आदरणीय अग्रज अभियन्ता तथा सहकर्मी साथीहरु,
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो विधानमा हाम्रा विदेशी मित्रहरुसँगको सहकार्य गर्नका लागि फ्रेन्डसिप काउन्सिलको अवधारणालाई समाहित गर्नु पर्दछ भनेर मैले अघिल्लो अधिवेशनमा सार्वजनिक प्रस्ताव राखेको थिएँ । फ्रेन्डीसिप काउन्सिलको अवधारणाको लागि समर्थन जुटाउन र यो मुद्दालाई पारित गराउन एनआरएनएमा युरोप क्षेत्रको डिआरसीको उम्मेदवारी पनि दिएको थिएँ । दुर्भाग्यवश मैले आवश्यक समर्थन जुटाउन सकिनँ । परिणाम म त हारेँ नै । साथै फ्रेन्डसिप काउन्सिलको अवधारणाले पनि मूर्तरुप लिन सकेन । मेरो हार त्यत्ति महत्वपूर्ण भएन । तर फ्रेन्डसिप काउन्सिलको मुद्दाले जित्नु पर्दछ, किनकि यो समग्र एनआरएनहरुको हितमा छ । त्यसैले यसपालीको सम्मेलनको पूर्वसन्ध्यामा म पुनः यही मुद्दा लिएर यहाँहरु समक्ष उभिएको छु । र, छोटकरीमा एनआरएन फ्रेन्डसिप काउन्सिलको अवधारणा प्रश्नोत्तरमार्फत प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. एनआरएन फ्रेन्डसिप काउन्सिल भनेको के हो ?
एनआरएन फ्रेन्डसिप काउन्सिल भनेको नेपाल र नेपालीहरुलाई माया गर्ने विदेशीहरुलाई समेटेर एनआरएनएजस्तै गरी बिश्वका हरेक देशमा गठन गरिने सामाजिक संरचना हो । जुन देशमा एनआरएनए हुन्छ, त्यहाँ एनआरएन फ्रेन्डसिप काउन्सिल पनि निर्माण हुनेछ । यो संस्था सम्बन्धित देशको नियम कानुनअन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भई काम गर्ने छ । एनआरएनए र फ्रेन्डसिप काउन्सिलबीच निरन्तर रुपमा परस्पर सहयोग र सहकार्यका आधारमा सामाजिक गतिविधिहरु संचालन गरिनेछन् ।
२. एनआरएन फ्रेन्डसिप काउन्सिलको मुख्य उद्देश्य के हो ?
एनआरएन फ्रेन्डसिप काउन्सिलका मुख्य उद्देश्य निम्न अनुसार रहने छ ।
क) सम्बन्धित देशको एनआरएनएसँग सहकार्य गर्ने
ख) नेपाली इमिग्रेन्ट्सहरुलाई सम्बन्धित देशको समाजमा इन्टिग्रेट गराउने,
ग) सम्बन्धित देशमा नेपालीहरुका साझा समस्याहरु समाधानमा सहयोग गर्ने
घ) नेपालसँग भाइचारा र सांस्कृतिक सम्बन्ध कायम राखिराख्ने
ङ) नयाँ नेपाली इमिग्रेन्टसहरुलाई विदेशी भाषा सिकाउने व्यवस्थाको पहल गर्ने
च) नेपाली इमिग्रेन्टसहरुको संस्कृति र रीति रिवाजहरुलाई त्यस देशको माइनर कम्युनिटी अर्थात् अल्पसंख्यकको रुपमा परिचित गराउने ।
छ) ग्लोवल वार्मिङ, वातावरणीय असर, महिला सशक्तिकरण, बालबालिकाको लागि अनिवार्य शिक्षाजस्ता विश्वव्यापी मुद्दाहरुमा अन्य संघ संस्थाहरुसँग सहकार्य गर्ने ।
३. एनआरएन फ्रेन्डसिप काउन्सिलमा सदस्यहरु को हुनेछन् र कसले नेतृत्व गर्नेछन् ?
