निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारी अगाडि बढाएसँगै राजनीतिक दलहरुमा विस्तारै सक्रियता बढेको छ । पार्टी निर्माण र महाधिवेशनकै दौरानमा नेताहरुले चुनावलक्षित भाषण दिइरहेका छन् । आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि सरकारसमक्ष निर्वाचन मिति प्रस्ताव गरेको छ । यही सन्दर्भमा स्थानीय सरकारको नेतृत्व गरिरहेका नेताहरुको 'मुड' चाहिँ के छ त ?, गाउँपालिकामा गरेको विकास निर्माण अनि भोगेका समस्याका बारेमा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’सँग ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गरेको कुराकानी :
निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखको दोस्रो साताका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ, ढिलोचाँडो निर्वाचन हुन्छ । तपाईं फेरि पञ्चकन्या गाउँपालिका अध्यक्षमा उठ्ने तयारीमा हुनुहुन्छ कि ?
आउने स्थानीय निर्वाचनका लागि तयारी गर्ने/नगर्ने भन्ने विषयमा सोचीसकेको अवस्था छैन । मैले एक वर्ष पहिलादेखि नै आगामी निर्वाचन अथवा दोस्रो कार्यकालको निम्ति मेरो उम्मेदवारी नरहने भनेर सार्वजनिक रुपमा घोषणा पनि गरिसकेको छु । यही बीचमा गाउँपालिकाका नागरिकले कतिपयले फेरि अध्यक्ष बन्नुपर्छ भन्ने कुरा गर्नुभएको छ भने कतिपयले गाली पनि गर्नुभएको छ । त्यसैले अहिले उम्मेदवारीको विषयमा बोल्ने बेला भएको छैन । कतिले ती कुराहरु नबोल्दा राम्रो भनेर सुझाव पनि दिनुभएको छ ।
कतिपय गाउँका बाआमाहरुले मेरो उम्मेदवारी नरहने भन्ने खबर सुनेर आँसु पनि बगाउनु भएको छ । केही अधुरा कामहरुलाई पूरा गर्नका लागि पनि गाउँपालिका अध्यक्षमा दोहोर्याउनु पर्ने कुराहरु पनि गर्दै आउनु भएको छ ।
भिडियो
तपाईंले साढे चार वर्षमा पूरा गर्न नसक्नु भएका काम तथा योजनाहरु के के छन् ?
अधुरा कामहरु धेरै छन् । तर पछिल्लो चरणमा पहिलाको तुलनामा धेरै कामहरु भएका छन् । जति पनि काम भएका छन् त्यसमध्ये अधुरा रहेका कामहरु सम्पन्न गर्नु पर्दछ भन्ने मेरो भनाइ हो । अब जुनसुकै व्यक्ति वा दलका जनप्रतिनिधि आए पनि ती कामहरुलाई निरन्तरता दिनु पर्छ नै । विशेषगरी निर्माणकै कामहरु रहेका छन् । काठमाडौंदेखि झण्डै ३५ किलोमिटरको दुरीमा गाउँपालिका केन्द्र पर्छ । काठमाडौंको २७ किलोमिटरबाट गाउँपालिका सुरु हुन्छ । तर यति नजिकको गाउँपालिका भए पनि सडक कालोपत्र गराउन सकेको छैन । यो वर्षदेखि कालोपत्रे गर्ने कार्य पनि अगाडि बढाइराखेको छु । गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने केन्द्र लाकुरीभञ्ज्याङसँग जोडिएको सडकहरु कालोपत्रे गर्ने, वडादेखि गाउँपालिकाको केन्द्रसम्म आउने सबै सडकको स्तरोन्नती गर्नेलगायतका पूर्वाधारका क्षेत्रमा धेरै कामहरु बाँकी छन् ।
सँगै पर्यटकीय क्षेत्रमा पनि थालनी भएका धेरै काम बाँकी छन् । घ्याङस्वाँरा क्षेत्रलाई सहिद पार्कको रुपमा विकास गर्न खोजिराखेको छु । ती कामहरु पनि भर्खरै सुरु भएको हुँदा पूरा गर्नुपर्ने छ ।
मुलुकमा संघीय व्यवस्थाअनुसार बनेको स्थानीय सरकार अथवा गाउँपालिकाको पहिलो अध्यक्ष बन्नुभयो, अनुभव सुनाइदिनुस् न ?
म पञ्चकन्याको अध्यक्ष भएपछि देखिने खालका काम होस् भनेर विकासको मेरुदण्डको रुपमा हेरिने सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्यौं । सँगै गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय, स्वास्थ्य चौकी भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गर्यौं । शिक्षा—स्वास्थ्य सबै क्षेत्रमा काम गरिराखेकै छु । गाउँपालिका एउटा भूगोलको हिसाबले एकातिर तादी खोला छ भने अर्कोतिर लिखु खोला । दुवै खोलाको बीचमा श्रीलंकाको टापु जस्तो अल्को डाँडा भएको गाउँमा खानेपानीको अभाव छ । त्यहाँ स्रोत नभएको हुँदा म निर्वाचित भएपछि पानी खानेपानीव्यवस्थापन गर्नका निम्ति भूमिगत पानी निकालेर अहिले वितरण गर्ने क्रममा छौं । कतिपय ठाउँमा पानी वितरण भइसकेको छ । सँगै गाउँपालिकाको शिक्षा, स्वास्थ्य र युवाहरु विदेश जाने लहर चलिरहँदा गाउँका युवाहरुलाई गाउँमै राख्न सकिन्छ कि भनेर कृषि क्षेत्रमा पनि काम गरिरहेका छौं ।
म निर्वाचित भएपछि गाउँपालिमा आएको परिवर्तनबारे मैलेभन्दा पनि गाउँवासीले देख्नु भएको छ । मेरो कार्यकालमा धेरै काम गरेको छु जस्तो मलाई लाग्छ । तर, मैले भन्नुभन्दा पनि गाउँवासीले मूल्याङ्कन गर्ने कुरा हो । गाउँको समग्र विकासमा लाग्नु मेरो डिउटी हो, डिउटी गरिरहेको छु ।
गाउँपालिकाको अध्यक्ष भएर काम गरिरहँदा कत्तिको समस्याहरु झेल्नुभयो ?
