काठमाडौं । नेपाल तामाङ घेदुङका संस्थापक अध्यक्ष तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य परशुराम तामाङले नेपालमा सामुदायिक समाजवाद आवश्यक रहेको बताउनुभएको छ । सातौं तामाङ ज्ञान महोत्सवमा ‘तामाङ मुक्ति आन्दोलनको बाटो’ विषयको प्यानल बहसमा नेता तामाङले नेपाल जस्तो जातीय र साँस्कृतिक विविधता रहेको मुलुकमा समाजवादको माक्र्सवादी अवधारणाले मात्र नपुग्ने भन्दै सामुदायिक समाजवादको अवधारणा अघि सार्नुभएको हो ।
उत्पीडित जातीको अधिकारको कुरा गर्दा अर्को जातीको अधिकार र सहअतिस्त्वलाई पनि सम्बोधन हुने समाजवादको विकास गर्न जरुरी रहेको र यसलाई बहुराष्ट्रिय समाजवाद पनि भन्न सकिने उहाँको धारणा रहेको छ । प्यानलिष्टको रुपमा आफ्नो धारणा राख्दै नेता तामाङले जातीय (राष्ट्रिय) मुक्ति आन्दोलनलाई वर्गीय मुक्त आन्दोलनबाट अलग्याउन नसकिने बताउनु भयो । नेताहरुले संधै पुरानै कुरामात्र रटाइरहेको भन्ने सहभागिको जवाफमा तामाङले आफूले ल्याएको यो अवधारणा नयाँ भएको र पहिलो पटक ज्ञान महोत्सवमा बहसका लागि पेश गरेको बताउनु भयो । ‘यो विषय विल्कुल नयाँ हो, यसलाई बहसको लागि पहिलो पटक सार्वजनिक गरेको छु, उहाँले भन्नु भयो ।
अर्का प्यानलिष्ट पूर्व राजदुत गणेश योञ्जनले वर्तमान राजनीतिक पार्टीहरुबाट उत्पीडित समुदायको पहिचान र अधिकारको कुरा संभव नभएकोले पहिचानवादीहरुको छुट्टै शक्ति निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । जनता समाजवादीका नेतासमेत रहनुभएका योञ्जनले जय गोले नेतृत्वको तामसालिङ संयुक्त संघर्ष समितिले कुनै आन्दोलन उठान गर्न नसकेको भन्दै यसलाई पुनर्गठन गर्न आवश्यक रहेको बताउनुभयो ।
‘यो संघर्ष समितिमा सबै पार्टीका मान्छेहरु छन, तर आन्दोलन गर्ने बेलामा एकजना पनि आउँदैनन’ उहाँले भन्नुभयो, यसलाई खारेज गरेर युवाहरुलाई ल्याएर समिति पुनर्गठन गरिनु पर्दछ । नेता योञ्जनले पर्शुराम तामाङले स्थापना गर्नुभएको तामसालिङ पार्टी किन टिकाउन सकेन भनेर समिक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, प्यानलिष्ट जय गोले तामाङले अबको संघर्ष सत्ताभित्रबाट बैधानिक तरिकाले गर्नु पर्ने धारणा राख्नुभयो । ‘अबको आन्दोलन बाहिर सडकमा कराएर मात्र हुँदैन’, उहाँले भन्नुभयो, अब तीनै तहका सरकारमा धेरै जनप्रतिनिधिहरु जिताएर र लोकसेवाबाट पनि हाम्रा समुदायका मान्छेहरु सरकारी निकायमा प्रतिनिधित्व बढाएर त्यहीभित्रबाट तामाङका मुद्दाहरुमा बोल्न र कार्यन्वयन गर्न पहल गरिनु पर्दछ । तामसालिङ संयुक्त संघर्ष समितिको अध्यक्ष रहनुभएका तामाङले आफू संघर्ष समितिलाई पुनर्गठन गर्न र नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताउनुभयो ।
यसैगरी प्यानलिष्ट बुद्धछिरिङ मोक्तानले वर्गीय मुक्ति आन्दोलनले मात्र जातीय मुक्ति संभव हुने भन्दै कम्युनिष्टहरुले जनजातिहरुलाई स्मार्ट प्रयोग गरेको बताउनु भयो । अभियन्ता मोक्तानले स्मार्ट प्रयोगमार्फत जनजातिहरुलाई उपयोग मात्र गरेको भन्दै नेपालका कम्युनिष्ट नेताहरुबाट जनजातिको मुक्ति संभव नभएको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय मुक्ति आन्दोलनलाई समाजवादसंग जोडेर स्मार्ट प्रयोग गर्ने कम्युनिष्ट अवधारणा थोत्रे भएको भन्दै अलग्गै राष्ट्रिय मुक्ति आन्दोलन उठान गर्नु पर्ने धारण राख्नुभयो । तर, वर्गसंग नजोडिएको राष्ट्रिय मुक्ति आन्दोलनलाई जातीय संज्ञा दिने गरेको र नेपालमा यो प्रभावकारी हुन नसकेको विषयमा गंभीर हुनुपर्ने बताउनु भयो ।
नेपाल तामाङ घेदुङका कार्यबहाक महासचिव जगत दोङले घेदुङलाई सत्ताको रुपमा बुझ्ने गरेको भन्दै त्यसरी नबुझिदिन आग्रह गर्नुभयो । विकास निर्माणका कामपनि घेदुङले गर्नु पर्ने तर नगरेको भनि गुनासो गरेको भन्दै महासचिव दोङले घेदुङ सुधारवादी संगठन भएको बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले अगुवाहरुले संधै एउटै र सिद्धान्तका कुरामात्र गरेको भन्दै गाउँका तामाङले बुझने गरी व्याहरिक मुद्दाहरु उठाएर संघर्ष गर्नु पर्ने सुझाएका थिए । तामाङ कर्मचारी संजालको सहयोगमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयले आयोजना गरेको सातौं तामाङ ज्ञान महोत्सव भाद्र ४, ५ र ६ गते तीन दिन संचालन भएको थियो ।