तामाङ समुदायको एकमात्र राष्ट्रिय साझा संस्था हो 'नेपाल तामाङ घेदुङ' । २०१३ सालमा स्थापना भएको घेदुङ नै तामाङ समुदायको सबैभन्दा जेठो संस्था हो । ६६ वर्षको जीवन व्यतित गर्दै गर्दा घेदुङले थुप्रै घुम्ती, मोड, आरोह–अवरोहहरु पार गरेको छ । तामाङ समाजको पहिचान, मूल्य–मान्यता, जीवन पद्धति, परम्परा, धर्म, कर्म, संस्कृति, भाषा, कला, भोषभूषाको संरक्षण, प्रवर्द्धन र विकासका लागि थुप्रै अभियानहरु संचालन गर्दै आएको छ ।
राज्यको विभेद, उत्पीडन र दमनका कारण तामाङ पहिचानबाट विथोलिन पुगेकाहरुलाई संस्कृतिक पुनर्जागरणको माध्यमद्वारा तामाङ जीवनमा फर्काउन प्रयास गर्दै आएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रवासमा छरिएर रहेका वा पुगेका तामाङलाई एकताको मालामा गाँस्ने, कार्यमा क्रियाशील रहँदै आएको छ । यस अवधिमा घेदुङले आठौं पटकको महाधिवेशनहरु सम्पन्न भइसकेको छ भने अहिले नवौं पटकको संघीय महाधिवेशन सम्पन्न गर्ने अवस्थामा छ । फागुन २९, ३० चैत्र १ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन मुलुक संघीय संरचनामा रुपान्तरण पछिको पहिलो महाधिवेशन हो । त्यसैले यस महाधिवेशनमा इतिहासमै पहिलो पटक स्थानीय तह, प्रदेश र प्रवास समितिहरुद्वारा धेरै संख्यामा प्रतिनिधिहरुको सहभागिता हुनेछ । नवौं महाधिवेशनको सन्दर्भ र स्वयम् घेदुङप्रति थुप्रै गुनासा, जिज्ञास, प्रश्न र चुनौतीहरु छन् । त्यसैले महाधिवेशन औपचारिकतामा मात्रै सीमित नहोस् भन्नाका लागि घेदुङसामु उठेका तमाम प्रश्नहरुको उत्तर दिनु, निकास दिनु र समाधान दिन आवश्यक छ । जसका लागि महाधिवेशनले घेदुङ र तामाङ समुदायलाई बुझ्ने–बुझाउने, घेदुङ र तामाङ समुदायलाई जोड्ने–जोडाउने भावी योजना कार्यदिशा, कार्य नीति, रणनीति, कार्यशैली सहित जुजारु सिर्जनशील नेतृत्वको चयन गर्न सक्नु पर्दछ ।
घेदुङ र तामाङ
नेपाल तामाङ घेदुङ तामाङ समाजको एक विश्वविद्यायल वा पुस्ताकालय हो । तामाङ जीवन, मान्यताहरु भाषा, लिपी धर्म, संस्कृति, रिमठिम परम्परा, दोङराव, काईरान बुझाउने पाठ्यक्रम, पाठ्यवस्तु र पाठ्यासामग्री पनि हो घेदुङ । राज्यले संचालन गरेका विश्वविद्यायलहरु, पाठ्यसामग्रीहरुमा पढ्न नपाएका तामाङ भाषा, लिपी, संस्कृति, दोङराप, काईरान पढ्ने र पढाउने संस्था हो । घेदुङ तामाङ समाज र समुदायको लागि जन्म भएको हो । त्यसैले घेदुङले तामाङ समुदाय बुझ्नु पर्छ । पढ्नु पर्छ । तामाङ देख्नु पर्छ । अवस्थाहरुको खोजी गर्न सक्नु पर्छ । घेदुङ कुनै राजनीतिक पार्टी होइन । पार्टीको जनवर्गीय संगठन पनि होइन । कुनै पनि राजनीतिक पार्टीको मार्गदर्शक सिद्धान्त वा विचारद्वारा निर्देशित वा परिचालित हुँदैन । त्यसैले घेदुङले राजनीतिक डिसिजन, निर्णय वा विद्रोह गर्न सक्दैन । यो सामाजिक संस्था हो । तथापि, 'आपा थोर्साम ह्रुइ थोर्ला, आमा थोर्साम ग्युइ थोर्ला', 'ताम्बा म्हासाम ठिम माला, बोम्बो म्हासाम ला माला, लामा म्हासाम छ्योइ म्हाला' भन्ने तामाङ चिनाउने मार्गदार्शनलाई आत्मसाथ गर्दै तामाङ मौलिक पहिचानको प्रवर्द्धनका निम्ति घेदुङ क्रियाशील रहनु पर्छ । तामाङ माथि भएको विभेद, उत्पीडन, अन्याय अत्याचारको अन्त्य गर्दै समुन्नत, समावेशी, सामाजिक न्यायका लागि स्वायत्त ताम्सालिङसहित तामाङ राष्ट्र (Nation) को संमृद्धिका लागि राजनीतिक पार्टीहरुमा निरन्तर लबिइङ र समुदायमा क्याम्पेनिङ चलाउनु पर्दछ ।
नयाँ सन्दर्भ, नयाँ नीति र नेतृत्व
अहिले सन्दर्भ नयाँ छ । राज्य संघीय संरचनामा गएको छ । धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सहभागितालाई प्रभावकारी ढंगले कार्यान्वयन गराउनुछ । संघ, प्रदेश र स्थानीय तह सरकारको छुट्टा छुट्टै अधिकारहरु संविधानले व्यवस्था गरेको छ । सबै तहका सरकारहरुले संविधानले सुनिश्चित गरेका अधिकारहरु कार्यान्वयन गर्न छुट्टै ऐन, कानुन, कार्यविधिहरु बनाउन सक्नेछन् । त्यसैले ती कानुनहरु निर्माणको तहमा तामाङ समुदायको अधिकार संबोधन गर्न सबै सरकारहरुमा हाम्रो प्रभावकारी लबिइङ जरुरी छ । विगतमा अग्रज अभियन्ताहरुको अनुभव र चेतनालाई ग्रहण गर्दै अबको सन्दर्भमा थप अनुभव र थप चेतनाको विकास गर्न जरुरी छ । जसलाई सिर्जनशील हस्ताक्षेप पनि भन्न सकिन्छ ।
तामाङ मुद्दाहरुको बारेमा तामाङ तामाङको बीचमा मात्रै बहस, छलफल केन्द्रित गरेर होइन । यस दायरा फराकिलो बनाउनु छ । गैर तामाङको बीचमा, आदिवासी जनजाति समुदायको बीचमा, नागरिक समाज, मानवअधिकारको बीचमा तामाङमाथि भइरहेको उत्पीडनहरुको अन्त्यको निमित्त बहस केन्द्रित गर्नु पर्दछ । हरेक राजनीतिक पार्टीहरुलाई तामाङ मुद्दा र उत्पीडन अन्त्यको बारेमा सशक्त पैरवी गर्न जरुरी छ । जसको लागि जुजारु सिर्जनशील र क्रियाशील नेतृत्वको चयन हुनु पर्दछ । ताकिः निरन्तरताको नाममा भोटो फाटाउने, उमेर कटाउने र दिन बिताउने नेतृत्व घेदुङले चाहेको छैन ।
(नोटः नेपाल तामाङ संघीय कार्यसमिति भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङ तामाङसँग गरेको कुुराकानीको आधारमा)