नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटीले माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आबद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’की छोरी हुनुहुन्छ । विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि युद्धमा होमिनुभएको थियो । जनमुक्ति सेनामा क्रियाशील रहँदा चर्चित खारा आक्रमणदेखि पश्चिम नेपालका धेरै फौजी मोर्चाहरुमा सहभागी भएको अनुभव छ ।
शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको व्यारेकमा बस्नुका साथै पछि स्वेच्छिक अवकाश लिई पत्रकारितातिर लाग्नुभयो । विभिन्न पत्रपत्रिकामा काम गर्नुका साथै समाचार लेखन तथा हिमालय टेलिभिजनमा लामो समय समाचार वाचिकाको रुपमा काम गर्नुभयो । त्यस्तै प्रेस सेन्टरको केन्द्रीय सचिवसमेत भइसक्नुभएकी उहाँ हाल नेकपा (माओवादी केन्द्र) विदुर नगर कमिटीको अध्यक्ष पनि हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट विदुर नगरपालिकाको उपमेयरको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ बोगटीसँग यहाँ निर्वाचन केन्द्रीत कुराकानी गरिएको छ :
तपाईंले उम्मदवारी दिनुभएको नगरपालिकाका विशेषता के के हुन् ?
विदुर नगरपालिका प्रमुख व्यापारिक केन्द्र पनि हो । यहाँ रसुवा, धादिङदेखि आम नागरिक स्वास्थ्य उपचार तथा सर–सामान किन्नका लागि आउने गर्दछन् । त्यस्तै यस नगरपालिकाको ऐतिहासिक र पुरातात्विक महत्व पनि छ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुपूर्व यहाँ बसेर विभिन्न योजनाहरु बनाएका थिए । ती स्थानहरुलाई संरक्षित गरिएको छ । जस्तो नुवाकोट दरबार, पृथ्वीनारायण शाहको निधन भएको स्थान देवीघाटमा उहाँको सालिक बनाइएको छ । विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन् ।
तपाईंका चुनावी एजेन्डाहरु के–के हुन् ?
हामीले ठूला कुरा गरेर पूरा नगर्नुभन्दा पनि जति गर्न सकिन्छ त्यति बोलेर जानुपर्छ । नगरभित्रका पाँच विद्यालयहरुलाई नमुना विद्यालय बनाएर अत्याधुनिकीकरण गर्ने । कम्प्युटर कोठाहरु, ल्याबहरुको व्यवस्था गरी अत्याधुनिक प्रविधियुक्त बनाउने योजना छ । त्यस्तै एउटा नगरमा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्ने भन्ने माओवादी केन्द्र र सरकारको योजनाअनुसार विदुर नगरपालिका वडा नं. १ मा ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना गरिएको छ । हाल भवन भाडामा लिएर स्कुल सञ्चालन गरिएकोमा चाँडै नै विद्यालयको भौतिक संरचना र विकास कामहरु गरी नगरपालिकामा दक्ष जनशक्ति उत्पादन गर्न विशेष जोड दिइनेछ ।
त्यस्तै नेवार, तामाङ समुदायको बाहुल्यता रहेको यस पालिकामा उनीहरुको मातृभाषा लोप हुने अवस्थामा रहेकाले मातृभाषाको कक्षा सञ्चालनमा नगरपालिकाले पहल गर्नेछ । त्यसैगरी नुवाकोट दरबारलाई फास्ट ट्र्याकबाट विश्व सम्पदा सूचीमा लैजान प्रयास गर्ने, नगरपालिकामा ‘नो भ्यू टावर, नो डोजर’ गर्ने, मुख्य सडकलाई अनिवार्य कालोपत्रे गर्ने र भद्रगोल तरिकाले बाटो खन्न नदिने हाम्रो गठबन्धनको साझा एजेण्डा रहेको छ ।
त्यसैगरी कृषि र पशुपालनको माध्यमबाट जनताको जीविकोपार्जन हुने गरी नगरपालिकाको तर्फबाट बजार व्यवस्थापन गर्ने हाम्रो उद्देश्य रहेको छ ।
तपाईंका जितका आधारहरु के–के हुन् ?
विदुर नगरपालिकामा एमालेले नेतृत्व गरिरहँदा जनताले नयाँ सोच, विकासको प्रत्याभूति गर्न पाएनन् । जनताका आवश्यकता र मागहरुको सम्बोधन नहुँदा एमाले नेतृत्वको स्थानीय सरकारप्रति मतदाताहरु रुष्ट बनेका छन् । त्यसको विपरित हामीसँग भएको नयाँ सोच र भिजनप्रति स्थानीय आकर्षित भएका छन् । त्यस्तै, राजनीतिक रुपमा अहिले हामीले प्रतिगमनविरोधी गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका छौं । एमाले नेतृत्वले गरेको गलत कामको जनताले पनि मूल्यांकन गरेका छन् । पटक–पटक संविधानमाथिको प्रहारलगायत एमालेले एकपछि अर्काे गलत कार्य गर्दै आएको जनताले बुझ्नु भएको छ ।
यस पालिकामा मेयरका उम्मेदवार राजन श्रेष्ठ हुनुहुन्छ, उहाँ युवा । म पनि महिला अनि युवा । हामीमा काम गर्ने जोश जाँगर छ । हाम्रो प्रतिनिधित्वप्रति युवा र महिला समुदायको अत्यधिक आकर्षण छ ।
पालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ ?
देशव्यापी मौलाएको भ्रष्टाचारबाट विदुर नगरपालिका पनि अछुतो हुन नसकेको छैन । नगरपालिकाको विकासका बजेटहरु पारदर्शी ढंगले खर्च हुन सकेको छैन । वडा नं. १३ मा कागती लगाउने योजनामा पालिकाले बजेट खर्च गर्यो । तर जनस्तरबाटै यहाँ व्यापक भ्रष्टाचार भयो भन्ने आवाज उठिरहेको छ ।
नगरपालिकाभित्र जाँदा पनि आफ्नो वा आफ्नो पार्टीको हो कि होइन भन्ने आधारमा वार्षिक बजेट सीमित व्यक्तिहरुको पहुँचमा मात्रै पुर्याउने काम भएको छ । यस्तो भ्रष्टाचारको अवस्था जनताले पनि महशुस गरेका छन् । हामी राजनीतिक दलहरुले पनि बारम्बार यसबारे सचेत गराइरहेका छौं । हामी अबको निर्वाचनबाट नगरको नेतृत्वमा आएपछि विगतमा भएका भ्रष्टाचारको उचित छानविन गर्नुका साथै आगामी दिनमा विदुर नगरपालिकालाई भ्रष्टाचाररहित नगर बनाएर उदाहरणीय बनाउनेछौं ।
प्रस्तुति : पुष्पा महरा