दुप्चेश्वर गाउँपालिका नुवाकोट जिल्लाको दुर्गम गाउँपालिका मध्ये मानव विकास सूचाङ्कमा सबै भन्दा कम विकसित पालिकामा पर्दछ । चेलिबेटी बेचबिखन गर्ने ठाउँ जस्तो नकारात्मक चिनारी बोकेको यस ठाउँले संघीयताको कार्यन्वयनसंगै स्थानीय सरकारमार्फत नयाँ पहिचान बनाउने कोशिस गरिरहेको देखिन्छ । यही सन्दर्भमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकरबहादुर थापासँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गरेको कुराकानीको सम्पादित अंश ।
गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको ४ महिना भयो, अनुभव कस्तो छ ?
बाहिर बसेर स्थानीय सरकारलाई नियालेको/नहेरेको त होइन । तैपनि बाहिरबाट जस्तो हामीले देख्छौं त्यो भित्रबाट हेर्दा फरक अनुभूति हुँदोरहेछ । अघिल्लो पाँच वर्षको कार्यकालमा मेरो पालिकामा जसरी संरचनाअनुसार चल्नुपर्ने थियो, त्यो अव्यवस्थित पाइयो । पालिकाका कर्मचारी संयन्त्रदेखि विभिन्न विषयगत शाखा चुस्त, दुरुस्त खासै पाइएन । जति सिस्टममा चल्नु पर्ने थियो त्यस्तो नभएको पाइयो । त्यसले गर्दा हामीलाई सुरु अवस्थामा यी व्यवस्थाहरु मिलाउन पनि केही समय खर्चिनु परेको छ । अहिलेसम्म पनि व्यवस्थित बनाउँदै, सिस्टममा सबै संयन्त्रले काम गर्दै जाऔं भन्ने हिसाबले हामी लागिरहेका छौं ।
यो अवधिमा जनताले अनुभूत गर्ने केही काम भएका छन् त ?
हामी निर्वाचित भएर आउँदा नयाँ आर्थिक वर्ष लाग्न जम्मा २ महिना बाँकी थियो । अघिल्लो जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्ष थियो । उहाँहरुले चुनावी बजेट विनियोजन गर्नुभएको रहेछ । हामी निर्वाचित भएर आउँदै गर्दा आर्थिक वर्ष ०७९/८० सम्मको सबै बजेट खर्च हुने हिसाबले योजनाहरुमा विनियोजन गरिएको रहेछ । हामीले पुरानो स्थगित रहेका योजनाहरुको भुक्तानी दिनुपर्दा यो वर्षको बजेट लगभग सबै सकिएको अवस्था छ । एउटा कार्यालय संचालनका लागि सामान्य खर्च टार्न पनि समस्या हुने अवस्था देखिन्छ ।
त्यस कारणले हामीले अघिल्लो वर्ष विनियोजन गरिएका कतिपय आन्तरिक स्रोत अन्धाधुन्द राखिएको योजनाहरु कोही सम्झौता नभएका, कोही सम्झौता भएर पनि काम नभएका योजनाहरुलाई स्थगित गरेर व्यालेन्समा ल्याउन खोज्दा पालिका आर्थिकरुपमा शून्य अवस्थामा आउन बाध्य भएको छ । यो वर्षको कार्यक्रम चलाउन अरु कुनै बजेट थिएन । हामीसँग आउने वर्षको बजेट ५० प्रतिशत घाटा भए पनि यो वर्ष केही त गर्नुपर्यो भन्ने हिसाबले नगरी नहुने खालका जनताका आधारभूत आवश्यकता र जनरल्ली गरिरहेका योजनाहरुलाई निरन्तरता दिने, जनताको जीवनसँग जोडिएका काम गर्दै जाने भनेर केही योजनालाई लिएका छौं ।
सिमानाको हिसाबले काठमाडौंसँग अतिनिकट र दूरदराजको हिसाबले अति विकट दुप्चेश्वर गाउँपालिकाको भौगोलिक विकासको काममा अति चुनौतीपूर्ण रहेछ । दुप्चेश्वर गाउँपालिकामा जम्मा ७ वटा वार्डहरु रहेका छन् । वार्ड नम्बर १ छिमेकी पालिकाको भूगोल बराबर रहेको छ । छरिएर रहेको बस्ती छ । त्यो वार्डको सबै ठाउँमा पुग्नका लागि कम्तीमा पनि एक साता लाग्छ । हाम्रो पालिकामा, सडक, विद्यालय, बिजुलीको अझै पनि आवश्यकता छ । पालिकाको पुरै बजेट त्यो १ नम्बर वडामा लगाउने हो भने पनि त्यो पालिकाको स्तरमा ल्याउन अझै पाँच वर्ष लाग्ने स्थिति देखिन्छ । अन्य वार्डहरुको समस्या पनि त्यस्तै छन् । भूगोलको कारणले पनि भौतिक विकासमा सारै कठिनाइ रहेको छ ।
पालिकामा आइराखेको बजेटले थेग्न नसक्ने अवस्था छ । हामीलाई सोही क्षेत्रबाट निर्वाचित वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ र संघीय सांसद हितबहादुर तामाङको ध्यानदृष्टि परेको थिएन या उहाँहरु निर्वाचित भएर जानुभएको थिएन भने आज त्यो गाउँपालिकाको स्थिति त्यो अवस्थामा आउने थिएन । सडक, पुल, विद्यालय भवन लगायतका ठूला योजना पार्नका लागि केन्द्र र प्रदेशबाट उहाँहरुले सहयोग गर्नुभएको हुँदा पालिका अहिले समृद्धितर्फ गइरहेको छ । गाउँपालिकाको स्थानीय स्रोतहरुबाट मात्रै विकास गर्न अति कठिन देखिन्छ ।
दुप्चेश्वरमा पहिला वैशाख, जेठदेखि नै सडक यातायात चल्न सक्ने अवस्था हुँदैन थियो । यस पटक हामी निर्वाचित हुनेवित्तिकै सडकलाई हिउँद—बर्खा दुवै समयमा संचालन हुन सक्ने बनाउनुपर्छ भनेर पालिकाले असार १ गतेदेखि २ वटा जेसीभी डोजर तयारी अवस्थामा राखेका छौं । सबै वडाका मुख्य/मुख्य बस्तीमा अहिले पनि निर्बाधरुपमा सडकहरु संचालन भइरहेको छ ।
गाउँपालिकाले कुन विषयलाई केन्द्रित गरी काम अगाडि बढाएको छ ?
