सन् २०२०-२०२१ साल मानव जतिको इतिहासमा नै अत्यन्त दुखदायी र करुणामय वर्ष बन्न पुग्यो । अझ कति वर्ष यसले दु:ख दिने हो यसै भन्ने स्थिति छैन । गत दुई वर्षमा लाखौं मानिसहरुले ज्यान गुमाए, करोडौंले आफन्त गुमाए, अरबौंले रोजगार, पेसा व्यवसाय र सुख आनन्द गुमाए । अझै न त यसको अन्त्यको कुनै संकेत छ न यो नियन्त्रणमा नै आएको छ । संसारभरिका मानिसहरु, सरकारहरु यसका विरुद्धमा कठोर लडाइँ लडिरहेका छन्। आशा गरौं छिट्टै यो महामारीले बिदा लिनेछ र मानव समाज र सभ्यताले यस संसारमा पुनः सुख, शान्ति र समृद्धिको यात्रालाई अगाडि बढाउन सक्ने छ ।
हामी प्रवासमा बसेर पनि यसको प्रभावमा धेरै नै परेका छौं । महामारीको प्रभावमा शारीरिक, मानसिक, भौतिक तनाव प्रशस्त झेल्न परिरहेको छ । यसै बीचमा पनि आफू बच्ने र अरुलाई बचाउने अभियानमा हामी हातेमालो गरिरहेका छौं । हामी जापानको क्युस्युमा रहेका नेपाली समाजमा पनि दु:खसुखमा सबै सँगै छौं । हामी एउटा परिवार जसरी बस्ने कोसिस गरिरहेका छौं । त्यसैको एउटा प्रयत्न वा प्रयोग हो `हाम्रो नेपाल हामी नेपाली अभियान, जापान' र `क्युस्यु समिट` एउटा कार्यक्रम ।
क्युस्यु क्षेत्रमा छोटो समयमा पनि नेपाली दाजुभाइ, दिदीबहिनीहरुको संख्यामा भएको वृद्धि र त्यस सँगसँगै जन्मिएका विभिन्न संस्था र समाजहरु र विविध समस्या र चुनौतीहरुको पनि वृद्धि भइरहेको छ । हाम्रो नेपाली समाजलाई नेतृत्व दिइरहेका हाम्रा संस्था र समाजहरुको वर्तमान अवस्था, भूमिका र हाम्रा समस्या र चुनौतीहरुको छलफल र समीक्षा गर्नु आजको एउटा अर्को महत्वपूर्ण आवश्यकता बनेको छ । त्यसैले यो अत्यन्तै महत्वपूर्ण कार्यको थालनी र यसको संयोजन गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने सोचले 'हाम्रो नेपाल हामी नेपाली अभियान', जापानको गत वर्षको वार्षिक कार्यक्रममा यसलाई राखिएको थियो । सन् २०१९ को २ फेब्रुअरीमा पहिलो क्युस्यु समिट भव्य रूपमा सम्पन्न भएको थियो । दुर्भाग्यवस कोरोना महामारीले गर्दा गत दुई वर्ष आयोजना हुन सकेन । कोरोनाको परिवर्तित स्वरूप र लामो समयको निरन्तरताको सन्दर्भमा हाम्रा जनजीवन र गतिविधिहरुलाई विस्तारै-विस्तारै पुनर्स्थापित गर्दै जानु पर्ने परिवेशलाई मध्यनजर गर्दै क्युस्यु समिटको महत्व पूर्ण कार्यक्रमलाई आयोजना गर्ने निर्णयमा पुगेका छौं ।
प्रवासी समाजमा सयौंको संख्यामा छरिएर रहेका, विभिन्न तह तप्कामा, विभिन्न स्वरुप र चरित्रका संघ संस्थाहरुलाई एउटै ठाउँमा भेला भएर हाम्रो समाजमा रहेका राम्रा, नराम्रा कुराहरूको समीक्षा, हाम्रा संघ संस्था समाजहरूको अवस्था, कार्यक्रम र भोग्न परेका समस्याहरू, संस्थाहरू बीचको पारस्परिक सम्बन्ध र सहयोगको अवस्था आदि विषयमा क्युस्युमा रहेका सबै संघ संस्थाहरूका नेतृत्व समूहहरू बीचको छलफल र अन्तर्क्रियाले हाम्रो नेपाली समाजमा अनुशासन, एकता पारस्परिक सहयोग र सद्भावको अभिवृद्धि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
