धेरैलाई मानसिक स्वास्थ्यबारे जानकारी नहुनसक्छ । तर स्वास्थ्यमा आउने धेरै समस्याहरुले मानसिक स्वास्थ्यमा पनि समस्या निम्त्याउने कारणमध्ये एक हो । मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । नेपालमा मानसिक स्वास्थ्य शिक्षालाई खासै प्राथमिकतामा राखेको पाइँदैन । नेपालमा मानसिक स्वास्थ्यका एकिन तथ्यांक नभए पनि संख्या बढ्दै गएको अनुमान विज्ञहरुको छ । मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सिन्धुली जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञबाट सेवा सुरु भएको छ । मानसिक स्वास्थ्य भनेको के हो ?, कसरी थाहा पाउने, कस्ता व्यक्तिमा समस्या हुन्छ र आउन सक्छ ? मानसिक स्वास्थ्यसम्बन्धी उपचार, समाधानलगायतबारेमा सिन्धुली अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अर्पणा घिमिरेसँग गरिएको कुराकानी ।
मानसिक स्वास्थ्यलाई कसरी बुझ्ने ?
समग्र स्वास्थ्यलाई मानसिक र शारीरिक गरी दुई किसिमबाट बुझ्न सक्छौं । शारीरिक स्वास्थ्यका बारेमा हामीले सहजै बुझ्ने कुरा भयो । शारीरिक समस्याजस्तै मधुमेह, गार्इनो, उच्च रक्तचाप, हार्डजोर्नीका समस्या आदि । मानसिक स्वास्थ्य भन्नाले मनका र दिमागको जति पनि सबै समस्या भए ।
मानसिक स्वास्थ्यमा समस्या छन् भने रगत परीक्षण गर्दा देखिँदैन तर पनि बिरामीको व्यवहार, बोली विभिन्न कुरा हेरेर हामीले मानसिक रोग छ, छैन भनेर छुट्याउने हो । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई विभाजन गरेर हेरे पनि यो दुबै एकअर्कामा सम्बन्धित छन् ।
जस्तै शारीरिक स्वास्थ्यसँगसम्बन्धी मधुमेह, प्रेसरका बिरामीहरुमा मानसिक स्वास्थ्यका समस्या आउने सम्भावना अन्य व्यक्तिमा भन्दा धेरै हुन्छ । हाइपो थाइरोडिज्मले गर्दा डिप्रेशनको रुपलाई जन्म लिन सक्छ । लक्षणहरुमा मुटुको ढुकढुकी बढ्ने आत्तिने जस्ता समस्या एन्जाइटी अर्थात् आत्तिने रोगसँग यसरी मिल्दोजुल्दो हुन्छ । शारीरिक रोगहरुले गर्दा मानसिक रोगले जन्म लिन सक्छन् ।
मानसिक रोग भएका व्यक्तिहरुमा पनि शारीरिक रोग धेरै भएको पाइन्छ । सामान्य किसिमको मानसिक रोग जस्तो डिप्रेसन र आत्तिने रोगहरुले पनि विभिन्न किसिमको शारीरिक रोगलाई जन्म दिन्छ । निन्द्रामा खराबी, खानपानमा गडबडी हुनेजस्ता मानसिक समस्याले शारीरिक रोग निम्त्याउन सक्छन् । कडा खालको मानसिक रोग भएको व्यक्तिलाई प्रेसर, सुगरजस्ता दीर्घकालीन रोग लाग्न सक्ने सम्भावना हुन्छ । सुगर, प्रेसरले गर्दा किड्नीको समस्यालाई जन्म दियो, जब किड्नीले काम गर्न छोड्छ, विभिन्न किसिमका शारीरिक लक्षणहरु देखिन्छ नै, सँगै मानसिक लक्षण पनि देखिन थाल्छन् ।
दीर्घकालीन रोगका तनावले गर्दा पनि डिप्रेसन, एन्जाइटीजस्ता रोगहरुलाई जन्म दिन्छन् । उपचार गराउँदै हुनुहुन्छ भने सँगै मानसिक रोगको लक्षण केही छैन भन्ने बारेमा चिकित्सकसँग परामर्श लिँदा राम्रो हुन्छ । बिरामीको अवस्था हेरेर जरुरत परेको खण्डमा उहाँहरुले मनोविज्ञ कहाँ पठाइदिनुहुन्छ ।
सिन्धुली अस्पतालमा मानसिक स्वास्थ्यको विज्ञको रुपमा सेवा प्रदान गर्दै हुनुहुन्छ, यो पाटोलाई नागरिकले कसरी लिएका छन् ?
