उमा कोइराला
वरिष्ठ पोषणविद्
संसारमा खानाबिना बाँच्न सक्ने प्राणी सायदै छैन् होला । मानव जीवनमा त झन् खाना अत्यावश्यक वस्तु । नेपालमा पनि परिवर्तनसिल समयसँगै सहरी क्षेत्रमा खानाका प्रकारहरु बढ्दै गइरहेका छन् भने ग्रामीण भेगका नागरिकलाई खाना जोहो गर्न नै सकस छ ।
हामी खाना त खाइरहेका हुन्छौं तर खाना स्वस्थवर्दक छन् कि छैनन्, शरीरलाई दिनमा कति र कस्तो खाना आवश्यक पर्छ, अहिले नेपालीले कस्तो खाना खाइरहेका छन् लगायतको विषयमा वरिष्ठ पोषणविद्ध डाक्टर उमा कोइरालाले जानकारी गराउनु भएको छ ।
नेपालीले कस्तो खाना खाइरहेका छौं ?
खानासँगै भौगोलिक अवस्थाको पनि कुरा गर्नुपर्ने हुन्छ । तराई, पहाड, हिमाल त्यसमा पनि उच्च पहाडी र उच्च हिमाली क्षेत्र नेपालको भूगोल हो । खानामा सहरीकरण र ग्रामीण इलाका सबै क्षेत्रलाई समेटेर हेर्नुपर्दछ ।
तराईमा प्रशस्त मात्रामा खाना पाइन्छ । सडक संजाल छिमेकी राष्ट्र नजिएकै भएको हुँदा पहुँच र आपूर्ति दुबै छ । तर खाना कसरी मिलाएर खाने भन्ने बारेमा नागरिकलाई ज्ञानको कमी छ । नेपाली समाजमा भात धेरै तरकारी र दाल कम खाने चलन छ । तराईमा असन्तुलीत खानपान छ ।
पहाडी क्षेत्रमा भने तराईको भन्दा खानपानमा केही सुधार देखिन्छ । खानासँगै दूध, दही प्रशस्त मात्रामा पाइथ्यो । तर अहिले बजारीकरणले गर्दा दूध नै बेच्न लाने चलनले गर्दा खानापानमा यस्ता कुराहरु कम देखिन थालेको छ । केही वर्ष अघिसम्म मकै, फापर, कोदोको रोटी अथवा ढिडो खाने चलन थियो अहिले पहाडी क्षेत्रमा पनि चामलको भात नै सजिलो भएको देखिन्छ । पेस्टीजको कुरा, छिटो, सजिलो हुने भएको हुँदा अहिले चामल सबैको खाना भएको पाइन्छ ।
तर चामलले क्यालोरी मात्रा दिन्छ पोषणतत्व, फाइवरहरु दिँदैन जसले गर्दा शरीरमा पोषणतत्वको कमी हुँदै जान्छ । यो कुराको जानकारी भने नेपाली समाजमा कमी छ । देखेका, सुनेका नागरिकले दालभात, तरकारी खाएको पाइन्छ भने धेरै ठाउँमा पातलो दाल अथवा तरकारीमा रस राखेर खाने चलन अझै पनि छ ।
खाना जुटाउन उच्च पहाडी र हिमाली भेगमा अहिले पनि गाह्रो अवस्था छ । सडक संजाल व्यवस्थित नहुँदा खाद्यान्न ढुवानी अव्यवस्थित, भण्डार एकदमै कम र सुनिश्चितता नभएको कारणले गर्दा उच्च पहाडी भेगको नागरिकको हकमा भने समस्या छ ।
सरकारले खाद्य सुरक्षाको सुनिश्चितता नगर्दा त्यहाँका नागरिकले खाना पुर्याएर नै खाइरहेको हुन्छ । झन् बर्खाको समयमा बाटो बन्दले गर्दा ढुवानीमा समस्या हुन्छ । पहिला जति खाद्यान्न जम्मा गरेको छ त्यो नै पुर्याएर खानुपर्ने अवस्था हुन्छ । चिसोको समयम हिउँ पर्ने हुँदा सवारी साधन जानलाई निकै गाह्रो हुनेलगायत समस्याले गर्दा यो क्षेत्रमा सन्तुलित भोजन खाने चलन असाध्य न्यून छ ।
विविध कारणले गर्दा सन्तुलित भोजनमा दाल, भात, तरकारी, अचार साथै दही, दूध, मोही जे पाउँछ त्यो एक थोक र हप्तामा एक–दुई पटक माच्छा मासु नियमित तरिकाले खाने चलन छैन । खाना बाँच्नको लागि खाइन्छ । अनिवार्य छ । तर खाना राम्रो र गुणस्तर छैन ।
प्रशोधित खानेकुरामा नेपालीहरुको चासो कतिको पाउनुहुन्छ, तपाईंको अनुभवले के बताउँछ ?
