तोकिएकै समयमा म पुगेँ- सर्वोच्च अदालत । सबैजना सह-रजिष्टारको कोठामा पुगिसकेका रहेछन् । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी र सदस्य उषा हमाल । अरू नवनियुक्त सदस्यहरू । आयोगका कर्मचारी दुईजना : सचिव जयराम अधिकारी र उपसचिव कमला पाण्डे ।
म बाहेकका सबै दौरा-सुरुवाल र कोटमा सजिएका । महिला पदाधिकारीहरू सारीमा । यो सरकारी ड्रेसकोट हो । म तामाङ ड्रेसमा थिएँ । केही दिन अगाडि सचिवज्यूले फोनमा भन्नुभएको थियो : “प्रधान न्यायाधीशबाट साउन ४ गते शपथ ग्रहणको मिति तोकिएको छ । समय १०:१५ बजे । नेपाल सरकारको वा आफ्ना परम्परागत ड्रेसमा सहभागी हुनु होला ।”
भेटको औपचारिकता सकेपछि मैले अध्यक्ष अवस्थीलाई “म मातृभाषामा शपथ ग्रहण गर्न चाहन्छु । मैले शपथको अनुवाद ल्याएको छु । यसबाट नेपालको बहुभाषिकता प्रतिविम्बित हुनेछ । संविधानको पालना भएको हुनेछ भन्ने महसुस गरेको छु” भन्दै प्रिन्ट प्रति हस्तान्तरण गरेँ। वहाँले ‘हुन्छ होला, हुनुपर्छ, यो हुन आवश्यक छ’ भन्नु भयो। कुराकानी चलिरहँदा सह-रजिष्टार अरूणप्रसाद रेग्मी आइपुग्नु भयो। ‘प्रधानन्यायाधीश आउँदै हुनुहुन्छ, केहीबेर वेट गरौं’ भन्दै कुर्सीमा बस्नु भयो। वहाँसँग हाम्रो औपचारिकता भयो।
केहीबेरको कुराकानीपछि अध्यक्षज्यूले हाम्रा एकजना सदस्य अमृत योन्जन-तामाङज्यू ‘तामाङ भाषामा शपथ लिन चाहनुहुन्छ, वहाँले तामाङ भाषामा शपथको अनुवाद पनि ल्याउनु भएको छ’ भन्नु हुँदै सो शपथ प्रति सह-रजिष्टारलाई दिनु भयो । सह-रजिष्टार रेग्मीले “भाषा आयोग ऐनको अनुसूची १७ मा शपथको व्यहोरा नेपाली भाषामा छ, अन्य भाषा उल्लेख छैन । तसर्थ सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । पहिले पनि सर्वोच्चको शपथ ग्रहणबारे विवाद चर्केको हो” भन्नु भयो । वि.सं. २०५४ मा उपराष्ट्रपति परमानन्द झाले आफ्नो मातृभाषा मैथिलीमा शपथ ग्रहण गर्दा पुनः नेपालीमा शपथ ग्रहण गर्न बाध्य पारिएको घटनातिर उहाँको संकेत थियो ।
भाषा आयोगका अध्यक्षज्यू केही गम्भीर हुनुभयो । कुरा पुनः चल्यो । संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भनिएको आदि कुराकानी हुन थाल्यो । सह-रेजिष्टारले ‘अनुसूचीमा अन्य भाषा भएको भए हुने थियो । ऐन संशोधन गरिनु पर्ने रहेछ । सर्वोच्च अदालतमा तामाङ अनुवाद प्रति रेकर्डमा राखिनेछ’ भन्नु भयो । म हर्षित भएँ। ‘नहुने मामाभन्दा कानो मामा निको’ भन्ने जस्तो हुने भयो भन्ने लाग्यो । यसैबीच प्रधानन्यायाधीश आइपुगेको जानकारी भए पछि तीन तलामाथि रहेको उहाँको कार्यकक्षतिर उक्लियौं ।