काम गर्दै जाँदा चुनौती र समस्याहरु पनि नआएका होइनन् । कतिपय काम गर्ने क्रममा कानुनी समस्याहरु पनि छन् । नेपालको संविधानले तीन तहको सरकार भनेर व्याख्या गरेको छ । तर कतिपय समस्याहरु केन्द्रीय सरकारको नीतिअनुसार, प्रदेश सरकारको नीतिअनुसार, तोकिएको हिसाबले गर्नुपर्ने हुँदा समस्या रह्यो । माथिल्लोस्तरबाट कार्यविधि समयमा नबन्ने, कार्यविधि बने बजेट नआउने, आर्थिक नीति, कानुनलगायत चुनौतीसँगै समस्याहरु पनि छन् । यस्ता विभिन्न कारणले कतिपय योजनाहरु समयमा सम्पन्न गर्न सकिराखेको अवस्था छैन भने गाउँवासीले किन भएन भनेर प्रश्न गर्दा चुनौती पनि आउनु सामान्य नै हो ।
मैले धेरै जनप्रतिनिधिहरुलाई यो प्रश्न गर्ने गरेको छु, तपाईंलाई पनि सोध्न चाहन्छु, 'गाउँ गाउँमा सिंहदबार' भन्ने संघीय सरकारको नारा छ । साँच्चै पञ्चकन्या गाउँपालिकाका नागरिकले यो कुराको महसुस गर्न पाएका होलान् त ?
केही अधिकारका कुराहरु केन्द्रमै अड्किएर समस्या भए पनि नागरिकले 'गाउँमै सिंहदरबार'को महसुस गर्नुभएको छ भन्ने लागेको छ । मेरो आफ्नो अनुभवमा कतिपय समस्याहरु बोकेर जिल्ला हुँदै केन्द्र धाउनुपर्ने अवस्था थियो भने आज घरमै पाकेको खाना खाएर गाउँवासीहरु आनन्दले गाउँपालिका आउनु हुन्छ र आफ्नो काम सकेर फर्किनु हुन्छ । विकास निर्माणदेखि नागरिकले पाउनु पर्ने सेवासुविधाहरु गाउँमै पक्कै पाउनु भएको छ ।
स्थानीय तहमा बेथिति र भ्रष्टाचार बढेको भन्दै संघीय व्यवस्था आवश्यक छैन भन्न थालिएको छ नि ?
यो त संघीयता विरोधीहरुले भन्ने कुरा हो । संघीयताको आवश्यकता नभएको भए हजारौं हजार युद्धमा होमिने पनि थिएन । हजारौं सहिद भएका छन् अंगभंग हुनेको संख्या उत्तिकै छ । लाखौं लाखको योद्धाको लगानी पनि छ । यत्तिकै आएको संघीयता होइन । संघीयता नचाहिने भए यति धेरै क्षति पनि हुँदैन थियो होला । नेपालमा संघीयता आवश्यक छ, संघीयता आवश्यक छैन्, दु:ख पाइयो आदि इत्यादि कुरा विरोधीहरुले भन्ने हुन् ।
पञ्चकन्या गाउँपालिकामा तपाईंको नेतृत्वमा जति पनि विकास र अन्य क्षेत्रको योजनाहरु अगाडि बढाउनुभयो । अझै गर्नुपर्ने र समेट्न जरुरी के के देख्नुभएको छ ?
म आफू निर्वाचित भएर आए पनि अथवा मेरो ठाउँमा अरु जोकोही पनि आउन सक्नुहुन्छ । मैले त्यो गाउँपालिकाको नागरिक भएको नाताले पनि नयाँ अध्यक्षसँग समन्वय गर्ने र उहाँसँगै काम गर्ने कुरा त छँदै छ । आन्दोलनको क्रममा सहिद भएका साथीहरुको परिवारलाई समेट्न नसकेको जनगुनासो छ । यस्तै घाइते, अपाङ्ग साथीहरुको समस्या समेट्नु पर्ने कुरा पनि आइरहेका छन् । हिजो युद्धमा सहिद हुने र अंगभंग हुने साथीहरुको मागलाई पनि सम्बोधन गर्नुपर्छ । यसको विषयमा मैले सबै कुरा सम्बोधन गर्न नसकेपछि नयाँ जनप्रतिनिधिले समेट्नु पर्छ जस्तो लाग्छ ।
द्वन्द्व पीडितको नाममा संघीय सरकारले दिनुपर्ने सहयोग आइरहेको छ । पञ्चकन्या गाउँपालिकामा १२ जना सहिद हुनु भएको छ । उहाँहरुको नाममा सहिद स्मारक पार्क बनाएर अर्धकदको सालिक निर्माणको काम भइहेको छ । सुदिप भुर्तेल मूर्तिकारले निर्माण गर्दै हुनुहुन्छ । निर्माण सम्पन्न पछि उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । परिवार र गाउँवासीले पनि सधैंभरी सम्झिन सकोस् भन्ने अर्थमा सहिद पार्क निर्माण अगाडि बढाएका छौं ।