गण्डकी । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।
सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गरिने वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो ।
“फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना क्रमशः हटाउँदै जान्छौँ”, उहाँले भन्नुभयो, “अनधिकृत तरिकारले बनेका सरकारी संरचना पनि अब हट्छन्, यो अभियान निरन्तर चल्छ ।” वडाध्यक्ष मर्सानीले सडकको अधिकार क्षेत्र मिचेर बनाइएका क्षेत्रीय हुलाक, टेलिकमलगायत सरकारी कार्यालयका पर्खाल पनि भत्काइने बताउनुभयो ।
नयाँ बजारमा रहेको माइक्रोको अव्यवस्थित पार्किङलाई पनि त्यहाँबाट हटाइने भएको छ । “सार्वजनिक सूचना निकाल्छौँ, सम्बन्धित कार्यालयहरूलाई पत्र पनि काट्छौँ, वैध रहेको प्रमाण भए सोहीअनुसार हुन्छ, नत्र हटाइन्छ”, वडाध्यक्ष मर्सानीले भन्नुभयो, “सूचनाको बेवास्ता गरेर आफैँ नहटाए नगर प्रहरी लगाएर महानगरले हटाउँछ ।”
नयाँपुलमा रहेको महानगरको भवनमा बाँकी रहेका सटर खाली गराएर मङ्गलबारदेखि पुनः संरचना भत्काउन सुरु गरिएको उहाँको भनाइ छ । त्यहाँ रहेका दुई भवनलाई भत्काएर उद्यान बनाउने र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ । भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने भएको छ ।
पृथ्वीचोकमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई हटाएर महानगरले सूचना केन्द्रसहितको आधुनिक भवन बनाउँदैछ । वडा नं ९ ले एक महिनाभित्रैमा वडाभित्रका अनधिकृत संरचना हटाइने जनाएको छ । महाननगरभित्रका मुख्य सहरी क्षेत्रमा पुटपाथ, अव्यवस्थित पार्किङजस्ता समस्या बढी छन् । जसले सहरी सौन्दर्यमात्र बिगारेको छैन, पैदलयात्रीलाई कष्ट पनि थपेको छ ।
वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले अवैध संरचना बनाउने व्यवसायी र घरधनीलाई प्रत्यक्ष भेटेरै त्यस्ता संरचना हटाउन आग्रह गरिएको बताउनुभयो । “सूचना निकाल्ने कुरा त भइ नै हाल्यो, घरदैलोमै पुगेर पनि महानगरको अभियानमा सघाउनुस् भनेका छौँ”, उहाँले भन्नुभयो, “तोकिएको मितिभित्र नहटाए पत्र काट्छौँ, बोलाएर कुराकानी गर्छौँ, यति गर्दा पनि अटेर गरे हामी आफैले हटाउँछौँ ।”
उहाँका अनुसार स्थायी संरचना बनाइसकेपछि अनधिकृतरूपमा पछि थप गरिएका संरचना हटाउनुपर्ने स्थिति छ । उक्त वडाका बागलुङ बसपार्क, चिप्लेढङ्गा, महेन्द्रपुललगायत क्षेत्रमा त्यस्ता संरचना बढी छन् । तिनै ठाउँमा सवारी पार्किङ पनि अस्तव्यस्त छ । वडाध्यक्ष पराजुलीका अनुसार घरअघि ट्रस्ट थप्ने, पेटीमै पसलका सामान राख्ने प्रवृत्ति बढी छ ।
अबदेखि सडक नै ओगट्ने गरी ठूला होर्डिङ बोर्ड र सटर बाहिर सामान राख्न नदिइने उहाँको भनाइ छ । “सार्वजनिक जग्गै मिचेर बनाइएका ठूला भौतिक संरचना हाम्रो वडामा त छैनन्, तर पछि थपिएका स–साना संरचनाले सहरी व्यवस्थापनमा बाधा पु¥याइरहेको छ”, उहाँले भन्नुभयो ।
घरघरै पुगेर सम्झाइबुझाइ गरिएकाले व्यवसायीबाट सहयोग पाउनेमा वडाका जनप्रतिनिधि विश्वस्त छन् । महानगरको नेतृत्वले अनधिकृत संरचना हटाउने अभियानमा वडा तहलाई नै बढी अग्रसर गराएको छ । अवैध संरचना भत्काउनुपूर्व अपनाउनुपर्ने सबै प्रक्रिया पूरा गर्ने गरिएको जनप्रतिनिधिको भनाइ छ ।
महानगरका अरु वडामा पनि अवैध संरचना हटाउने अभियानलाई गति दिइने जनाइएको छ । पोखरा महानगरलगायत देशका अरु स्थानीय तहमा पनि अनधिकृत संरचना हटाउने अभियानले तीव्रता पाएको छ । कार्यकालको सय दिन भर्खर बिताएका जनप्रतिनिधिले लिएको त्यस्तो पहललाई जनसाधारणले पनि रुचाएका छन् ।
––राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो ।
भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष ली भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो ।
अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।