काठमाडौंसँग सीमा जोडिएको नुवाकोट जिल्लाको ककनी गाउँपालिका सडक पूर्वाधारलगायत सुस्त विकासले 'दुर्गम जिल्ला' भन्दा फरक छैन । उपत्यकाको फोहोर बिसर्जनको थलो ककनी । फोहर प्रभावित क्षेत्रका नागरिक डबलत्रिपल समस्याको मार खेपिरहेका छन् । केन्द्रीय राज्यबाट पीडित स्थानीय आफ्ना अधिकार सम्बोधनका लागि माग गरिरहेका छन्, जुन कुनै चलचित्रको कथा भन्दा कम छैन ।
कृषि, पर्यटनको प्रचूर सम्भावना रहेको ककनी गाउँपालिकाले सीमित स्रोत साधनबाट विकासको पहल थालिए पनि यसअघि देखिने काम हुन सकेन । त्यही ककनीमा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट पुनः पाँच वर्षका लागि नयाँ नेतृत्व आएको छ । ककनीका मुख्य समस्या, विकासको सम्भावना र गाउँपालिकाले खेल्ने भूमिकाका विषयमा अध्यक्ष सुमन तामाङ 'सज्जन'सँग कुराकानी गरिएको छ ।
तपाईं अध्यक्षमा निर्वाचित हुनुभएको साढे तीन महिना पुग्यो, यो अवधिलाई आफैंले कसरी समीक्षा गर्नुहुन्छ ?
ककनीको सवालमा काठमाडौंबाट नजिक भए पनि सडक सञ्जाल र भौगोलिक दृष्टिकोणले अलि विकट छ । कसरी समृद्ध बनाउन सकिन्छ भन्ने हिसाबले हामी निर्वाचित भएलगत्तै समयावधिमै नीति तथा कार्यक्रम ल्यायौं । नीति तथा कार्यक्रमको मुख्य नारा नै ‘समृद्धिको आधार कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने रहेको छ । सँगै नीति तथा कार्यक्रमको जगमा टेकेर असार २५ भित्र बजेटको पनि तयारी गर्यौं । अहिलेसम्म बजेटको सबै कार्यक्रमको सुरुवात त गर्न पाएका छैन, ०७८ बजेटको अडिट गर्न सफल भयौं । के-के विषयमा बढी खर्च गर्दा बेरुजु आउँछ, खर्चमा पारदर्शीको विषयमा सम्बन्धित व्यक्तिहरूसँग जान्ने अवसर पनि पाएका छौं ।
अब हामीले बनाएका कार्यक्रमको क्रमश: सुरुवात हुनेछ । ०७४ का निर्वाचित जनप्रतिनिधिहरूले गर्नुभएका हर क्रियाकलापहरू अगाडि बढाउन सकिन्छ । ककनीका जनताको समस्या के हो, कुन समस्यालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा उहाँहरूले सोचअनुसार राख्न सक्नुभएन, त्यस हिसाबले गर्दा ककनीलाई साँच्चैकै समृद्धि बनाउनको लागि बजेट कुन ठाउँमा केन्द्रित गर्नुपर्छ अथवा ककनीवासीको जीवनमा क्रमशः सुधार ल्याउन सकिन्छ भन्ने कुराहरू हामीले वर्गीकरण गर्न सफल भएका छौं । अब हामी हिजोको जनप्रतिनिधिभन्दा अलि फरक भयौ कि भन्ने भएको छ ।
राजमार्गहरुको ट्र्याक खोल्दा पुरानो पासाङल्हामु सडक अझैसम्म स्तरोन्नति हुन सकेको छैन । अब पालिकाले कस्तो भूमिका खेल्छ ?
