नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो छ । महिलामा पनि क्यान्सरको समस्या धेरै नै पाइन्छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर महिलामा धेरै हुने गरेको तथ्यांकले देखाएको छ । पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ, समस्या आउन नदिन अपनाउनु पर्ने उपाय, उपचार र रोकथामको विषयमा स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी गराउनु भएको छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था कस्तो पाउनु भएको छ ?
पाठेघर र पाठेघरको मुखको क्यान्सर बेग्ला बेग्लै हो तर नागरिकले एउटै हो भनेर बुझ्ने गरेका छन् ।
नेपालमा धेरै वर्ष पहिलादेखि नै महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर नै पहिलो नम्बरमा पाउने गरेका छौं । तर पछिल्लो ३,४ वर्षदेखिको तथ्यांक हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरको स्थानमा स्तन क्यान्सरले ओगटेको पाएका छौं । सोही अवस्था भक्तपुर क्यान्सर अस्पतालमा पनि रहेको छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा धेरै महिलाहरुले ज्यान गुमाउँदै आएका छन् ।
कुनै पनि क्यान्सरको उपचारको विषयमा बुझ्नु पर्ने कुरा के छ भने क्यान्सर पहिलो चरण या अर्लिस्टेजमा पत्ता लगाएको खण्डमा पुरै निको हुने रोग हो । तर ढिला हुन गएमा पुरै निको हुने सम्भावना कम हुन्छ पाठेघरको मुखको क्यान्सरको दुई किसिमले उपचार गर्न सकिन्छ । सुरुवातको अवस्थामा भए अप्रेसनको माध्ययमबाट उपचार सम्भव हुन्छ ढिला हुन गएमा विकिरण (रेडियो थेरापी) तथा किमो थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ । दुबै उपचारको विधिहरु नेपालमै सम्भवछ र राम्रो पनि छ ।
उपचारपछि धेरै बिरामीहरु १०–१५ वर्षदेखि फलोअपमा आइरहनु भएको छ । त्यसैले समयमानै राम्रो उपचार पाउन सकेको खण्डमा लामो समयसम्म सामान्य जीवन बिताउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सरका कस्ता–कस्ता लक्षण हुन्छन् ?
सामान्यबाहेक असामान्य अवस्था शरीरले देखाइरहेको छ अथवा संकेत दिएको हामी सर्तक हुनुपर्छ । संकेत भनेको लक्षणको माध्यमबाट पाउन सक्छौं । तर लक्षणहरु के हुन् भनेर जानकारी पाउन जरुरी छ । महिलाहरुले आफ्नो स्वास्थ्यलाई खासै महत्व दिइरहेको छैन । लक्षणहरुलाई बेवास्ता गरेको देखेका छौं ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख लक्षणमध्ये एउटा योनीबाट रगत बग्नु हो । यसलाई अझ राम्रोसँग बुझ्नु पर्दा कुनै पनि महिनावारी रोकिसकेको महिलामा फेरि रगत देखापर्नु (महिनावारी रोकिएको महिला भन्नाले ४५ वर्ष माथिका जसको एक वर्षसम्म एक पटक पनि महिनावारी भएको छैन) । यो वर्गको महिलाहरुको योनीबाट रगत गयो भने पाठेघरको क्यान्सरको लक्षण हुन सक्छ । यौन क्रियाकलापपछि रगत बग्नु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हुन् ।
हुन त यो पाठेघरको मुखको इन्फेक्सन मात्र भएर वा कुनै सामान्य ट्यूमर पलाएकोले मात्रा पनि रगत बग्ने समस्या हुन सक्छ । तर क्यान्सर हो होइन भनेर पहिचान गर्न जरुरी हुन्छ । महिनावारी महिनामा एक पटक हुनु पर्नेमा यसमा पनि परिवर्तन आउनु जस्तै लामो समयसम्म रगत बगिरहनु, मासु पखालेको पानी जस्तो गइरहनु, एक महिनादेखि अर्को महिनाको महिनावारी सुरु हुनुभन्दा अगाडि नै बीचबीचमा रगत बगिरहनु यी लक्षणहरु सबै पाठेघरको मुखको क्यान्सरको पनि हुन सक्दछ । त्यसैले सजक रहन जरुरी छ ।
समयमा नै क्यान्सर पहिचान नभएको अस्थामा क्यान्सर बिस्तारै अरु अंगमा पनि जान सक्दछ । त्यस्तो बेलामा अन्य लक्षणहरु पनि आउन सक्छन् । जस्तो कि छिन्–छिन्मा पिसाब लाग्ने, दिशा कब्जियत हुने, दिशा गर्न नसक्ने, योनीबाट दिशापिसाब आउने र तौल कम हुने ।
कति वर्षका महिलाहरुले पाठेघरको मुखको क्यान्सरको अनिवार्य परीक्षण गर्दा राम्रो हुन्छ ?