एनआरएन फ्रेन्डसिप काउन्सिलको नेतृत्व हाम्रा विदेशी मित्रहरु अथवा नेपालीमुलका तर विदेशमै जन्मिएर विदेशी नागरिकता लिएका दोश्रो तथा तेश्रो पुस्ताका एनआरएनहरुले मात्र गर्नेछन् । पहिलो पुस्ताका नेपालीहरुले एनआरएनए संचालन गर्नेछन् भने नेपालसँग सदभाव राख्ने, खास गरिकन एनआरएनहरुसँग सहकार्य गरेर नेपाल र एनआरएनहरुको हितमा सहकार्य गर्न चाहने विदेशीहरुले एनआरएनहरुसँग मित्रता र सहकार्यका आधारमा एनआरएन फ्रेन्डसिप काउन्सिल संचालन गर्नेछन् । यो फ्रेन्डसिप काउन्सिलमा विदेशीहरु र विदेशमै जन्मिएका दोश्रो पुस्ताका नेपालीमुलका एनआरएनहरु सक्रिय सदस्य हुनेछन् भने हामी पहिलो पुस्ताका एनआरएनहरु पर्यवेक्षकको रुपमा रहनेछौं ।
४. एनआरएनए सक्रिय छँदाछँदै एउटै देशमा फेरि किन एनआरएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता पर्यो ?
एनआरएनएमा हामी पहिलो पुस्ताका नेपलीहरुमात्रै सक्रिय छौं । यसमा हामीलाई जे आउँछ त्यही गर्छौं । समाजसेवा, राजनीति, पद, प्रतिष्ठा, आपसी भ्रातृत्व, भाषण, भेला, सांस्कृतिक मनोरन्जन आदि इत्यादि । नियम कानुनका कुराहरु कम, अनि भावनाका कुराहरु बढी । अर्थात् राम्रा, नराम्रा सबै कुराहरु यसमा पर्दछन् । समग्रमा भन्दा हामीले एनआरएनएलाई नेपालमय बनाएका छौं र हाम्रा लागि यो हरेक देशमा नेपालको प्रतिबिम्बजस्तै भएको छ । यो नेपालमय बनाउने कुरा हाम्रा लागि त राम्रै पनि होला । तर के यो नेपालमय एनआरएनए हाम्रा सन्ततीको पनि समाज बन्न सक्छ त ? त्यस्तो कदापी हुन सक्दैन । के विदेशमा जन्मेका हाम्रा सन्तानहरुको समाज अहिलेको एनआरएनए समाज हो त ? के हाम्रा सन्तानहरु हामीजस्तै सतप्रतिशत नेपाली बन्न सक्छन ? यो प्रश्नमा हामी सबैको छोटकारी उत्तर एउटै हुन्छः सक्तैनन् । त्यसो भए के उनीहरु विदेशी समाजसँगमात्र सरोकार राख्छन् त ? त्यसको उत्तर पनि होइन भनेर छोटकरीमा स्पस्ट पार्न सकिन्छ ।
जस्तो कि मेरा सन्ततीहरु जर्मनीमा जन्मिएर हुर्किंदैछन् । अब उनीहरु न त सतप्रतिशत नेपाली नै हुन न त उनीहरु जर्मन नै । त्यसैले म आज प्रश्न गरिरहेको छु, मेरा सन्ततीहरुलाई आफ्नोपन महसुस हुने त्यो नेपाल जर्मन मिश्रित समाज खै कहाँ छ ? तर उत्तर मसँग छैन ।
हाम्रा सन्ततीहरुलाई मिश्रीत समाज चाहिएको छ । के हाम्रा सन्ततीको भविष्यलाई हेरेर नेपाली र विदेशी संस्कृतिको समिश्रण भएको मिश्रित समाज बनाउन पहल गर्ने कि नगर्ने ? इतिहासले सुम्पेको नेपालीहरुको प्रवासी समाज निर्माण गर्ने यो ऐतिहासिक दायित्व पूरा गर्न एनआएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता परेको छ । जसरी एउटा सिक्का बन्न त्यस्का दुइपाटाहरु चाहिन्छन्, ठीक त्यसरी हाम्रा सन्ततीको लागि चाहिने समाज बनाउन दुइटै पक्षको आवश्यकता छ । हामी नेपाली र हामीसँग सहकार्य गर्न चाहने विदेशीहरु । हामी पहिलो पुस्ताका नेपालीहरु मिश्रित समाजको एउटा पक्षमात्र हौं । सिक्कालाई दोस्रो पाटोको जरुरत भएजस्तै मिश्रीत समाज बनाउन विदेशीहरुको आवश्यकता छ ।
एनआरएनएमा लागेका सबै अभियन्ताहरुका अगाडि आज एक प्रश्न खडा भएको छ कि हामी सधैंभरी एनआरएनएमा आपसी राजनीति गरेरमात्र रमाएर बस्ने कि आफ्ना सन्ततीको भविष्य हेरेर उनीहरुलाई आवश्यक नेपाली विदेशी मिश्रित समाज निर्माणमा लाग्ने ? त्यसैले हामी बसेकै देशमा बसोबास गर्ने अनि नेपाललाई बुझ्ने र माया गर्ने विदेशीहरुलाई समेटेर एनआरएन फ्रेन्डसिप काउन्सिल बनाउनमा ढिलाइ नगरौं ।
५. एनआरएन फ्रेन्डसिप काउन्सिल गठनबाट हुने अरु फाइदाहरु के के छन् ?
