अंकसम्म आइपुग्दा म भित्र सन्देह पैदा भएको छ: हेर्ने कथाको उदेश्य के हो?
यति लामो यात्रामा अघि बढिसकेको र एक मिलियन सस्क्राइबरको परिवार निर्माण गरिसकेको 'हेर्ने कथा' टिमले आजसम्म पनि प्रश्न गर्न सक्ने, जवाफदेहीता माग्न सक्ने दृस्ठिकोण आफ्ना केही दर्शकमा मात्रै पनि निर्माण गर्न नसक्नु संयोग मात्रै हो र?
भावुकता र आँसुको खोलो मात्रै बगाउने कथाहरु 'हेर्ने कथा' टिमले प्रस्तुत गर्नुले म भित्रको सन्देहलाई अझै टेवा दिएको छ कि, कतै यो टिम औसत युटुबरहरुको उन्नत भर्सन मात्रै त होइन!?
यत्रो बिश्वास र भरोसा आर्जेको टिमको यति लामो समय सम्मको प्रस्तुतिहरु यति कमजोर किन छ कि, आफ्नो दर्शकहरुमा सरोकारवालाहरुलाई प्रश्न गर्नुपर्छ भन्ने चेतनाको झिल्को सम्म सल्काउन सकेको छैन? उल्टो आँसु को आहालमा डुबेर, भावुकताको भुमरीमा परेर सारा संसार रोएको मात्रै कुरा गर्ने जमात किन बनिरहेको छ!
पछिल्लो एपिसोडको कुरा गर्दा, 'हेर्ने कथा' टिमले प्रकाश उर्फ शुक्रको कथा यति कारुणिक बनाएर प्रस्तुत गर्यो कि हामी सबै रोयौँ। तर प्रकाशको हराएको बर्षको हिसाब/लेखाजोखा न टिमले कतै दाबी गर्यो न दर्शकहरुले स्वत: स्फुर्त हिसाब माग्ने ढङ्गले प्रस्तुत गर्यो?
सबैले भने, "वाह! यो त बिदेशी वृतचित्रहरु भन्दा पनि खतरा बन्यो!" तर कसैले किन भनेन, "प्रकाशहरु बर्गिय राज्य संरचनाको हिंसामा परेका आम मान्छेहरु हुन्! उनीहरुलाई यो अवस्थामा पुर्याउने सबै जिम्मेवार निकायहरु सजायको भागिदार छन! प्रकाशहरुको सम्मानजनक पुनःस्थापना हुनुपर्छ!"
लाखौं मान्छेले भरोसा गरेको टिमले कमसेकम बर्सेनि हराउने बालबालिकाको तथ्यांक सम्म राखिदिएको भए, वा हराएर प्रकाश जहाँ पुगे त्यहाँको स्थानीय सरोकारवाला निकायसङ्ग उनको पहिचान त्यो ठाँउमा कसरी गरिएको थियो भन्ने संवाद मात्रै समावेश गरिदिएको भए दर्शकहरुले जवाफदेहीता बुझ्थे होलान्।
~~~~
मलाई स्पष्ट याद छ, उदयपुरको एउटा गाउँ, जहाँ म हुर्किएँ, त्यहाँ एकजना दाई यसैगरी गरि हराएर आएका हुन् भन्थे। बालखैमा त्यो गाउँ पुगेका ती दाइको नामथर कसैलाई थाहा थिएन। एकजना भट्टराईको घरमा बस्थे। सबैले 'धने' भन्थे। अत्यन्तै सोझा मान्छे थिए। गाउँभरीको गाइबस्तु लगेर निकुञ्जमा चराउँथे। वा यसो भनौं, गाउँनै मिलेर उनलाई गोठालो बनाएको थियो। उनको परिवार, आफन्त, गाउँ बारे कसैले कुरा गरेनन्। किनकी गाउँलाई चाहिएको थियो एउटा ज्याला दिन नपर्ने गोठाला जसको पुर्ती सोझासाझा धने दाइको उपस्थितिले गरिदिएको थियो।
मैले थाहा पाउँदासम्म गाउँमा प्रहरी चौकी थियो। केही गन्नेमान्ने नेता/कार्यकर्ताहरु थिए। तर न त प्रहरी प्रशासनको मान्छेले न त गाउँले ले नै धने दाइलाई घर/परिवारसम्म फर्काउने चासो देखाएको थियो। उनि एक्कासि गाउँमा झुल्किएका पक्कै थिएनन्। कसैको पछि लागेर, कहिँ कतैबाट आइपुगेका थिए। गाउँ भरीको गाई बस्तु चराइदिए बापत धने दाइले पाउने भनेको हेला सहितको एकछाक भात, कतै मीठो मसिनो पाक्दा एक भान्सा र दशैँ-तिहारमा दुई चार पैसा दक्षिणा थियो। एस.एल.सी. पछि मेरो परिवारले गाउँ छाड्यो। अहिले 'धने' दाइ त्याही गाउँमा छन् वा छैनन् म अनभिज्ञ छु।
यसरी कति बिपन्न बालबालिकाहरु हराउँछन् ? (वा अपहरणमा पर्छन्?) कतिको अभिलेख छ सरकारी संयन्त्र सङ्ग? हराएर आएका बालबालिकाहरुको पुनःस्थापनाको लागी उक्त ठाँउका सरोकारवाला र सरकारी संयन्त्रहरुले किन फर्काउन पहल गर्दैनन्? बालबालिका खोजतलास तथा समन्वय केन्द्रले के कस्ता कामहरु गरिरहेको छ? ती काम कामकारबाहीहरु कति प्रभावशाली छन्? यी र यस्ता सवाल गर्न सक्ने दृस्ठिकोण नदिइ आँसुको भेलले सारा प्रश्नहरु बगाइदिनु आफैंमा प्रश्न गर्नुपर्ने कुरा हो भन्ने मलाई लागिरहेको छ। पत्रकार र पत्रकारीताको धर्म समुन्नत र न्यायोचित समाज निर्माणको बाटो देखाउनु पनि त हो।
'हेर्ने कथा' टिमको उदेश्य जतिनै सफा र निस्छल भएपनि यसले दर्शकमा निर्माण गर्न नसकेको आलोचनात्मक चेतनालाई म चाहिँ सन्देह गर्छु। कि त उनीहरुले भन्नुपर्यो कि यो बिसुद्द मनोरञ्जनका लागि बनाइएको सामग्रीहरु हुन् जसले उनीहरुको पक्षधरता स्पष्ट गर्नेछ। होइन भने, भुइँमान्छेहरुको कथा देखाउँदा सधैं नै बिचरा! ओहो! कठै! बरा! को भाव मात्रै ल्याउनु र प्रश्न गर्न नसिकाउनुले उनीहरु पनि पोभर्टी पोर्नकै ब्यापार गरिरहेका छन् भन्ने कुरालाई बल दिनेछ।