यो वर्ष बाढीपहिरोका घटना मिडिया तथा सामाजिक सन्जालमा दरदर्ती छाईए । यस्ता प्राकृतिक विपत नेपालको लागि कुनै नौलो होइन । पुर्खाहरू यसका भुक्तभोगी थिए । यद्यपि यो प्रविधियुक्त परिवेश र भुमण्डलीकरणको युगमा हामी पनी यसबाट अछुतो रहन सकेका छैनौं ।
पहाडी ईलाकामा निर्माणाधीन तथा निर्मित बाटोहरूले बाढीपहिरोको जोखिमलाई प्रवर्द्धन गरेको देखिन्छ । बाटोघाटो विकासको माध्यम हुन् । तर बिडम्बना ! यी बाटाहरूले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजआजका घटनाले दर्साउँदछ ।
विकासभन्दा महत्वपूर्ण कुरा मानिसको सुरक्षित जीवन हो । जनताका ज्यान माटोले पुरिएर र भलले बगाएर ल्याइएको बोक्रे विकास कसैलाई मान्य छैन । वन्यजन्तुका बासस्थान र मानव घरबारलाई जोखिममा पारेर गरिएको विकास कदापी दिगो विकास हुन सक्दैन । दिगो विकास लक्ष्य प्राप्तिका लागि भनेर अवैज्ञानिक तरिकाले हतारहतार बाटो बनाउनु अज्ञानता हो । हुन सक्छ, सुगम सडक मार्गको कारणले निकट भविष्यमा गाउँलेले सुख्खभोग गर्न पाउलान । तर भावी सन्ततिलाई सुख दिलाउने निउमा हामी वर्तमान पिंढिले सास्ती खेप्न पटक्कै हुन्न ।
हाम्रा बाटोहरू के कति कारणले बाढीपहिरोका उत्प्रेरक (catalyst) बनेका छन र समाधानको बाटो के हुनसक्छन ? यिनै विषयमा एक सङ्छिप्त टिप्पणी गरिनु यस लेखको प्रमुख आशय हुनेछ ।
बाढीपहिरोको मुलस्रोत अबिरल बर्षापात नै हो । डाँडा, पाखा, ढिक, पहाडजस्ता प्राकृतिक संरचना खस्कनु, भत्किनु पहिरोका स्वरूप हुन । जलमार्गमा (watercourse) पानीको बहाव बढ्न जाँदा र अवरोध पैदा हुनजान्दा बाढी आउन सक्छ । बाढीपहिरोद्वारा जब घरबार, सडक, पुलजस्ता भौतिक सम्रचना पुरिन्छन्, भत्किन्छन् र डुबानमा पर्छन् तब यसको प्रभाव मानिसले महसुस गर्दछन् । यसबाट मानिस प्रभावित नहुँदासम्म बाढीपहिरोको महत्व खासै रहन्न । खोलामा बाढी आउन्दा पानीको बहावले दाहिने बान्याको किनार खोस्रिन्दा पहिरो श्रीजना हुनसक्छ । पहिरो गएर माटोबालुवा खोलामा मिसिदा र खोला थुनिन जाँदा बाढीको स्रिजना हुनसक्छ । यसरी बाढीपहिरो एक आपसका कारक हुन् ।
बाटोहरूले कसरी पहिरोलाई निम्त्याउन सक्छन् भनेर बुझ्नु भन्दा पहिला पहाडी जलाधार क्षेत्र (catchment) मा वर्षेझरी कसरी सञ्चार हुन्छ त्यो बुझन जरुरी देखिन्छ ।
मनसुनी यामको प्रारम्भिक दिनहरूमा बर्षाको पानी सिधै जमिनले सोन्च्छ । यसरी सिन्चन भएको पानीले भूमिगत जलभन्डारको भरण गर्छ वा भूमिगत दरार (fissure) भएर नजिकैको खोलानालामा मुल फुट्न सक्छ । यदी जलाधार ईलाका वनजङल र घाँसे मैदानले ढाकिएको छ भने बर्षातको पानी, खोलानालासम्म पुग्न पाउँदैन । वनस्पतिका पात, हाङ्गा, अनी जराका सन्जालले पानीलाई अड्काउने गर्छ । त्यसैगरि वास्पिकरण भएर पानी वायुमन्डलमा उत्सर्जन हुन्छ । प्रकाशसंश्लेषण प्रकृयामा खाना बनाउन पनि पानीको प्रयोग हुन्छ । यस्ता प्राकृतिक प्रकृयाले बर्षातको पानीको निश्चित परीमाणलाई स्वतः बिलिन गराइदिन्छ । यस्ता बिबिध कारणले मनसुन सुरुभएको एक निश्चित अवधिसम्म जमिनको सतहमा पानी नबग्न सक्छ ।