एनआरएन फ्रेन्डसिप काउन्सिल गठन भैसकेपछि हामीलाई हुने ठूलो फाइदा भनेको यस्ले एनआरएनएलाई आर्थिक रुपमा पूर्ण सवल बनाउने छ । हामीले चन्दा उठाएर बाँच्नु पर्ने दिनको अन्त्य हुनेछ । हरेक देशमा इमिग्रेन्ड्सहरुको मुद्दामा सहयोग पुर्याउन प्रशस्त सरकारी फन्डहरु हुन्छन् । तर हामीसँग अहिले भाषाको समस्या र कार्यशैलीको समस्या र अन्य बिभिन्न कारण ती फन्डमा हाम्रो पहुँच छैन । तर फ्रेन्डसिप काउन्सिल भए त्यहाँका विदेशी मित्रहरुले ती सरकारी फन्डहरुमा पुग्ने बाटो देखाएर हाम्रो पहुँचलाई सरल बनाइ दिनेछन्। अनि हामीले चन्दा मागेर वा ठूलो ठूलो रकमको उम्मेदवारी शुल्क लगाएर एनआरएन चलाउनु पर्ने दिनहरुको अन्त त हुनेनै छ साथसाथै नेपालमा सामाजिक कार्यहरु संचालन गर्न प्रशस्त फन्डहरु पनि मिल्न सक्नेछ । जस्तो कि जर्मन सरकारले इमिग्रेन्टसहरुमार्फत उनीहरुको मुली देशमा परोपकारी कार्यमा वर्षेनी ५० हजार युरो बराबरको सहयोग गर्न सक्छ। तर त्यस्का लागि लेखपढ गर्नु पर्ने धेरै विषयहरु हुन्छन् र जर्मनमै प्रोजेक्ट तयार गर्नु पर्ने हुन्छ । टुरिज्म र आर्थिक लगानीको क्षेत्रमा पनि हामीहरु फ्रेन्डसिप काउन्सिलमार्फत निकै ठूलो फड्को मार्न सक्छौं ।
६. के विदेशिहरुलाई एनआरएनएमै समेटेर अगाडि बढ्न सकिँदैन ?
