काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जोगप्रसाद नेपाल सन् २०४५ देखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला सचिवालय सदस्य, टोखा नगरपालिकाको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । राजनीतिको अलावा समाजसेवामा पनि सक्रिय नेपालसँग वडाध्यक्ष भएपछिका काम, वडामा भएका परिवर्तन, समस्या, चुनौती र अबको निर्वाचन तयारीलगायत विषयमा गरिएको कुराकानी ।
तपाईं वडाध्यक्षमा निर्वाचित भएपछि वडा विकासका लागि कस्ता योजनाहरुलाई प्राथमिकतामा राख्नुभयो ?
२०७४ वैशाख ३१ गतेको पहिलो निर्वाचनमा जाँदा हामीले १० देखि ११ वटा लक्ष्य र उद्देश्यहरु बोकेका थियौं । त्यो अन्तर्गत ५ वर्ष व्यतित गर्न लागेका छौं । हामी निर्वाचनको संघारमा पनि छौं । सबैभन्दा पहिलो प्राथमिकता वडामा प्रशासनिक भवन निर्माणलाई दियौं । अहिले भवन निर्माण सम्पन्न भइसकेको छ । हाम्रो वडाका केही भागमा ढलहरु सानो भएकोले डुबानको पनि समस्या थियो । ढललाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचका साथ ढल व्यवस्थापनलाई धेरै हदसम्म पूरा गरेका छौं । साथै यो वडामा खानेपानीको विकराल समस्या थियो । हामीले संघ, प्रदेश र नगरपालिकाको समन्वयमा दुई वटा बोरिङको काम पनि सम्पन्न गरेका छौं । जसले गर्दा पूर्णरुपमा समस्या समाधान गर्न नसके पनि केही मात्रामा खानेपानीको राहत जनतालाई दिलाउने काम भएको छ ।
साघुरा गल्लीहरुमा इँट्टा सोलिङ गरेर ब्लग बिछ्याउने काम भएको छ । ढलान, सडक कालोपत्रे गर्ने कामहरु पनि भएका छन् । यो ५ वर्षको अवधिमा वडाका सबै सडकहरु व्यवस्थित गर्ने काम भएको छ । हाम्रो वडामा सबै जिल्लाको नागरिकको बसोबास भएकोले शान्ति सुरक्षाको सन्दर्भमा सीसी क्यामेरा जडान गरिएको छ । सडक बत्तिको पनि व्यवस्था गरिएको छ भने फोहोर मैला व्यवस्थापनका निम्ति वडा ९ बाट धेरै प्रयत्न गरेका छौं । नदी नियन्त्रणका कामलाई पनि प्राथमिकताका साथ राखेका छौं । लक्षित वर्गको क्षमता विकास जस्तै, महिला, पुरुषको क्षमता विकासका कामहरु भएका छन् । जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, अशक्त नागरिकलाई वडाले प्रत्येक वर्ष सम्मान गर्दै आइरहेको छ । सामाजिक क्षेत्रमा पनि वडाका महत्वपूर्ण कामहरु गरेको जानकारी गराउँछु ।
अधुरा रहने योजना के के छन् ?