नागरिकको जीवनसँग प्रतक्ष्य जोडिएका स्वास्थ्य, शिक्षाका विषयलाई प्राथमिकतामा राखेका छौं । पूर्वधारतर्फ पालिका भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अघिल्लो जनप्रतिनिधिले सुरु गर्नुभएको थियो भवन निर्माणका धेरै काम पूरा भएका छन् । म निर्वाचित भएपछि अन्तिम चरणमा आवश्यक कुराहरु पूरा गरेको छु ।
दुप्चेश्वर गाउँपालिकाको संभावनाहरु के के हुन्, जुन कुराले पालिका, त्यहाँका नागरिक र देशलाई नै फाइदा पुग्न सक्छ ?
स्रोत र साधन भए दुप्चेश्वर सम्भावना नै सम्भावना भएको पालिका हो । समुद्रटारसँगै जोडिएको राम्चेभूमे जात्रा लाग्ने ठाउँ हो, माने भन्ज्याङ । त्यहाँ रहेको ठूलो चौरलाई पर्यटक भित्र्याउने हिसाबमा हेर्न सकिन्छ । त्यसैगरी कुटुङसाङ पर्यटकीय हिसाबले महत्वपूर्ण छँदैछ । नुवाकोट जिल्लाको सबै भन्दा उच्चस्थानमा रहेको सूर्यकुण्ड ताल, गोसाइँकुण्डबाट रसुवा हुँदै जाने हो भने एक घण्टाको उकालो पछि त्यहाँ पुग्न सकिन्छ । कुनै पनि निकायले ध्यान नदिँदा उक्त ताल निकै छायामा परेको छ । विकासमा र प्रचारप्रसारमा लाग्ने हो भने दुप्चेश्वरको अति महत्वपूर्ण पर्यटकीय स्थल तथा तालहरुबाट धेरै सम्भावना रहेका छन् । जुन अहिले ओझेलमा परिराखेको अवस्था छ ।
दुप्चेश्वरमा पर्ने सूर्यकुण्ड ताल नुवाकोटकै पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको छ । दुप्चेश्वर मन्दिर देशभर प्रसिद्ध नै छ । सोही मन्दिरको नामबाट हाम्रो पालिकाको नाम रहेको छ । दुप्चेश्वर मन्दिरलाई दोस्रो पशुपतिको रुपमा लिने गरिन्छ । त्यहाँ जानु भएका व्यक्तिहरुको प्रचारप्रसारबाट नै आज हजारौं दर्शनार्थीहरु आउने गर्नुहुन्छ । आजको दिनमा गाउँपालिकाको आन्तरिक आर्थिक अवस्था अत्यन्तै निम्न रहेको छ । धार्मिक पर्यटकको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सक्ने हो भने मुख्य आयस्रोतको रुपमा यो मन्दिरलाई लिन सकिन्छ । त्यसका लागि पालिकाले अभियान संचालन गर्ने योजना रहेको छ ।
यस्तै विश्वकै दूर्लभ ‘रेडपाण्ड’ पनि दुप्चेश्वरको घ्याङफेदीमा रहेको छ । होमस्टे बनाउने हो भने पर्यटकलाई भित्र्याउन सक्नुका साथै केवलकार बनाएर सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जान सक्ने हो भने त्यहाँको पर्यटन व्यवसायलाई अझै बढावा दिन सकिन्छ । यस्ता सम्भावनाहरु नभएका होइन, दुप्चेश्वरमा सम्भावना प्रचूर मात्रामा छन् तर स्रोत, साधन र सोर्स अनि सोच भएको खण्डमा निकट भविष्यमा धेरै फाइदा पुर्याउने पालिकाले फड्को मार्ने अवस्था देखिन्छ ।
सम्भावनामध्येका अघि सार्नुभएका योजना के के हुन् ?