यो प्रश्नको उत्तर मैलेभन्दा पनि अग्रज अभियन्ता मित्रहरुले राम्रोसँग दिनुहुन्छ जस्तो लाग्छ । तर मैले बुझेअनुसार विदेशीहरुलाई एनआरएनएमा समेट्न नेपालको कानुनले दिँदैन । नेपालको कानुनले नदिए उनीहरुले आईसिसीका गतिविधिमा भाग लिन पाएनन् । आइसिसीका गतिविधीमा भाग लिन नपाए एनसिसीमा देशी र विदेशी गरी दुई थरी सदस्यता राख्नु पर्ने भयो, जुन डिस्क्रिमिनेसन अर्थात् भेदभावको चरम नमुना हुन जान्छ । मान्छेले सवै सहन्छ, तर भेदभाव सहन सक्दैन। यसपाली हाम्रो जर्मनीमा यस्तै भयो । एक जना एनआरएनकी श्रीमती तर जर्मन मुलकी महिलाले एलसीसीमा उपाध्यक्ष हुन चाहनु भयो र आफ्नो उमेदावरी पनि दिनु भयो । नियमअनुसार उहाँलाई एनआरएनएको सदस्यता दिन मिलेन । अनि स्थानीय नियम अनुसार र नेपाली परम्परा अनुसार उनको उमेदवारी रद्द गर्न पनि मिलेन । परिवारका एक सदस्य वावुले एनआरएनएको सदस्यता लिन मिल्ने, अनि परिवारको अर्को सदस्य यानीकि आमा चाहि सदस्य वन्न नमिल्ने ? आमाले विदेशी भए पनि सहयोग भने गरिरहनु पर्ने ? यो अवस्थामा उहाँका छोराछोरीहरुले हाम्रो अपुर्ण संरचनाका कारण कस्तो भेदभाव महशुस गरे होलान् ? एक छिन सोचौ त मित्रहरु । म स्वंय उक्त एलसीसीको निर्वाचन प्रमुख संयोजक भएकोले सवै प्रत्यक्ष भोगे । के गर्ने ? के नगर्ने ? केही थाहा भएन। सधैभरि असमानता र भेदभावको विरद्धमा अवाज उठाउने मान्छे यस्पाली विदेशी मुलकी ती नेपाली आमालाई सम्मानका साथ एलसीसीको उपाध्यक्ष पदमा स्वागत गर्न सकिएन । केहि गर्न नसकेर लाचारिपन देखाउन परेकोमा निकै ठुलो पीडा महसुस गरे । त्यसैले एनआरएनएमा नेपाली र विदेशीलाई एकसाथ सदश्य बनाउन सकिने अवस्था छैन ।
७. विदेशिहरुलाई एनआरएनएमै समेटेन नसकिने अरु थप कारणहरु पनि छन कि ?
विदेशीलाई एनआरएनएमा संगठित गर्न नसकिने अरु पनि धेरै कारणहरु छन् । जस्तो कि भाषागत, शैलीगत कारणहरु । विदेशीले वियोन्ड २०२० मा भने जस्तो अग्रेजीमा मात्र सम्वाद गर्न खोज्लान् । हामी नेपालीमा सम्वाद गर्दछौं । विदेशीले सबै योजनामा चल्न खोज्लान्, हामी हाम्रा काम गर्ने शैली नेपालको जस्तै राख्न चाहन्छौं । कुरा गर्ने, छलफल गर्ने, झगडा गर्ने र अन्त्यमा केही सिप नलागे मात्र वल्ल सहमति गर्ने । यी सवै पक्षलाई केलाएर हेर्दा नेपाली र नेपालसँग सहकार्य गर्न चाहने विदेशिहरुलाई सँगै संगठित गरेर अघि बढ्ने हो भने एनआरएनए र एनआरएन फ्रेन्डसिप काउन्सिल सामानान्तर किसमले चलाउनु पर्दछ ।
सदस्यता दिँदा एनआरएनए र एनआरएन फ्रेन्डसिप काउन्सिलको सदस्यता एक साथ वितरण गर्ने व्यवस्था गरौं । नेपाली मुलका भए सदस्यतामा एनआरएनए लेखौं, विदेशिमुलका भए एनआरएन फ्रेन्डसिप काउन्सिल (एनआरएनएफसी) लेखौं । यसरी बाहिर हेर्दा एनआरएन फ्रेन्डसिप काउन्सिल र एनआरएनए एउटै जस्तो पनि देखिन सकिन्छ कहिले काही किनकी यिनीहरु दुवैका उद्देश्य एउटै हुन्छन् । तर नेतृत्व तहमा भने एउटा नेपालीहरु बस्छन् भने अर्कोमा विदेशीहरु ।
गैर आवासीय नेपाली संघलाई आधुनिकीकरण गर्ने हो र नयाँ भिजनका साथ अघि बढाउने हो भने फ्रेन्डसिप काउन्सिलको अवधारणालाई लागू गर्न उपयुक्त देखिन्छ। यसैले यहाँहरु सवैलाई यो अवधारणालाई एनआरएनएको सम्मेलनमा एजेन्डा बनाएर विधानमा नै फ्रेन्डसिप काउन्सिलको व्यवस्था गर्नको लागि पहल गरिदिन हुन हार्दिक अह्वान गर्दछु ।