हाल फुकुओका क्षेत्रमा सक्रिय संस्थाहरूमा FUNESO,NRNA,FRINDSHIP LIONS CLUB,जनजाति महासंघ, हाम्रो नेपाल हामी नेपाली अभियानका साथै विभिन्न जनजातिका समाजहरु, जिल्ला वा क्षेत्रका समाजहरु, राजनीतिक पार्टीका भ्रातृ संगठनहरु, कला, साहित्य र खेलकुदका संघ संस्था र समूहहरु दर्जनौंको संख्यामा पाइन्छ । सबैको गतिशीलता र भूमिकाले समाजलाई मर्यादित र अनुशासित बनाउने महत्वपूर्ण भूमिका रहेको छ भन्ने हामीले बिश्वास गरेका छौं ।
नेपाली समाजको बहुजाति, बहुभाषा, बहुधर्मको संस्कृति र संस्कारलाई हामीले सात समुद्रपारि रहँदा पनि नबिर्सेर संरक्षण र संवर्द्धन गर्दै जानु अत्यन्त महत्वपूर्ण कुरा हो । यसको महत्व यस कारणले पनि छ कि जुन नेपाली युवा जगत अहिले प्रवासमा गएका/आएका छन् उनीहरुमा हाम्रो नेपाली संस्कार र संस्कृतिको सामाजिकीकरण गर्न अत्यन्त आवश्यक छ । किनभने संस्कार र संस्कृति बिर्स्यौं भने हामीले हाम्रो पहिचान गुमाउने खतरा हुन्छ । हामी नेपाली हौं भन्ने परिचय दिन र आफू स्वयम् एउटा सुसंस्कृत सभ्य नागरिक हुन पनि हामीले नेपाली संस्कार र संस्कृतिको ज्ञान र व्यवहार लिन परम आवश्यक छ । त्यसैले माथि उल्लेख गरिएका सम्पूर्ण संघ संस्था वा समाजहरु र तिनले गर्ने कार्यक्रमहरुलाई हाम्रो नेपाली समाजको प्रतिविम्बको रुपमा हेरिनु पर्छ । तर यो सुन्दर बिधाता वा अनेकतामा हामीले एकताको कमी आउन दिनु हुँदैन । यो अनेकतामा एकता(Unity in Diversity)नै नेपाली समाजको सबैभन्दा सुन्दर पक्ष हो भन्ने बिर्सन हुँदैन । हाम्रो पहिचान हामी नेपाली हुनमा छ त्यसैले नेपाली संस्कार, संस्कृति भनेको यहाँको विविधतामूलक संस्कार र संस्कृति नै हो । त्यसैले यो विविधतालाई बचाउनु अतिआवश्यक छ ।
समस्या कहाँ छ भने यो विविध फूलबारीको जतन र एकआपसको सद्भाव, सहकार्य, सहयात्राको संयोजन कसले गर्ने ? कसरी गर्ने ? यदि हामीले उचित संयोजन गर्न जनेनौं भने के-कस्तो परिस्थिति विकास होला ? त्यसैले यो अत्यन्त संवेदनशील र महत्वपूर्ण कार्यमा हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले केही योगदान पुर्याउने, केही भूमिका निर्वाह गर्नु पर्ने महसुस गरेर नै यो क्युस्यु समिटको अवधारणा विकास गरिएको हो । समाजमा केही योगदान गर्न चाहन्छौं भन्ने हामी नेपाली समाजका अगुवाहरु कम्तीमा वर्षमा एक/दुई पटक सँगै बसौं र छलफल गरौं कि हाम्रो अवस्था के छ ? के हुँदैछ ? के सच्याउनु छ ? के बदल्नु छ ? के थप्नु छ ? भन्ने कुराको आभास पनि गराउँदछ । यस्तो प्रयत्नले हाम्रा युवाहरुमा एक प्रकारको जोश, जाँगर, अनुशासन र परिश्रमको भावना विकास गर्न मद्दत गर्ने छ भने अर्कोतिर हाम्रा रोजगार, व्यापार व्यवसायको प्रवर्द्धनमा समेत मद्दत गर्न सक्नेछ । यस्तो अभ्यासले हाम्रा संस्था र समाजहरुलाई सक्षम, सक्रिय र उत्तरदायी बनाउने छ भने हामीलाई अझ बढी एकताबद्ध बनाउने छ र हाम्रो इज्जत र प्रतिष्ठा अझ बढ्ने छ । र, समष्टिमा हाम्रो प्रवासी जीवन मर्यादित, व्यवस्थित र सम्पन्न बन्न बनाउन सहयोग पुर्याउने छ ।
