काठमाडौं । नेपाल मगर संघले माघे सकरातीको अवसरमा काठमाडौंको टुँडिखेलमा 'मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव-२०७९' गर्ने भएको छ ।
यही पुस २९, ३० र माघ १ सम्म ३ दिनसम्म महोत्सव आयोजना गरिएको नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका लागि नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार मगर समुदायको सगुन (मिस्रा) सहित निमन्त्रणा दिइएको उहाँले बताउनुभयो ।
पितृ, प्रकृति र चेली पूजा गरेर मनाइने यो माघे सकराती चाड मगर जातिको प्रमुख सांस्कृतिक पर्व हो, जसलाई मगर नयाँ वर्षको रुपमा पनि लिइन्छ । मगरहरुको यही महान चाड माघे सकराती–२०७९ को अवसरमा 'मगरात सभ्यताको संरक्षण–संवर्द्धन गर्दै पुस्तान्तरण गरौं । मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं ।।' भन्ने मूल नारा तय गरिएको छ । महोत्सवमा २ दिनसम्म पूर्णरुपमा मौलिक संस्कृतिहरुको प्रदर्शन गरिने अध्यक्ष पुनले जानकारी गराउनुभयो ।
मगर जातिको परम्परागत मौलिक संस्कृतिहरु 'मगर घाटु नाच, मगर कौरा नाच, मगर हुर्रा नाच, मगर सोरठी नाच, मगर भूम्या/भूमे नाच, मगर पैसेरु नाच, मगर सारङ्ग्या नाच, मगर सालैजो नाच, मगर ठाडो भाका (चुट्का, झ्याउरे), मगर नचरी नाच, मगर मारुनी नाच र मगर झाँक्री नाँच' प्रदर्शन गर्न देशैभरीबाट विभिन्न सांस्कृतिक समूहहरु स्वतफूर्त काठमाडौं आउने तयारी भइसकेको संघका सांस्कृतिक उपाध्यक्ष कविराज मगर बताउनुभयो ।
मगर जातिको परम्पारिक खेल (छेलो हान्ने र धनुषवाण)को प्रतिस्पर्धा हुने छ । जसमा धनुषवाणको प्रथम पुरस्कार रु.३०,०००।– थवाङ, रोल्पा निवासी (हाल साउदी अरब) विपिन झाँक्री मगरले, त्यस्तै द्वितीय पुरस्कार रु.२०,०००।– म्याग्दी निवासी (हाल दक्षिण कोरिया) मनु रोकामगरले र तृतीय पुरस्कार रु.१०,०००।– मगर संसार फोटो ग्यालरी अनलाईन ग्रुपले स्पोन्सर गरेको छ भने छेलो हान्ने खेल (महिला र पुरुष समूह)को प्रथम पुरस्कार रु.५०००।–, द्वितीय पुरस्कार ३०००।– र तृतीय पुरस्कार रु.२०००।– गरी एकमुष्ट रु.२०,०००।– रकम उदयपुर, कटारी–३ निवासी, नेपाल मगर संघका केन्द्रीय सदस्य राजु मगरले प्रायोजन गर्नुभएको नेपाल मगर खेलकुद संघको केन्द्रीय अध्यक्ष निरज पुनमगरले बताउनुभयो ।
मगरहरुको मौलिक संस्कृतिलाई संरक्षण–संवर्द्धन गर्दै पुस्तान्तरण गर्न यस्ता खालका कार्यक्रम गर्न आवश्यक भएको भन्नुहुँदै करिब सयभन्दा बढी व्यापारिक स्टलहरु राखिने, स्टलहरुमा मगर परिकारहरु सुलभ मूल्यमा खान पाइनेछ । अब ३/४ दिनभित्रै स्टल बुकिङ खुला गरिने स्टल व्यवस्थापनका संयोजक तथा संघका उपमहासचिव होमराज खपाङ्गीमगरले बताउनुभयो ।
महोत्वसमा प्रदर्शन गरिएका मगर मौलिक संस्कृतिहरुलाई अत्याधुनिक डिजिटल क्यामेराबाट क्याप्चर गर्दै खिचिएका संस्कृतिहरु नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा, संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय रुपमै काम गर्ने संस्था युनेस्को, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत विभिन्न सरकारी निकायमा बुझाइने संघका उपमहासचिव (संचार) मनबहादुर पुनमगरले बताउनुभयो ।
विभिन्न सांस्कृतिक समूहरुले प्रदर्शन गर्न ल्याएको संस्कृतिलाई एकदेखि डेढ घण्टासम्म समय छुट्टाइएकोले ढुक्कसँग आफ्नो संस्कृति प्रदर्शन गर्न पाइने भन्दै पूर्णरुपमै मौलिक संस्कृतिको मात्र प्रदर्शन हुने भएको यो वर्षको माघे सकराती ऐतिहासिक हुने उपमहासचिव तथा चाडपर्व, उत्सव, महोत्सव तथा अतिरिक्त क्रियाकलाप विभागका संयोजक चन्द्रज्योति आलेमगरको विश्वास छ । उहाँका अनुसार महोत्वसको मुख्य प्रायोजक हाईभिजन ट्रेडिङ ईन्टरनेसनल प्रा.लि. सतुङगल रहेको र अरु सहायक प्रायोजकहरुको खोजि भइरहेको छ ।
मौलिक संस्कृतिहरुको संरक्षण राज्यबाटै हुनु पर्ने कुरामा जोड दिँदै मौलिक संस्कृतिहरुको संरक्षण–संवर्द्धन र पुस्तान्तरणसम्बन्धी यसप्रकारका क्रियाकलापहरु गर्दा राज्यलाई नै सघाइएको हुने भन्दै राज्यबाट पनि आफूहरुलाई केही सहयोग हुने आशा राख्दै संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले महोत्सव तयारी भइरहेकोले सम्पूर्ण संस्कृतिप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई सहभागी हुनका साथै आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन अपिल गर्नुभएको छ ।