नुवाकोटका दुई नगरपालिकामध्येका बेलकोटगढी नगरपालिकामा ३ लाख ९ हजार ८८८ जनसंख्या छ । ती नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन जनप्रतिनिधिहरु लागिरहेका छन् । नगरपालिका भए पनि भूगोलको आधारमा विकट हो बेलकोटगढी । अप्ठ्याराका बीच जनप्रतिनिधिहरु 'समृद्व बेलकोटगढीको आधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन सहितको पूर्वाधार' नारालाई साकार पार्न खटिइरहेका छन् । स्थानीय सरकार नगरको विकासका लागि कसरी अगाडि बढिरहेको छ ? मुख्य योजना, लक्ष्य, सुशासनजस्ता विषयकेन्द्रित रहेर उपमेयर शिवप्रसाद दाहालसँग ग्लोबल मिडियाका लागि अन्जु तामाङ गर्नुभएको कुराकानीका सम्पादित अंश :
बेलकोटगढी नगरपालिकको उपमेयर बन्नुभएको ४ महिना पुगेको छ, कस्तो अनुभव भइरहेको छ ?
निर्वाचित हुनुभन्दा अगाडि एउटा राजनीतिक दलको कार्यकर्ता भएर स्थानीय सरकारलाई मूल्यांकन गर्दा र आफू जनप्रतिनिधि भएर स्थानीय सरकारको प्रतिनिधित्व गर्दै गर्दा केही तात्विक भिन्नताहरु त पक्कै हुने रहेछन् । जिम्मेवारी वहन भइसकेपछि जनताको स्तरोन्नतिका लागि जे जस्ता क्रियाकलाप हामीले गर्नुपर्छ र गरेर अगाडि बढ्नु पर्छ भन्ने भावना लिएर निर्वाचनमा प्रतिनिधित्व गरेका थियौं ।
जनताको अभिमतद्वारा निर्वाचित भइसकेपछि उहाँहरुको इच्छा, चाहानाअनुसार पूर्णरुपमा काम गर्न हाम्रो भौगोलिक अवस्था, धरातलले कति कुरामा अप्ठ्यारो बनाएको छ । तैपनि उत्साहका साथ जनताको सहयोगमा नगरको भौतिकदेखि स्वास्थ्य, शिक्षा, कृषिको स्तरोन्नतिको लागि अनवरतरुपमा लागिरहेका छौं । केही जिम्मेवारीबोध पक्कै भएको छ ।
यस अवधिमा केही देखिने काम भएका छन् ?
निर्वाचित भएपछि महत्वपूर्ण जिम्मेवारीको रुपमा स्वास्थ्यलाई लिएका छौं । नगरमा १३ वटा वार्ड रहेका छन् । सबै वार्डहरुमा स्वास्थ्य चौकी थिएन । अहिले सबै वार्डमा स्वास्थ्य चौकी स्थापना गरेर सेवा सुरु गरेका छौं । एम्बुलेन्स खरिदका लागि प्रक्रियागतरुपमा हामी अघि बढेका छौं । कुनै स्वास्थ्य संस्थामा कर्मचारी पावरको भरमा नजिकै र धेरै बस्ने कुनैमा कार्यालय सहयोगीको भरमा संचालन गर्नुपर्ने समस्या बेलकोटगढी नगरपालिकामा पनि थियो । यी यस्ता समस्याहरु औषधि, कर्मचारी कमीलाई विस्तारै हल गर्दै आएका छौं ।
एक स्वास्थ्य चौकीमा २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी गरी जम्मा ३ जना अनिवार्य बनाएका छौं । यो वर्ष नगरको ३ वटा एम्बुलेन्स खरिद गर्ने योजना अघि बढिसकेको छ । भूगोलका आधारमा १ देखि ३ सम्म एउटा एम्बुलेन्स, त्यस्तै वार्ड नम्बर ४ देखि ८ सम्म एउटा र वार्ड नम्बर ९ देखि १३ सम्म एउटा एम्बुलेन्स रहने छ ।
नगरले ६ वटा एम्बुलेन्स खरिदको अवधारणा अघि सारे पनि नेपालको कानुनमा स्थानीयत हले एक आर्थिक वर्षमा ३ वटा एम्बुलेन्समात्रै खरिद गर्न पाउने नियम भएकोले यसरी अघि बढिरहेका छौं ।
यस्तै अघिल्लो जनप्रतिधिले पनि एउटा एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाउनुभएको थियो । त्यो एम्बुलेन्स पनि खरिद प्रक्रियामै रहेकोले अब बेलकोटगढी नगरपालिकामा चार एम्बुलेन्सले नागरिकलाई सेवा प्रदान गरिने छ ।
ती एम्बुलेन्स गुड्ने नगरपालिकाभित्रका सडकको अवस्थाचाहिँ कस्तो छ ?