बर्षातको निरन्तरता सँगै, पानीले पूर्ण रूपमा भिजेको कपासको डल्लो जस्तो, जमिन पूर्णत संक्षिप्त बन्छ । अर्थात जमिनले पानीलाई ग्रहण गर्न सक्ने क्षमतामा ह्रास आउँछ । परिणामत् जमिनको सतहमा पानी बग्न सुरुगर्छ । भिरालो जमिनमा पानी गतिशिल भएर तलतिर बग्दै गर्दा, जब यसले खनिएको बाटो भेट्छ, तब बाढी पहिरो निम्त्याउने सम्भावना बढ्छ ।
पहाडी सडक डोजरले खनेर निर्माण गरिएका हुन्छन् । तेर्सो धर्काजस्तै गरेर सडक उकालो लागेको हुन्छ पहाडको थाप्लोसम्म । निर्माणकार्य प्रायः सुख्खा याममा गरिन्छ । यसरी खनिएका सडक दुई तीन मिटर चौडा हुनसक्छन् । त्यसैगरी चार पाँच मिटर भित्तातिर कोपरिएका हुन्छन । भिता खन्ने क्रममा माथि वर्णन गरिएका दरार उदाङ्गित बन्नसक्छन । यसपछि प्रशस्त मात्रामा माटो, बालुवा, ढुङ्गाजस्ता पदार्थ खुकुलो अवस्थामा उत्पन्न हुन्छन् ।
जब वर्षात निरन्तर भैरहन्छ त्यो अवस्थामा बाटोले घरको छानाको पानी सङ्कलन गर्ने नालीले (gutter) जस्तै काम गर्छ । मानिलियौं, घरको छानाभरी वर्षेको सम्पूर्ण पानी (घरभित्र न चुहिकन, छाइएको खरको छानोले कुनैपनी अवरोध खडा नगरि, वास्बिकरण न भैइ) नालीमा झर्छ । बाटोले ओगडेको छेत्रफलभित्र पनि बर्षात हुन्छ । बाटो माथिको जलाधारमा (catchment) परेको पानीको मात्रा र बाटोले ओगडेको क्षेत्रभित्र परेको पानीको मात्रा एकै ठाउँमा सङ्कलित हुनजाँदा पानीको कुल परिमाणमा अचानक ब्रिदी हुन्छ । यत्राो परिमाणको पानी खुकुलो माटो, ढुङ्गाहरूसँग घुलिन हुन जाँदा भेल (surface runoff) पैदा हुन्छ । स्वाभावैले भेलको घनत्व संगालो पानी भन्दा अधिक हुन्छ । भेलको घनत्वमा वृद्धि भएसँगै त्यसमा लाग्ने गुरुत्वबल पनि बढ्छ । भेल जति तलतिर बग्दै जान्छ त्यति यसको गतिमा तीब्रता आउँछ । जसरी एक ढिलो कुदेको भन्दा रफ्तारमा कुदेको गाडीको शक्ति धेरै हुन्छ, त्यसै अनुपातमा तीब्र गतिले ओरालो बग्दै गरेको भेलमा शक्ति थपिदै जान्छ । जसै यस्तो शक्तिशाली भेलले कुनै कमजोर ढिक भेट्दछ त्यसलाई ध्वास्त पार्दै, आकाशबाट फलामको डल्लो पृथ्वीतिर खसेजस्तै, सिधै तलतिर हान्निन्छ । यसरी एउटा सम्पूर्ण कान्ला नै भत्किन गयो भने त्यसले पहिरोको रूप लिन्छ । अभाग्यबस ति कान्लाहरूमा मानववस्ती बसेका रहेछन् भने मानवीय धनजनको क्षति हुन्छ । हो, यसैलाई भनिन्छ बाटोको कारणले निम्त्याएको पहिरो !
