क्यान्सर सुन्दा जति डरलाग्दो छ, समयमा ध्यान दिने हो भने निकै सामान्य र सहज उपचार छ । रोगलाई बेवास्ता गर्दा र पहिचान नहुँदा बिरामीको ज्यानै पनि जान सक्छ । नेपालमा क्यान्सरमध्ये स्तन क्यान्सर रोगीको संख्या दैनिक उकालो लाग्दो छ । स्तन क्यान्सर महिला पुरुष दुबैमा हुन्छ तर नेपाला भने महिलाको संख्या धेरै छ ।
महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा नै स्तन क्यान्सर पर्छ भन्दा पनि फरक नपर्ला । किनकि विज्ञहरुको अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो भने अहिले स्तन क्यान्सर पहिलो नम्बरमा पर्ने बुझिन्छ । स्तन क्यान्सर कसरी हुन्छ, यसको रोगथाम, उपचार र नागरिकले ध्यान दिनुपर्ने बारेमा स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतीले जानकारी गराउनु भएको छ । डा. श्रेष्ठ लामो समयदेखि क्यान्सर अस्पताल भक्तपुरमा आबद्ध हुनुहुन्छ ।
क्यान्सर कस्तो रोग हो ?
नागरिकले के बुझ्नु पर्यो भने कुनै पनि अंगमा क्यान्सर हुन सक्छ । कुनै पनि अंगमा कोषिकाहरुको अस्वाभाविक वृद्धि हुन्छ त्यो अंगअनुसार क्यान्सरको नाम दिइन्छ । जस्तै स्तनमा भयो भने स्तन क्यान्सर । पाठेघरको मुखमा भयो भने पाठेघरको मुखको क्यान्सर, फोक्सोमा भयो भने फोक्सोको क्यान्सर त्यसरी अंगअनुसार क्यान्सरको नाम दिइन्छ । जनचेताको कमी छैन समयसमयमा क्यान्सरको परीक्षण गर्नुहुन्छ भने यो सामान्य समस्या हो ।
तर समयमा अस्पताल नआउने लामो समय नेपालमा स्तन क्यान्सरको अवस्था कस्तो पाउनु हुन्छ ?
महिलामा हुने क्यान्सरहरुको बारेमा कुरा गर्ने हो भने दुई, तीन वर्ष पहिला पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो । तर अहिले स्तन क्यान्सर पहिलो नम्बरमा रहेको पाइन्छ । स्तन क्यान्सरको संख्या वर्षेनी बढ्दै गइरहेको छ ।
स्तन क्यान्सर हुनुको कारकतत्वहरु केके हुन् ?
स्तन क्यान्सर र अन्य क्यान्सर हुने कारकतत्वहरु मिल्दाजुल्दा नै छन् । प्रदूषित वातावरण, धुवाँधूलो, अखाद्य पदार्थ जुन हामीले दैनिक सेवन गर्दै आइरहेका छौं । धुम्रपान–मद्यपान दैनिक जीवनयापनमा आएका परिवर्तनजस्तै पहिला धेरै ठाउँ हिँडेरै पुगिथ्यो भने अहिले सवारी साधानको प्रयोग गर्ने चलन छ जसले गर्दा हाम्रो शरीरलाई क्रियाकलापहरु कम हुने हुन्छ । यी कुराहरुले सामान्यतया सबै क्यान्सर हुनुमा रोल खेल्छ स्तन क्यान्सर हुनुको कारण भने १५ प्रतिशत वंशाणुगत नै आउँछ ।
यीबाहेक कहिले पनि सन्तान नजन्माउने महिला, ढिला सन्तान जन्माउने महिला, सन्तान जन्माए पनि स्तनपान नगराउने महिलाहरुलाई भने स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । महिनावारी चाडै शुरु हुने र ढिला सुक्ने महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । तपाईंको परिवारमा कसैलाई स्तन क्यान्सर भएको छ भने परिवारको अन्य सदस्यलाई पनि हुने सम्भावना हुन्छ ।
स्तन क्यान्सरका समस्या बोकेर महिलाहरु कुन स्टेजमा अस्पताल आउनुहुन्छ ?