नगरपालिकामा धेरै सडकहरु रहेका छन्, जुन पक्की सडकको रुपमा पनि रुपान्तरण भएका छन् । स्थानीय निर्वाचनमा जाँदै गर्दा ग्रावेल र नालीसहितको पक्की मोटरबाटो नगरको सदरमुकामसम्म बनाउने प्रतिबद्धता गरेका थियौं । यो काममा पनि हामी निकै तिव्रताका साथ लागिरहेका छौं । जसका लागि प्रदेश र संघीय सरकारसँग छलफल भइरहेको छ ।
कृषि क्षेत्रको पनि कुरा गरौं, देशको अर्थतन्त्रमध्येका मुख्य आधार कृषिलाई कसरी हेर्नुभएको छ ?
हामीले कृषि शाखाका कर्मचारीलाई विज्ञ भएको हुँदा नगर र नागरिकका आवश्यक विषयवस्तुलाई अघि सार्नुस् भन्दै आइरहेका छौं । यसअघि उहाँहरुले पनि खुलेर काम गर्ने अवसर पाउनु भएको थिएन । अब भने कृषि शाखाको सक्रियता र कृषि विज्ञहरुको सल्लाह, सुझावअनुसार आलु, मूलाका बिउ किसानलाई वितरण गर्ने सवाललाई नगरले अघि सारेको छ । बिउका लागि टनेलहरु व्यवस्थापन गरेर बेलकोटगढीले नै उत्पादन गर्ने र किसानलाई अनुदानमा वितरण गर्ने योजना छ । साथै कम्पोष्ट मल बनाउने सन्दर्भमा पनि अनुसन्धान गरिरहेको ग्लोबल मिडियामार्फत नागरिकलाई जानकारी गराउँदछु ।
नगरपालिकाले भारतमा रहेको कम्पोष्ट मल बनाउने कम्पनीसँग पनि कुराकानी गरिरहेको छ । सायद मंसिर ४ को निर्वाचनपछि त्यो मेसिन भिजिट गरेर सम्भव भएसम्म स्थानीय तहमा नै ल्याएर फोहोरजन्य पदार्थदेखि अन्य हरियो पात पतिंगरलाई मिसाएर कम्पोष्ट मल उत्पादन गर्ने अनि किसानलाई वितरण गर्ने अभियान थाल्ने प्रक्रिया अघि बढिरहेको छ ।
यत्ति अवधिभित्र यी योजनाहरु पूरा गर्छौं भन्ने पनि लक्ष्य छ ?
नगरको भूगोल समथरदेखि उच्चसम्म रहेको छ । भूगोलको आधारमा पनि विकास र योजनाका कामलाई अघि सार्नुपर्ने हुन्छ । हामीलाई विज्ञहरुले कसरी राय, सुझाव सल्लाह दिनुहुन्छ त्यो अनुसार अघि बढ्ने छौं । कृषिका सम्बन्धित विज्ञहरुको राय सल्लाह, सुझावबाट तात्विक उपलब्धि हासिल गर्न सक्छौं भन्ने हिसाबले अगाडि बढेका छौं ।
यहाँकै नेतृत्वमा रहेको न्यायिक समितिको कामकारबाही कसरी अघि बढिरहेको छ ?
बेलकोटगढी नगरपालिकामा म निर्वाचित भएर आइसके पछाडि २३ वटा जति केसहरुको छिनोफानो भएको छ । पारिवारिक, श्रीमान्—श्रीमतीको झैझगडादेखि खेतीपाती, साध—सँधीयारका झैझगडा मुद्दा आउने गर्छन् । हामीकहाँ दर्ता हुन आएका मुद्दाहरुलाई पहिलो चरणमा तेह्रै वटा वार्डमा सहजकर्ताहरु हुनुहुन्छ । सम्बन्धित वार्डमै फिर्ता पठाउँछौं मुद्दालाई, त्यहाँको सहजकर्ताले मेलमिलाप गरेर मिलाउनेतर्फ लाग्नुहुन्छ । समस्या समाधान नभएको खण्डमा न्यायिक समितिमा बोलाएर उहाँहरुले मिलाएर पठाउने गर्नुहुन्छ ।
मुद्दालाई छिनोफानो गर्ने एउटालाई हार्ने र अर्को पक्षलाई जित्ने बनाउने भन्दा पनि सामाजिकरुपमा मिलाउने हो । सकेसम्म मेलमिलाप नै नभएको खण्डमा कानुनले दिएको अधिकारलाई प्रयोग गरेर मुद्दालाई छिनोफानो गर्ने गर्छौं ।
नगरले विकासका पूर्वाधार निर्माणलगायत योजना, आयोजनाको अनुगमनलाई कतिको प्राथमिकतामा राखेको छ ?
