-साङमो थोकर तामाङ
नेपाल तामाङ घेदुङ तामाङ जातिको साझा र पुरानो सामाजिक संस्था हो । २०१३ सालमा स्थापित यो संस्थाले खासगरी तामाङ जातिको पहिचानलाई जोगाउने काम गर्दछ । यसको मुल उद्देश्य नै संसार भरीका तामाङहरुलाई एकता गर्दै संस्कृति, भाषा, धर्म, रितिरीवाज, भेषभुसा, कलालाई सम्बर्द्धन, संरक्षण र प्रबर्द्धन गर्ने हो ।
तथापि हालको परिस्थितिमा राजनीतिक मुद्दा पनि घेदुङले सन्तुलित ढंगले उठाएर राजनीतिक दलमा लागेका तामाङहरुलाई सुसूचित गर्नुपर्ने देखिन्छ । त्यतिमात्र नभएर नेपालका राजनीतिक दलहरुलाई नै तामाङको साझा मुद्दाको बारेमा बुझाएर साझा राजनीतिक मुद्दा बनाउन झकझक्याउनु पर्ने देखिन्छ । त्यस कारण घेदुङको भावी नेतृत्व त्यस्तो अभियान संचालन गर्न सक्ने र ईच्छा शक्ति भएको व्यक्ति आवश्यक छ ।
पटक पटक कोभिड–१९ महामारीको कारण स्थगित भएको घेदुङको नवौं संघीय महाधिवेशनको समय आइपुगिसकेको छ । अब घेदुङको नबौ महाधिवेशनबाट भावी नेतृत्व र टीम कस्तो हुनुपर्दछ त ? तामाङ आन्दोलनको भाबी कार्यदिशा वा स्वरुप कस्तो हुनुपर्दछ ? भन्ने विषयमा मैले अहिलेसम्म देखेको, बुझेको, सुनेको, अलिअलि अध्ययन गरेको र ब्यबहारिक जीवनमा घटेका तितामिठा अनुभवका आधारमा केही कुरा लेख्ने कोशिस गरेको छु ।
म धेरै अध्ययन र अनुसन्धान गरेको ब्यक्ति होईन । तथापि पदीय जिम्मेवारीको हिसाबले नेपाल तामाङ घेदुङ साईप्रसको स्थापना कालमा वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुँदै प्रमुख सल्लाहकारको भूमिका निभाउँदै आइरहेकीे छु । यसक्रममा विभिन्न समस्या, वादविवाद, आरोप–प्रत्यारोप, धन्यवाद, गालीगलौच र स्याबासी सबै मैले पाईसकेकी छु र अहिले पनि निरन्तर रूपमा पाई नै रहेकी छु । त्यसलाई मैले सहर्ष तरिकाले स्वीकारीरहेको पनि छु ।
अबको नेतृत्व र टीम घेदुङको प्रवास शाखाहरुलाई सधैं सहि निर्देशन, सरसल्लाह, समन्वय, सहयोग र सहकार्यमा ध्यान दिने हुनु पर्दछ । त्यतिमात्रै होईन, स्वदेशमा निर्माण भएका घेदुङका भातृ संगठनहरु, जिल्ला संगठनहरु, गाउँपालिका र नगरपालिका संगठनहरुलाई पनि उचित परिचालन गर्न सक्ने हुन जरुरी छ । सबैसंग घुलमिल गरेर सामुहिक र सकेसम्म सर्बसहमतिमा निर्णय गरी कार्यन्वयन गर्ने दृढ ईच्छा शक्ति भएको सक्रिय नेतृत्व र टीम हुनु पर्दछ ।
तामाङ जातिको सहि र जायज मुद्दा उठाउन, पहिचानलाई स्थापित गर्न सबै राजनीति पार्टीमा रहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकताको मालामा बाँध्न सक्ने नेतृत्व हुन जरुरी छ । न कि एउटाको बिरोध र अर्कोको समर्थन । कुरा र काम बराबर गर्ने, तामाङ जातिलाई सधैं माया गर्ने अबको नेतृत्व हुनु पर्दछ । तामाङको राम्रो कुरा, जस्तै तामाङ संस्कृतिक भवन निर्माण गर्ने योजनालाई सफल पार्ने, तामाङ जातिको सहि मुद्दालाई जसको छेउमा पनि निर्धक्कसाथ उठाउन सक्ने नेतृत्व नवौं महाधिवेशनबाट छनौट हुन जरुरी छ ।
त्यस्तै आगामि नेतृत्वले समुदायका अशिक्षित सबैलाई शिक्षा लिन बढी जोड दिनुपर्दछ । सबैलाई पहिला आफ्नो मातृभाषामा पढ्न र पढाउन लगाउनु पर्दछ । त्यसपछि उच्च शिक्षा हासिल गर्न लागाउनु पर्दछ । तामाङ पुगेका प्रत्यक देशहरुमा घेदुङका प्रवासी शाखाहरु गठन गर्दै तामाङहरुलाई एकजुट बनाउनु पर्दछ । त्यस्तै, नेपालमा पनि तामाङ जाति बसोबास गर्ने जिल्ला, गाउँपालिका, नगरपालिका र वडासम्म घेदुङको संगठन बनाउनु पर्दछ । त्यसपछि सबै तामाङ दाजुभाइ, दिदीबहिनीहरुलाई तामाङको जायज र साझा अधिकारको बारेमा बुझाएर एकजुट बनाउँदै तामाङ आन्दोलनको भावी कार्यदिशा तयार गर्नुपर्दछ ।
अन्तमा, अहिले ताम्सालिङ नाम राख्न नसकेता पनि यसरी नै तपाईं हामी सबै एकजुट भएर/गरेर अन्य जाती समुदायलाई पनि हाम्रो साझा अधिकार ठीक रहेछ भन्ने पार्न सक्नु पर्दछ । हरेस नखाइ निरन्तर आन्दोलन र जनचेतना फैलाउँदै लग्यो भने एक दिन अवश्य हामी हाम्रो लक्ष्यमा पुग्नेछौं । त्यस्तो काम गर्ने नेतृत्व र टीम यो महाधिवेशनबाट निर्वाचित होस । अग्रिम शुभकामनासहित धन्यवाद । थुजेछे ।
लेखक नेपाल तामाङ घेदुङ साइप्रसका सल्लाहकार हुनुहुन्छ