स्तन देखिने बाहिरी अंग भएको हुँदा समयमा सूसुचित गराउने हो भने सुरुवातको अवस्थामै स्तन क्यान्सर पत्ता लगाउन सक्छौँ । सबै नागरिकलाई जनचेतना प्रदान गर्न सकेको खण्डमा स्तन क्यान्सरका बिरामी सुरुवातको अवस्थामै अस्पताल आउन सक्छन् । जनचेतना पाएका धेरै नागरिहरु स्तन क्यान्सर भए नभएको बारे स्वास्थ्य परीक्षण गराउन आफै अस्पताल आउनु हन्छ भने कतिपय समस्या जटिल भएको अवस्थामा आउनु हुन्छ । सबै प्रकार समस्या बोकेर नागरिक अस्पताल आउनु हुन्छ ।
उपचारको कुरा गर्ने हो भने पहिलाकै अवस्थामा क्यान्सर पत्ता लगाउन नसकेको खण्डमा जति सुरुवातको अवस्थामा उपचार हुन्छ त्यत्ति नहोला । नेपालकै अवस्थाको कुरा गर्ने हो भने पहिला भन्दा अहिले नागरिक क्यान्सर पहिलो र दोस्रो स्टेजमै आइरहनु भएको छ ।
स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तन क्यान्सर सुरुवातको अवस्थामा थाह पाउने भनेको मुख्यतया जनचेतना नै हो । त्यसमध्ये पनि स्तनको साईज बराबरी हुनुपर्छ । तर स्तनको साइज कुनै सानो अथवा कुनै ठूलो जस्तो देखियो भने मलाई क्यान्सर भयो कि भनेर सोच्नुपर्ने हुन्छ । हामीले ऐनाको अगाडि बसेर स्तनको साईज थाह पाउन सक्छौँ । यदि असामान्य लाग्छ साईजमा परिवर्तन आएको भने क्यान्सरको सामान्य परीक्षण गर्न सकिन्छ । तर स्तनपान गराइरहने आमाको लागि भने कुन साईटको स्तनपान गराउनु भएको छ त्यो स्तन चै हल्का बढ्न सक्ने अथवा ठूलो देखिन सक्छ । तर त्यो बोहक धेरै ठूलो देखिएको छ भने स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ । स्तनको कलरमा परिर्वत आएको जस्तै रातो बिबिराजस्तो देखिनु, सानो घाउहरु आउनु, स्तनमा गाँठो भेटिनु, स्तनको टुप्पो (निप्पल) बाट रगत अथवा पिपहरु आउनु पनि स्तन क्यान्सरका लक्षणहरु हुन् । अथवा यी कुनै पनि लक्षण छैन तर काखीको ग्रन्थी बढ्दै जानु पनि स्तन क्यान्सर लक्षण हुन सक्छन् ।
स्तन क्यान्सरको सबै प्रकारको उपचार नेपालमै सम्भव छ ?
सबै क्यान्सरको उपचार नेपालमै भइरहेको छ । स्तन क्यान्सरको उपचार पनि नेपालमै सम्भव छ । पहिला स्तन क्यान्सर हुँदा सबै स्तन काटेर उपचार गरिथ्यो भने अहिले स्तनको ट्यूमर भएको पार्ट मात्रै काटेर उपचार गर्ने गरेका छौं ।
स्तन क्यान्सर हुन नदिनका लागि नागरिकले के के कुरामा ध्यान दिनुपर्छ ?
पहिलो कुरा त नागरिकले हामी सचेत भयौं भने हामीलाईनै धेरै फाईदा छ भन्ने कुरा बुझ्नु पर्छ । स्तन क्यान्सर महिला पुरुष दुबैमा हुन्छ त्यसैले सबै जना सचेत हुन जरुरी त छँदै छ महिलाले आफ्नो स्तनको अवस्थाबारे बुझिराख्नु नै निकै महत्वपूर्ण कुरा हो । माथि उल्लेख गरिएको लक्षण अथवा स्तनमा केही परिवर्तन पाउनु भयो । आफूलाई असहज भएको महसुस हुन्छ भने समयमा नै सम्बन्धित चिकित्सकलाई देखाउनु भयो भने पहिलो अवस्थामै क्यान्सर पत्ता लगाउन सकिन्छ ।
ढिला बच्चा जन्माउने, स्तनपान नगराउने अथवा वंशाणुगत पनि स्तन क्यान्सर छ भने त्यस्ता व्यक्तिले वर्षमा एक पटक स्तन क्यान्सर परीक्षण गराउँदा राम्रो हुन्छ । समयमा बच्चा जन्माउने, स्तनपान गराउने लगायतको कुरालाई पनि प्राथमिकताको साथ हेर्ने हो भने पनि स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।