पासाङल्हामु सडकखण्डलाई ककनीको एउटा बलियो खुड्किलोको रुपमा लिएको छु । ककनीको मेरुदण्डको रुपमा रहेको सडकलाई ककनीको मुख्य समस्याको रुपमा लिएको छु । कसरी हल गर्ने भन्ने पाटोमा मैले निर्माण व्यवसायीहरूसँग पनि छलफल गरेको छु । अहिले ठेक्का लिएको कम्पनीको ठेक्का रद्द भइसकेपछि, समस्या जस्ताको त्यस्तै छ । अब कहाँबाट बजेट ल्याउने भन्ने हिसाबले मैले आफ्नो तवरबाट नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरिरहेको छु, सम्बन्धित निकाय अथवा सरकारी कार्यालय, प्रदेशमा पनि समस्या जाहेर गरेको छु ।
सायद केही समयभित्र सम्बोधन गर्ने छनक पनि पाएको छु । समस्यालाई बेवास्ता गरियो भने हामी आफ्नै स्थानीय साधन स्रोतले भए पनि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति अथवा कालोपत्रे गरेर यहाँको नागरिकको जीवनमा या पर्यटन व्यवसायमा परिवर्तन ल्याउने कोसिस गर्नेछौं ।
संघ र प्रदेशबाट सम्बोधन भएन भने सडक स्तरोन्नतिका लागि गाउँपालिकाले एक्सन लिन कहिलेसम्म पर्खन्छ ?
अबको आर्थिक वर्ष ०८०/८१ सम्म गाउँपालिकाले केन्द्र र प्रदेश सरकारको निर्णय कुर्नेछ । सो बजेटमा पनि हामीलाई सम्बोधन गरिएन भने पालिकालाई आउने बजेटबाट भए पनि सडकको स्तरोन्नति गरिने छ । ककनीको स्टबेरी, ट्राउट माछा, किबी, मुलालगायत खाद्यवस्तुमा प्रख्यात छन् । ककनीको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न पनि अति आवश्यक छ । मैले त्यो कोणबाट पनि अनि पालिकाको आन्तरिक स्रोतबाट, सडकको स्तरोन्नति गर्नको लागि पहल गर्ने छु ।
सडकको अवस्था राम्रो हुँदा यहाँको नागरिकको जीवनस्तर, दैनिकी कस्तो थियो ?
म निर्वाचित हुनुपूर्व पनि एकदमै भावुक भएको थिएँ । ०६२/०६३ देखि यो सडक प्रयोग गर्दै आएको पात्र म पनि हुँ । जब ०७१ सालमा यो सडक स्तरोन्नतिको नाममा अस्तव्यस्त भए । ०७१ साल पूर्वको कुरा गर्ने हो भने ककनीको नागरिकको दैनिकी अत्यन्त सुन्दर थियो । ताकि मान्छेले आज आफ्नो घरको छाक टार्नको लागि कुनै निर्माण व्यवसायीले मलाई कतै पेसामा लग्देहुन्थ्यो भन्ने परिकल्पना गर्नुपर्ने थिएन । त्यो समयमा यहाँ फलेको मुलालगायत हरेक उत्पादनलाई नाङ्लोमा राखेर बेच्नुहुन्थ्यो सहजैरुपमा नागरिकको दैनिकी चल्थ्यो । यहाँको स्ट्रबेरी र ट्राउट माछा, काठमाडौंबाट नजिकै भएको कारणले गर्दा आन्तरिक तथा बाहिरको पर्यटकले शनिबार ककनीको बस्तीहरू टेकी साध्य हुँदैन थियो । त्यो अवस्था ०७१ भन्दा पहिला थियो ।
व्यापारी तथा सामान्य व्यक्तिले पनि दैनिक एक हजार कमाउन कुनै पनि समस्या थिएन । तर जब ७१ सालदेखि यहाँसम्म आउँदा नागरिकको दैनिकी कुन निर्माण व्यवसायीले मलाई काम देला भनेर भौतारिनुपर्ने बाध्यता सिर्जना भएको छ । ०७४ का जनप्रतिनिधिमार्फत समस्या समाधान होला कि भन्ने आश थियो, त्यो पनि हुन सकेन । यदि हामीले पनि यो समस्या हल गर्न सकेनौं भने जनताले धिक्कार्नुहुनेछ । धिक्कार्ने वातावरण हामी बनाउँदैनौं । सडकको कारणले गर्दा यहाँको आर्थिक अवस्था १० वर्ष पछाडि धकेलिएको छ ।
आर्थिक स्थितिले शिक्षा, स्वास्थ्यमा प्रभाव पार्छ । यतिसम्म कि यहाँको सडकले गर्दा ककनीको नागरिकको आयु घट्यो भन्ने मेरो फिलिङ्स छ । किनभने हिउँदको समयमा यो सडकमा धेरै धुलो उड्ने बर्खाको समयमा हिलो हुने । ०७१ देखि आजसम्म ९ वर्षको अवधिमा मान्छेहरूले आफ्नो केही आयु पनि घटाइसकेको मेरो अनुमान हो ।
म यो पीडाबाट भावुक छु । हिजो सुन्दर सडक र आज धुलो दुवै अवस्था मैले देखेको छु । यो स्थितिको कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा म भित्र एउटा आक्रोश अथवा जोस आयो, जोस र आक्रोशले गर्दा आज म जनप्रतिनिधिको रुपमा पनि निर्वाचित भएको छु । पक्कै पनि म यो समस्यालाई पार गरेरमात्रै आफ्नो कार्यकाल छोड्ने प्रण पनि गर्दछु ।
काठमाडौं महानगरपालिकालगायतका स्थानका फोहोर विर्सजनमा ककनीका केही वडाहरूका पनि पर्छन्, अहिले फोहोरको विषयले निकै उग्ररूप लिइरहेको समयमा गाउँपालिकाबाट कस्तो पहल भइरहेको छ ?