नेपालीहरुको यस्ता खानेकुरामा चासो बढ्दै गइरहेको छ । बजारीकरण, व्यापारीकरणले बजारमा प्रशोधित खानेकुराको बाहुल्यता धेरै भएको पाइन्छ । यस्ता खानेकुराहरु सजिलै पाइने भएको हुँदा बजारी खानेकुरामा आकर्षण बढेको छ । स्वस्थ्यवर्दक जुन खाना छैन त्यही खानको विज्ञापन पनि व्यापारी घरानाहरुले राम्रैसँग गरेका छन्, रङ्गीचङगी बालबालिकालाई देख्दा पनि राम्रो लाग्ने, निम्न गुणस्तरको सस्तो र सुलभ हुने भएको हुँदा ध्यान तानेको देखिन्छ । दु.खलाग्दो कुरा के भने चाउचाउकै दाल, चाउचाउकै तरकारी पनि खाएको देखेको छु ।
सहरी क्षेत्रको खानापानको पनि कुरा गरौं न ?
सहरी क्षेत्रका नागरिकमा बजारी खानेकुरा, प्याकेटका खानेकुरामा ध्यान बढी गएको देखिन्छ । सबै प्याकेटको खानेकुरा स्वास्थ्यवर्दक छैनन् भन्ने पनि होइन । अहिले सुपरमार्केटको जमाना छ । दाल, गेडागुडीलगायत स्वास्थ्यवर्द्धक खानेकुराहरु आएका छन् । नागरिकले कस्तो खानेकुरा स्वास्थ्यवर्दक हुन् चिन्न जरुरी छ ।
खाजा चियासँग बिस्कुट, कुकिज खाइरहेका हुन्छौं जुन खानेकुरालाई विस्थापित गरेर घरमा जे बन्न सक्छ हलुवा, रोटी, जाउँलो, खिचडी, भुटेको भात ताजा बनाएको खानेकुरा खाने बानी भएको खण्डमा स्वास्थ्यको लागि राम्रो हुन्छ । प्याक गरेको खानामा हाई क्यालोरी, हाई सुगर, हाई सल्ट हुन्छ । मनोरञ्जनको लागि महिनामा एक पटक खाने भनेको बेग्लै कुरा हो तर निरन्तर रुपमा यस्तै खानेकुरा खाने हो भने शरीरले धान्न सक्दैन् जसले गर्दा मधुमेह, पेसर, कलेजो, किड्नीमा समस्या, अल्सर, ग्यास्ट्रीक जस्ता रोगहरु बिस्तारै लाग्न सक्छन् ।
अहिले कोरोनाको समयमा पनि रेस्टुरेन्ट भरिभराउँ देख्छौं । सहरी क्षेत्रका नागरिक बारिहको खाना बढी खान्छन् भन्दा फरक नपर्ला । जसले गर्दा सहरी क्षेत्रका नागरिकमा रोगसँग लड्ने क्षमता कम हुनुका साथै मोटोपन र नसर्ने रोग पनि बड्दै गएको तथ्याङ्कले पनि देखाइरहेको छ ।
बाहिरको खानामा चिल्लो, गुलियो, नुनिलो धेरै हुन्छ । हामीले जे खान्छौं त्यसैको ग्रोथ हाम्रो शरीरमा हुने भएको हुँदा खानपान नै हाम्रो स्वस्थ जीवनको जग हो । खाना शुद्ध ,सफा र सन्तुलित हुन अत्यन्तै जरुरी छ ।
एक व्यक्तिलाई दिनमा कति खानाको जरुरी हुन्छ ?