मैले सिन्धुली अस्पतालमा माघ ९ गतेदेखि सुरु गरेको हो । दैनिक ८ देखि १० जना बिरामीहरु मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने गर्नुहुन्छ । तीमध्ये अन्य विभागमा उपचारका लागि आउदा मानसिक स्वास्थ्यको परीक्षणको लागि पठाएका बिरामीहरु हुनुहुन्छ । मानसिक स्वास्थ्यको बारेमा अस्पताल आएर सबै कुरा बुझे पछि खुसी भएर फर्किनुभएको छ भने बोलाएको समयमा फलोअपका लागि पनि आउनुहुन्छ ।
मानसिक रोगीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु हुन्छ ?
सिन्धुलीमा मेरो अनुभव छोटो छ । तर अहिलेसम्मको अनुभवलाई जोडेर हेर्दा मानसिक स्वास्थ्यमा अझ धेरै चुनौतीहरु छन् । ‘नेशनल मेन्टल हेल्थ सर्भे’ भएको थियो । त्यसमा पनि मानसिक स्वास्थ्य सेवा लिनबाट नागरिक के के कारणबाट बञ्चित भएका छन् भन्ने विषय पनि समेटिएको थियो । भेद्भावको दृष्टिले समाजका नागरिकले हेर्ने भएको हुँदा समयमा उपचार नपाएको तथा उपचार पाउनबाट बञ्चित भएको उल्लेख गरिएको थियो ।
भेद्भावका कारणले उपचार नगर्ने समस्या जबसम्म आइपुग्नुहुन्न तबसम्म हुन्छ । जो मनोविज्ञसमक्ष आइपुग्नुहुन्छ आफूले बुझेर मानसिक स्वास्थ्यबारे वास्तविक कुरा अरुलाई पनि बुझाउनुभएको छ ।
मानसिक स्वास्थ्यका कारण अनौठो व्यवहार गर्ने व्यक्तिहरु अथवा त्यो अवस्थासम्म पुग्ने संख्या निकै कम हुन्छ । जुन मानसिक रोगको सानो पार्ट हो । तर धेरै व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सामान्य रोगहरु जस्तै डिप्रेसन, एन्जाइटी भएको पाइन्छ । विश्वको तथ्यांक हेर्ने हो भने पनि ४ जनामध्ये एक जनामा मानसिक समस्या भएको हुन्छ भने ५ जनामध्ये एक जनामा डिप्रेसन हुने उल्लेख छ । यस्ता समस्या धेरैलाई हुन्छ । नबुझेसम्म हो । बुझेपछि सामान्यरुपमा लिने र उहाँहरुले अरुलाई बुझाउने प्रयास गर्नुहुन्छ ।
मानसिक रोग पनि अन्य रोगजस्तै हो भनेर बुझिदिनुपर्यो । शरीरमा रोग लाग्न पाइने मनमा रोग लाग्न नपाइने भन्ने हुँदैन । मनमा लागे पनि उपचार सम्भव छ ।
मानसिक रोगको लक्षणको कुरा गर्ने हो भने धेरैजसो बिरामीहरु निन्द्रा लाग्न छोडेपछि मनोविद्कहाँ पुग्नुहुन्छ । निन्द्रा नलाग्ने एउटा प्रमुख समस्या रहेको छ । अर्को टाउको दुखाई पनि धेरैजसो समस्याहरु मानसिक रोगको कारणले भइरहेको हुन्छ । यी बाहेक सबैभन्दा धेरै पाइएको डिप्रेसन हो । डिप्रेशन रोग हुँदा लामो समयसम्म दु:खमात्रै लागिरहने । जस्तो एक व्यक्ति दुई हप्ता वा त्यो भन्दा बढी समयसम्म निराशपन हुने । जिन्दगीप्रति नकारात्मक विचार आउने, आत्महत्याको सोचाई आउने, शरीरमा थकानको जस्तो अनुभव हुने, पहिला जे कुरा गर्दा आफूलाई आनन्द रमाइलो हुन्थ्यो त्यो केही पनि गर्न मन नलाग्ने डिप्रेसनका लक्षणहरु हुन् ।
अर्को हाम्रो समाजमा धेरै हुने मानसिक समस्या भनेको एनजाइटी अथवा धेरै आत्तिने लक्षणहरु हुन् । यसमा मनमा एकदम छटपट—छटपट हुने, मुटु ढुकढुक हुने, श्वासप्रश्वासमा गाह्रो हुने, मांशपेशीहरु दुख्ने लक्षणहरु हुन् । यस्तै दिशापिसाबमा समस्या हुने । पेट पोल्ने लक्षण पनि मानसिकसम्बन्धी समस्याका कारण आउन सक्छन् । तर धेरै जसो व्यक्तिहरुले यो समस्या हुँदा ग्यास्ट्रिक भएको हो कि भनेर इन्डोस्कोपी गर्ने, धेरै उपचार गर्नुहुन्छ तर ठीक हुँदैन तर त्यो पनि एन्जाइटीको लक्षणको रुपमा आएको हुन्छ । एन्जाइटीलाई ठीक नबनाएसम्म ग्यास्ट्रिकको समस्या पनि सधैंको लागि हल हुनेवाला छैन् ।