१७ वर्ष अगाडिदेखि सिसडोलमै फोहोर व्यवस्थापन हुँदै आइरहेको छ, जुन ककनीको दुई नम्बर वार्डमा पर्छ । अहिले विर्सजन गर्ने बन्चरेडाँडा ककनीसँगै धादिङको धुनीबेँसीको बीचमा पर्छ । आधा उहाँहरूको भूमि, आधा हाम्रो पर्छ । अहिले बन्चरेडाँडामा विर्सजन गर्दै आइरहनुभएको छ । यो फोहर विसर्जनले समस्या कति ब्युँताएको छ भन्ने कुरामा भनेर साध्य नै छैन ।
१७ वर्ष पहिला र अहिले त्यहाँको वस्तुगत अवस्था हेर्ने हो भने सायद मान्छे तीनछक खाने स्थिति छ । भौगोलिक र प्राकृतिकरुपमा दिएको सुन्दरता सबै नष्ट भइसकेको छ । मानव, पशुपन्छी, जिवजन्तु सबै कुरालाई प्रभाव पार्ने कुरा त हाम्रो ककनी वडा नम्बर १ र २ को स्वास्थ्य केन्द्रहरूको रिपोर्ट हेर्दा नै थाहा हुन्छ कि त्यो फोहोरले कति रोग ल्याएको छ भन्ने । सामान्यदेखि क्यान्सरसम्मको प्राणघातक रोग लाग्ने गरेको पनि पाइन्छ । यतिसम्म अस्तव्यस्त र अवैज्ञानिक तरिकाले फोहोर विसर्जन गरिएको छ कि, त्यो फोहोर केन्द्रमा हामी दुई घण्टा बस्न सक्दैनौं, तर त्यहाँका बासिन्दा बाध्य भएर बस्न विवश हुनुहुन्छ ।
काठमाडौं महानगरले फोहोरबाट प्रभावित ३ वटा वडालाई एक/एक करोड विकास बजेट, शैक्षिक क्षेत्रलाई भनेर डेढ करोड, लगभग ५ करोड महानगरले ककनीको फोहोर प्रभावित नागरिकलाई दिँदै आएको छ । पाँच करोडमा जीवन साटीराखेको अवस्था छ । हामीले पटक-पटक महानगरको सम्बन्धित व्यक्तिलाई यसरी पैसासँग जीवन साट्नु हुन्न भन्ने बारेमा बताउँदै आइरहेका छौं । फोहोरलाई मोहोरमा परिवर्तनको निम्ति नयाँ टेक्नोलोजीहरूको विकास भएको छ, फोहोरलाई नयाँ तरिकाले व्यवस्थापन गरौं भन्दै आइरहेका छौं ।
पैसा आउने फोहोरलाई किन फाल्ने भनेर पटक-पटक छलफल गर्दा पनि यसलाई मिलाउन सकेको छैन । त्यहाँ स्वार्थ कसको मिसिएको छ भन्ने बारेमा हामी बुझ्न सक्दैनौं । विभिन्न देशहरूले व्यवस्थित तरिकाले फोहोर विसर्जन गरिराखेको छ ।
त्यो प्रविधिहरू सिकेर हाम्रो ठाउँमा पनि त्यसो गरौं भन्दा उहाँहरूले हाम्रो सुझावलाई खासै चासो दिनुभएन । र पनि, हामीले खबरदारी पटक-पटक गर्दै आइरहेका छौं । प्रहरी प्रशासन लगाएरमात्रै फोहोर विसर्जन गरिराख्नुभएको छ, त्यो कहिले र कति दिन चल्ने हो ? त्यसरी सधैँ त सम्भव नहोला, त्यहाँको नागरिकलाई बन्दुक पुलिस प्रशासन लगाएर, दबाएरमात्रै समस्याको हल नहोला, कुनै न कुनै दिन त्यहाँको नागरिकको समस्याको हल गर्नुपर्ला, नागरिकको समस्याको हल गर्नुपर्ला, फोहोरबाट उन्मुक्त गर्नुपर्ला । यी विषयमा महानगर र सहरी विकासले त्यति ध्यान दिएको छैन ।