अब प्रश्न उठनसक्छ– यसरी बाटोको करणले जानसक्ने पहिरोलाई कसरी न्युन गर्ने त ? सर्वप्रथम खनेको बाटोलाई मनसुन आउन अघि नै पिच गरिहाल्नु पर्छ । बाटो खनिनु पश्चात पिच नगरिनु घर बनाएर छत् ढलाई नगरिनु जस्तै हो । हलो जोतेर मकै छरेपछि लेंणको नलगाउनु जस्तै हो । डोजरले पहाड फोरेर बाटो बनाउनु मानिसको छातीमा छुरिले चिर्नु जत्तिकै हो । यदी तुरुन्तै उक्त धुले बाटोमा अलकत्र बिच्छ्याइन्छ भने छुरीले चिरेको छातीमा मलमपट्टि बाँधेको जस्तै हो ।
एस्काभेटरले खोस्रेर छाडेको बाटोमा ढल निकास गरिएको हुँदैन भने बर्षाको भल बगेर गाउँलाई क्षति पार्न सक्छ । त्यसर्थ पिचको साथसाथै भेल तर्काउने नाली खनि हाल्नपर्छ । यसको लागि ढल इन्जिनियर र जलविद्सँग पुर्वपरामर्श राख्नु पर्छ । जलविदले वर्षातको प्रगाढताको आधारमा पानीको परिमाण र गतिको आँकलन निकाल्छन् । इन्जिनियरले त्यसै अनुरूप उपयुक्त निर्माण सामग्री प्रयोग गर्दै चाहिने आकार–प्रकारको ढल, नजिकैको खोलानालातिर सुरक्षित तरिकाले निष्कासन हुनेगरी, बिछ्याउँछन् । बाटो खनेपश्चात यस्ता अतिरिक्त सम्रचनाको व्यवस्था नगरिनु घर निर्माण गरेर पाइखाना र भान्साकोठा नबनाइनु जस्तै हो । फोहोर पानीको ढल र खाने पानीको पाइप नजोडिनु जस्तै हो । घर बनाउँदा ईकर्मी (electrician) र नलकार (plumber) जस्ता प्राविधिज्ञयसँग सरसल्लाह नलिनु जस्तै हो ।
त्यसैगरि दरारहरू, कमजोर ढिक तथा चट्टानको पहिचाहन गर्न भुगर्वविदहरूलाई नियुक्त गरिनु पर्छ । माथि वर्णन गरिए जस्तै बाटो खन्ने बेलामा दरारलाई उदाङ्गै पारिएको हुनसक्छ । सुख्खा याममा दरारमा पानी नबग्ने हुँदा दरार भनेर पहिचान गर्न नसकिएला । तर बर्षामास त्यही दरारबाट पानीको मुल फुटेर बाटोलाई हिलाम्य पार्नसक्छ । यसर्थ भुगर्भविद प्रयोग गरिएको छ भने त्यस्ता दरारलाई प्रभाव नपर्ने गरी बाटोलाई अन्तै मोडेर निर्माण गर्न सकिन्छ ।
बाटो निर्माणको क्रममा पारिस्थितीका र जैविक विविधतामा महत्वपूर्ण भूमिका खेल्ने वन्यजन्तु तथा वनस्पतीको नाश हुनसक्छ । यिनको पहिचान गरेर उचित सम्रक्षण तथा व्यवस्थापनको लागि जिव तथा बनस्पतीविज्ञसँग बेलैमा वैज्ञानीक परामर्श लिनपर्छ । बाटो निर्माणमा यस्ता वैज्ञानिक ज्ञानलाई प्रयोग नगरिनु भवन निर्माण गरेर भुइँ र भित्ताहरू प्लास्टर वा रङरोगन नगरेजस्तै हो ।
घर बनाउँदा सर्वप्रथम इन्जिनियरद्वारा नक्सा कोरिन्छ । त्यसपछि पास गराइन्छ । अनि डकर्मी, सिकर्मी, ईकर्मी र नलकार जस्ता प्राविधिज्ञबाट परामर्श लिइन्छ । त्यसपछि जग, भित्ता र छत सिध्यापछि प्लास्टर गरिन्छ, रङरोगन लगाइन्छ, बिजुली तथा पानी जडान गरिन्छ । अनि घर बस्नयोग्य ठहर्छ अनि मात्रै सरीन्छ । एउटा सडकलाई पनि घरलाई जस्तै व्यवहार गरिनपर्छ । माथि उल्लेख गरिएका सम्पूर्ण निर्माण कार्य सिध्याएपश्चात मात्रै मोटर गुडाइनु पर्छ । घरमालिक गरिब हुन्छ भने माटोको गाह्रो लगाउला, खरले छानो छाउला र भित्ता लिपपोत नगरि घरमा सर्ला । घर बनाएर सरेकै साल छानो चुहुला, भित्ताहरू उद्रेलान् । हो, आज हाम्रो पहाडी बाटोहरूको हालत म एक गरिबको झुपडी सरह देख्दैछु ।
