अवसरवादीहरु व्यक्तिगत स्वार्थमै अवसान र सीमित भए ! हामीजस्तो आमकार्यकर्ता उनको सत्ताको भर्याङ भए । हामीलाई उनको स्वर्गको बाटो बनाउने साधन बनाइयो । भोको पेट र पेटभरी नखाई भैंसी हिँड्ने गोरेटोजस्तो बाटोहरुमा दु:खमा किनेको कान्छी श्रीमती (बाइक) गुडाउनु गुडायो, धुलो उडाउनु उडायो । गोलाकार भित्रको हँसिया हथौडा चिन्ह दुर्गम बस्तीहरुमा चिनायौं । उनको पक्षमा अमूल्य मतका लागि आम जनतालाई कयौं सपनाहरु बाँडिदै हिँडिरहे । उनकै लागि मंसिरको कयौं रातहरु एक सरो न्यानो कपडाबिनै जागै बसेँ । आफ्नो ३ दिनको सुत्केरी जीवनसंगीलाई काठमाडौं । त्यो स्वार्थी ठाउँमा एक्लै छोडेर पार्टी जिताऔं अभियानमा लागेँ ।
झन् यो भन्दा ठूलो हिजो महाअभियान (जनयुद्ध) मुक्ति या मृत्युको त्यो अभियान भित्रको कुराहरु समेटेर समेट्न सकिँदैन । हामीले दुनियाँलाई बदल्ने कोसिस गरेँ तर आफ्नै नेतालाई बदल्न सकिएन । कयौं वर्ग दूश्मनहरु हेरेर चिनेँ तर आफ्नै भित्रको बेइमानीहरु छामेर पनि चिन्न सकेन । म एउटा गणतन्त्रको सिपाही, हामीले ल्याएको गणतन्त्रमा हामी नै अट्न सकिएन यो दुर्भाग्यपूर्ण कुरा हो । हिजो हामीले पढेको शिक्षालाई बुर्जुवा शिक्षाको संज्ञा दिएर हामीलाई पढाईबाट बन्चित गरेर आज हामीसँग नै पढाइको सटिफिकेट माग्ने उनी नै हुन्, आजका शिक्षामन्त्री देवेन्द्र पौडेल । हिजो हामी जनमुक्ति सेनाले शाही सेना र नेपाल प्रहरीलाई फौजी मोर्चामा हायलकायल पारेउ उनीहरु पराजित भए ।
राजतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा गणतन्त्रको उदय भयो । बिडम्बना त्यही गणतन्त्र व्यवस्थाभित्र पर्ने गाउँपालिकाको स्थानीय सरकारले हामीजस्तो पूर्वजनमुक्ति सेनाबाट बृहत् शान्ति सम्झौतासँगै सेना समायोजन विशेष समितिमार्फत स्वेच्छिक अवकाश लिएर समाजमा पुनर्मिलन हुन आउँदा जाबो करारको गाउँ प्रहरीमा पनि हामीजस्तो पूर्वजनमुक्ति सेनाहरु यो व्यवस्थामा अटाउँदैन भने हामीले यो व्यवस्थालाई के भन्ने ? के यो हामीप्रतिको अन्याय होइन र ? त्यसैले आज म जस्तो कयौं गणतन्त्रका सेनानीहरु खाडी मुलुकहरुका दासी भए । गणतन्त्र ल्याउन नेतृत्व गर्नेहरु शासक र मालिक भए ।
हजारौंको सपनाहरुमा खेलबाड भए । यो व्यवस्था ल्याउन हजारौंको बलिदान भए । हजारौं बेपत्ता भए । हजारौं घाइते भए । हजारौं सेनानीहरुलाई कुहिरोभित्र हराएको कागजस्तै बनाए । अनि हामीले औंलो उठायो भने हामी तिनको आँखामा बेइमानी भए । बस यति नै दुनियाँमा साँचो कुरा लुक्दैन समय आउँछ यो कुरा भोलिको पुस्ताले पनि थाहा पाउने छ । गद्दार र बेइमानी को हो भनेर छुट्टाइदिने छ । दुनियाँ बदल्ने सपनाहरू सोचहरु बोकाएर अनाहकमा गरिब दुखीका छोराछोरीहरु किन मारिए र किन मराए यसको जफाफ दिनु पर्छ । हामीलाई यदि हामी यो गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षताजस्ता