क्याबिनेटको निर्णय सुनाउँदा सरकारी प्रवक्ताले नाम पढेकै क्रममा हाम्रो बसाइको क्रम थियो : डा. अमरराज गिरी (लुम्बिनी प्रदेश), कृष्णप्रसाद न्यौपाने (गण्डकी प्रदेश), मातृकाप्रसाद पोखरेल (प्रदेश नं. १), गोपालप्रसाद सराफ ‘अश्क’ (मधेस प्रदेश) र म (वाग्मती प्रदेश)। केही कर्मचारीहरू पनि थिए । वाह्यकाहरू कसैलाई प्रवेश दिइएको थिएन । हामीलाई भनियो ‘सभाकक्षा सानो छ।’ संवैधानिक आयोगका पदाधिकारीहरूको शपथ ग्रहण कार्य राष्ट्रपति कार्यालयबाट प्रधानन्यायाधीशतिर सारिएको रहेछ र सोको लागि सर्वोच्च अदालतमा हलको व्यवस्था भइसकेको रहेनछ । प्रधानन्यायाधीशको बैठक कक्षमा नै शपथ ग्रहण हुँदोरहेछ ।
कक्षमा का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीको प्रवेश भयो । औपचारिकता सकिएपछि भाषा आयोगका अध्यक्षज्यूले आयोगका काम र कार्यक्रमबारे जानकारी गराउँदै मातृभाषामा शपथ ग्रहणको कुरा राख्नुभयो । प्रधानन्यायाधीशज्यू पनि अध्यक्षको कुरामा सहमत त हुँदै अनुसूचीमा व्यवस्था नभएको धारणा व्यक्त गर्नु भयो । मातृभाषामा शपथ हुनसके ‘संविधानले आत्मसात गरेको बहुभाषिकता र बहुभाषिक नीति’को पालना हुने थियो भनेर मैले पनि आग्रह गरेँ । मतिर उहाँको ध्यानाकर्षण हुँदै थियो ।
यसै क्रममा नाम र पदसहित नेपालीमा छापिएको शपथपत्रको प्रति हाम्रो हात हातमा पर्यो । फाइल आकर्षक थियो । केहीबेरमा प्रधानन्यायाधीशले हामीलाई शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण सकिएलगत्तै वहाँले मतिर हेर्दै भन्नु भयो- ‘तपाईं तामाङ भाषामा शपथ ग्रहण गर्नु होस्।’ म आश्चर्यचकित भएँ । यो अनपेक्षित थियो । कोटको खल्तीबाट शपथ पत्र निकालेर मैले तामाङ भाषामा शपथ लिएँ ।
हो, म मात्र होइन, नेपालका सारा मातृभाषीहरू सम्मानित भएको मैले महसुस गरेँ। संविधानको चाहना मुखरित भएको ठानेँ । शपथ ग्रहण कक्षाबाट बाहिरिनु अगाडि प्रधानन्यायाधीशद्वारा हस्ताक्षरित शपथ पत्र फाइलमा राखेर दिँदोरहेछ । मसँग नेपालीसहित तामाङ भाषाको शपथको प्रति पनि थियो । म झनै प्रफुल्लित भएँ । ‘खुसी मिली इतनी कि दिल मे नसमाए ...’ भने जस्तै अत्यन्तै हर्षित भएँ । तामाङ भाषामा शपथ ग्रहण गरेको त्यो सशक्त प्रमाण मेरो फाइलमा थियो । सयौं वर्षदेखि घरको चौघेरोमा सीमित र राज्यद्वारा दमित मेरा जस्ता सयौं मातृभाषाहरू देशको सर्वोच्च निकायहरूमा समेत प्रतिध्वनित भइरहेको अनुभूति मलाई हुन थाल्यो र अझै भइरहेको छ । र मलाई जस्तै हर्षित अनुभूति सबै मातृभाषीहरूलाई दिलाउन म कटिबद्ध छु ।
बौद्ध, काठमाडौं
साउन ४, २०७९ ।
(तामाङ भाषा आयोगका नवनियुक्त सदस्य हुनुहुन्छ ।)