केही कामहरु ५ वर्षको बीचमा पूरा गर्न गाह्रो पनि भएका छन् । जस्तै, खानेपानीको समस्या वडाले चाहे जसरी पूरा गर्न सक्ने अवस्थामा छैन । त्यो राज्यको जिम्मेवारीभित्र पनि पर्छ । हाम्रो वडाभन्दा माथिको कुरा र जिम्मेवारी पनि रह्यो । ती भन्दा बाहेक ९५ प्रतिशत काम सम्पन्न गर्ने अवस्थामा वडा पुगिसकेको छ ।
हाम्रो टिमले गर्नुपर्ने तर पूरा नभएका केही योजनाहरु छन् । त्यसमध्ये खानेपानीको समस्या नागरिकले चाहेअनुसार पूरा गर्न सकेका छैन । तर अति आवश्यक छ । अर्को विष्णुमति करिडोरलाई तटबन्धन गर्नुपर्ने र विष्णुमतिमा मिसाउनु पर्ने ढल बन्द गर्ने योजना हामीले पूरा गर्न सकेका छैनौं ।
विकृति, विसंगतिलाई जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यो भनेअनुसार हुन सकेको छैन । साँघुरा गल्लीहरुमा बाटो विस्तार गर्न सकिरहेको छैन । समस्या कहाँ छ भने स्थानीय नागरिकले यो कुरालाई सहयोग गर्नुभएको छैन । यी हाम्रो बीचमा भएका चुनौती र पूरा हुन नसकेका योजनाहरु हुन जुन अति आवश्यक छ । वडामा जनसंख्याको हिसाबले हेर्ने हो भने मतदान संख्या ३ हजारदेखि ३२ सय सम्म छ । बसोबास गर्ने नागरिकको संख्या भने २० हजारभन्दा धेरै हुनुहुन्छ ।
सहरका बाक्लो बस्तीमा आगोलागीका घटना हुँदा दमकल जान नसक्ने धेरै उदाहरण छन्, यहाँको वडाले यस्ता विषयलाई कसरी हेरेको छ ?
घर निर्माणको समयमा नै व्यवस्थित प्लानिङ नभएको र अव्यवस्थित घर निर्माण हुँदा अहिले यो समस्या आएको हो । सडकहरु सानो गल्लीकै रुपमा भएकोले समस्या हाम्रो वडामा पनि छ । हिजो आलीमा हिँडेर काम चलिरहेको थियो भने बाटोहरुलाई ४ देखि १२ फुटसम्म विस्तार भएको छ । तर अझै पनि केही सडकहरु साँघुरै छन् । यहाँले भन्नु भएको जस्तै दमकल पुग्न नसक्ने, बिरामी बोक्ने एम्बुलेन्स, ट्याक्सी पनि जान नसक्ने साँघुरा गल्लीहरु छन् । यी गल्लीहरुलाई सडकमा विस्तार गर्न वडाले धेरै प्रयत्न गरेको छ ।
तर नागरिकको व्यक्तिगत इगो र उहाँहरु आफू—आफू बेमेलको कारणले पनि जग्गा छोड्न नचाहने मेरो व्यक्तिगत सम्पत्ति हो भन्ने जस्ता कुरा गर्ने र वडालाई पनि जबरजस्ती नागरिकको सम्पत्ति भत्काएर जाने अधिकार नभएकोले गल्ली विस्तारमा समस्या भइरहेको छ । हामीले धेरै ठाउँका नागरिकलाई गल्ली विस्तारको बारेका सकारात्मक बनाएका पनि छौं । त्यो भन्दा पहिला तत्कालका लागि भने दमकल जान नसक्ने गल्लीमा आगोलागीका घटना भएको खण्डमा जहाँ दमकल र पानीका ट्यांकर आउन सक्ने ठाउँ र घटना भएको स्थानसम्म पानीका पाइप राखेर नियन्त्रण गर्ने विषयलाई चिन्तन गरेका छौं । यो कामको लागि अहिले वडाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विकासको कुरा गर्नुपर्दा अन्य जिल्ला र काठमाडौंको हकमा पृथक् छन् कि ?
गाउँको र काठमाडौंको कुरा गर्दा धेरै पृथक् छन् । यहाँ सानादेखि साना समस्याहरु वडा कार्यालयले हेर्नुपर्ने हुन्छ । उदाहरण दिँदा, कुकुर, बिरालो मर्दा पनि वडाले व्यवस्थापन गर्नुपर्ने हुन्छ । कुकुर पाल्ने तर दिसा, पिसाब गर्नका लागि सडकमा ल्याउने र सहरलाई प्रदूषित गर्ने कामहरु पनि भइरहेको छ । यी समस्यालाई पनि वडाले समाधान गर्नुपर्ने हुन्छ ।
यस्तै धेरै नागरिकको बसोबास भएको हुँदा झै—झगडा पनि वडाले मिलाउनुपर्छ । दिनमा २ देखि ३ वटा मुद्दा वडामा आउने गरेको छ । सामान्यबाहेक १४० वटा अप्ठ्यारा मुद्दा मिलाएका छौं ।
भिडियो
स्थानीय तहमा काम गर्दा चुनौतीहरु के के पाउनुभयो ?