सामान्यतया व्यक्तिको उमेर ,उचाई, तौल, उसले गर्ने दैनिक र स्वास्थ्य अवस्था हेरेर खाना कति खाने भन्ने कुरा निर्धारण हुन्छ । नेपालीहरुको लागि कडा परिश्रम नगर्ने व्यक्तिलाई दिनमा १८ सय क्यालोरी, एक केजी तौलको लागि एक ग्राम प्रोटिन, २० ग्रामसँग भनिएको छ ।
जस्तै ठेला गुडाउँदै दिनभरी सामान बेच्ने व्यक्तिलाई दिनमा २४ देखि २५ सय सम्म क्यालोरी आवश्यक पर्छ । घरमै बस्ने मोबाइल ल्याबटप हेर्ने व्यक्तिलाई १३ देखि १४ सय क्यालोरी भए पुग्छ ।
रोगबाट भर्खर तंग्रिएका व्यक्तिलाई जस्तै कोभिड निको भएकालाई धेरै क्यालोरी आवश्यक पर्छ किनभने सेल्सहरु मरेको हुन्छ । त्यसैले सामान्य अवस्थामा फर्किनका लागि खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ अथवा दिनुपर्छ ।
प्रोटिन, क्यालोरी, भिटामिन, मिनरल्डहरु प्रशस्त मात्रामा मिलाएर खानुपर्छ । फलफूल सिजनअनुसार दैनिक एउटा फलफूल खादा राम्रो हुन्छ । खाना भनेको भातमात्रै हो भन्ने चलनलाई हटाउनु पर्छ । रोटी, दाल, तरकारी, आलुको परिकार, मकै कोदो, फापर पनि हाम्रो खाना हो । यस्ता खानेकुरामा चामलभन्दा धेरै हामीलाई चाहिने पौष्टिक तत्वकहरु पाइन्छ । त्यस्ता विषमा ज्ञान बाँड्न नसक्दा पनि समस्या धेरै देखिएको हो ।
सबै नागरिकलाई समान खानाको व्यवस्था कसरी गर्ने ?
खाद्य सुरक्षाको सम्वर्द्धन र खानाको सुरक्षा नेपाल सरकारले गर्ने छ भनेर संविधानमा लेखिएको छ । ‘वर्ल्ड फुड समिट’ हुँदैन त्यसका लागि नेपालबाट के प्रस्ताव लिएर जाने भन्ने विषयमा ५–६ महिनादेखि सरकारीस्तरबाट नै पहल भइरहेको छ । खाद्य सुरक्षा सबै नेपालीलाई प्रत्याभूत गराउन देशव्यापी छलफल गरेर अहिले प्रतिवेदन तयारी गरेको छ । सो प्रतिवेदनमा हामीले नेपालभर सबै समयमा निर्वाध चल्ने सडक संजाल हुनुपर्छ भन्ने विषयलाई प्रमुख रुपमा उठाएका छौं । जनताले सहज रुपमा खाद्य सुरक्षा पाउनुपर्ने कुरालाई जोडदार रुपमा उठाएका छौं ।
गाउँगाउँमा गएर खानेकुराको बारेमा जनचेताना फैल्याउन एकदमै जरुरी छ । चामल नखाउँ भन्न खोजेको होइन तर अन्य खानेकुरालाई पनि महत्व दिनुपर्छ । घुम्न जाँदा त्यहाँको स्थानीय खानेकुराहरु खाइदिँदा प्रमोटसँगै स्थानीय पनि खुशी हुन्छन् ।