यो वर्षलाई हामीले योजना वर्षको रुपमा काम गरिरहेको छौं । भइराखेको, गरिराखेको कुरालाई भन्दा पनि यो अध्ययन र योजना वर्षमा हामीले जनताको अतिआवश्यक आधारभूत कुरालाई प्राथमिकतामा राखेको छौं । आउने वर्षबाट कामहरुले गतिका साथ अगाडि बढ्ने योजना रहेको छ । केही गर्न नसक्ने भन्ने कुरा भन्ने होइन । पाँच वर्षको कार्यकालमा ४ महिना बितेको छ । हामीले यो अवधिमा केही न केही उपलब्धि गर्नेछौं ।
अघिल्लो जनप्रतिनिधिले पाँच वर्षमा केही त काम गरेका होला नि ?
उहाँहरुले सार्वजनिक स्थलमा भन्नु त भएको होला तर पाँच वर्षको गतिविधि हेर्दा अघिल्लो कार्यकालमा एक ठाउँमा पनि हामीले यो काम गर्यौं भनेर देखाउने काम हुन सकेको छैन ।
नुवाकोटको यहाँले नेतृत्व गरिरहनुभएको पालिका दुप्चेश्वर मानव तथा चेलबेटी बेचविखनले धेरै चर्चा पाउने गर्छ, गाउँपालिकाले यो विषयलाई कसरी लिइरहेको छ ?
चेलीबेटी तथा मानव बेचबिखनको सन्दर्भमा हामी त्यही क्षेत्रको भएकोले काम त हुने नै भयो । शिक्षाले चेतनास्रत अलि राम्रो हुँदै गएकोले हिजोको जस्तो अवस्था अहिले छैन । स्थानीय सरकार आएपछि जनताको चेतना केही हदसम्म भए पनि माथि उठेको छ । पालिकाको तर्फबाट प्रयास गरिरहेका छौं । अहिले त्यस्तो अवस्था हामीले पाएका छैनौं ।
यहाँ लामो समय शिक्षण पेशामा हुनुहुन्थ्यो, सरकार प्रमुखको हैसियतमा अहिले हुनुहुन्छ, मानब बेचबिखनका कारण के के देख्नुहुन्छ ?
सबैभन्दा पहिला त चेतनाकै अवस्था सुधार गर्नुपर्छ । घ्याङफेदीकै कुरा गर्ने हो भने यो भन्दा १५ देखि २० वर्ष अगाडि एउटा प्राथमिक तहको विद्यालय पनि राम्रोसँग चल्न सकेको थिएन । स्थानीय सरकार आएपछि निगरानी र लगानी पनि भएकोले विस्तारै सुधार हुँदै गएको पाउँछु । पहिलाभन्दा धेरै गति लिएको अवस्था छ । तर पनि यो सन्तोषजनक अवस्था भने होइन । म शिक्षा क्षेत्रकै व्यक्ति निर्वाचित भएर आएकोले निजी विद्यालयभन्दा राम्रो सरकारी विद्यालय बनाउने, जसले गर्दा सरकारी विद्यालय अब्बल र राम्रो छ भन्ने ज्ञान पैदा गर्नका लागि पनि शिक्षा क्षेत्रमा मेरो विशेष प्राथमिकता रहने छ । कार्यकालभरमा मैले कुनै न कुनै उपलब्धि नागरिकलाई देखाउने छु ।
यहाँको पालिकामा धेरै जनजाति त्यसमा पनि तामाङ समुदायको संख्या धेरै छ, उहाँहरुकै मतबाट यहाँ निर्वाचित हुनु भएको छ । त्यो समुदायका लागि केही फरक योजना छ कि ?
विशेषत: दुप्चेश्वर तामाङ समुदायको बाहुल्यता भएको पालिका हो । नेपाली भाषाबाट मात्रै अध्ययन गराइने शिक्षण पद्धति रहेको छ । अब तामाङ भाषा (मातृभाषा)बाट पनि अध्ययन गराउनुपर्छ भन्ने विषय पालिकाको नीति तथा कार्यक्रममा राखिएको छ । मातृभाषा शिक्षाका लागि बजेटको पनि व्यवस्था गरेका छौं । त्यहाँको भूगोललाई चिन्ने, जाति, धर्म, संस्कृति, परम्पराबारेमा ज्ञान प्राप्त गर्नका लागि हामीले स्थानीय पाठ्यक्रम निर्माण गर्ने योजना पनि अघि सारेका छौं ।
गरिबी हटाउन, आत्मनिर्भर हुनका लागि कोदोको लोकल रक्सीलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने पनि नीति तथा कार्यक्रममा राखेका छौं । त्यसको लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने काम भइरहेको छ । भएको अर्गानिक सागसब्जी, आलु, किबीलाई बजारीकरण पनि गर्न सकिन्छ । यी विषयमा थप योजनाका साथ लाग्नेछौं ।