हामी निर्वाचित भएर आउँदै गर्दा आर्थिक वर्षको अन्त्य थियो । अघिल्लो स्थानीय सरकारले विनियोजन गरेको बजेट थियो । कति कुरा हामीलाई अनुगमनमा जाँदै गर्दा असहजता महसुस भएको थियो । तैपनि सहजीकरण गर्दै अघिल्लो आर्थिक वर्षको अन्त्य त सकियो, हामीले प्रतिनिधित्व गरेर आएपछि भर्खर बजेट सुरु भएको छ । यो बजेट कार्यान्वयनको तयारीमा छौं । हामीले अनुगमन गर्ने क्रममा कमीकमजोरीलाई सुधार्दै त्यहाँका जनता र उपभोक्ता समितिहरुलाई जिम्मेवार बनाउँदै विकास निर्माणलाई अगाडि बढाउने क्रममा छौं ।
बेलकोटगढी नगरपालिकाका नागरिकका चाहना के पाउनुहुन्छ ?
नागरिकको चाहना पूर्वधार र सडक रहेको देखिन्छ । नागरिकमा सडक नै विकास हो भन्ने सोचाई देखिन्छ । स्वास्थ्य, कृषि, शिक्षाको क्षेत्रमा राम्रो गर्दै लैजानुपर्ने एउटा बाध्यात्मक अवस्था छ तर नागरिक भने सडकलाई नै विकास सम्झिनुहुन्छ ।
व्यक्तिगत आयआर्जन कति प्रतिशतले विकास गर्न सकियो, नगरपालिकाको हकमा कति प्रतिशत वृद्धि भयो, स्वास्थ्य शिक्षाजस्तो महत्वपूर्ण पाटोमा कति प्रतिशत सुधार भयो भन्ने कुरालाई मध्यनगर गर्दै स्थानीय सरकार अगाडि बढ्नुपर्छ । नागरिकमा भने सडक बन्यो कि बनेन, सडक नै हाम्रो पहिलो विकास हो भन्ने मनोविज्ञान रहेको छ । सडक हुँदा धेरै कुरामा सहज हुन्छ नै तर पनि अन्य कुराहरु पनि विकास हुनुपर्छ भन्ने बुझ्नुपर्यो ।
जथाभावी नयाँ ट्रयाक खन्दा विकासको नाममा विनास र विपद् निम्तिरहेको पनि छ, यस्ता समस्या कम गराउन नगरको योजना के छ ?
नगरमा नयाँ ट्रयाक खोल्ने कामलाई बन्द गरेका छौं । पहिला जति पनि ट्रयाक खोलिएका छन्, त्यसलाई स्तरोन्नति गरेर अघि बढ्ने, नयाँ ट्रयाक नखोल्ने नगरको योजना रहेको छ ।
यो वर्षको बजेटमा एउटा अथवा दुई वटा ट्रयाक खोल्ने योजना रहेको छ । त्यही पनि छोटो, एक देखि दुई किलो मिटरसम्मका नयाँ सडकलाई बजेट विनियोजन गरिएको छ । संचालनमा आइसकेको सडकको स्तरउन्नती गरेर अघि बढ्ने कुरालाई नै जोड दिएका छौं ।
बेलकोटगढीमा पर्याप्त मात्रामा ट्रयाकहरु खुलिसकेको हुँदा नयाँ ट्रयाकको खासै आवश्यकता छैन । नयाँ ट्रयाक खोल्ने भन्दा पनि खुलिसकेका र भएका सडकलाई राम्रो बनाउँदै लैजानुपर्छ ।
मेयर र उपमेयर फरक—फरक पार्टीको हुनुहुन्छ, कतै बेमेल त छैन ?
फरक पार्टीबाट निर्वाचित हुँदा काममा असहयोग भएका समस्या सुन्दै आइरहेको छु । पदको हिसाबमा मेयर, उपमेयर भए पनि जिम्मेवारीमा मैले त्यो पाएको छैन, काम हामीले बराबरी नै, छलफल गरेर मिलेर गर्दै आइरहेका छौं । कतिपय कुराहरु बाहिर ल्याउनुभन्दा अगाडि मेयरले पनि मसँग सल्लाह गर्नुहुन्छ । भने मैले पनि उहाँसँग सल्लाह गर्ने गरेको छु ।
हामी मेयर, उपमेयरभन्दा पनि एक हौं र एकसाथ अगाडि बढ्नु पर्छ भनेर अगाडि बढेका छौं । मेयर नेकपा माओवादी केन्द्र र म नेपाली कांग्रेसबाट निर्वाचित भइरहँदा हाम्रा नेताहरुले पनि मिलेर अगाडि बढ्नुपर्छ भन्ने सुझावहरु दिइरहनुभएको छ । जसले गर्दा हामीलाई काम गर्न सहज भएको छ । मलाई आश छ हामी पाँच वर्ष सौहार्दपूर्ण वातावरणमा बेलकोटगढी नगरपालिकालाई समृद्ध बनाउन लाग्नेछौं ।
बेलकोटगढी आफैमा पनि ऐतिहासिक नाम हो, यस्ता ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको सवालमा नगरपालिकाले कस्तो कदम अघि सारेको छ ?
