सन्दर्भ : विश्व आदिवासी दिवश
पिपाको हुंकार
– राजु स्याङतान
यो देशको बेइमान चित्रकारले
चोप्न छुटाएको एउटा अपहेलित रंग हुँ म
झेली पियानो बादकले
थिच्न छुटाएको
एउटा अपमानित धून हुँ म
इतिहास लेख्ने लेखन्दासले
लेख्न छुटाएको एउटा
सीमान्तकृत अक्षर हुँ म
ओ शासकहरु !
इतिहासको किनारामा बेखबर छाडिएको
तिमीले बनाएको
एउटा गुमनाम पीपाको खबर
ध्यान दिएर सुन ।
मेरो माटो खोसेर
मेरो इतिहास च्यातेर
मलाई किनारामा धकेलिदिने
ओ बादशाहहरु हो !
म तिम्रो अघि
लोरी सुनाउन आएको होइन
चिडियाखानाबाट निस्किएको बाघले
लोरी सुनाउँदैन ।
टुँडिखेलमा
टाउको काटिएका मेरा पुर्खाहरु
फुटेको डम्फु बजाउँदै बजाउँदै
हरेक मध्यराति जुलुस निकाल्छन्
म त्यही जुलुसमा हिँड्ने
पीपाको एउटा सन्तान
अपमानित इतिहासको हिसाब खोज्न
तिम्रो शालिक अघि उभिएको छु ।
हजार वर्षदेखिको भोक टार्न
गाइको मासु खाँदा
गौ हत्याको आरोपमा
मेरो पुर्खाको टाउकोलाई
यही टुँडिखेलमा
भकुन्डो बनाएर खेल्यौ
मेरा हजुरआमाहरुलाई
दरबारको पटाङ्गीनीमा
नाङ्गै उभ्याएर
खुनी नङ्ग्राले युगौँ नङ्ग्राइरह्यौ
ओ रगत पिउने शासकहरु !
म त्यही पिपा र सुसारेको सन्तान
निधारमा तिम्रो भगवान काटेको
आलो रगतको टिका लगाएर
टुँडिखेलमा उभिएको छु ।
तिमीले कर्फ्यु लगाउने सडक
तिम्रो बिर्ता होइन
यो त मेरो पुर्खाले बगाएको
रगतको गोहो हो
तिमीले फरमान जारी गर्ने दरबार
तिम्रो बपौती होइन
त्यो त मेरो पुर्खाको हाडखोरको थुप्रो हो
आज म तिम्रो कफ्र्यु तोडेर
तिम्रै अगाडि उभिएको छु ।
सुनकोशीको रानी दहमा तैरिरहेको
रेन्जेन दोर्जेको टाउको बोकेर
२ सय ५८ वर्षपछि आज
याम्बुको सडकमा उभिएकोछु ।
मलाई शालिक मुनि किचेर
मेरो याम्बुमाथि रजाईं गर्ने
ए पृथ्वीनारायण !
समयको रथलाई
कहाँ लुकेर तान्दैछौ आफूतिर
सडकमा आउ ।
मलाई मासिन्या मतवाली बनाएर
मुलुकी ऐनको डोरीले
जब बाँधिदियौ गाईको गोठमा
मान्छे र पशुको दोसाँधमा बाँचेर
नमासिकनै आज
आइपुगेको छु यहाँसम्म,
पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर
ठिङ्ग उभिएको छु
तिम्रो शालिक अघि
ए जंगबहादुर !
कहाँ लुकेर उध्याइरहेछौ तरबार ?
मैदानमा आउ ।
भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै
रगत छादेर मरेको
मेरो पुर्खाको खप्पर बोकेर
तिम्रो चिहान अघि उभिएकोछु,
ए जुद्ध शमशेर !
कहाँ लुकेर जारी गर्दैछौ फरमान ?
म तिम्रो दरबार बनाउने
पिपा मात्रै होइन
तिम्रो चिताको दाउरा बोक्ने
मलामी पनि हुँ
मैदानमा आउ ।
तिम्रो अत्याचारको भारी बोक्न छोडेर
जीवनसँग विद्रोह गर्ने
मेरा पुर्खा सूर्यबहादुर तामाङ
यो देशको एउटा पिपा, भरिया
सडकमा भोकै आन्द्रा चुडिएर मर्यो
तर चुडिँएन नाम्लो,
त्यही नचुडिँएको नाम्लो
कम्मरमा बेरेर
यो सडकमा उभिएको छु
ओ तानाशाहहरु हो !
मैदानमा आउ
अब अन्तिम युद्ध लडौं ।
०००