भारी वर्षा भई प्राकृतिक कारणले पहिरो जानगए स्वाभाविकै ठानिन्छ । जब पहिरोको कारण मानव उत्प्रेरित हुन्छ त्यो मान्य हुन्न । अहिलेको बाढीपहिरोको महामारी बाटो खनाइ कै कारणले मात्रै हो भनेर पनि भन्न मिल्दैन । जलवायु परिवर्तनले गर्दा पनि यसले आफ्नो बिकराल रूप प्रर्दशन गरेको हुनसक्छ । जलवायु परिवर्तनको प्रभावलेवबर्षाको आकार र प्रकारमा आजकाल धेरै परिवर्तन आएको छ । एक छोटो समयावधीभित्र मुसलधारे वर्षा हुन्छ । एक महिनाभित्र पर्न पर्ने औसत वर्षा कहिलेकाही दुइचार दिन मै पर्न सक्छ । कहिलेकाँही लामो अवधिसम्म सम्पूर्ण जलाधार क्षेत्रमा निरन्तर घनघोर वर्षा भैरहनसक्छ । एकदुइ वर्ग माईलको सिमित क्षेत्रफलमा पनि सघन बर्षापात हुनसक्छ । बर्षामा देखिने यस्ता अनियमितताका स्वरूप नै जलवायु परिवर्तनद्वारा सिर्जित प्रभावका उदाहरण हुन् ।
सन २०१५ को महाभुकम्प र ततपश्चातका पराकम्पनले भुगर्भलाई पारेको उथल पुथल हामी सबैलाई विदितै छ । यस पटकको बाढीपहिरो सङ्ख्यात्मक हिसाबले धेरै भएको र यसले पारेको अत्यधिक क्षति त्यही भुकम्पको कारणले हुनसक्ने सजिलै अढ्कल काट्न सकिन्छ । पहाडको आवरणमा देख्न नसकिएता पनि यसको छातीभित्र भुकम्पले पारीदिएका भङ्जालाहरू, चिराहरू कति हुँदा हुन कति ? त्यस्तो अस्थिर छातीभित्र मनसुनी वर्षात भेल बनेर ठोक्किँदा कसरी अटल बनेर उबिन सकोस् बिचरा पहाड ! धमिराले खाएको धुरिखामोसरी पहिरो भएर गर्ल्यामगुर्लुम ढल्न कहर लागिहाल्यो नि ।
बाटोसिर्जित बाढीपहिरोको जोखिमलाई कानुनि तरिकाले पनि न्युनिकरण सकिन्छ । माथिनै भनिए जस्तै बाढीपहिरो जानु माटो, बालुवा, ढुङ्गायुक्त भेल पैदा भएर हो । यस्ता भेल सर्बप्रथम उत्पन्न हुन नदिन र जलमार्गमा मिसिनबाट जोगाउन निर्माण कम्पनिले आवश्यक तौरतरिका अपनाएको हुनैपर्ने वातावरणीय कानुनमा व्यवस्था गरेर अनुगमन गर्न सकिन्छ ।
बाटो निर्माण प्रकृयामा केही राम्रा कार्यहरू पनि गरेको देखिन्छ । सामार्थिक (socioeconomic) असरलाई न्युन गर्न ग्रामीण विकासमा अध्ययन गरेका विज्ञलाई नियुक्त गरेको पाईन्छ । तर पर्यावरणमा पर्ने सम्भावित असरलाई योजनामा लेखिएता पनि कार्यनयन पक्ष भने अतिनै फितलो छ । यि सबै बिषयहरू अन्तत्व वातावरण प्रभाव मुल्याङकनभित्र पर्दछन् । सडक निर्माणमा वातावरण प्रभाव मुल्याङकन घर निर्माणको लागि तयार पारीएको नक्साजस्तै हो । यसर्थ एक पाइला बाटो खन्न किन नपरोस्, वातावरण प्रभाव मुल्याङ्कन तयार बनाएर मात्रै योजना अगाडि बढाईयो भने बाटोको कारणले सिर्जना हुने बाढीपहिरोलाई न्युन गर्न सकिन्छ । अन्यथा बाढी पहिरोबाट पाइने सास्ती बर्षैपिच्छे बढेर जानेछ । र, यो साल झै बाटोले विकास होइन बिनास निम्त्याइरहनेछ ।