हामीले विभिन्न कमिटीका बैठक बसिरहेका छौं । ३ वटा जिल्लाको सीडीओहरुसँग पनि छलफल गरेका छौं र पनि निष्कर्ष निस्केको छैन । हामीले भनिराखेका छौं एउटैमात्रै समस्या हल हुने उपाय भनेको त्यहाँको मान्छे र फोहोरसँगै नबस्ने वातावरण बनाउनुपर्छ भनेर । त्यहाँको बासिन्दाको मुख्य माग पनि त्यही रहेको छ ।
तपाईं गाउँपालिकाको अध्यक्ष, यो समस्या समाधानको पाटो के हुन सक्छ ?
पहिलो माग भनेको कुन बस्तीलाई कति प्रभावितमा राख्ने । जस्तै, अति प्रभावित, कम प्रभावितलाई वर्गीकरण गरिदिनु पर्यो र अति प्रभावित क्षेत्रका बासिन्दालाई सारिदिनुपर्यो । त्यहाँका नागरिकको निजी जमिन छ भने सरकारले अधिग्रहण गरेर उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने पहिलो माग तथा नारा नै हो । यदि सरकारले अति प्रभावित क्षेत्रको जमिन अधिग्रहण गरिदियो भने ।
दोस्रो पार्ट भनेको क्रमशः विकास निर्माण, त्यहाँका नागरिकलाई प्रदान गरिने शिक्षा, स्वास्थ्य यी सबै कुरा जोडिदै आउँछन् । दोस्रो उपाय भनेको फोहोर त्यहाँबाट अन्यत्र विकल्प खोजेर लैजाने हो ।
राज्यको जिम्मेवार नागरिकको हैसियतले हामीले उहाँहरूलाई सही ढंगले फोहोर विसर्जन गर्ने र त्यहाँको नागरिकलाई सम्बोधन गर्दिनुस् भन्ने नै हो ।
समस्या समाधानको अर्को उपाय भनेको सहरी विकासले नेतृत्व गरिदिने र ३ वटा स्थानीय तह धुनिबेंसी, ककनी र काठमाडौं महानगरपालिकाको नेतृत्वमा फोहोरलाई उद्योगको रुपमा व्यवस्थापन गर्ने । पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई पुनः प्रयोग गर्ने, मालिकको रुपमा तीन वटा स्थानीय तह हुने र स्थानीय तहमध्ये पनि कम प्रभावित क्षेत्रका बासिन्दालाई अपनत्व ग्रहण गर्ने हिसाबले केही सेयर वितरण गर्ने । फोहोर सही ढंगले व्यवस्थापन गर्न मैले पनि सहयोग गर्नुपर्छ भन्ने उहाँहरूले सोचिदिनुभएमा सधैँको लागि यो समस्या समाधान हुन्छ छ । त्यहाँको बासिन्दालाई पनि आयस्रोत हुन्छ भन्ने मलाई लागेको छ । यो प्रस्ताव सहरी विकास र प्रभावित स्थानीय तहका व्यक्तिहरूसँग पनि मैले राखेको छु ।
निर्वाचित भएको पहिलो आर्थिक वर्षको बजेट पनि आइसकेको छ, कस्ता-कस्ता विषयवस्तुलाई प्राथमिकतामा राख्नुभएको छ, एकपटक स्मरण गराइदिनु न ?