चुनौतीका रुपमा रहेका अहिले विद्युत् र इन्टरनेटका तारहरु रहेका छन् । तारहरु व्यवस्थापनको लागि अण्डरग्राउण्डको काम हाम्रो वडामा पनि भइरहेको छ । हामीले गर्न नसकेको काम र चुनौतीमध्ये एउटा यो पनि हो । व्यवस्थापनका लागि वडाबाट थोरै रकम व्यवस्थापन गरेर तारलाई मिल्ने ठाउँमा व्यवस्थापन गर्न खोजिरहेका छौं ।
अर्को चुनौती भनेको विष्णुमति करिडोरका केही भाग वडाले पूरा गर्नुपर्ने छ । विष्णुमति नदीमा ढल मिसाउन बन्द गर्न केही भागसम्म काम भएको छ र केही भागहरु बाँकी रहेको छ । वडाले सम्भव हुने काम गरिराखेका छौं भने हामीभन्दा माथिल्लो निकायमा लाने प्रयन्त पनि भइरहेको छ । बेला बेलामा विष्णुमतिको बाहव बस्तीमा पस्ने समस्या पनि भएकोले तटबन्धलाई अझै थप व्यवस्थापन गर्नुपर्ने चुनौती छ, यसबारे थप योजना बनाइरहेका छौं । खानेपानीको व्यवस्थापन पर्याप्त मात्रामा जनतालाई पुर्याउन सकेका छैनौं त्यो एउटा चुनौतीको रुपमा नै रहेको छ ।
चक्रपथ विस्तारको कुरा पनि आइरहेको छ । बाटोको राम्रो व्यवस्थापन नभएसम्म यस वडामा केही समय अस्तव्यस्त भइरहने देखिन्छ । धेरै ठाउँका नागरिकको बसोबास भएको हुँदा विकृति, विसंगतीहरु पनि रहेका छन् । यसको न्यूनिकरणको निम्ति नेपाल प्रहरी, विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर हामी अगाडि बढेका छौं । त्यसको निम्ति पनि वडाबाट प्रयत्न जारी छ । सोचेअनुसार नभएको अवस्था हो ।
सरकारले आगामी वैशाख ३० गतेका लागि निर्वाचनको मिति तोकिसकेको छ, निर्वाचन आयोग तयारीमा छ । यहाँ पुन: उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ कि ?
पार्टीको जिम्मेवार पदमा छु । उम्मेदवारी मेरो इच्छामा हुने कुरा होइन । पार्टीले कहाँ मलाई उचित ठान्छ म त्यही बस्ने हो । जिम्मेवार भएको हिसाबले म त्यो ठाउँमा उभिनुपर्ने हुन्छ । त्यस कारणले म यो बन्छु भन्ने मेरो प्राथमिकतामा रहँदैन ।
अन्त्यमा केही भन्नुहुन्छ ?
यो मिडियामार्फत म आम वडावासी दाजुभाइ, दिदीबहिनीलाई के भन्न चाहन्छु भने हिजो जे उद्देश्यले हामी आएका थियौं त्यही अनुसार काम भएको मलाई लाग्छ । वडाको भवन उद्घाटनको दिन वडाले गरेको कार्यक्रमको जानकारी पुस्तकमार्फत गराउने छौं । निर्वाचनको संघारमा भएको हुँदा अब छान्ने प्रतिनिधिहरु अत्यन्त सुझबुझका साथ छान्नु पर्ने हुन्छ । आफ्नो भन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई छान्नुभयो भने शासक होईन सेवकको हिसाबले सेवा पाउनुहुने छ । राजनीति भनेको शासन गर्ने भन्ने धेरैको बुझाई छ तर त्यो गलत हो । हामी जनतालाई सेवा प्रदान गर्ने हो र त्यो हिसाबले नागरिकले अब आउने निर्वाचनमा सचेत भएर मतदान गर्नुहुने छ भन्ने अनुरोध र आग्रह गर्न चाहन्छु ।