आरक्षणलाई 'गरिबी हटाउवाला' कुनै कार्यक्रम ठान्नेहरूलाई एकफेर राम्ररी संविधान पढ्न आग्रह छ। यो कुनै आर्थिक विकासको कार्यक्रम होइन हजुर, ऐतिहासिकरूपमा पछि पारिएका, विभेद गरिएका र अवसरहरूबाट वञ्चित गरिएका दलित लगायतका वर्गसँग क्षमा मागिएको हो। पुरानो पुस्तामा भएको भूलका लागि यो पुस्ताले प्रायश्चित्त गरेको हो। र, पछि रहेकालाई आफ्नो अलि नजिक ल्याउनका लागि बाटो अलि सहज बनाउने प्रयास गरिएको हो । यस कारण पनि यो केवल आर्थिक स्थितिको कुरा होइन।
यदि धन कमाएर दलितले उपल्लो जातिको जस्तो सामाजिक हैसियत र धार्मिक अधिकार पाउने भएदेखि चाहिँ आर्थिक अवस्थाको मात्रै कुरा गरे पुग्नेथियो, नत्र पुग्दैन । यति कुरा याद गरौं- यो समाजमा गरिबी त उस्तै होला तर गरिब उस्तै छैनन्। माथिल्लो जातको गरिब र कथित तल्लो जातिको गरिबको समाजमा स्थान एउटै छ ? आत्मविश्वास र अवसर उस्तै छ ? छैन भने त्यसमा समाजको भूल मिसिएको छ। यसलाई नसुधार्ने बरू छँदैछैन भन्नेतिर जाने हो भने हामी बिस्तारै पृथ्वीले सूर्यलाई होइन, सूर्यले पृथ्वीलाई घुम्छ भन्नेमा पुग्छौं।
यदि विभेद र वञ्चना हुन्थेन भने जातिको कुरा बेकार हो । जातिको कुरा गर्नु भनेको विभेदलाई स्वीकार गरेको र त्यही संरचनाको समर्थन होइन, त्यसको विरोध हो। जातिको आधारमा विभेद हुनासाथ त्यसको उपचार पनि त्यसै अनुहार खोज्नुपर्छ। रोगअनुसार ओखती। त्यस्तो हुन्थेन भने जातिगत रूपमा कोही पनि उँचो वा निचो छैन। यो पूरै विचार राजनीति र सत्ताका लागि खडा गरिएका कुरा हुन्।
शुद्धताकै कुरा गर्ने हो भने हामी सबै मानिसको जाति होमोस्यापियन्सको जिनमा समेत मिलावट भएको अध्ययनहरूले देखाएका छन् । झन्डै डेढ लाख वर्ष पहिलेसम्म पृथ्वीमा पाँच किसिमका मानिस थिए, तीमध्ये अरू पछि बिलाए। तर, त्यसैबेला मानिसहरूबीच मिश्रण भएको अध्ययनले देखाएका छन्। होमोस्यापियन्समा नियन्द्राथलको जिन मिसिएको पाइएको छ।
यता धर्मग्रन्थ र कथाहरू हेर्दा पनि त्यस्तै देखिन्छ। एउटै अर्जुनका पाँच पत्नी थिए, तिनमा एक नागकन्या पनि थिइन्। भीमका पुत्र घटोत्कच र पौत्र बर्बरिक असुरकन्या हिडिम्बाबाट जन्मिएका सन्तान हुन्। सत्यवति कुनै उचो जातिकी कन्या थिइनन्, जसका सन्तान दरसन्तान कुरूक्षेत्रमा लडे।
कुरोको चुरोचाहिँ के हो भने 'जाति सत्य, विभेद मित्थ्या' भन्ने हुँदैन। एउटा सत्य भएपछि अर्को पनि हो, जसलाई हटाउनु छ। बराबरको मान्यताको कुरा हो । यसलाई अलि गहिरिएर बुझौं। समस्याहरूलाई पहिचान गरेर समाधानतिर गयो भने सहि बाटोमा हिँडिन्छ। अरूले भोगेको समस्यालाई समस्या नै होइन भन्न थालियो भने त्यसले फेरि नयाँ समस्या ल्याउँछ ।
पत्रकार तथा लेखक यज्ञशको फेसबुकबाट