बेलकोटगढीको चिम्टेश्वर महादेवलाई अत्यन्त महत्वपूर्ण ढंगबाट नियालिरहेका छौं । पूर्वधार विकासदेखि मौलिकतामा कसरी अगाडि लैजान सकिन्छ, पुरातात्विक हिसाबले अगाडि बढाउने विषयमा पुरातत्व विभागको योजना आयोगको सदस्यसँग म आफैले बसेर कुरा गरेको छु । स्थानीय तहले चाहँदैमा पुरातत्व क्षेत्रको विकास गर्न नपाइने रैछ, हामीलाई कानुनले रोक्ने रैछ ।
यस्तै निरञ्जनामाई कोटको संरक्षणमा पनि अघिल्लो स्थानीय तहले बजेट विनियोजन गर्ने तर काम नहुने । किनभन्दा सिधै स्थानीय तहले गर्न नपाइने हुँदा काम अघि बढेको थिएन । पुरातत्व विभागको राष्ट्रिय योजना आयोगसँग कुरा गर्दा पुरातात्विक सम्पदाहरुको भिजिट गर्ने वचन दिनुभएको छ । त्यसपछि यस क्षेत्रका काम अघि बढ्छ भन्ने आशमा छौं । साथै कुमरीमाई, दुई पीपलको कामरु मन्दिरलगायत यी पुरातात्विक सम्पदालाई, पुरातात्विक सम्पदाको हिसाबले अगाडि बढाउन दत्तचित्त भएर लाग्छौं ।
स्थानीय नागरिकको धर्म, संस्कार, भाषा संरक्षणको लागि जरुरी कतिको देख्नुहुन्छ ?
यही दसैंमा निरञ्जनामाई, दुई पीपलमा पूजा गरिन्छ । चिम्टेश्वरको पूजा, त्यस पछि तामाङ समुदायको ल्होछार, हिन्दुहरुको विभिन्न खालका चाडपर्व, क्रिश्चियनहरु पनि पर्व मनाउनुहुन्छ । यी सबै पर्वहरुमा नगर सहयोगी भूमिका साथ अघि बढ्छ । नगरले बजेट पनि विनियोजन गरेको छ । यो नै विविधता भित्रको एकता स्थानीय सरकारको गहना हो ।
विभिन्न जातजाति, भाषा धर्मका नागरिकहरुको बसोबास भएको क्षेत्र भएकोले उहाँहरु सबैको हितको लागि नगरले काम गर्नेछ । अबको पाँच वर्षपछि बेलकोटगढीको रुप कस्तो हुन्छ होला ?
आफ्नो वार्डबाट स्थानीय सरकार रहने नगरपालिकाको कार्यालय सम्म बाह्रै महिना यातायातको साधन संचालन हुने अवस्थामा पुग्नेछौं । कृषिमा हामी आत्मनिर्भर हुनेगरी अगाडि बढ्छौं । बेलकोटगढीभित्र रहेका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा पाइन्छ भन्ने बनाउनेतर्फ लागिरहेका छौं ।
निजी विद्यालयमा अध्ययन गराउँदा बालबालिकाको शिक्षा राम्रो हुन्छ भन्ने जुन ट्रेन छ त्यो ट्रेनलाई चिर्न पनि सामुदायिक विद्यालयलाई हाम्रो विद्यालय हो, यो विद्यालयमा अध्ययन गर्ने बालबालिका निजी विद्यालयकाभन्दा उत्कृष्ट निस्किन्छन् भन्ने भावनाका साथ विकासका लागि अघि बढिरहेका छौं । पाँच वर्षपछि पक्कै त्यो खालको माहोल बनाउन सक्छौं छ ।
नगरको पुराना स्वास्थ्य पूर्वाधार, सम्पन्न स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टरको रुपमा विकास गर्दैछौं । हाल चार वटा वथिङ सेन्टरहरु रहेका छन् । थप दुई वटा तयारीमा छन् । जटिल रोगको बारेमा त भन्न सक्दिनँ । सामान्य रोगका शल्यक्रियादेखि उपचारको लागि स्थानीय तहमै उपलब्ध गराउने कुरामा लागिरहेका छौं । हामीले पनि धेरै कुरा सिक्दैछौं, हेरौं कतिसम्म सफल भइन्छ ।