यो देशको कयौं राज्य व्यवस्था परिवर्तनको हकवाल हामीहरु होइन भने ! मुक्ति या मृत्युको कसम खुवाएर हामीलाई किन बलिको बोको बनायौ ? हामीलाई आफ्नो ज्यानभन्दा प्यारो हिजोका आफ्ना अभिभावकलाई खुलाइनु पर्ने कदापी मन छैन । उहाँकै व्यवहार र चलनचल्तीले सर्वहारा वर्गको नेता भनाउँदाहरु आज विलासी जीवन बिताइरहेका छन् उनीहरुका नै छोराछोरी अन्तर्रास्ट्रिय लेबलका ख्यातिप्राप्त स्कुल कलेजहरुमा अध्ययन गराइरहेका छन् । उनीहरुकै छोराछोरीहरु उच्च शिक्षाका नाममा युरोपेली मुलुकहरू पढ्न पठाइरहेका छन् ।
हामी जनताको छोराछोरीहरु अझ भनौं हामीजस्तो पूर्वलडाकुका छोराछोरी भनौं गाउँको सामान्य स्कुलमा अध्ययन गराउन कठिन छ । सेवा सुविधाजनक कामकाज राम्रो रोजगारी सबै कुरा तिनकै नातेदार भारदारहरु नियुक्ति गरेका छन् । हामीजस्तो मान्छेहरुलाई हरियो पासपोर्ट हातमा थमाएर उनीहरुचाहिँ रातो पासपोर्ट बोकी विभिन्न मुलुकहरू सयर गर्दै सुविधासम्पन्न फाइभस्टार र सेभेनस्टार होटेलहरुमा ८४ व्यन्जनका खानाहरुको परिकारहरुमै मस्त हुन्छन् । जबकि हामीहरु चाहिँ खाडीको गर्मीमा लामखुट्टे मार्दै गल्लीहरुमा भोको आधी पेटमै निदाउनु परेको छौं । हामीलाई पनि परिवार र प्रियजनहरुको माया लाग्छ । उनीहरुको याद आउँछ देशको माया र चिन्ता लाग्छ । हामीजस्तो श्रमिकहरुले देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छौं । तर दु:खको कुरा यहाँ हामी मरेर जाँदा हाम्रो परिवारजनहरुले लास पनि पाउन गाह्रो हुन्छ। यहाँ हामी दास भएर जिउनु परेको छ । देशमा शासकहरु मालिक बनेर बसेका छन् । जनताका रगत पसिना चुसिरहेका छन् । देशमा महँगी व्याप्त छ । भ्रष्टाचारले देश आक्रान्त छ ।
सत्ताको खेलमा लागेर देशको सिमाना बेच्दै छन् । नदीनाला बेचेर खाए । राष्ट्रघाती सम्झौताहरु गरेर देश अरुलाई नै सुम्पन खोजिरहेका छन् । के यो बेला हामी पार्टी भनेर आँखा चिम्लेर बसौं ? कदापि सकिँदैन । मिल्दैन । बस्दैनौं हामी बोल्छौं ! यही माओवादी पार्टीले नै भनेको कुरा हुन संसदीय व्यवस्था भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो । तर आज तिनै महान् विचारका हस्तीहरु आज विचारमा स्खलित भएका छन् । सुंगुरको खोर हुन् रे हिजो हाम्रो नेतालाई संसद् भवन तर आज तिनै नेता ती खोरमै निदाउनु निदायो । जनताको जनजीविका सवाल छैन । हिजोको सबै धरातलहरु बिर्सेर गयो । विचारहरु पोलेर खायो । आस्थाका धरोहरहरु टुटेर गयो । सहिदका सपनाहरू पनि फेरियो । गाउँ बस्तीहरुमा नवसामन्तीको आगमन भयो । दलाल जन्मिन थाले । कठै हाम्रो सपनाहरू पानीका फोकाजस्तै फुटेर गयो । हाम्रो विचारहरु आज बालुवामा खनाएको पानी जस्तै भए । पार्टी पनि नव धनाढ्याहरुले कब्जा गरेसँगै सामन्ती सोचहरु हाबी भए । जनवाद र केन्द्रीयता भन्ने कुराको अभ्यास नै हुन पाएन ।