त्यसैले यहाँ खाँचो नयाँ-नयाँ संस्थाको छैन, खाँचो के छ भने हाम्रा भएका संस्थाहरु कसरी प्रभावकारी हुन सक्छन् जसले सबैलाई समेटेर सबैको हितका लागि सही भूमिका खेल्न सक्नेछन् । हामीले कार्यक्रमको संख्याभन्दा कार्य्रक्रमको औचित्य, नवीनता र गुणात्मकतामा ध्यान दिन जरुरत देखिन्छ । साथै हाम्रा हरेक गतिविधिको फाइदा, बेफाइदा के छ भनेर मूल्यांकन गर्नु आजको खाँचो हो । हामीलाई खाँचो यस कुराको पनि छ कि राम्रोलाई राम्रो भन्ने नराम्रोलाई नराम्रो भन्ने । यस्तो सकारात्मक र रचनात्मक टिप्पणीको संस्कृतिको निर्माण हामीले कसरी गर्न सकिन्छ ? भन्ने कुरा पनि हामीले सोच्नु परेको छ । अझ सोझो रुपमा भन्दा आखिर हामी विदेश किन आएका छौं ? हामीले आफूलाई कति सक्षम बनायौं ? हामीले के उपलब्धि हासिल गर्यौं ? हाम्रा गतिविधिले, क्रियाकलापले हामीलाई के कति फाइदा दिएको छ अथवा हाम्रा क्रियाकलाप वा हाम्रो नेतृत्वले हाम्रो समाज र समाजका सदस्यहरुलाई कति फाइदा दिएको छ भन्ने कुराको समीक्षा पनि गर्ने बेला आए जस्तो लाग्छ । यी र यस्ता हजारौं प्रश्न हुन् सक्छन हाम्रा अगाडि । यी सबैको एउटै समाधान हो हामी सबै एकै ठाउँमा बस्ने र एउटा सकारात्मक र रचनात्मक छलफल र चिन्तन गर्ने वातावरणको विकास गर्ने र हामी सबै बन्नु पर्छ र बनाउनु पर्छ । हामी सबै मिल्नु पर्छ र मिलाउनु पर्छ भन्ने पवित्र विचारले प्रेरित हुन् सकियोस् भन्ने आकांक्षा हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले राखेको र त्यसको एउटा वस्तुगत अभ्यास क्युस्यु समिट हो ।
अन्तमा, हाम्रो नेपाल हामी नेपाली अभियान जापानले यो गहन आवश्यकता र जिम्मेवारीलाई परिपूर्ति गर्न कोसिस गरिरहेको छ र यो क्युस्यु समिट पनि एउटा महत्वपूर्ण परिघटना मान्न सकिछ । हामीले त केवल एउटा संयोजकको भूमिका, मध्यस्थताको भूमिका, एउटा साझा चौतारीको भूमिका र एउटा पहरेदारको भूमिका मात्र निर्वाह गर्दैछौं । हामी सबै हेर्दा छुट्टाछुटै संस्थामा भए पनि वा नभए पनि एउटा सिंगो नेपाली समाजका सदस्य हौं । हामीहरु सबै सिक्काको एउटा पाटोमा एउटा संस्थामा छौं भने अर्को पाटोमा नेपाली सामाजका प्रतिनिधि हौं । हाम्रो नेपाल हामी नेपाली अभियान हामी सम्पूर्ण प्रवासी नेपालीको एउटा चौतारी हो । सबैलाई भेट्ने र सुखदुखका बात गर्ने थलो हो । अर्को शब्दमा अभियान सबैलाई जोड्ने र एउटा माला बनाउने प्रयत्न हो । `सयौं थुंगा फूलका हामी एउटै माला नेपाली`को एउटा अभ्यास हो ।
(लेखक : हाम्रो नेपाल हामी नेपाली अभियन जापानका प्रमुख संयोजक हुनुहुन्छ)