ऐतिहासिक १० वर्षे महान् जनयुद्ध गर्दै शान्ति प्रक्रियामा आएको नेपालको माओवादी आन्दोलन फेरि नयाँ ढंगले छलाङ हान्ने तयारीमा छ ।
नेपालको कम्युनिस्ट आन्दोलनभित्रका विभिन्न धाराहरुलाई एकता गर्दै जनयुद्धमा हाम्फलेको तत्कालीन नेकपा (माओवादी)को नेतृत्व आजपर्यन्त पार्टी र मुलुकलाई हाँकिरहेको छ । जनयुद्धको बलमा स्थापित राजनैतिक मुद्दाहरुको (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानुपातिक) १९ दिने ऐतिहासिक जनआन्दोलनले 'चिफ गेस्ट' बनेर आशन ग्रहण गर्यो र संविधानसभाले विधानिकता दियो ।
देशमा निक्कै ठूलो राजनैतिक, सामाजिक परिवर्तन स्थापित हुन पुग्यो । समाजवादको मधुरो सपना पनि संविधानमा लेख्न सफलता मिल्यो । आज त्यही समाजवादलाई नीति तथा कार्यक्रममा अभिव्यक्त गर्दै कार्यान्वयन गर्नु पर्ने आवश्यकता छ । यस बीचमा पार्टीभित्र देखा परेको विभाजन र एकता तथा एमालेसँगको एकता र पार्टी विभाजनको बस्तुवादी समीक्षा गर्नु पर्दछ । साथै शान्ति प्रक्रियायताका वर्षहरुमा संसद् र सरकारमा पुगेर खेलेको भूमिकाको समीक्षा हुनु जरुरी छ । पार्टीले विकास गरेको 'प्रचण्ड पथ' र '२१ औं शताब्दीको जनवाद'को पनि समीक्षा र संश्लेषण हुन जरुरी छ ।
सामन्तवादको अन्त्य भए पनि साम्राज्यवादले विकास गरेको बित्तीय भुमण्डलीकृत विश्व अर्थिक मामिला र त्यसले नेपालमा पारेको प्रभावको पनि बस्तुवादी विश्लेषण गर्दै क्रान्तिको संश्लेषण हुनु पर्दछ । देशैभरि र प्रवासबाट समेत जम्मा हुने नेता कर्याकर्ताहरुको विशेष चासो र चिन्तन अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत हुने राजनैतिक कार्यदिशामा छ । साथै महाधिवेशनले पार्टीको ५ वर्ष कार्यकाल भएको नयाँ समिति पनि निर्वाचित गर्ने हुनाले संगठन सम्बन्धी पनि कम चासो र छलफल हुने कुरा भएन ।
संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर समाजवादको यात्रा प्रारम्भ गर्नु र गन्तव्यमा पुग्नु सजिलो र सिधा बाटो पक्कै छैन । सामन्तवाद अन्त्य गर्न जति सजिलो थियो त्यो भन्दा कैयौं गुणा कठिन छ साम्राज्यवादलाई प्रहार गर्न र ढाल्न । एकातिर पार्टीभित्र हुर्कंदै र झाँगिदै गरेको गैरकम्युनिस्ट सोच, चिन्तन र व्यवहार अर्कोतिर विश्व साम्राज्यवादको दबदवा जसले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा विभिन्न प्रकारको हस्तक्षेप र हिंसा, हत्या गर्दै आइरहेको छ । यी विषयहरु समाजवादी क्रान्तिको लागि निक्कै ठूला चुनौतीहरु हुन् । पार्टीले "नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी" निर्माणको महान् अभियान पार्टी सदस्यता नवीकरणदेखि सुरु गरेर स्थानीय तह हुँदै प्रदेशसम्मका सम्मेलनहरु सम्पन्न गरेर महाधिवेशनसम्म आउँदा पार्टीभित्र अवसरवाद, व्यक्तिवादी संकीर्णता, पदलोलुपता,नग्न गुटबन्दी आदि गैरसर्वहारा संस्कृतिसमेत देखा परेको छ ।
संगठनात्मक हिसाबले पार्टी निक्कै अस्थिर अवस्थाबाट गुज्रिँदै यहाँसम्म आइपुगेको छ । यी तमाम खाले समस्याहरुसँग जुध्दै महान् समाजवादको यात्रामा प्रवेश गर्न आशावादी हुँदै पार्टी निर्माण केही नयाँ ढंगले अगाडि बढ्दैछ । पुरै प्रतिक्रान्तिबाट मुलुकलाई बचाएर पुनः अर्को पटक माओवादीले आफ्नो आधारभूत क्रान्तिकारीपनलाई पुरै बचाउन सफल भयो । अब समाजवादी क्रान्तिको उद्घोष र नेतृत्व पनि माओवादी केन्द्र र त्यसको नेतृत्व क. प्रचण्डले नै गर्ने कुरा दिनको घामझैं छर्लङ्ग छ ।
अध्यक्ष प्रचण्डको वरिपरी बलियो हेर्डक्वाटर र बलियो संगठनले मात्र आजका चुनौतीहरुको सामना गर्दै समाजवादको दिशामा प्रस्थान गर्न सकिन्छ ।