ककनीको समृद्धिको आधार भनेको कृषि, पर्यटन र तेस्रो दिगो पूर्वाधार हो । नवनिर्वाचित जनप्रतिनिधि हामीले पनि पहिलो प्राथमिकता कृषिलाई दिएका छौं । ककनीको जमिन कृषिको लागि धेरै राम्रो उर्वरायुक्त र यहाँको पानी उत्पादन दिने खालको रहेको छ । त्यो हिसाबले बजेटको मुख्य पाटोको रुपमा कृषिलाई समेटेका छौं । परम्परागत बालीनाली त छँदैछ त्यसबाहेकका स्ट्रबेरी, किबी, ट्राउट माछालगायतका ८ वटा वडामध्ये सबैमा फरक-फरक खालको उत्पादन दिने जमिन पनि रहेको छ ।
१, २ र ३ वडाको तल्लोभाग दक्षिण फर्केको भाग सिसडोल र बन्चरे भनेर नामकरण गर्दा पनि सजिलो हुन्छ । त्यस भेगमा तरकारी, धान, मकै, कोदो अत्यन्त राम्रो उत्पादन हुन्छ । ककनीको २, ३ र ५ नम्बरको माथिल्लो भागमा स्ट्रबेरी राम्रो उत्पादन हुन्छ । सायद दुनियाँको कुनै पनि ठाउँको स्ट्रबेरीलाई माथ दिने खालका स्ट्रबेरी उत्पादन भइराखेको पाइन्छ ।
धेरै कृषिसम्बन्धी सहकार्य गर्ने प्राइभेट सेक्टर यहाँ अध्ययन/अनुसन्धान गर्न आइराख्नु भएको छ । सायद राम्रो उत्पादन भएको उदाहरणले पनि निजी क्षेत्रको आँखा गएको हुनसक्छ ।
त्यसैगरी ककनीको ५ नम्बरमा अलैँची राम्रो उत्पादन हुन्छ । जो नागार्जुन र शिवपुरी आसपासमा पर्छ । त्यसैगरी ७ र ८ नम्बरमा कृषकहरूले नमुनाको रुपमा उत्पादन गरिराख्नुभएको लाई हेर्दा पनि सुन्तला, अनार राम्रो उत्पादन हुने देखिन्छ । वार्ड नम्बर ६ मा कफी उत्पादनलाई राम्रो मान्न सकिन्छ । सबै कृषकलाई कफी उत्पादनमा प्रेरित गर्न सक्ने ठाउँहरू प्रशस्त मात्रामा छन् । यो हिसाबले मैले बजेटको केन्द्र कृषिलाई मानेको छु ।
त्यसपछि दोस्रोमा पर्यटनको प्रचूर सम्भावना भएको ककनी हो । नगरकोटसँगै पर्यटन क्षेत्र ककनी पनि घोषणा भएको हो । नगरकोटको स्थिति फरक भइसक्यो तर ककनीको पर्यटन क्षेत्र जहाँको त्यहीं अड्कीराखेको अवस्था छ । यो कुरालाई कसरी अगाडि बढाउन सकिन्छ अथवा ककनीको पर्यटन कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हिसाबले सबै वडामा कुन कुन पर्यटनलाई के के कुराले प्रवर्द्धन गर्न सकिन्छ भन्ने हामीले राम्रोसँग छलफल गरेका छौं । ककनीमा यो कुरा छ, त्यहाँ जानु पर्छ भन्ने हामीसँग केही नभए तापनि अब हामीले ककनीमा गएपछि यस्ता कुरा छन्, पाइन्छ भन्ने कुराको व्यवस्था गर्नुपर्छ भन्ने कोसिसका साथ हामी लागीपरेका छौं । ककनीको पर्यटन प्रवर्द्धन गर्नको निमित्त गुरुयोजना निर्माण गर्ने भनेर पर्यटन मन्त्रालयअन्तर्गत जोडिएर बजेट व्यवस्था गरेका छौं ।