अर्को धेरै नागरिकमा देखिएको समस्या भनेको मद्यपान गर्ने व्यक्तिहरुले पहिला खानेपछि छोड्ने प्रयास गर्नुहुन्छ तर सकिराखेको हुँदैन । धुम्रपान, मद्यपान, लागूपदार्थ सेवनको कारणले पनि मानसिक समस्या आउन सक्छन् । कुनै पनि मादक पदार्थको सेवन पनि मानसिक रोग भयो यस्ता व्यक्तिहरुमा अन्य किमिसका मानसिक रोग हुन्छ र हुने सम्भावना पनि उत्तिकै छ । कहिलेकाहींमात्रै मद्यपान गर्ने व्यक्तिले सधैं खान थाल्यो भने पनि मानसिकसम्बन्धी समस्या भएको हुनसक्छ । कडा खालको मानसिक रोगको लक्षणहरु हुनुपर्ने भन्दा धेरै चन्चल हुने, धेरै खुसी हुने, आफूले आफूलाई म सबैभन्दा ठूलो हो जस्तो ठान्ने लक्षणहरुमा पर्दछन् ।
साथै कसैले मार्न खोजेको जसरी आफूले आफूलाई शंका गर्ने, एक्लै बोल्ने, कसैको कुरामा प्रतिक्रिया दिएको जस्तो । तर वरिपरि कोही हुँदैन । यस्ता लक्षण कडा खालको मानसिक रोगमा पर्दछ । यस्ता खालका लक्षण देखियो कसैले व्यक्त गर्यो भने मनोविद्को सल्लाह सुझाव लिन जरुरी हुन्छ ।
मानसिकसम्बन्धी समस्या आउन नदिनको लागि गर्नुपर्ने कुराहरु के के हुन् ?
पहिलो कुरा त नागरिकले मानसिक रोग लाग्ने सम्भावना आफूमा कति छ अथवा छ छैन भन्ने कुराको बारेमा याद गर्नुपर्यो । जस्तै कडा खालको मानसिक लक्षणहरुमाथि उल्लेख गरेको छु । कडा खालका मानसिक रोग वंशाणुगत हुने सम्भावना धेरै हुन्छ । परिवारको एमदम नजिकको बुबा, आमा, दाजूभाइ दिदीबहिनी कसैमा पनि छ भने आफूलाई पनि त्यस्तो लक्षण आउला भनेर पहिलादेखि नै याद गर्नुपर्यो । लागूपदार्थ प्रयोग गर्ने व्यक्तिलाई मानसिक समस्या आउने सम्भावना धेरै हुन्छ । लागूपदार्थबाट टारै बस्दा राम्रो । साथै कुनै विपत जस्तै भूकम्पको कुरा गरौं, यस्तो बेलामा पनि मानसिकसम्बन्धी समस्या आएको पाइन्छ ।
आफूलाई तनावबाट कसरी टाढा राख्ने, सही सूचनामा ध्यान दिन सकेको खण्डमा पनि मानसिक रोग लाग्नबाट बच्न सकिन्छ । दुर्घटना पर्दा, आफ्नो परिवारको व्यक्ति गुमाउँदा या आफै पनि हिंसाको सिकारमा पर्दा यी सबै कारणले पनि लाग्ने सम्भावना हुन सक्छ । यस्ता घटना भएको खण्डमा एक पटक मनोविज्ञसँगको परामर्श लिँदा राम्रो हुन्छ ।
मानसिक स्वास्थ्य पनि स्वास्थ जीवनशैली खानपान, व्यायाम अथवा हामीले गर्ने दैनिक गतिविधि सबै कुरालाई व्यालेन्समा राख्न सकेको खण्डमा पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिन सकिन्छ । तर यति गर्दागर्दै पनि कहिलेकाहीं त कुनै कारणबिना नै पनि मानसिक रोग लागिरहेको हुन्छ समयमै रोगको पहिचान गरेर उपचार गर्न सकेको खण्डमा जटिल रुप लिनबाट बच्न सकिन्छ ।
उमेरको आधारमा मानसिक रोग हुन्छ कि हुँदैन ?
मानसिक रोगबाट कुनै पनि उमेर समूहको व्यक्ति सुरक्षित चै हुनुहुन्न । लक्षण फरक भए पनि मानिसक रोग बालबालिका, किशोरकिशोरी, वयस्क सबै उमेरका व्यक्तिलाई हुन्छ । वृद्धवृद्धालाई अझ धेरै मानसिकसम्बन्धी समस्या हुन्छ । महिला पुरुषमा हेर्ने हो भने महिलामा बढी देखिन्छ । विभिन्न उमेर समूहअनुसार लक्षण फरक—फरक हुने भएको हुँदा यो समूहको व्यक्तिलाई नै बढी हुन्छ भन्न सकिँदैन । तर के कुरा याद गर्न जरुरी छ भने मानसिक रोगबाट कुनै पनि उमेर समूहका नागरिक सुरक्षित हुँदैन ।