सबै क्यान्सरको कारकतत्व यही भन्ने थाहा हुन्न तर पाठेघरको मुखको क्यान्सर भने ९० प्रतिशत भन्दा बढी क्यान्सर गराउने कारकतत्व एउटा जिवाणु हो । जसलाई ह्यूमन प्यापिलोमा भाइरस भनिन्छ ।
त्यसैले यो सम्बन्धी स्क्रीनिङ टेष्टहरु पनि उपलब्ध रहेको छ । यो भाइरसको संक्रमण यौन सम्पर्कको माध्यमबाट हुने हुनाले कुनै पनि महिला जो यौन सम्पर्कमा आइसक्नु भएको छ उहाँहरुले जाँच गराउने स्क्रीनिङ विधि हो । यसलाई प्यापस्मेर टेष्ट भनिन्छ । यो प्यापस्मेर टेष्टको माध्यमबाट १० देखि १५ वर्षपछि हुन सक्ने पाठेघरको मुखको क्यान्सरको बारेमा पहिलेनै संकेत पाउन सकिन्छ ।
अर्को स्क्रीनिङ भनेको एचपिभि डिएनए टेष्ट रहेको छ । यो दुबै परीक्षण गरेको खण्डमा महिलालाई धेरै लाभ हुन सक्छ । स्क्रीनिङ राम्रो भएको खण्डमा क्यान्सर भए नभएको र हुनबाट पनि जोगिन सकिन्छ । यसको उदाहरणको रुपमा हामीले हाम्रो जस्तो विकासोन्मुख देशर विकसित देशलाई लिन सक्छौंं । किनभने विकसित राष्ट्र र विकास हुँदै गरेको राष्ट्रको कुरा गर्ने हो भने विकसित राष्ट्रहरुमा पाठेघरको मुखको क्यान्सर एकदमै कम भइसक्यो । यसको मुख्य कारण भनेको जनचेतना जसले गर्दा महिलाहरु अनिवार्य जस्तै स्क्रीनिङमा जान्छन् ।
पाठेघरको क्यान्सरबाट बच्नको लागि खोप पनि लगाइने गरिन्छ । खोप र स्क्रीनिङ पनि अनिवार्य जस्तै भएको हुँदा विकसित राष्ट्रहरुमा पाठेघरको मुखको क्यान्सर निकै कम छ । पाठेघरको क्यान्सरबाट बच्नको लागि यो खोप हाम्रो नेपालमा पनि उपलब्ध छ ।
पाठेघरको मुखको क्यान्सरको उपचार नेपालमा कस्तो छ ?
पाठेघरको मुखको उपचार नेपालमै सम्भव छ । यसको उपचार बिधीमा अप्रेसन, रेडियोथेरापी र केमो थेरापीको प्रयोग गरिन्छ ।
कस्ता महिलामा पाठेघर अथवा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ?
पाठेघरको मुखको क्यान्सरको सबैभन्दा ठूलो कारणतत्व भनेको ह्यूमन प्यापिलोमा भाइरसको संक्रमण हो । यो भाइरस यौन सम्पर्कको माध्ययमबाट हुने हो । यौन सम्पर्क नभएको व्यक्तिमा भने यो भाइरसको इन्फेक्सन हुँदैन । त्यसैले सानै उमेरमा यौन सम्पर्क राख्ने ,धेरै सन्तान जन्माउने ,धेरै व्यक्तिसंग यौन सम्पर्क राख्ने ,धुम्रपान सेवन गर्ने र लामो समयसम्म गर्भनिरोधक औषधि सेवन गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने सक्ने सम्भावना बढी हुन्छ ।
अत्यमा पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो जुन १० देखि १५ वर्ष अगाडि नै थाहा हुन सक्छ । यसबाट बच्नको लागि नियमित स्क्रीनिङ गर्ने बानी बसाल्नु पर्छ । कुनै पनि लक्षणहरु देखा परेको खण्डमा समयमा चिकित्सकको सल्लाहअनुसार उपचार गरेको खण्डमा पूर्ण रुपमा क्यान्सर निको हुन सक्छ ।